गणकले सोधेका र नसोधेका प्रश्न

हामीकहाँ अहिले जनगणना चलिरहेको छ। यसपालि जनगणनामा मुख्यतः यी प्रश्न सोधिएका छन्– घरमा कतिजना सदस्य छन् ? के काम गर्नुहुन्छ ? टेलिभिजन, फ्रिज, दराज, सानो र ठूलो मोबाइल, बासिङ मेसिन, रेडियो, सवारी साधन छन् कि छैनन् ? कुन धर्म मान्नुहुन्छ ? रोजगारी वा पेसा ? वैदेशिक रोजगारीमा को को छन् ? पढाइ विद्यालय गएरै त सुरु गर्नुभो होला ? घर पक्की कि वाल (गारो) वाला ?  

लाग्छ, यसपालि जनगणनाले नागरिकको आर्थिक, धार्मिक, शैक्षिक, व्यावसायिक अवस्था पनि बाहिर ल्याउनेछ।

हुन सक्छ, यो जनगणनापछिको नतिजाले धेरै नेपालीको आर्थिक स्तर बढेको पनि देखिनेछ। किनभने, अहिले टिभी, कम्प्युटर, मोबाइल, ल्यापटप, मोटरसाइकल, गाडीको प्रयोग गर्ने बढेकै छन्। यसमा विलासितादेखि आवश्यकतासम्म आउँछन्– ऋण–धन आफ्नो ठाउँमा होस् । जस्तो ः साधारण मजदुरी गर्नेले पनि मोबाइल बोक्नैपर्ने हुन्छ।  

एउटा प्रश्न उठ्छ– किन यसपालि जनगणनामा यी प्रश्न सोधिएन ? जस्तो ः  तपाईंको नाममा ऋण कति छ ? के के गर्दा ती ऋण बढेका हुन् ? राज्यबाट ऋण, अनुदान लिनुभएको छ कि छैन ? आ–आफ्नो काम–व्यवसायमा के समस्या छ ?

तपाईं जातभात तथा छुवाछुत मान्नुहुन्छ कि हुन्न ? महिनावारी र छाउपडीको छुवाछुत मान्नुहुन्छ कि हुन्न ? भूत–प्रेत, बोक्सी, ईश्वर, धामीझाँक्रीमाथि विश्वास गर्नुहुन्छ कि हुन्न ? तपाईंलाई महिला अधिकार (महिलावाद) बारे के के थाहा छ ? मौलिक हक, मानवअधिकारबारे के के थाहा छ ? महिला हिंसा, जातीयविभेद आदिबारे कानुन बनेको जानकारी छ कि छैन ?    

यी प्रश्न सोधेको भए, देशको चित्र आउने थियो। देशमा के कस्ता योजना तथा बजेट आवश्यक छ, के कस्तो जनचेतना आवश्यक छ भन्ने थाहा हुने थियो।

मानिसका थुप्रै समस्या छन्, थुप्रै भ्रम छन्। मलाई थाहा छैन, यसपालिको जनगणनाले कुन तथ्यांकमा कस्तो विश्लेषण गर्छ भनेर। तर, समाजका समस्यामा अब राज्य सजग हुनैपर्छ।

‘बोक्सी’ विश्वास

हामीकहाँ बोक्सीको आरोपमा मलमूत्र खुवाएको, कुटपिट गरेको समाचार नयाँ होइन।

नेपाल प्रहरीको तथ्यांक अनुसार, सन् २०२०÷२०२१ मा  बोक्सीको आरोपका ६१ घटना दर्ता भएका छन्। यो सन् २०१९÷२० को तुलनामा ७९.४१ प्रतिशतले बढी हो। यो तथ्यांकमा पनि आरोप लागेका धेरैजसो महिला तथा न्यून आयस्तर भएका परिवार छन्। यो तथ्यांकले हानिकारक सामाजिक अभ्यासको बढ्दो दरलाई नै प्रतिनिधित्व गर्दछ।

समाजमा ‘बोक्सी’ भ्रम र अपराध भएकाले यसलाई निवारण गर्न राज्यले बोक्सीको आरोप कसूर र सजाय ऐन– २०७२ ल्याएको छ। जसमा कसैले कसैलाई बोक्सीको आरोप लगाएमा, गाली बेइज्जत गरेमा, अपमानजनक व्यवहार गरेमा कुटपिट तथा खोप्ने, डाम्ने, पोल्ने, मलमूत्र खुवाउने, चारपाटे मुडेर घुमाउने गरेमा कसुर अनुसारको सजाय तथा जरिवाना तोकेको छ।

दुई वर्षअगाडि म बसेकै घरको अर्को फ्ल्याटमा बस्ने एक महिलाले मलाई सम्झाउँदै थिइन्, ‘हेर्नुस् बैनी, तपाईंहरूको एउटा छोरो रहेछ, कहिले पेट दुखेको कहिले के भएको भनेको सुनिन्छ, ल है होस् गर्नुस्। मैले त मेरी नातिनालाई एकजना बाजेकहाँ लगेर ल्याएँ। आँखा लाइदिने रहेछन् नि !’

