माग्नेको आत्मविश्वास

काठमाडाैं, कात्तिक १६ : माग्नेले कसरी माग्ला ? धेरैलाई लाग्ला– मानिसहरू उही पुराना तरिका पीडा देखाउने, समस्या देखाउने, निरीह मलिन पीडित अनुहार देखाएर माग्छन् । तर, हिजोआज केही माग्नेमा नयाँ शैली देखिएको छ । शान, आत्मविश्वाससहित माग्नेले नयाँ तरिकाले माग्न थालेका छन्।

एकपटक पंक्तिकार चिया पसलमा चिया पिउँदै थियो । नजिकै गेरु वस्त्र लगाएको, हातमा बाल्टी बोकेको, हिन्दी बोल्दै दुब्लो भारतीय माग्ने पंक्तिकारको अगाडि आए । उनले सुरुमै ‘बाबा तेरा भला करेगा । क्यों किउँ बेचन है ! अब मत घबराना बाबा आगया ।’ (अर्थात् बाबाले तेरो भलो गर्छ, अब चिन्ता नगर बाबा आइसक्यो ।) उनले भनेको वाक्य सुन्दा म छक्क परेँ । वास्तवमा उनले बोलेका ती वाक्य हिन्दी धार्मिक धारावाहिक टेलिचलचित्रमा भगवानले मान्छेलाई भन्ने वाक्यजस्तै थिए । भलै उनी दुनियाँका नजरमा माग्ने हुन्, पंक्तिकारसँग माग्दै थिए । तर उनको आत्मविश्वास, उनको शैलीले उनी भगवानझैं देखिन्थे ! घरी ‘के माग्छस् ?’ भन्थे, छिनमै ‘बाबाको खुसी गर’ भन्थे । मैले घर सोधेँ, उनले हरिद्वार भने । मैले पाँच रुपैयाँको नोट हातमा थमाइदिएँ । माग्ने बाबा हात ठड्याउँदै ठिक छ भन्दै आफ्नो गन्तव्यतिर लागे । उनको आत्मविश्वास कुनै निखारिएको कलाकारको भन्दा कम थिएन । उनमा कहीँकतै म माग्ने हुँ, मलाई जीविकोपार्जनमा समस्या छ, भन्ने प्रकारको पीडा तनाव देखिँदैनथ्यो । उनको तरिका र आत्मविश्वास हिन्दी धार्मिक सिरियलका भगवानको जस्तो देखिन्थ्यो । हिन्दू समाजमा भिक्षा माग्नुलाई योगी, सन्न्यासीको कर्म मानिन्छ ।

काठमाडौंका व्यस्त सडकमा लाखौँ मूल्यको गाडीमा सरर्र चढ्ने सुकिलामुकिला अर्बपतिदेखि २–४ रुपैयाँका लागि सडक किनारमा लम्पसार बसेर, सुतेर ढुकेर माग्ने धेरै भेटिन्छन् । माग्ने तरिका पनि पनि भिन्न भिन्न छन्– कोही दुःख–पीडा देखाएर, आफ्नो रोगी शरीर देखाएर माग्छन्, कोही केही कला देखाएर माग्छन्, कोही केही सामान भिडाएर माग्छन्, कोही अरुका दुःख देखाएर आफू समाजसेवी भएर माग्छन् त कोही धर्मको बर्को देखाएर आत्मविश्वासपूर्वक माग्छन् । माग्नेमा आत्मविश्वास हुनु अलि अस्वाभाविक लाग्छ ।

विशेषगरी युरोपेलीले माग्ने कला देखाउँछन्, बाध्यता पोख्छन् । प्लेकार्डमा आफ्ना समस्या लेख्छन्, अनि माग्छन् । केही माग्नेहरू माग गरेर सडक पेटीमा सुतिरहेका हुन्छन् । तर कोही माग्ने अलि भिन्न हुने रहेछन् । ठूलै आत्मविश्वाससहित प्रस्तुत हुनेरहेछन् ।
 
पंक्तिकारले देखेका भोगेका केही माग्नेका घटना यस लेखमा समेटिएको छ । अग्ला गोरा, थाई पर्यटक माग्ने, एक दिन पंक्तिकारको अड्डा अगाडि आए । भिक्षु वस्त्रमा थिए, उनको माग्ने शैली अरुको भन्दा फरक थियो । उनका ग्राहक भनौं या साहुको हात एक्कासि तान्छन्, आँखा चिम्लेर माला जस्तो हातमा लगाइदिन्छन्, एकछिन मन्त्र पढ्झैं गर्छन् । अनि, पैसा दिन हातले इसारा गर्छन् । त्यस्तै, अर्का एक विहारतिरका भिक्षु इन्द्रचोकमा प्रायः देखिन्छन्, हातमा बटुको जस्तो राखेका हुन्छन् । न कसैलाई दे भन्छन्, न त कुनै शब्द बोल्छन् । खालि जप गरिरहेका हुन्छन् । उनलाई बुझ्नेहरू भने उनको बटुकोमा पैसा चामल हालिदिन्छन् ।

