Kathmandu Press

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान जाने

प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 
प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान जाने
फाइल तस्बिर।

काठमाडौं, साउन १६ : प्रधानमन्त्री केपी ओली आइतबार तुर्कमेनिस्तानको भ्रमणमा जाने भएका छन्। 

तुर्कमेनिस्तानअवाजा सहरमा हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन्। 

तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा ओली त्यहाँ जान लागेका हुन्। सम्मेलन साउन २० देखि २३ गतेसम्म आयोजना हुनेछ। 

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत  प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन्। उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यतालिका छ। 

सो अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्रीको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्य सूर्यबहादुर थापा र उच्चपदस्थ सरकारी अधिकारीहरूसमेत छन्। 

प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने छन्। 

प्रकाशित मिति: १४:३० बजे, शुक्रबार, साउन १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्