मिथकै मिथकको हाँडीगाउँ जात्रा

काठमाडौं, कात्तिक ५ : प्राचीन कालमा दिदी-बहिनी सँगसँगै गर्भवती भए। दिदी नास्तिक थिइन्, बहिनी। सृष्टि भगवानकै कारण चलेको तर्क बहिनीको हुन्थ्यो, दिदी त्यसलाई मान्दैनथिन्। ‘सन्तान हामी जन्माउने, दुःख, पीडा हामी सहने, श्रेय भगवानलाई ?’ दिदीको तर्क हुन्थ्यो।

दुवै दिदीबहिनी प्रसुती पीडामा छट्पटिए। आस्तिक बहिनीले सहजै बच्चा जन्माइन्। नास्तिक दिदीले भने १२ वर्षसम्म वेदनामा छट्पटिनुपर्‍यो। उनको परिवारले भगवान नारायणको आराधना गरे। तैपनि, नारायण रुष्ट नै रहे। नारायणलाई फकाउन उनीहरूले कतै नभएको खट (रथ) र मैनको फूलसहित जात्रा निकाले। बल्ल नारायण प्रसन्‍न भई दिदीलाई प्रसव वेदनाबाट छुट्कारा दिए। यद्यपि, बालक उल्टो जन्मिए।

यो मिथक हो, हाँडीगाउँको ‘कहीँ नभएको जात्रा’को। हाँडीगाउँका ८१ वर्षीय रामप्रसाद कर्माचार्यको भनाइमा बच्चा उल्टो जन्मिएकै कारण जात्रामा खट उल्टो राख्‍ने प्रचलन सुरु भएको हो।

भगवान मान्‍ने-नमान्‍ने विषय आधुनिक युगमा व्यक्तिगत इच्छा र स्वतन्त्रताको कुरा हो। तर, प्राचीनकालमा यस्तो अवस्था थिएन। दैवी युगमा धार्मिक मूल्य मान्यताको अपहेलना गर्नुलाई अपराध मानिन्थ्यो।

हाँडीगाउँका बासिन्दापिच्छे ‘कहीँ नभएको जात्रा’का अलग-अलग भनाइ र किंवदन्ती छन्। उनीहरूको बुझाइ पनि फरक-फरक पाइन्छ। तथापि, यी सबैको एउटा मिलनविन्दु पाइन्छ, आस्तिक र नास्तिक आस्था र व्यवहार।

लेखक रेखा शाक्यको पुस्तक ‘राजमती’मा उल्लेख भएअनुसार कौलाथ्व पूर्णिमाको भोलिपल्ट अर्थात् प्रतिपदाका दिन काठमाडौंको हाँडीगाँउमा ‘चोक्ते नारायण’को जात्रा निकालिन्छ। यही जात्रालाई भन्‍ने गरिएको छ, ‘कहीँ नभएको जात्रा’। यसैलाई ‘नर-नारायण‘को जात्रा पनि भनिन्छ। खासमा यस जात्रामा ब्रह्मा, विष्णु र उमा महेश्‍वरको झाँकी निकालिन्छ।

यसको अर्को किंवदन्ती पनि छ। एउटी रानीको घमण्डपूर्ण व्यवहारले रुष्ट बनेका नारायण भगवानले श्राप दिएर उनको प्रसव वेदना १२ वर्षसम्म कायम राखेका थिए। त्यसको प्रभाव भने रानीमा सीमित रहेन, स्थानीय महिलाहरूको प्रसव वेदना पनि लामो समय रहन थाल्यो। जनजीवनमै त्यसको असर देखिन थालेपछि महर्षी नारदको सल्लाहमा विश्‍वकर्मा देवले महापर्वतमा तप गरी बसेका नारायणलाई रिझाउने उपाय निकाले। उनले ब्रह्माण्डमा कहीँ नभएको खटलाई कहीँ नभएको फूलले सिंगारी तत्कालीन नेपाल मण्डलमा सवारी गराउने प्रस्ताव अगाडि सारे। उनको प्रस्तावबमोजिम तीन तलाको खटमा गजुर उल्टा राखी तलबाट दुइटा डोरीको सहायताले घुमाउँदा पृथ्वीजस्तो घुम्‍न थाल्यो।

त्यो खटमा सेतो कपडाले ढाकी हिमालय पर्वत  र हरियो धुपीले सजाई महाभारत पर्वतको स्वरूप दिएको र प्रत्येक तलाको खटमा पहेँलो मैनको स्वर्ण फूल (जुन कुनै लोकमा फुल्दैनथ्यो) बाट सिंगारे। र, बाजागाजा, लावा लस्करको साथमा नेपाल मण्डलमा सवारी गराए।

त्यसपछि नारायण खुशी भई १२ वर्षसम्म रोकिएको प्रसव वेदनाबाट रानीलाई मुक्ति दिए। अन्य महिलाले पनि लामो समय रोकिने प्रसव पीडाबाट मुक्ति पाए। यसरी अनौठो खटको यात्रा भएकाले पनि सोही बेलादेखि ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा‘ भन्‍ने उक्ति प्रख्यात बनेको स्थानीय बासिन्दको विश्‍वास पाइन्छ।