एउटा वृद्ध माग्ने छन्, उनको घर भारतको मोतीहारी हो । उनको र मेरो बसाइँ नजिक नजिक छ । उनलाई म दिनहुँ देख्छु । उनी कहाँ बस्छन् के गर्छन्, को को बस्छन्, मलाई थाहा छ । उनको परिवारका तीन सदस्य माग्ने पेसामा छन्– उनी, श्रीमती र कान्छी छोरी । अरु सदस्य भने कवाडी संकलन गर्ने काम गर्छन् । ती माग्नेको आधार क्षेत्र न्युरोड आसपास हो । शुक्रबार भने घण्टाघर अवस्थित जामे मस्जिदमा भेटिन्छन् । शुक्रबार बाहेक प्रायःजसो उनी न्युरोडतिर कतै न कतै उभिने गर्छन् । सधैं एउटै लुगा लगाउँछन् । सधैं उही माग्ने काम गर्छन् । सधैँ बेलुकीपख उनी जाने एउटा भट्टी छ । २–४ गिलास मदिरा पिउँछन्, सितनमा कुखुराको खुट्टा टाउको खान्छन् । हातमा खुकुरी चुरोट छुट्दैन ।

उनको जीवन बाहिरबाट हेर्दा बिन्दास छ । उनको बिहान बेलुकाको दुई छाक कहिल्यै टुट्दैन । एक दिन ती माग्ने मेडिकल पसलमा पसे, म पनि त्यहीँ थिएँ । उनले खल्तीबाट एउटा औषधिको खोल झिके, पसलेलाई दिए, त्यो खोल यौन उत्तेजना बढाउने भियाग्रा रहेछ । पसलेले उनलाई भियाग्रा दिएर त्यसको पैसा लिए । म एकछिन अचम्ममा परेँ, यो उमेरमा कसका लागि उनले भियाग्रा किने ?
उनी औषधि लिएर आफ्नो गन्तव्यतिर हिँडे, संयोगले मेरो पनि बाटो त्यही थियो, म उनको पछि पछि भएँ । हाम्रो डेरा एकैतिर भए पनि उनी त्यता लागेनन् । उनी ठमेल जाने गल्लीतिर लागे ।
 
मैले देखेका यी माग्नेहरूमा एउटा समानता छ, त्यो हो आत्मविश्वास । उनीहरू भलै माग्ने थिए, दुनियाँका अगाडि हात फैलाउँथे, तर आफ्नो पेसाप्रति आत्मविश्वासी थिए । र त विनासंकोच आफ्नै लयमा शानका साथ मागिरहेका हुन्थे । कसैले दिए पनि नदिए पनि आफ्नो लयमा बसिरहेका हुन्थे । धनी–गरिब, बालक, वृद्धा सबैसँग मागिरहेका हुन्थे । मागिसकेपछि उक्त रकमले आफ्नो जिन्दगी जिउँथे । खस नेपालीमा उखान छ, ‘मागे राजकाज पाइन्छ, चोरे ढाँटे लात पाइन्छ ।’ वास्तवमा माग्नु अपराध पाप होइन । मान्छे आफूले नसक्ने भएपछि माग्न सुरु गर्छ । मान्छेले किन माग्छ– जवाफ धेरै आउलान् । सामान्यतः शरीरले नसकेर, परिस्थिति बिग्रेर, आफन्त वा राज्यले नहेरेर नै मानिसले माग्न पुग्छ ।

संसारमा यस्ता माग्ने पनि छन्, जो मागेर पक्की घरमा बसेका छन्, गाडी चढेका छन् । कोही यस्ता पनि छन्, जो हिजो करोडपति थिए । जीवन एकदम विलासी थियो । तर, आजको अवस्था फरक छ, मागेर जीवनयापन गर्नुपरेको छ । यस्ता धेरै उदाहरण छन् । यी पात्र हाम्रै वरिपरि हिँडिरहेका छन् । एउटा तितो सत्य के हो भने माग्नु बाध्यता र समयको खेल पनि हो !

