Kathmandu Press

साँखुका पाँच ढोका, जसले बुझाउँछन् इतिहास र संस्कृति

मल्लकालभन्दा अगाडिदेखिका साँखुका ढोकाहरूले त्यहाँको इतिहास, संस्कृति र तिब्बतमा व्यापार उत्कर्षमा रहेको समयको प्रतिनिधित्व गर्छन्। यति मात्र होइन, बेहुली अन्माउने र भित्र्याउने अलग–अलग ढोका छन्, साँखु नगरमा।
साँखुका पाँच ढोका, जसले बुझाउँछन् इतिहास र संस्कृति

काठमाडौं, मंसिर ६ : वरपर रहेका शिवलिंगहरूले महादेव मन्दिरको परिसर बुझाउँछन् । यो परिसर हो, ज्योतिर्लिंगेश्वर महादेव मन्दिरको । नजिकै साइन बोर्डमा पनि लेखिएको छ, महादेवस्थान । छेउबाटै बगेको छ, राजकुलो । नजिकै फल्चा छ, जहाँ थाकेर आएका बटुवादेखि मन्दिर परिसरमा टहल्न आउने स्थानीय बासिन्दा एकछिन बिश्राम गर्छन् ।

राजकुलोले आफ्नो बाटो तय गरेको छ, दक्षिणतर्फ । सोही कुलोलाई आँखाले पहिल्याउँदै जाँदा पुरानो इँटाले बनेको एउटा ढोका देख्न सकिन्छ । त्यही ढोकाबाट हो, साँखु नगर प्रवेश गर्ने ।

मन्दिरको दक्षिणतर्फ इँटाको पुरानो शैलीमा बनेको ढोका उभिएको छ, एउटा इतिहास बोकेर । यो ढोकाबाटै ल्हासाका लागि एकाबिहानै मानिसहरू हिँड्थे रे, कुनै समय । साँखुका स्थानीयवासी तथा इतिहासकार प्रकाशमान श्रेष्ठ (साख्व) त्यसै भन्छन् ।

ढोका सामान्य देखिन्छ । तर, ढोकामा जडित मूर्तिले यसको स्थापना मल्लकालभन्दा पहिले नै भएको छनक दिन्छ । करिब ३३ सय वर्ष पुरानो इतिहास बोकेको सहर हो, साँखु । मणिशैल महावदानमा उल्लेख भएअनुसार कलिगत सम्वत् १८०१ राजा शंकदेवले एक हजार घरको नगर बनाउँदा उक्त ढोका पनि निर्माण गरिएको इतिहासकार श्रेष्ठ बताउँछन् ।

उक्त ढोकाको नाम ‘सीः ढोका’ हो । सीः अर्थात् नेपाल भाषामा ‘मृत्यु’ । मृत्यु भएकाहरूको लाश उक्त ढोकाबाटै निकाल्नुपर्ने चलन छ ।

‘सीः’ बाहेक साँखुमा अन्य चार महत्त्वपूर्ण ढोका पनि छन् । करिब नौवटा ढोकामध्ये हाल अस्तित्वमा यी चारसमेत गरी पाँचवटा छन् । उपत्यकाका ढोकाहरूलाई कतिको नियाल्नुभएको छ ? विशेषतः दरबार स्क्वायर परिसर छिर्ने क्रममा ढोकाहरूको राम्रो उपस्थिति पाइन्छ । नेपाल मण्डल अन्तर्गत् बनेपा, साँखु, दोलखा, साँगामा पनि यस्ता ढोकाका अवशेष र अस्तित्व पाइन्छ । कलात्मक लाग्ने यस्ता ढोकाले नगरको शोभा बढाउँछन् । र, यी संस्कृति र चालचलनका मापक पनि हुन् ।

परम्पराका प्रतीक साँखुका ढोकाहरू

भौध्वाखाः, म्ह्यायमचाः ध्वाखाः, सिध्वाखाः, द्यः ध्वाखाः, शालीनदी ध्वाखाः (माधवनारायण ध्वाखाः) गरी पाँचवटा ढोका बाँकी छन्, अब साँखुमा । तीमध्ये चारवटाको प्रयोग हालसम्म विधिवत् रूपमा हुँदै आएको छ ।

हरेक ढोकाको आफ्नै आफ्नै महत्त्व र प्रयोग छ । त्यसैले सामान्यझैँ लाग्ने यी ढोकाको महत्त्व असामान्य छ ।

‘सी ध्वाखाः’

कुनै समय काठमाडौंबाट ल्हासातिर लम्किँदा साँखुको ‘सी ध्वाखाः’ हुँदै अगाडि बढ्नुपथ्र्यो । अहिले साँखु नगरभित्रका जोकोहीको मृत्यु हुँदा पनि मृतकको लाश सोही ढोकाबाट निकाल्ने चलन छ । अन्य ढोकाबाट लाश श्मशान घाट लैजान मिल्दैन । ढोकाको वरपर पुराना मूर्ति पनि स्थापना गरिएको छ।

विसं १९९० को भूकम्पपछि निर्माण गरिएको उक्त ढोकामा हाल गरुडको टाउको मात्र छ । जहाँ पहिले ढोकाको माथिल्लो बीच भागमा गरुडको पूर्ण मूर्ति थियो । ‘सी ध्वाखाः’लाई साल्खा महादेवस्थान ढोकाको नामले पनि चिनिन्छ ।

बुहारी भित्र्याउने ढोका (भौध्वाखाः)

