जिरीका पर्यटकीय स्थल घुमेर हेर्दा...

काठमाडाैं, मंसिर ४ : ‘ऊ त्यो गाईको थुन देख्नु’भो ?’ लीलाराम खड्काले भने।

ढुंगैढुंगाको बीचमा खोपेर सुरुङजस्तो देखिन्थ्यो, जो जिरेश्वर महादेवको मन्दिर हो। लीलारामले औँल्याएकोतिर नियाल्यौँ, गाईको थुन आकृतिको चट्टानबाट तप्प–तप्प पानीका थोपा चुहिरहेका थिए। चट्टानको छानोमुनि रहेको जिरेश्वर मन्दिर परिसरभित्रै एक ठाउँमा फलामका थुप्रै त्रिशूल थिए।

‘यहाँ मनोकामना पूरा होस भनी भक्तजनले त्रिशूल चढाउने गर्छन्,’ लीलारामले भने, ‘यहाँ त्रिशूल चढाएर जे कामना ग¥यो, त्यो पुग्छ भन्छन्।’

उनका अनुसार, यस मन्दिर कसरी बन्यो भन्ने किंवदन्ती छ। किंवदन्ती भन्छ– उहिले यहाँ एउटा गाईले यही ठाउँमा दूध चढाउने गर्थिन्। यो कुरा ती गाईका गोठालाले चाल पाएछन्। त्यसपछि यस ठाउँ बिस्तारै मानिसको नजरमा पर्न थालेछ। धेरैपछि यहाँ गाईको थुनजस्तो आकृतिबाट पानी चुहिन थाल्यो।

मानिसले यो कथा कसरी बनाए, त्यो आफ्नो ठाउँमा छ, तर यहाँ परबाट हेर्दा गाईको थुनको आकृतिबाट पानी चुहिएको देखिन्छ।

यो मन्दिर दोलखाको जिरी नगरपालिकामा पर्छ। बजारबाट नजिकै जंगलमा मन्दिर भए पनि यहाँ पूजा गर्न आउने भक्तजन कहिल्यै टुट्दैनन्।

जिरी आएको दोस्रो दिन (१५ कात्तिक) हामीलाई लीलारामले मन्दिर घुमाएका थिए। हामी कात्तिक १४ गते जिरी पुगेका थियौँ, तीनदिने भ्रमणका लागि। यो अवसर हामीलाई लीलारामले नै जुराएका हुन्। पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष लीलाराम खड्का, जो जिरीका स्थानीय हुन्, उनले हरेक वर्ष जिरी भ्रमणका लागि पत्रकारको टोलीलाई बोलाउने गर्छन्, यसपालि मैले पनि जिरी घुम्ने अवसर पाएँ।

तस्बिर साैजन्य: लिलराम खड्का ।

कात्तिक १४ गते बिहान ६ बजे हामी शंखमूलमा जम्मा भएका थियौँ। यात्रामा महिला पत्रकार, कवि, चालकसहित २७ जना थियौँ। तीनवटा स्कोर्पियोमा हामी काभ्रे, सिन्धुपाल्चोककको खाडीचौर हुँदै मुडे पु¥यौँ। मुडेबजारमा प्रशस्त खरीढुङगा र छुर्पी बेच्न राखिएको थियो। त्यहाँ बिहानको खाना खाएपछि मैले ती दृश्यलाई मोबाइलमा कैद गरेँ।

त्यसपछिको हाम्रो यात्रा कच्ची सडक हुँदै अगाडि बढ्यो। गाडीमा गीत घन्किरहेको थियो, म वरपरका दृश्य नियाल्दै थिएँ, चरीकोट बजार आइपुगेछ। पहाडमा चरीकोट बजार निकै सुन्दर देखिन्थ्यो। बिहान साढे ७ बजे हामी काठमाडौंबाट हिँडेका थियौँ, साँझ ५ बजेतिर जिरी पुग्यौँ। काठमाडौंदेखि जिरीसम्मको सडक दूरी करिब १९० किलोमिटर छ।

जिरी बजारबाट ओझेल पर्दै थियो। दुईतिर पहाड, बीचमा जिरी खोला र वरपर जिरी बजार– गोधुलीमा हामीलाई जिरीबजारले स्वागत ग¥यो। जिरी बजारकै होटल ग्याबिलामा हाम्रो बास थियो। होटल अगाडि खाली भागमा किबी लटरम्मै फलेका थिए। हामीले आ–आफ्ना क्यामेरा वा मोबाइलले किबीलाई कैद ग¥यौँ।

होटल ग्याबिलाका सञ्चालक हुन्, केशरबहादुर जिरेल। उनले विगत २५ वर्षदेखि होटल सञ्चालन गर्दै आएका रहेछन्।