वास्तवमा संसारमा सबै मानिस कुनै न कुनै बेला एकले अर्कासँग मागिरहेको हुन्छ । के गरिब के धनी, के लोभी के पापी, के शिक्षित के अशिक्षित, के ठूला के साना– सबैले केही न केही, कसैसँग अवश्य मागिरहेका हुन्छन् । भलै माग्नेका उद्देश्य तरिका फरक होलान्, तर मागिरहेका हुन्छन् । केही समय अगाडि विश्वकै शक्तिशाली प्रधानमन्त्रीमध्ये एक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा अवस्थित पशुपतिनाथ मन्दिरमा भव्य पूजाआजा गरे, एकछिन तपस्या गरे, भेटी चढाए । उनले भनेका थिए, पशुपतिनाथले आजसम्म उनको मनोकामना पूरा गरिदिएका छन् । निश्चित रूपमा उनको त्यो पूजापाठ पछाडिको मुख्य कारण केही माग्नु थियो । त्यस्तै बर्सेनि लाखौं धर्मावलम्बी विभिन्न शक्तिपीठ धाइरहेका हुन्छन् । त्यहाँ जानुको मुख्य कारण पनि माग्नु नै हो । मन्दिरका भित्र पनि मानिस मागिरहेका हुन्छन् । मन्दिर बाहिरका माग्नेलाई त साराले देखिरहेका हुन्छन् । तर भित्रका माग्नेको माग र माग्ने तरिका अलि फरक छ । अझ ठूलो हुन्छ भन्दा फरक नपर्ला ।

माग्नु वा दिनु मानवीय स्वभाव पनि हो । यो संसारमा नमाग्ने, नदिने वा नलिने मान्छे छैनन् । कसैलाई दिनु कसैसँग लिनु आमा मानिसका लागि नौलो होइन । तर, जसले जसरी मागे पनि, एकले अर्काको समस्या टार्नु हो । हुनेले नहुनेलाई दिएर सहयोग गर्नु नै माग्नुको अन्तिम उद्देश्य हुन्छ । अर्को कुरा माग्नु काम पनि हो । काम जुनसुकै होस्, चाहे त्यो राजाको काम होस् या गरिबको, काम गर्दा आत्मविश्वास भने अवश्य हुनुपर्छ । अन्यथा कामले सही स्वाद पाउँदैन । सफलता असफलता निर्धारण गर्ने काम आत्मविश्वासले पनि गर्छ । यो देशमा धेरै डाक्टर छन्, किन भगवान कोइराला र सुन्दुक रुइतको नाम अगाडि आउँछ ? त्यस्तै, यो देशमा थुप्रै कलाकार छन्, किन राजेश हमालको नाम सधैं चर्चामा रहन्छ ? किनभने उहाँहरूमा आफ्नो कामप्रति आत्मविश्वास छ, माया र लगाब र कामप्रति उत्साह छ । त्यसकारण राजेश हमाल, सुन्दुक रुइतहरू सधैं चर्चाको शिखरमा रहेका छन् ।

अन्त्यमा, काम जस्तोसुकै होस्, आत्मविश्वास भने अवश्य हुनुपर्छ । व्यक्तिको सफलताको एउटा खुड्किलो आत्मविश्वास पनि हो । मानिसले कहिलेकाहीँ जस्तो दुःख मिहिनेत गर्दा पनि सफलता हात पार्दैन । कहिलेकाहीँ सबै हुँदाहुँदै पनि काम बन्दैन । कारण आत्मविश्वसको कमीले काम नबनेका हुन्छन् । माथि प्रस्तुत गरिएका माग्नेको चर्चा उनीहरूको कामप्रति आत्मविश्वासले गरिएको हो । भलै उनीहरू माग्ने छन्, दुनियाँका अगाडि हात फैलाएका छन्, तर आत्मविश्वाससहित मागेर आफ्नो जीवन गुजारा चलाइरहेका छन् । धेरै माग्ने छन्, तर ढंग र आत्मविश्वासको कमीले खान नपाएका धेरै उदाहरण छन् । कोही यस्ता माग्ने छन्, जो मागेर बिन्दासको जिन्दगी बाँचिरहेका छन् । माग तर आत्मविश्वाससहित माग ताकि दिने मान्छे पनि छक्क परोस्, क्या माग्ने छ भनोस् । आम मानिसले उसको मगाई हेर्दा पनि उसको आत्मविश्वासको चर्चा र छाप छाडोस् ।

 

 Published Date: Tuesday, 2nd November 2021 10:55:00 am