मैले उनका कुरा सुनिसकेपछि भनेँ– ‘यो सबै मनको भ्रम हो। मान्छे आफैंभित्र कुनै रोगको कारणले दुब्लाउने निन्याउरो हुने गर्छन्।’

उनले आफ्नो भनाइलाई अझ प्रमाणित गर्ने कोसिस गरिन्। भनिन्– खोई तपाईं विश्वास गर्दिनँ भन्नुहुन्छ, यो त खुद मैले भोगेको घटना हो।

एक महिला छन्, जो ठेलामा तरकारी बेच्छिन्। उनको व्यापार हेर्दा राम्रै चलिरहेको देखिन्छ। दिन–रात मेहनत गर्छिन्। एउटा छोरोलाई पढाउने खर्च पनि जुटाएकी छन्। घर पूर्वी नेपाल बताउँछिन्। लोग्ने जाँडरक्सी खाने भएकाले उनी छुट्टै बसिरहेकी छन्। तरकारी किन्न आउने कोही महिलाले यसो गफ गर्ने मनसाय देखाए वा उनको सुखदुःख, सन्चोबिसन्चो सोधे भने उनले आफ्ना समस्या सुनाउँछिन्– शरीर दुखाई, ग्यास्ट्रिक, माइग्रेन लगायत। यो मानवीय स्वभाव हो, आफ्ना दुःख व्यथा, वेदना कसैलाई सुनाएर पनि हल्का महसुस गर्नु। मैले पनि धेरैचोटि साग किन्ने बहानामा उनका कुरा सुनेकी छु। म उनलाई आफ्ना समस्या लिएर भरपर्दो अस्पताल जान सल्लाह दिन्छु। उनी भन्छिन्, ‘मैले कति उपचार गरेँ, निको भएन तर एकजना जान्ने कहाँ गएर देखाएको कोही शत्रुले लगाइदिएको छ रे, कहाँ ठीक हुनु त। झारफुक, तन्त्रमन्त्र र व्रत खाना यी सबै उही तान्त्रिकले भने अनुसार गरेकी छु। अहिले अलि जाति महसुस भइरहेछ, तर छुवाछुत भयो भने फेरि बल्झिहाल्छ।’

उनले ‘शत्रुले लगाइदिएको’ भनेको यसको खराब होस् भनेर बोक्सी या सैतानले श्राप दिएको, आँखा लगाएको अर्थमा हो।

बोक्सीको भ्रम र विश्वास नेपाली समुदायको पहाड, तराई सबै ठाउँमा देख्न पाइन्छ। कुनै रोगको लक्षणस्वरूप शरीरमा नीलडाम देखिँदा ‘हेर, फलानो वा फलानीलाई त बोक्सीले चुसेको रहेछ’ भनिन्छ। भित्रभित्रै ती पीडित जान्नेकहाँ गइसकेका हुन्छन्।

आजकल युट्युबतिर बच्चालाई भुलाउने कार्टुनमा पनि भूत वा राक्षस जस्ता इमेज राखिन्छन्। यस्तै भिडियोमा मात्रै खेलेर हुर्कने बालबालिकाको मानसिकता भोलि कस्तो बन्ने होला ?

मैले एउटी महिलाबारे सुनेकी छु, जो विधवा हुन्। कतिले उनलाई ‘बोक्सी’ भन्थे। एउटीले भने आफ्नो दूध नआउँदा उनै विधवाले दूध चुसाएर छोरा हुर्काएको कुरा सुनाउँथिन्। ती विधवाको काखमा बच्चा हुँदा पतिको मृत्यु भएको थियो। उनको छातीमा बच्चा चार–पाँच वर्षको हुँदासम्म दूध आएको थियो। यहाँ के देखिन्छ भने, ती महिला विधवा भएकैले मानिसहरु बोक्सी भन्ने हिम्मत गरेका छन्।

समाजमा बोक्सीको मान्यता छ भने बोक्सी निस्तेज पार्ने विद्या जानेका भनिएका तान्त्रिक धामी–झाँक्री पनि हाम्रो समाजमा छन्। धामी झाँक्री जो दुर्गम, ग्रामीण समाजका परम्परागत डाक्टरकै रूपमा मानिन्छन्। हुन त झाँक्री सहरी क्षेत्रमा पनि प्रशस्तै छन्। झाँक्री प्रायः पुरुष नै हुन्छन्। समाजमा झाँक्रीको छुट्टै सम्मान पनि छ। ज्वरो, रुघाखोकीदेखि महिलाका पाठेघरसम्बन्धी समस्यासम्म झाँक्रीले ठीक पारिदिन्छन् भन्ने मान्यताले बिरामी झाँक्रीको शरणमा जान्छन्। झाँक्रीले झारबुटीको ओखती खुवाउनेदेखि फुक्ने पनि गर्छन्। कसैले सीधै कुनै महिलालाई तोकेरै यसकै कारण यस्तो भएको पनि भनिदिन्छन्। आरोपी महिलालाई शारीरिक, मानसिक यातना दिइएको पनि सुन्नमा आउँछन्।

यसरी बोक्सीको विद्या पनि जान्ने मानिएका धामीले नै महिला मानव अधिकारमा जानेर–नजानेर दख्खल पारेको देखिन्छ।

हानिकारक अभ्यास

अब राज्यले हानिकारक मानिएका अभ्यासलाई यी मौलिक, पुराना संस्कृति भन्दै समाजमा रहन दिने परिपाटी खारेज गर्नुपर्छ। खराब भनेपछि खराब नै हो र यो बिल्कुल मानव अधिकारको खिलाफमा छ भन्ने हाम्रा शैक्षिक सामग्रीमा समावेश गराइनुपर्छ। हरेक साक्षर र सचेत नागरिकले यो सोचून् कि मान्छेले मान्छेलाई नै विभेद गर्ने संस्कृति हुँदैनन् र छन् भने पनि खोजीखोजी त्यसको निर्मूल गर्नुपर्नेछ।

बोक्सीप्रथाजस्तै समाजलाई हानि पु¥याउने सबै आपराधिक कार्यलाई रोक्नुपर्छ।

 

 Published Date: Tuesday, 23rd November 2021 4:13:00 pm