जातिवादको किल्लालाई कसरी तोड्न सकिन्छ ?

जबसम्म तपाईहरुले आफ्नो सामाजिक व्यवस्था बदल्नु हुन्न, तबसम्म कुनै प्रगति हुन सक्दैन। नत तपाईहरुले समाजलाई आत्मरक्षाको लागि संगठित गर्न सक्नु हुन्छ नत प्रहारको लागि प्रेरित गर्न सक्नु हुन्छ। जात प्रथाको आधारशीलामा तपाईहरुले कुनै पनि निर्माण गर्नु हुन्छ भने त्यो धराशयी हुन्छ र कहिले पनि पुरा हुँदैन। नत तपाईहरुले राष्ट्रको निमार्ण गर्न सक्नुहुन्छ नत नैतिकताको नै निमार्ण गर्न सक्नुहुन्छ।

अब केवल एउटा प्रश्न छ जसमा तपाईहरुले विचार गर्न जरुरी छ। त्यो के हो भने हिन्दु सामाजिक व्यवस्थामा सुधार कसरी गर्न सकिन्छ ? जातलाई कसरी समाप्त गर्न सकिन्छ ? यो प्रश्न अत्यन्त महत्वपुर्ण छ। केही व्यक्तिहरुले हिन्दु सामाजिक व्यवस्थामा सुधार गर्नको लागि पहिलो कदम भने को उपजातहरुलाई समाप्त गर्नु पर्छ भनेर आफ्नो तर्क प्रस्तुत गरेका छन्। यो विचार यो अबधारणामा आधारित छ कि जातहरुको बीचमा तौर–तरिका र स्तरको अपेक्षा उपजातहरुको तौर–तरिका तथा स्तरमा अधिक समानता छ। यो तर्क गलत छ।

डंकन तथा दक्षिण भारतका ब्राम्हणको तुलनामा उत्तर तथा मध्य भारतका ब्राम्हणहरु सामाजिकरुपमा निम्न श्रेणीमा पर्छन्। उत्तर तथा मध्य प्रान्तका ब्राम्हण केवल भान्छे र पानी खुवाउने हुन्, जबकि डंकन र दक्षिण भारतका ब्राम्हणहरुको स्तर धेरै माथि छ। अर्को तर्फ, उत्तरी भारतका वैश्य र कायस्थ बौद्धिक एवम सामाजिकरुपमा डंकन र दक्षिण भारतका ब्राम्हणहरुको समकक्षी छन्। यसको अलावा आहारको मामलामा पनि डंकन र दक्षिण भारतका ब्राम्हण तथा कश्मीर र बंगालको ब्राम्हणमा कुनै समानता छैन। दक्षिणका ब्राम्हणहरु शाकाहारी छन्,जबकी कश्मीर र बंगालका ब्राम्हणहरु मांसाहारी।

जहाँसम्म आहारको सम्बन्ध छ डंकन र दक्षिण भारतका ब्राम्हण र अन्य गुजराती, मारवाडी, बनिया र जैन जस्ता जातहरुमा पनि काफी समानता छ। यसमा कुनै सन्देह छैन कि एउटा र अर्को जातमा संक्रमणलाई सहज बनाउनका लागि उत्तरी भारतको कायस्थ र उत्तरी भारतको ब्राम्हण बाहेक भन्दा कायस्थसँग डंकन तथा द्रविड प्रदेशका ब्राम्हणलाई मिलाई दिएमा अधिक सुगम र व्यावहारिक हुन्छ।

उपजातहरुको विलयमा कठिनाइहरु धेरै छन् त्यसका बाबजुद यदि समिश्रण भयो भने पनि के यो कुराको ग्यारेण्टी छ कि उपजातहरुको समाप्तिको परिणामस्वरुप कालन्तरमा जातहरुको निश्चितरुपमा समाप्त हुनेछ ? यो स्थितिमा उपजातहरुको समाप्ति हुने प्रकृया समाप्त भए पछि यसको दुष्परिणाम जातहरुको जड अझै मजबुत हुने छ र त्यो अझै शक्तिशाली बन्ने छ। परिणामस्वरुप त्यो अझै हानीकार सिद्ध हुन्छ। अतः यो उपाय नत व्यवहारिक छ न त कार्यान्वयन गर्न सकिने। यो उपाय निश्चिरुपमा गलत सिद्ध हुनेछ। जातको समाप्त गर्ने अर्को उपाय के भनिएको छ भने यसको आरम्भ अन्तरजातीय खान–पानको आयोजनाबाट गरियोस्। मेरो विचारमा यो उपाय पर्याप्त छैन।

