Kathmandu Press

सर्वोच्चमा गोलाप्रथाबिनै तोकिए १० वटा इजलास

गोलाप्रथाद्वारा पेसी तय गर्न सर्वोच्च अदालत नियमावली संशोधन भए पनि प्रधानन्यायाधीश जबराले आफैले पेसी तोकेका हुन्।
सर्वोच्चमा गोलाप्रथाबिनै तोकिए १० वटा इजलास
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर ७ : सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गोलाप्रथाबिनै मंगलबार १० टा इजलास तोकेका छन्। गोलाप्रथाद्वारा पेसी तय गर्न सर्वोच्च अदालत नियमावली संशोधन भए पनि प्रधानन्यायाधीश जबराले आफैले पेसी तोकेका हुन्। सोमबार संशोधित सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित भएको थियो। 

सर्वोच्चमा मुद्दा सुनुवाइका लागि नौ संयुक्त इजलास र एउटा एकल इजलास तय भएको छ। 

प्रधानन्यायाधीश जबराले आफूलाई मुद्दाको पेसी राखेका छैनन्। उनले न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगाना, मीरा खड्का र टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की, सुश्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, डा. आन्नदमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र डा.कुमार चुडाल, प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठ, सपना प्रधान मल्ल र डा.मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र हरिप्रसाद फुँयाल संलग्न संयुक्त इजलास तोकेका छन्।

अर्का न्यायाधीश प्रकाशकुमार ढुंगानाका लागि एकल इजलास तोकिएको छ। 

सर्वोच्च अदालत नियमावली संशोधन गरी राजपत्रमा सूचना आइसकेको अवस्थामा मंगलबारबाट मुद्दामा गोलाप्रथा लागू गर्ने भनिएको थियो। अघोषित इजलास बहिष्कारमा उत्रेका सर्वोच्चका न्यायधाीश मुद्दाको भाग लगाएर गोलाप्रथाअनुरूप मुद्दा सुनुवाइ प्रक्रियामा लैजाने फुलकोर्टको बैठकपछि इजलासमा फर्किएका थिए।

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणसहित सबै प्रकृतिका मुद्दाको पेसी तय भएको छ। यता, प्रधानन्यायधाीश जबराको राजीनामा एक मात्र सर्त राखेर आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले मंगलबार पनि इजलास बहिष्कारसहितका विरोध कार्यक्रम जारी राखेको छ। 

बार महासचिव लीलामणि पौडेलका अनुसार मुद्दाको हदम्याद गुज्रने अवस्थको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत, न्यायाधीकरणहरूमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोट, केही पनि दर्ता नगर्न बारले देशैभरका बार एकाइमा सर्कुलर गरेको छ। यस्तै नेपाल बारले बुधबार १८ वटा उच्च अदालत तथा उच्च अदालतका इजलास रहेका स्थानमा विरोध सभा गर्ने भएको छ। 
 

प्रकाशित मिति: १२:५२ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्