आस्तिक र नास्तिक मत, भगवानप्रति वितृष्णा, त्यसपछिको स्थानीय बासिन्दाको भोगाइ अनि भगवानको कृपासँग सम्बन्धित पाइन्छ, यो जात्रा। खटु, न्याङ्मा र पोटा गरी तीन टोलका तीन रथलाई क्रमशः बजार परिक्रमा गरी पुनः पोटा, न्याङ्मा र अन्त्यमा खटु टोलमा रथ विसर्जन गरी जात्रा समापन गरिन्छ।

प्रसुति पीडालाई सहज पार्ने मैन फूल

हाँडीगाउँको यस जात्राको विशेषता हो, मैन फूल। यस लोकमा नपाइने मान्यता रहिआएको मैन फूल प्राप्त गर्न जात्राको विर्सजनमा स्थानीयवासीबीच लुछालुछ चल्छ। मैनबाट बनाइने यो फूल प्रसव वेदनाका क्रममा गर्भवतीको शिरमा राखिदिए पीडा कम हुने जनविश्‍वास यहाँका बासिन्दामा पाइन्छ।

विगतमा जंगलबाट ल्याइने मैनबाट फूल बनाइन्थ्यो। अहिले भने गुठी संस्थानले मैनको व्यवस्था गरिदिन्छ। तीनवटै रथका लागि जात्राको अघिल्लो रात फूल बनाइन्छ। अनौठो के भने यी मैन फूल चर्को घाममा पनि पग्लिँदैनन्।

समुद्र मन्थनसँग जोडिएको मिथक

यस जात्रामा प्रयोग हुने रथ अन्य जात्रामा प्रयोग गरिनेभन्दा उल्टो छ। अर्थात्, यस जात्रामा प्रयोग हुने रथको पिँधमा गजुर छ। टुप्पामा भने प्यागोडा आकारका तला छन्। यी तलालाई  गजुरसँग जोड्न तामाको मदानी प्रयोग गरिएको छ। स्थानीय नजरमान डंगोलका अनुसार रथको टुप्पोमा रहेको भाग हिमालय पर्वत हो भने, त्यसभन्दा तलको भाग पृथ्वी हो।

जसरी समुद्र मन्थनमा भगवान नारायणले कछुवा बनी मदानीको भूमिका वहन गरेका थिए, सोहीअनुसार यो जात्रा सफल पार्न नारायणले तामाको भाँडाको रूप धारण गरेको जनविश्‍वास रहिआएको छ। त्यो भाँडोलाई स्थानीयवासीले मदानीको रूपमा मान्‍ने गरेका छन्। रथलाई बजार परिक्रमा गराउँदा पृथ्वीलोक घुमाएको विश्‍वास उनीहरूमा पाइन्छ।

आधा रातमै जात्रा सक्ने चलन

‘कहीँ नभएको जात्रा हुनाको कारण पहिले-पहिले दिनमा नभई रातमा ताराहरू आकाशमा देखिँदा देखिँदै जात्रा सक्नुपर्ने चलन पनि हो,’ डंगोल भन्छन्, ‘भुसुक्कै निदाएमा जात्रा हेर्न पाउँदैनथ्यौँ।’

उनका अनुसार जात्रा सकेर बिहानीपख धान काट्न निस्किने चलन थियो। रथ भने टोल-टोलमा विसर्जन गरेर थन्क्याइएको हुन्थ्यो।

केही दशक अघिसम्म काठमाडौंमा पनि मुख्य पेशा कृषि नै थियो। सोही कारण धान काट्न बिहानै जानुपर्ने भएकाले राति नै जात्रा सक्ने चलन बसेको हुन सक्ने डंगोलको अनुमान छ। विस्तारै उपत्यकामा खेती किसानी कम हुँदै गयो। र, मानिसमा कामको चटारो पनि कम भयो। अनि, यो जात्रा पनि रातिको साटो दिउँसो निकालिन थाल्यो।

जात्रा नसकिएसम्म दसैं नसकिने विश्‍वास

कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् ‘कात्तिक कृष्ण प्रतिपदा’को दिन हाँडीगाउँमा दसैंका टीका र जमरा सेलाइसकिएको हुन्छ। तर, यस जात्रामा अझै पनि रातो टीका, जमरा र तुलाबा (घाँटीमा बेरिने रातो धागो) लगाएका स्थानीय बासिन्दा देखिन्छन्। पूजा गर्न आउने महिलाले थालीमा जमरासहितको टीका ल्याएका हुन्छन्, जुन रथमा चढाइन्छ।

हाँडीगाउँका बासिन्दामा यो जात्रा नसकिएसम्म दसैं पनि नसकिने विश्‍वास पाइन्छ। ‘जात्रा सकिएको दिनपछि मात्र जमरा पनि सेलाइन्छ,’ पूजा गर्दै गरेकी एक महिलाले काठमाडौं प्रेसको जिज्ञासामा भनिन्।

 Published Date: Friday, 22nd October 2021 2:50:00 pm