लामो गाडीको यात्राले हामी थकित थियौँ। त्यसैले ७ बजे नै हामीले साँझको खाना लियौँ। खानामा नेपाली खाना नै थियो– दालभात, तरकारी, अचार, मासु आदि। खाना खाँदा हामीले लीलाराम दाइले सुनाए– जिरेल समुदायको बहुमत भएकाले यस ठाउँको नाम जिरी राखिएको हो। ०७२ को भुइँचालोले जिरीलाई छोएको रहेछ। लीलारामका अनुसार, पहिले यहाँ कच्ची घर बढी थिए, भूकम्पपछि पक्की घरहरू बढे।

एयरपोर्ट, बुद्धपार्क र प्रविधि शिक्षालय

जिरेश्वर मन्दिर घुमेर फर्केपछि हामी ‘जिरी एयरपोर्ट चौर’ पुग्यौँ। जिरी बजारबाट लगभग दुई किलोमिटर पर पर्ने यो खाली चौरमा कुनै बेला एयरपोर्ट थियो, त्यसैले यसलाई एयरपोर्ट चौर भनिएको हो। लीलारामका अनुसार, यो चौर रहेको जमिन कृषि मन्त्रालय अन्तर्गत पर्छ। कृषि मन्त्रालय र पर्यटन मन्त्रालयबीच विवाद नमिलेपछि गौचरणको रूपमा परिवर्तन भयो। २०४३ सालमा जिरीमा पहिलोपल्ट सडकमार्ग खुलेपछि एयरपोर्ट बन्द भएको थियो।   

त्यहाँ पुग्दा बिहानको ११ बज्नै लागेको थियो। र, चिसो हावा चलिरहेको थियो। हामी चौरमै घुम्दै फोटो खिच्यौँ। चौर वरपर गाई चरिरहेका थिए।

एयरपोर्ट चौरबाट फर्कने क्रममा तेस्रो गन्तव्य बन्यो, ‘तेन्जिङ हिलारी मेमोरियल पार्क।’ विश्वमै पहिलोपल्ट सगरमाथा चढ्न सफल भएका तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड पर्सिभल हिलारी सगरमाथा चढ्न जाँदा यही ठाउँमा बास बसेका रहेछन्। उनीहरूले एकै दिन (सन् १९५३ मे २९ मा) सगरमाथाको आरोहण गरेका थिए। त्यसैले उनीहरूको सम्झनामा वागमती प्रदेश सरकार तथा जिरी नगरपालिकाले संयुक्त रूपमा यो पार्क बनाएको हो।

जिरी बजारबाट १०–१२ किलोमिटर पर जिरी नगरपालिका– ८ मा रहेको ‘बुद्धपार्क’ हाम्रो चौथो गन्तव्य बन्यो। लगभग बुद्धपार्क पुग्नै लाग्दा हामी सवार स्कोर्पियो बिग्रिएकाले हामी ओर्लिएर पाँच–दश मिनेट पैदल हिँड्यौँ। अग्लो ठाउँमा बनाइएको बुद्धपार्क हुस्सुका कारण छेकिएको देखिन्थ्यो। बुद्धपार्कमा विशेषतः ठूलो बुद्धको मूर्ति छ। मूर्ति अड्याइएको भित्ताको चारैतिर र वरपर बुद्ध, बौद्धधर्म र बौद्ध धर्मग्रन्थ बारे केही जानकारी लेखिएको छ। समुद्र सतहदेखि २,३८४ फिट माथि रहेको बुद्धपार्कमा हामी केहीबेर टहलियौँ, एक प्रकारको शान्तिको अनुभव भयो। यहाँबाट वरपरका सुन्दर डाँडाहरु तल रहेको जिरी बजार पनि नियाल्न सकिन्छ।

पार्क घुमेर फर्कंदासम्म हामी चढेको स्कोर्पियो बनेको थिएन। बजारदेखि मिस्त्री आएर बनाउँदै थिए, त्यतिन्जेल हामी केहीबेर आगो तापेर बस्यौँ।

२०४० सालमा यहाँ स्विस सरकारको सहयोगमा जिरी प्रविधि शिक्षालय बनाइएको रहेछ। जहाँ कृषिसम्बन्धी अध्ययन हुन्छ। २०७२ को भूकम्पले क्षतिग्रस्त भएको जिरी प्राविधिक शिक्षालयको पुनर्निर्माण स्विट्जरल्यान्ड सरकारकै सहयोगमा २०७६ जेठमा पुनर्निर्माण सम्पन्न भएको रहेछ। यस शिक्षालयले सुरुदेखि एसएलसी सरहको प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको छ।

केही वर्षदेखि बाली विज्ञान, पशु विज्ञान र इन्जिनियरिङमा डिप्लोमा तहको समेत अध्ययन हुन थालेको छ। यस शिक्षालयको भ्रमणबाट होटल फर्केपछि लीलारामले सबैसँग तीनदिने भ्रमणको अनुभव सुनाउन अनुरोध गरे। हामी सबैले आ–आफ्ना अनुभव सुनायौँ।

र, याे पनि

 

 Published Date: Saturday, 20th November 2021 10:18:00 am