७० वर्ष कटिसकेकी पूर्णलक्ष्मी श्रेष्ठलाई अझै पनि याद छ । उनी बुहारी बनी साँखुमा आउँदा सोही ढोकाबाट भित्र्याइएको थियो । साँखुका ठाउँहरू राम्रैसँग थाहा भए पनि उनलाई ढोकासम्बन्धी चलनको पत्तो भने रहेनछ । ‘किन घुमाएर यो ढोकामा ल्याएको होला ?’ उनको मनमा त्यतिबेला प्रश्न आएको थियो । सुरुमा त उनलाई केही अनौठो पनि लागेको थियो रे उनलाई । चलन नै हो भन्ने लागेको रहेनछ ।

नामअनुसार ‘भौः ध्वाखाः’ भनेको बुहारी भित्र्याउने ढोका हो । नेपाल भाषामा बुहारीमा भम्चा भनिन्छ । भम्चाकै संकुचित स्वरूपमा भौः पनि भन्ने गरिन्छ ।

उक्त ढोका भने साँखुको दक्षिण दिशामा छ । साँखुको पुरानो बसपार्क र प्रहरी कार्यालयनजिकै रहेको ढोकामा हाल रंगरोगन चलिरहेको छ । ढोकामा पूर्णयता नीलो आकाशे रंगले पोतिएको छ । ढोका आफैँमा कलात्मक छ । बज्रयोगिनी, सिहिंणी, व्याघ्रिणी, हेरुक, अचलसहित खम्बामा गणेश, कुमार, पूर्ण कलशहरू र मोतीमाला निल्दै गरेका सुगाहरूका चित्र छन् । यही ढोकाबाट हो, बुहारी भित्र्याउने । जुनसुकै दिशाबाट बुहारी ल्याए पनि घुमेर सोही दिशाबाट मात्र बुहारीलाई लैजाउनुपर्ने हुन्छ । जताबाट ल्याए पनि उक्त ढोकाबाट भित्र्याउने गरिन्छ । त्यसपछि भने जुनै ढोकाबाट बुहारी भित्र्याए पनि हुन्छ ।

म्हयायमचाः ध्वाखाः

म्हयायमचा अर्थात् नेपाल भाषामा छोरी । बुहारीलाई भित्र्याउने ढोकाजस्तै म्हयायमचा भने छोरीहरूलाई अन्माउने ढोका हो । मालपोत कार्यालयको अघिल्तिर रहेको उक्त ढोका साँखु नगरको दक्षिण–पूर्वमा पर्छ । मुख्य सडकसँग जोडिएका कारण म्हयायमचाः र भौः दुवै नगरवासी तथा नगरबाहिरका बासिन्दाको आवतजावतका लागि अधिक प्रयोग हुन्छन् । ढोकाभित्र प्रवेश गरेसँग सानो असन बजारभित्र छिरेको भान हुन्छ । यस ढोकाको अर्को नाम भने जयबली पनि हो ।

साँखु नगरका छोरी चेली अन्माउँदा सम्धी–सम्धीबीच भलाकुसारी, शास्त्रार्थ, श्लोक वाचन गर्ने पराम्परागत प्रचलन रहेको श्रेष्ठ बताउँछन् । चेली–छोरीको बिदाइका लागि घर, परिवार, इष्टमित्र, टोल, छिमेकहरू उक्त ढोकासम्म आई बिदावारी गरी फर्कने गर्छन् ।

द्यः ध्वाखाः

साँखु नगरको उत्तरपश्चिममा पर्ने यो ढोका भने विभिन्न जात्राका क्रममा देवदेवीका जात्राको क्रममा प्रयोग गरिन्छ । बज्रयोगिनी जात्राको समयमा देवी, स्वयम्भु, चैत्य, सिंहिणी र व्याघ्रिणी देवीहरूको खट जात्रा अवधिमा भित्रबाहिर गरिन्छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमादेखि आठ दिनसम्म बज्रयोगिनीको जात्रा साँखुमा मनाउने गरिन्छ ।

इतिहासकार श्रेष्ठद्वारा लिखित पुस्तक ‘मणिचुडदेखि रत्नचुडसम्म’मा उल्लेख भएअनुसार बज्रयोगिनी जात्राबाहेक भाद्र कृष्ण त्रयोदशी  र चर्तुदशीमा ब्रजयोगिनीको अर्को पुरानो देवी जात्राको रूपमा बसुन्धरा देवी र घुम प्यासी चैत्य भगवान्को जात्रा गरी बज्रयोगिनी क्षेत्रबाट  ल्याउने र लैजाने गर्दा सोही ‘द्यः ध्वाखाः’ मात्र प्रयोग  गरिने कारण यसलाई देवी ढोका भनी नामाकरण गरिएको बुझिन्छ । यस्तै, जीवित देवी कुमारीको खट पनि सोही ढोकाबाट ल्याउने–लैजाने विषयमा पनि उक्त पुस्तकमा उल्लेख छ ।

माधवनारायण ध्वाखाः

यसको ढोका भने स्वस्थानी व्रतको लागि वर्षमा एक महिना मात्र प्रयोग हुने इतिहासकार श्रेष्ठ बताउँछन् । भगवान् माधवनारायण स्वयं स्वस्थानी माताको व्रत बस्ने र व्रतालुले सोही ढोका प्रयोग गरी शाली नदी जान भएकाले यसलाई शालीनदी ध्वाखाः पनि भनिन्छ । बोलीचालीमा यसलाई देवी ढोका पनि भनिन्छ ।

हालसम्म विसं १९९०, विसं १८९० र विसं १७०० तिर यी सबै ढोकाको जीर्णोद्धार भएको र पुनर्निर्माण पनि सोहीअनुसार हुँदै आएको इतिहासकार श्रेष्ठ बताउँछन् ।
 

प्रकाशित मिति: १०:३६ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्