Kathmandu Press

पाँचथरमा बाढीपहिरोबाट २७ को मृत्यु, दुई बेपत्ता

पाँचथर, कात्तिक ४ : पाँचथरमा बाढी र पहिरामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ।जिल्लाको मिक्लाजुङ गाउँपालिकामा मात्रै बाढी र पहिरामा परी २१...
पाँचथरमा बाढीपहिरोबाट २७ को मृत्यु, दुई बेपत्ता
Hardik ivfHardik ivf

पाँचथर, कात्तिक ४ : पाँचथरमा बाढी र पहिरामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ।

जिल्लाको मिक्लाजुङ गाउँपालिकामा मात्रै बाढी र पहिरामा परी २१ जनाको मृत्यु भएको छ। मिक्लाजुङ– ५ कुरुम्बामा मात्रै १५ जनाको पहिराले पुरिएर मृत्यु भएको छ। मिक्लाजुङ गाउँपालिका– १, २, ४ र ७ मा गरी थप ६ जनाको मृत्यु भएको हो।

मिक्लाजुङ गाउँपालिकामै दुई जना स्वास्थ्यकर्मीलाई समेत पहिराले पुरेको छ। गाउँपालिका अध्यक्ष अमरराज माखिमका अनुसार पहिरामा परी घाइते भएका स्थानीयवासीको उपचारका लागि इलामको माङ्सेबुङ गाउँपालिकाबाट आएका दुई जना अहेबलाई समेत पहिराले पुरेको हो। अहिलेसम्म उनीहरूका छाता भेटिएको र पहिराले दुई जना अहेबसहित तीन जनालाई सोरेर लगेको अध्यक्ष माखिमले बताए।

निरन्तरको वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको र मानवीय तथा भौतिक क्षतिका विवरण आइरहेको अध्यक्ष माखिमले बताए। जिल्लाको फाल्गुनन्द गाउँपालिकामा तीन जना, फिदिम नगरपालिकामा दुई जना र कुम्मायक गाउँपालिकामा एक जनाको पहिरामा परी मृत्यु भएको छ।

बाढी तथा पहिराका कारण हालसम्म तीन जना बेपत्ता भएका छन् भने ६ जना घाइते भएका छन्। निरन्तरको वर्षाका कारण मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, तमोर करिडोर सडकसहित जिल्लाका अधिकांश सडक क्षतिग्रस्त बनेका छन्।

बाढी र पहिराले सयौँको सङ्ख्यामा घर, गोठ तथा सार्वजनिक भवनमा क्षति पु¥याएको छ। पाँचथर, तेह्रथुम र धनकुटाको सिमानामा अवस्थित नावा खोलामा रहेको अस्थायी प्रहरी चौकी बाढीले पुरेको छ।

जिल्लामा क्षतिको थप घटना टेलिफोन अवरुद्ध हुँदा बाहिर आउन सकेका छैनन्। सडक अवरुद्ध हुनाले उद्धार कार्यसमेत जटिल बनेको छ । जिल्लामा सयौँ घर क्षतिग्रस्त हुँदा स्थानीयवासी विस्थापित बनेका छन्।

सुक्खाग्रस्त क्षेत्रका रुपमा रहेका जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकामा समेत वर्षाका कारण बाढी र पहिरो गएको छ । तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाका अनुसार केही घर पहिराले पुरेको छ भने बाढी र पहिराका कारण एक दर्जन बढी परिवार विस्थापित बनेका छन्। (रासस)

प्रकाशित मिति: ०६:४० बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्