यस्ता अनेक जातहरु छन् जसले अन्तरजातीय खान–पानमा पहिलेदेखि नै अनुमति दिएका छन्। यो उपायमा सामान्य अनुभवले के देखाएको छ भने अन्तरजातीय खान–पानको व्यवस्थाले जातको भावना या जात– बोधलाई समाप्त गर्न सफल भएको छैन। मलाई पुरा विश्वास छ कि यसको बास्तविक उपचार अन्तरजातीय विवाह नै हो। केवल रगत नै मिल्न सक्यो भने सम्बन्धलाई भावनात्मक बनाउन सकिन्छ र जबसम्म सजातीय भावनालाई सर्वोच्च स्थान दिइदैन तबसम्म जात व्यवस्थाद्धारा सृजना गरिएको पृथकताको भावना अर्थात पराएपनको भावना समाप्त हुँदैन। हिन्दुहरुमा अन्तरजातीय विवाह सामाजिक जीवनमा निश्चितरुपमा महान शक्तिको एक कारक सिद्ध हुन सक्छ।

गैह्र–हिन्दुहरुमा यसको आवश्यकता छैन किनभने त्यहाँ पहिले नै समाजलाई जोड्ने संयोजन-सुत्र वा सहयोगका आधारहरु उपलब्ध छन्। त्यहाँ विवाह जीवनको एउटा सामान्य घटना हुन्छ। तर समाज जहाँ छिन्न–भिन्न छ त्यहाँ बाध्यकारी शक्तिकोरुपमा विवाह प्रमुख आवश्यकता हुन्छ। अतः जात समाप्त गर्नको लागि वास्तविक उपाय अन्तरजातीय विवाह नै हो। जात समाप्त गर्नको लागि जातको विलय जस्तो उपायलाई छोडेर अरु कुनै उपाय उपयुक्त सिद्ध हुन सक्दैन।

तपाईहरुको जातपात तोडक मण्डलले यही बाटो अपनाई रहेको छ। जात प्रथामाथि सिधा र प्रत्यक्ष प्रहार गरेर हिन्दुहरुको रोगको सही निदान गर्नुभएको छ। हिन्दुहरुलाई उनीहरुको गल्ती देखाई दिएर तपाईहरुले वास्तवमै धेरै साहसी काम गर्नु भएको छ। यसको लागि म तपाईहरुलाई बधाइ दिन चाहन्छु। किनभने सामाजिक अत्याचारको तुलनामा राजनैतिक अत्याचार केही पनि होइन। र त्यो सुधारक जसले समाजको विरोध गर्छ त्यो व्यक्ति राजनीतिज्ञभन्दा बढी साहसी हुन्छ। राजनीतिज्ञले त केवल सरकारको मात्र विरोध गर्छ। तपाईहरुको भनाईमा के सत्यता छ भने जात त्यो स्थितिमा समाप्त हुन्छ जब अन्तरजातीय खान–पान एवं अन्तरजातीय विवाह सामान्य व्यवहारको रुपमा प्रचलनमा आउँछ।

तपाईहरुले रोगको जड त पत्ता लगाउनु भयो, तर के रोगको लागि तपाईहरुको उपचार विधि ठीक छ त ? यो प्रश्न तपाईहरुले आफैलाई सोध्नुहोस्। किन अधिकसंख्यामा हिन्दुहरु अन्तरजातीय विवाह एंव खान–पानको सम्बन्ध राख्न चाहँदैनन् ? तपाईहरुको उद्धेश्य किन लोकप्रिय हुन सकेन ? त्यसको केवल एउटा मात्र उत्तर छ। त्यो के हो भने अन्तरजातीय खान–पान एवम अन्तरजातीय विवाहको सम्बन्ध त्यो आस्था र धर्मको सिद्धान्तको प्रतिकुल छ जसलाई हिन्दुहरु पवित्र मान्छन्। जात इटाको पर्खाल या काँडे तारको लाइन जस्तो कुनै भौतिक वस्तु होइन जसले हिन्दुहरुको मेलमिलापलाई रोक्छ र जसलाई तोड्नाले समस्या समाधान हुन्छ। जात त एउटा धारणा हो र मानसिक स्थिति हो। अतः जात व्यवस्थालाई नष्ट गर्ने भन्ने अर्थ भौतिक रुकावटलाई हटाउने होइन। यसको अर्थ विचारात्मक परिवर्तनसँग जोडिएको छ।

जात व्यवस्था खराब हुन सक्छ। कतिले त के पनि भन्छन् भने जातिवादले यस्तो विषको उत्पादन गर्छ, जुन मानवताको लागि घातक छ। तर के पनि भन्न सकिँदैन भने हिन्दुहरुले जात प्रथालाई यसकारणले मान्छन् किनभने उनीहरु मानवताको दुष्मन हुन या उनीहरुको दिमाग खराब छ। उनीहरुले जातलाई यसकारण मान्छन् किनभने यो नितान्त धार्मिक आस्था हो, जातपात मान्नुमा उनीहरुलाई दोषी मान्न सकिँदैन। मेरो विचारमा उनीहरुको धर्म नै दोषी हो जसको कारण जातको धारणाको जन्म भयो।

