Kathmandu Press

जयनगर-कुर्था सीमापार रेलमार्ग नेपाललाई हस्तान्तरण

भारतको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
जयनगर-कुर्था सीमापार रेलमार्ग नेपाललाई हस्तान्तरण

काठमाडौं, कात्तिक ५ : भारतको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेनुकुमारी यादव र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितिमा रेलमार्ग हस्तान्तरण भएको हो । समारोहमा भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इर्कन इन्टरनेसनल लिमिटेडले नेपाल रेलवे कम्पनी लिमिटेडलाई रेलमार्ग हस्तान्तरण गरेको हो ।

भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारोगेजलाई ब्रोडगेजमा रूपान्तरण गरिएको छ ।

रेलमार्ग निर्माणका लागि भारतले आठ अर्ब ७७ करोड नेपाली रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । यो खण्ड ६८.७२ किलोमिटर लामो जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गकै एक हिस्सा हो । यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारोगेज रेलमार्ग थियो । जयनगर–कुर्था खण्डमा आठवटा स्टेसन छन्, जसमा पुरातात्त्कि महत्त्वको जनकपुर पनि सामेल छ ।

यो नेपाल र भारतबीचको पहिलो ब्रोडगेज सीमापार रेलमार्ग हुनेछ । यसले दुई देशबीचको व्यापार र वाणिज्य गतिविधिहरूलाई थप बढावा दिनुका साथै जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने विश्वास रहेको भारतीय दूतावासले जनाएको छ ।

‘सीमापार रेल सञ्जाल नेपाल–भारत विकास सहकार्यको एक महत्त्वपूर्ण पक्ष हो, जसमा जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्ग र १८.६ किलोमिटर जोगवनी–विराटनगर रेलमार्ग समाविष्ट छन्,’ दूतावासले विज्ञप्तिमा भनेको छ,, ‘यी दुवै रेलमार्ग भारत सरकारको आर्थिक सहायताअन्तर्गत निर्माण भएका हुन् ।’

प्रकाशित मिति: १६:४१ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्