Kathmandu Press

आहा जिरी !

दोलखाको जिरीलाई कसले स्विजरल्यान्डको ज्युरिच सहरसँग तुलना गर्‍यो ? यकिन छैन। तर, जिरी स्विस सरकार र पर्यटकहरूकै कारण चिनिएको हो। यो अर्गानिक पर्यटकीय स्थल ‘पोस्ट कोभिड टुरिजम’का लागि स्वदेशी–विदेशी पर्यटकलाई स्वागत गर्न तम्तयार छ।
आहा जिरी !

काठमाडौं कात्तिक २८ : वरिपरि हरियो जंगलले ढपक्क ढाकेका डाँडाकाँडा, बीचमा पर्छ जिरी । जंगलको फेदतिर सलक्क परेका चौर, दुईतर्फी चौरलाई जोड्दै सफा र कञ्चन पानी बग्ने त्यो जिरी खोला । त्यो खोला जंगलबाट मुहान फुटेर आएको कञ्चन पानी जम्मा हुँदै बग्छ । आँखाले भ्याएसम्म देखिने अग्ला–अग्ला डाँडा, हरियाली जंगल अनि सदावहार चल्ने चिसो हावा । आहा, चिसो हावाले शरीरलाई छोएर खेल्ने लुकामारी । त्यो हावाको स्पर्श, त्यो मिठो अनुभूति । मनै लोभ्याउने चिरिच्याँट्ट परेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिरी ।

हिमाली जिल्ला दोलखाको एक सुन्दर गन्तव्य हो जिरी । कुल दुई हजार १९१ वर्गकिलोमिटर क्षेत्रफल भएको दोलखाको पूर्वमा सोलुखुम्बू र रामेछाप, पश्चिममा सिन्धुपाल्चोक जिल्ला पर्छन् भने उत्तरमा चीनको तिब्बतलाई छोएको छ । राजधानी काठमाडौंबाट एक सय १३ किलोमिटर टाढा पर्छ, दोलखा ।

Hardik ivf

सात हजार १३४ मिटर उचाईको गौरीशंकर हिमालले यस जिल्लालाई माया, ममता दिन्छ । त्यही गौरीशंकर हिमाल, कालिञ्चोक र दोलखा भीमसेन मन्दिर अनि जिरी दोलखाका पर्यटक लोभ्याउने गन्तव्य हुन् । दोलखामा तीबाहेक पनि थुप्रै पर्यटकीय गन्तव्य छन् । तीमध्ये एक प्रचलित र धेरैले रुचाइएको ठाउँ हो, जिरी ।

राजधानीबाट एक सय ८४ किलोमिटर टाढा पर्छ, जिरी । काठमाडौंबाट करिब सात घण्टा गाडीको यात्रामा पुगिने गन्तव्य । काठमाडौंबाट चारवटा जिल्ला छिचोल्दै पुगिन्छ त्यहाँ– काठमाडौं, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक । काठमाडौं छोडेर भक्तपुर, त्यहाँबाट काभ्रे अनि सिन्धुपाल्चोक । दोलालघाटको सुन्दर दृश्यलाई बाइ–बाई गर्दै सिन्धुपाल्चोकको यात्रा अगाडि बढ्छ । सिन्धुपाल्चोकस्थित भोटकोशी खोलाको किनारै–किनार हुँदै खाँडीचौरबाट उकालो लाग्दै गर्दा जोडिन्छ, दोलखा ।

दोलखाका हरियाली, हिमालका दृश्य हेर्दै चरिकोटबाट तामाकोशी हुँदै पुगिन्छ, जिरी ।

दोलखाको अविकसित गाउँको थियो, कुनैबेलाको जिरी । करिब चार दशक अगाडि । त्यहाँ  धेरैजसो जिरेल थरका मानिस बस्थे । रैथाने जिरेल थरका समुदायका मानिसले पहिले भांग्राका कपडा बेरेर हिँड्थे रे ! त्यसबेला त्यहाँको जनजीवन निकै कष्टकर थियो । ढुंगाको छानो भएको चिटिक्क परेको एक–दुई तले घरले हरकोहीको मन तान्थे ।

सोलुखुम्बसँग सिमाना जोडिएकाले जिरी हुँदै सगरमाथा चढ्न जानेले यात्रा गर्थे ।  विश्वको सर्वाेच्च शिखर सगरमाथाका प्रथम आरोही स्वर्गीय तेन्जिङ नोर्गे शेर्पा  र  स्वर्गीय सर एडमन्ड पर्सिभल हिलारीले २९ मे १९५३ मा सगरमाथाको पहिलो मानव पाइला राखे । त्यतिबेला उनीहरू जिरी हुँदै सगरमाथातर्फ लम्केका थिए । त्यसैले जिरीमा उनीहरूको शालिक खडा गरिएको छ । जंगलमूनि पर्ने यो गाउँको समथर भूभागमा स–साना छाप्रे बस्ती थिए रे त्यतिबेला !

