गोठालो गएरै मासिक १६ हजार ७८० रुपैयाँ आम्दानी
काम सानो–ठूलो हुँदैन। त्यसैले जिरीको सरकारी गाई फारममा गोठालोको जागिर गर्ने ललिता जिरेललाई पनि आफ्नो काम सानो लागेको छैन। त्यही जागिरबाट उनले घरखर्च चलाएकी छन् अनि छोरालाई बोर्डिङ पनि पढाएकी छन्।काठमाडौं, कात्तिक २५ ः बिहान ८ देखि साँझ ४ बजेसम्म उनको दिनचर्या गाईको वरिपरि बित्छ । उनी अर्थात् दोलखा जिरी नगरपालिका–६ की ३० वर्षीया ललिता जिरेल । उनको आम्दानीको स्रोत पनि यही हो।
उनी दिनभर जिरी नगरपालिका–६ स्थित विमानस्थलको चौरमा भेटिन्छिन् । बिहान ५ बजे उठ्छिन्, घरको सरसफाइ गर्छिन्, खाना बनाउँछिन् अनि खाना बोकेर गोठालो जान्छिन् । यही दैनिकीमा उनी अभ्यस्त बनेको डेढ वर्ष बित्यो ।
रातो र नीलो रंग मिश्रित कुर्था, हरियो सुरुवाल, पर्पल कलरको ज्याकेट अनि नीलो लङ बुटमा सजिएकी उनले हातमा एउटा लठ्ठी बोकेकी थिइन् । १५ कात्तिक सोमबार दिउँसो गोठालो जाँदै गर्दा बाटामा गाईवस्तु धपाउँदै थिइन् । उनले धपाउँदै गरेका गाई केहीबेरमै विमास्थलको चौरमा पुगे । र, चौरमा पलाएका दुबो र घाँस चर्न थाले । उनी भने फराकिलो हरियो चौरमा उभिएर गाईको निगरानीमा लागिन् ।
नजिकै स्थानीय युवा फुटबल खेल्न व्यस्त थिए । ललिताको ध्यान भने फुटबलभन्दा गाईकै निगरानीमा थियो । चर्दै गरेका गाईलाई चोटपटक नलागोस्, हिलोमा नभासिऊन् अनि व्यक्तिका खेतबारीमा नजाऊन् । ‘मेरो काम यही हो,’ उनी भन्छिन्, ‘गोठालोको जागिर खान थालेको डेढ वर्ष भइसक्यो ।’
उनी घरबाटै हटकेसमा खाना बोकेर ल्याउँछिन् । घरबाट निस्किनुअघि पनि थोरै खाना खान्छिन् । उनको घर र गाई चराउन आउने ठाउँ करिब तीन किलोमिटर दूरीमा छन् । ‘दिउँसो गाईलाई छोडेर हिँड्न मिल्दैन, त्यसैले खाना लिएर आउँछु,’ ललिता भन्छिन्, ‘खाना नल्याउँदा साँझसम्म भोक खप्न सक्दिनँ ।’
घरमा १० वर्षका छोरा, श्रीमान्, सासु–ससुरा र नन्द छन् । उनका छोरा स्थानीय सरस्वती बोर्डिङ स्कुलमा कक्षा–३ मा पढ्छन् । उनकै आम्दानीले स्कुलको फी तिर्न पुगिरहेको छ । उनी भन्छिन्, ‘आफूले पढ्न नपाएर दुःख भयो, त्यसैले छोराले पढोस् भन्ने चाहना छ ।’
श्रीमान् ठेक्कापट्टाको काम गर्छन् । सासु र नन्द खेतबारीमा व्यस्त रहन्छन् भने ससुरा शिक्षक हुन् । कोभिड–१९ महामारीयता श्रीमानको ठेक्कापट्टाको काम ठप्प छ । त्यसैले ललिताले गाई फार्ममा गोठालोको जागिर थालेकी हुन् । त्यसअघि उनको दैनिकी खेतबारी र घरको काममा बित्थ्यो ।
श्रीमानको कमाए नभएपछि अहिले घरखर्च ललिताकै तलबबाट चल्छ । मासिक १६ हजार सात सय ८० रुपैयाँ उनको तलब छ । ‘तलब १७ हजार रुपैयाँ हो तर दुई सय २० रुपैयाँ कर काटिएर आउँछ,’ उनी भन्छिन् ।
उनको माइती जिरी नगरपालिकाकै खरायो वन भन्ने ठाउँमा होे । पहिले यो ठाउँ विकट थियो । सामान्य परिवारमा जन्मेकी उनले विद्यालयको प्रांगणमा टेक्न पनि पाइनन् । ‘बुवा–आमा खेतीपाती गर्नुहुन्थ्यो । तीन दिदीबहिनी र दुई दाजुभाइ कसैले पनि पढ्ने अवसर पाएनौँ,’ उनी भन्छिन्, ‘त्यसैले छोरालाई धेरै पढाउने रहर छ ।’
