कागती खेती अभियानमा गौरीगञ्जका ज्ञानहरि

चितवन, कात्तिक ६ : ‘देशको माटो रम्न सके रम्छ नेपाल’ यो नारासँगै यहाँका एक कृषक कागती खेतीमा जुटेका छन्। भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा कुटो कोदालो कृषि बारी नामक संस्था दर्ता गरेर स्थानीय ज्ञानहरि कँडेल कृषि अभियानमा जुटेका हुन्।

उनले अहिले आफ्नो सात कट्ठा जमिनमा कागती खेती गर्दै आएका छन्। कँडेलले विदेशको यात्रालाई रोकेर आफ्नै बारीमा कागती खेती गर्दै आएका हुन्। छ वर्ष पहिले विदेश जाने सोचमा रहेका कँडेल राहदानी (पासपोर्ट) बनाउनका लागि सिफारिस लिन जानुभन्दा अघिल्लो दिन साँझको टेलिभिजन कार्यक्रमले उनलाई कृषि कर्ममा आकर्षित गर्‍यो । टेलिभिजन कार्यक्रममा नेपालमा कागती लाखाँैको आयात हुने सुनेपछि उनले विदेशको यात्रालाई पूर्णविराम लगाउँदै यस व्यवसायमा लागेका हुन्।

उनले भने, ‘विदेश जाने रहर होइन । साथीभाइ सबै विदेशमा भएकाले केही समय विदेश जाउँ भन्ने लागेको थियो । तर पछि मन बद्लियो ।’ टेलिभिजन कार्यक्रम हेरेर प्रभावित बनेपछि आफ्नै देशको माटोमा केही गर्नुपर्छ भन्दै उनले कागती खेती सुरु गरेको स्मरण गरे। कँडेलले सुरुआतमा आफ्नो सात कट्ठामा १०० वटा कागतीका बिरुवा लगाए। उनको बारीमा सुन कागती लगाएका छन्। उनले भने, ‘महिनामा चार क्विन्टल कागती बेच्छु, बजारको समस्या छैन।’ उनले करेसाबारीमै सुन फलेजस्तो लाग्छ, खुसी लागेको छ भने। आजकल दैनिक २०–२५ केजी कागती टिप्ने गरेको उनले बताए। ‘कागती अमिलो भए पनि यसको आम्दानी भने निकै गुलियो हुँदो रहेछ,’ उनले खुसी हुँदै भने।

उनले भने, ‘पाकेका कागती टिप्दा सुन टिपेको महसुस हुन्छ।’ मासिक सरदर रु ५० हजार कागती बेचेर कमाउन सफल भएको उनको भनाइ छ। ग्राहक तथा व्यापारी घरमै आएर कागती लैजाने गरेका छन्। खपत नभएका बेला कहिलेकाहीँ तरकारी तथा फलफूल मण्डीमा पुर्‍याउनुपर्ने भए पनि खासै बजारको समस्या नभएको उनले बताए। उनले भने, ‘अन्य फलजस्तो केही दिनमै सड्ने, बिग्रने, चराले बारीमै सखाप पार्ने समस्या हुँदैन ।’ खेती सजिलो छ, हेरचाह पुगे विदेशमा कमाइ हुने पैसा कागतीले यही दिन्छ।

कागती खेती गर्नु अघि उनी हार्डवेयरको व्यापार गर्थे। हार्डवेयरको व्यवसाय छाडेर तरकारी खेती, मकै खेती गर्नुभएका उनी र उनको परिवार अहिलेको व्यवसायबाट सन्तुष्ट छ। यो व्यवसायलाई बढाएर एक बिघा पु¥याउने लक्ष्य उनको छ। उनले सम्झे, ‘पहिला मैले यो व्यवसाय गर्दा मलाई गाउँलेले काँडाघारी बनाउन थाल्यो भन्नुहुन्थ्यो । अहिले कृषि कर्म गर्नुपर्छ भन्ने सबैमा परेको छ ।’ उनलाई पहिला बुद्धि बिग्रिएको भनियो भन्दै स्थानीय शोभाकर कँडेल अहिले व्यावसायिकरुपमा खेती गर्नुपर्छ भन्नेमा पुगेको बताउँछन्। उनले भने, ‘हामीले पहिला नहुने काम गर्दै हुनुहुन्छ भनेका थियौँ । अहिले उहाँकै प्रगति देख्दा खुसी लागेर आउँछ।’

अहिले उनले गरेको व्यवसायलाई कृषि अनुसन्धान निर्देशनालय लुम्ले कास्कीले अनुसन्धान केन्द्रको रुपमा विकास गरेको छ।  केन्द्रका प्राविधिक अधिकृत (बागबानी) रेशमबहादुर बस्नेतले यहाँको उत्पादन भण्डारण क्षमताको अनुसन्धानका लागि काम भइरहेको बताए। यहाँ उत्पादित कागतीलाई स्याङ्जामा लगेर स्टोर गर्ने गरेको उनको भनाइ छ । अहिले यसको भण्डारण क्षमता १० देखि १५ दिनको भए पनि यसलाई अझै कसरी बढाउन सकिन्छ भन्ने विषयमा अध्ययन सुरु गरिएको उनले बताए।

केन्द्रले नेपालमा यही फार्ममा मात्रै अध्ययन सुरु गरेको उहाँले जानकारी दिए। कागती बहुगुण भएको सुन्तला प्रजातिको फल हो। भिटामिन सी प्रशस्तै पाइन्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाउने भएकाले कोभिड–१९ को पहिलो र दोस्रो चरणका बेला कागतीको खपत निकै बढेको थियो। मोटोपन घटाउन, मुटु, रक्तचाप, पत्थरी नियन्त्रण गर्न, छालाको सौन्दर्य बढाउन कागती उपयोगी मानिन्छ। हरेक दिन कागती पानी पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ। रासस

 

 Published Date: Saturday, 23rd October 2021 10:54:00 am