सगरमाथा प्रवेशद्वारका रूपमा चिनिने यो गाउँ हुँदै पर्यटकहरू ओहोरदोहोर गर्दा स्थानीय जिरेलहरू फूल दिएर स्वागत र बिदाइ गर्थे ।

तर, अहिले त्यही जिरीले सुन्दर पर्यटकीय नगरमा परिणत भएको छ । आन्तरिक र बाह्य पर्यटकले अहिले जिरीलाई पनि पर्यटकीय गन्तव्यका रूपमा विकसित हुन प्रेरित गरेका छन् । उपत्यकाको भीडभाड र धुलोबाट मुक्ति पाउन र चिसो हावाको मजा लिन केही वर्षयता जिरीमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो क्रममा छ ।

जिरी बजारमा एक महिला व्यवसायी छिन् । उनले नेपाली कागजबाट विभिन्न माला, डायरी र सजावटका सामान बनाउँछिन् । उनको नाम हो, सुष्मा श्रेष्ठ । उनले एक दशकदेखि  यो काम गर्दै आएकी छन् । ‘कोरोना अगाडि मासिक ५० हजार रुपैयाँबराबर नाफा हुन्थ्यो, अहिले कोभिड–१९ का प्रभावका कारण शून्यमा छ,’ उनी भन्छिन्, ‘अब विस्तारै देशी–विदेशी पर्यटक बढ्ने आशा छ ।’ जिरीको भविष्य पनि तिनै पर्यटकमा अडिएको छ ।

किन भनिन्छ जिरीलाई ज्युरिच ?

कसले जिरीलाई स्विजरल्यान्डको ज्युरिचसँग तुलना ग¥यो ? जवाफ अस्पष्ट छ । यसरी तुलना गर्नु अतिरञ्जनापूर्ण छ । जिरीलाई किन स्विजरल्यान्ड भनिएको भन्नेबारे स्थानीय टेक जिरेल केही कारण रहेको बताउँछन् ।

दोलखाको दुर्गम क्षेत्र जिरी यसै एकाएक चर्चामा आएको भने होइन । जिरी आज आन्तरिक–बाह्य पर्यटकको केन्द्र बनेको छ । र, तिनै पर्यटकले स्विजरल्यान्डको ज्युरिचसँग तुलना गर्ने गर्छन् । तत्कालीन राजा त्रिभुवन उपचारका लागि सन् १९५५ मा स्विजरल्यान्डको ज्युरिच सहरमै गएका थिए, उतै बिते । नेपालीमाझ ज्युरिच परिचित हुनुको मुख्य कारण पनि त्यही हो ।

लगभग त्यही समय अर्थात् विसं २०११–१२ तिरको कुरा हो । स्विट्रजरल्यान्डका वाल्टर सुल्टेस र टोनी हेगन नेपाल घुम्न आएका थिए । पूर्वका विभिन्न ठाउँ घुमेर फर्किने क्रममा तत्कालीन द्वारे गणेशबहादुर कार्की र उनका छोरा लीलाबहादुरले उनीहरूलाई जिरी लिएर आएका थिए ।

स्थानीय टेकबहादुर जिरेलका अनुसार त्यतिबेला जिरेल समुदायका मानिसको आर्थिक अवस्था निकै कमजोर थियो । खुट्टामा जुत्ता हुँदैनथ्यो, झुत्रा लुगा लगाउँथे । तर पनि, अनुहार हँसिलो थियो । जिरेल समुदाय पीडामा हुँदा पनि उनीहरूको ओठमा मुस्कान देखेर सुल्टेस र टोनी हेगन प्रभावित भए ।

त्यसपछि उनीहरूले जिरीको विकासमा योगदान दिने योजना बनाए । उनीहरूसँगै विकासका काम गर्न स्विस सरकारले पनि निकै चासो देखायो । स्विस सरकारकै खर्च र प्राविधिक सहयोगमा यातायात, विद्युत, खानेपानी, सञ्चारजस्ता विकासका पूर्वाधार धमाधम बन्न थाले । अस्पताल, प्राविधिक शिक्षालय, क्याम्पस, पशु विकास र याकको चिज जिरीको विशेषता बने ।

विभिन्न व्यवसाय तथा कामको सिलसिलामा नेपाल आउने स्विसहरू एकपटक जिरी पुगेर मात्र फर्किन थाले । जिरी आउने आन्तरिक र बाह्य पर्यटक स्विजरल्यान्डका जस्ता घर, त्यहीँका जस्ता मानिसहरू देख्दा दंगदास हुन्थे । र, उनीहरूले नै जिरीलाई ज्युरिचको उपनाम दिएको जिरेल बताउँछन् । ‘त्यतिबेला स्विसको सहयोग नभएको भए जिरीको विकास हुने नै थिएन,’ उनी भन्छन् ।

स्विस सरकारको सहयोगमा ०१८ सालमा जिरी कृषि केन्द्र स्थापना गरी पशु विकास कार्यक्रम सुरु भएको हो । दूधका लागि उत्कृष्ट मानिले होलेस्टाइन र ब्राउन स्विस जातका गाईको विस्तार नेपालमा जिरीबाटै सुरु भएको मानिन्छ ।

पर्यटकीय महत्त्वको जिरीलाई सगरमाथा प्रवेशद्वार, चिजको खानी र नेपालको स्विजरल्यान्डलगायत उपनामबाट चिनिन्छ ।

जिरी आउने पर्यटकहरू हलेसी मन्दिर र खावाको वैशाखेश्वर महादेव गुफा नपुगी फर्किँदैनन् । स्थानीय जिरेश्वर महादेव मन्दिर, गुम्बा, झरनाजस्ता अर्गानिक पर्यटकीय स्थल भ्रमण गर्न पाउँछन् । साथै, जिरेल र शेर्पा जातिको सांस्कृतिक नृत्य, स्वागत, सत्कार र खानाका परिकारहरूको फरक स्वाद पनि लिन पाउँछन् । पछिल्ला वर्षमा जिरीको चियाबारी पनि अर्को पर्यटकीय गन्तव्य बन्दैछ ।


 

प्रकाशित मिति: १५:०७ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्