Kathmandu Press

दशैंपछि कोरोना संक्रमित बढ्लान् ?

दशैंपछि पहिला जसरी नै कोरोना संक्रमितको संख्या बढ्छ जस्तो लाग्दैन। अहिले निरन्तर रूपमा डेल्टा भेरियन्ट मात्र देखिएको छ। धेरैले खोप लगाइसकेका छन् ।
दशैंपछि कोरोना संक्रमित बढ्लान् ?
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक २ : नेपाली हिन्दुहरूको महान् चाड दशैंमा सहर बजारमा भन्दा गाउँघरमा चहलपहल बढेको छ । गत वर्षको दशैंमा सहर बजारमा बसिरहेका मानिस स्वास्थ्य सतर्कता नअपनाई गाउँमा जाँदा गाउँ–गाउँमा कोरोना फैलन सक्ने विज्ञले बताएका थिए ।

यसपालि दशैंको मुखमा कोरोना संक्रमितको  संख्या घट्दो दरमै थियो । के मानिसको चहलपहलका कारण दशैंपछि कोरोना संक्रमितको दर बढ्ला ? यो प्रश्न आम मानिसदेखि विज्ञसम्मको चासोको विषय बनेको छ ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन दशैंपछि कोरोना संक्रमित बढ्ने सम्भावना कम रहेको बताउँछन् । ‘दशैंपछि पहिला जसरी नै कोरोना संक्रमितको संख्या बढ्छ जस्तो लाग्दैन,’ उनले भने, ‘अहिले निरन्तर रूपमा डेल्टा भेरियन्ट मात्र देखिएको छ । धेरैले खोप लगाइसकेका छन् ।’

त्यसो त सामान्य रुघाखोकीमा कोरोनाको परीक्षण गर्न आउने पनि घटिरहेका छन् । जसको एक कारण हो, खोप । खोप लगाइसकेपछि कोरोना लागे पनि त्यति गाह्रो नहुने कारण मानिस परीक्षण गर्न नआउने र परीक्षण नगराउँदा संक्रमितको संख्यामा पनि कमी आउने उनी बताउँछन् ।

यद्यपि अझै पनि खोप लगाउन बाँकी धेरै छन्, जो कोरोना संक्रमणको जोखिममै छन् । ‘अहिलेको अवस्थामा जोखिम शून्यमा झरेको भन्न मिल्दैन, तर कोभिड–१९ को दोस्रो लहर शिथिल अवस्थामा आएको हो,’ उनी भन्छन्, ‘अब दशैंपछि केही हदसम्म कोरोना संक्रमितको संख्या वृद्धि होला, तर बिरामी भएर अस्पताल नै भर्ना हुनुपर्ने बिरामीको संख्यामा त्यत्ति धेरै वृद्धि नहुने अनुमान छ ।’

दशैंपछि मौसम परिवर्तन र असन्तुलित खानपानका कारण मानिस बिरामी हुने सम्भावना रहेको उनी बताउँछन् । ‘दशैंमा हामीले धेरै दिनसम्म भण्डारण गरेर राखेको परिकार खान्छौँ । त्यसले फुड पोइजन हुने सम्भावना बढी हुन्छ,’ उनी भन्छन्, ‘मानिससँग भौतिक दूरी कायम नहुँदा सरुवा रोग (रुघाखोकी आदि) लाग्ने सम्भावना रहनुका साथै बढी चिल्लो, पिरो, मासु, बढी नुनिलो, बढी गुलियो लगायत परिकारले युरिक एसिड, उच्च रक्तचाप, ग्यास्टिक, मधुमेह लगायत नसर्ने रोग भएकाको स्वास्थ्यमा समेत समस्या आउने सम्भावना छ।’

अर्का संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला गत वर्षको तुलनामा यसपालि कोरोना सामान्य अवस्थामा रहेको बताउँछन् । ‘पोहोर कोरोना विरुद्धको खोप थिएन । यसपालि देशभरका कुल जनसंख्यामध्ये ३३ प्रतिशतभन्दा बढीले खोप पाइसकेका छन्,’ उनी भन्छन्, ‘त्यसै कारण जोखिम कम छ । तर पूर्ण रूपमा ढुक्क हुने अवस्था छैन । अझै पनि बालबालिकालाई खोप उपलब्ध गराइएको छैन । खोपले पनि शतप्रतिशत सुरक्षा दिँदैन ।’

उनका अनुसार, खोप लगाइसकेकामध्ये एकतिहाइलाई कोरोना संक्रमण हुने सम्भावना रहन्छ । तर नेपालमा धेरैलाई डेल्टा भाइरसको संक्रमण भइसकेको र खोप पनि लगाइसकेको हुँदा दशैंपछि कोरोना संक्रमितको संख्यामा ह्वात्तै वृद्धि आउने सम्भावना कम छ ।

‘दशैंमा मान्छेहरू आ–आफ्नै गाउँ जाने र ओहोरदोहोर बढ्ने हुँदा अहिलेभन्दा दोब्बर वा भनौं १५ सय देखि दुई हजारसम्म बढ्ला । तर त्योभन्दा धेरै हुने सम्भावना कमै छ,’ उनी भन्छन्, ‘सतर्कता अपनाउन जरुरी छ । किनभने बालबालिकाका साथै कतिपय गाउँमा रहेका मानिसले खोप पाएका छैनन् । उनीहरूका कारण खोप लगाइसकेकालाई पनि केही मात्रामा जोखिम हुने सम्भावना कायमै छ ।’

कतिपय संक्रमक रोग विशेषज्ञ भने डेल्टा भाइरस धेरैलाई लागेर निको भइसकेको हुँदा अर्को प्रकारको भाइरस नआएसम्म त्यति जोखिम नरहेको बताउँदै आएका छन् । यसलाई नकार्दै डा. कोइराला भन्छन्, ‘अहिले पनि कोरोनाका बिरामी अस्पतालमै भर्ना भएर बसेका छन् । नेपालमा संक्रमित व्यक्तिको परीक्षण गर्दा कुन भाइरस हो भनेर नछुट्ट्याउने हुँदा सबैलाई डेल्टा नै लागेको वा अन्य भन्ने निश्चित छैन । तर मान्छेको भीडभाड जम्मा भएपछि जुनसुकै भाइरसले स्वास्थ्यमा असर पार्छ ।’

उनका अनुसार, अहिले मौसम परिवर्तनका कारण पनि रुघाखोकी, ज्वरो लगायत स्वास्थ्य समस्या आउने सम्भावना रहेकाले थप सतर्कता अपनाउन जरुरी छ । सतर्कता भनेको जनस्वास्थ्यका मापदण्डको पालना नै हो । जसले कोरोना मात्र नभई अन्य भाइरसको संक्रमणबाट समेत बचाउँछ । ‘मौसम परिवर्तनका कारण अहिले धेरै मानिस बिरामी भइरहेका छन् । पिसिआर परीक्षण गर्दा नेगेटिभ आउने पनि धेरै छन्, उनी भन्छन्, ‘नेपालमा यसको परीक्षण भएको छैन । अन्य श्वासप्रश्वासको भाइरस हुन सक्ने पनि सम्भावना छ ।’  

 

प्रकाशित मिति: १०:२३ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्