आफूले पढ्न नपाएकामा उनलई पछुतो लाग्छ रे । उनले कक्षा–५ सम्म पढेर छाडिन् । ‘घरबाट स्कुल पुग्न दुई घण्टा हिँड्नुपथ्र्यो । चार बजे स्कुल छुट्टी भएर घर फर्किंदा रात पथ्र्याे,’ ललिता भन्छिन्, ‘दैनिक चार घण्टा हिँड्नुपर्ने भएकाले कारण पढ्न गइनँ, अहिले पछुतो लाग्छ ।’
शिक्षा लिन नसकेका कारण आफ्नो जिन्दगी खेर गएको ठानिछन् उनी । उनलाई काम सानो ठूलो हुँदैन भन्ने जानकारी छ । तर, पढ्न पाएको भए कुनै ठूलै पदमा जागिर खान पाउँथेँ कि भन्ने लाग्छ उनलाई । अहिले गाई चराउने काम पनि खुशीले गर्ने गरेको उनी बताउँछिन् । ‘जाडो महिना ठीकै हो तर गर्मी र बर्खामा गोठालो जान कठिन हुन्छ । तर पनि, जानै प¥यो,’ उनी भन्छिन्, ‘पानी परेको दिन गाईलाई भोकै राख्न मिलेन, त्यसैले सामान्य पानी पर्दा गाई चराउँछौँ ।’
उनको काम गाई ब्याउन लाग्दा र घाइते हुँदा फारममा फोन गर्ने, गाईलाई समयमा चौरमा ल्याउने र पु¥याउने हो । गाईलाई सीममा जान नदिने र अरूको बाली खान नदिने पनि उनको जिम्मेवारी हो । डेढ वर्षमा चोटपटक लागेर र बिरामीका कारण गाई मरेका छैनन् । ‘गाईलाई चोटपटक लाग्नबाट बचाउनकै लागि गोठालो राखिएको हो,’ उनी भन्छिन्, ‘चराउँदा चराउँदै कतिपय ब्याउँछन्, त्यस्तो बेलामा सरसफाइ गरिदिने, भिटामिन खुवाउने गरिन्छ ।’ उनी आफ्नो काममा खुशी छिन् ।
हरेक वर्ष एक हजार रुपैयाँका दरले तलब बढ्ने गरेको उनले सुनेकी छन् । तर, उनको तलब बढेको छैन । चाडपर्व, हिउँद–बर्खा केही नभनी उनी गोठालो कर्म गर्छिन् । कहिल्यै छुट्टी बस्न पाउँदिनन् । त्यसैले तलब बढाइदिए हुने उनको अपेक्षा छ । ‘गोठालो जाने पनि जागिर हो भन्दै गिज्याउँछन् । तर, मलाई सबै काम समान लाग्छ,’ उनले मुसुस्क हाँस्दै भनिन्, ‘जे भए पनि सरकारी जागिर हो नि ।’
उनले गोठालोको जागिर खाएको गाई फर्म कृषि मन्त्रालयअन्तर्गत सञ्चालनमा छ । ०१४ सालमा स्विजरल्यान्ड सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो फर्म स्थापना भएकोे थियो । तत्कालीन राजा महेन्द्रले यसको उदघाटन गरेका थिए । यो गाई फारम ०७५ सालदेखि गाई आनुवंशिक स्रोत केन्द्रका रूपमा सञ्चालनमा छ ।
गाईको चरन क्षेत्र बनाइएको विमानस्थलको चौरको क्षेत्रफल एक सय २४ रोपनीमा फैलिएको छ, जुन कृषि मन्त्रालयको स्वामित्त्वमा छ । यो पहिलो सरकारी गाई फारम पनि हो ।
दुई–चार महिना अगाडिसम्म एक सय ११ वटा गाई थिए । अहिले ७५ वटा मात्र छन् । तीमध्ये ५० वटाले दूध दिन्छन्, केही गाई ब्याउने छन् । केही भने भर्खरै थाकेका (दूध दिन छाडेका) छन् । ७५ वटा गाई चराउन फारमले दुईजना कर्मचारी राखेको छ । ललिताको साथमा अको एक पुरुष पनि कर्मचारी छन् ।
चार–पाँच बेत ब्याएका गाई बिक्री गर्ने गरिएको छ । र, पहिलोपल्ट ब्याएको गाई खरिद गर्ने पनि गरिन्छ । गाई फारममा घाँस काट्ने, गोबर फाल्ने अलग–अलग कर्मचारी छन् । ललिताको काम भने गोठालो जाने मात्रै हो ।