यदि यो कुरा ठीक हो भने यो स्पष्ट हो कि त्यो शत्रु जोस“ग तपाईहरुले संघर्ष गर्नु छ त्यो व्यक्ति होइन जसले जात मान्छ , बल्की त्यो धर्म शास्त्र हो जसले जातिवादको विषलाई उत्पादन गरेको छ। खाना र बिवाहको सम्बन्ध नगर्ने या समय–समयमा अन्तरजातीय खान–पान र अन्तरजातीय विवाहको आयोजना गरेनन् भनेर व्यक्तिको आलोचना या उनीहरुको उपहास गर्नु भनेको बान्छित उद्धेश्य प्राप्त गर्ने एउटा निरर्थक तरिका हो। वास्तविक उपचार त शास्त्रबाट मान्छेहरुको विश्वासलाई समाप्त गर्नु हो।

यदि शास्त्रले व्यक्तिहरुको धार्मिक विश्वास र विचारहरुलाई दुषित पार्ने काम जारी राख्यो भने तपाईहरु कसरी सफलताको आशा राख्न सक्नु हुन्छ ? शास्त्रको सत्ताको विरोध नगरीकन,व्यक्तिहरुलाई उनीहरुको पवित्रता र दण्ड विधानमा विश्वास गर्ने अनुमति दिनु र फेरि उनीहरुको अविवेकी र अमानवीय कार्यको लागि उनीहरुलाई दोष दिनु र उनीहरुकोआलोचना गर्नु सामाजिक सुधारको अनुपयुक्त तरिका हो। यस्तो प्रतित हुन्छ कि मिस्टर गान्धी,जो अस्पृश्यतालाई समाप्त गर्ने समाज सुधारकले समेत यो महसुस गर्न सकेनन् कि व्यक्तिको कार्य मात्र त्यो धार्मिक विश्वासको परिणाम हो जसलाई शास्त्रद्धारा उनीहरुको मनमा पैदा गरिएको छ। व्यक्तिले त्यतिबेलासम्म आफ्नो आचरणमा परिवर्तन ल्याउन सक्दैन जबसम्म उसले शास्त्रको पवित्रतामा विश्वास गर्न छोड्दैन जसमाथि उनीहरुको आचरण आधारित छ।

यस्तो स्थितिमा यदि कुनै समाज सुधारकको कार्यमा सफलता प्राप्त हुन सकेन भने त्यसमा आश्चर्य मान्नु पर्ने जरुरी छैन। तपाईहरुले पनि त्यही गल्ती गरी रहनु भएको छ जुन अस्पृश्यतालाई समाप्त गर्ने उद्धेश्यले काम गर्ने समाज सुधारकहरुले गरी रहेका छन्। अन्तरजातीय खान–पान एंव अन्तरजातीय विवाहको लागि आन्दोलन गर्नु भनेको हिन्दुहरुलाई जबरजस्ती विष पिलाउनु सरह हो। प्रत्येक पुरुष र स्त्रीलाई शास्त्रको गुलामीबाट मुक्त गराउनु होस्, शास्त्रद्धारा प्रतिष्ठापित हानिकार धारणाहरुबाट उनीहरुको मस्तिष्कलाई शुद्ध गर्नु होस्, तब हेर्नुहोस् उनीहरुले तपाईहरुले नभनी नै आफैँले अन्तरजातीय खान–पान तथा अन्तरजातीय विवाहको आयोजना गर्ने छन्।

वाक् छलले केही फाइदा हुँदैन। मान्छेहरुलाई यो भनेर केही फाइदा छैन कि शास्त्रमा यस्तो भनिएको छैन जस्तो विश्वास गरिएको छ,व्याकरणको दृष्टिबाट पढिन्छ या तार्किक ढंगले त्यसको व्याख्या गरिन्छ, यसको मतलब छैन् कि मान्छे हरुले शास्त्रको ज्ञान कस्तो तरिकाले ग्रहण गर्छन्। तपाईहरुले यस्तो दृष्टिकोण अपनाउन जरुरी छ जस्तो बुद्धले गरेका छन्। तपाईहरुले यस्तो मोर्चा बनाउन जरुरी छ जुन गुरुनानकले बनाएका थिए। तपाईहरुले शास्त्रलाई केवल छोड्ने मात्र होइन बल्की अनिवार्यरुपमा त्यसको सत्ताको समेत अस्वीकार गर्नुपर्छ। जसरी बुद्ध र नानकले गरेका थिए। तपाईहरुले हिन्दुहरुसँग यो भन्ने आट गर्नुपर्छ दोष उनीहरुको धर्मको हो जसले तपाईहरुमा जातको पवित्र धारणा पैदा गरेको छ, के तपाईहरुले यस्तो साहस देखाउन सक्नुहुन्छ ?

(कमला हेमचरीले अनुवाद गरेको पुस्तक जातको विनाशको अंश।)

 

 Published Date: Sunday, 24th October 2021 10:11:00 am