Kathmandu Press

कोभिडले बिथोल्यो कलाकारका कन्सर्ट

नेपाली कलाकारहरू दुई वर्षयता स्वदेशमै खुम्चिएका छन्। उनीहरूले परिवारलाई समय दिन पाएका छन्। तर, कन्सर्ट र टुरबाट हुने आम्दानीबाट उनीहरू बिमुख भएका छन्।
कोभिडले बिथोल्यो कलाकारका कन्सर्ट

काठमाडौं, असोज २८ : विश्वभर कोभिड-१९ फैलिनुअघि चाडपर्व, उत्सव, नयाँ वर्षजस्ता अवसरमा देश-विदेशमा कन्सर्ट र टुरहरू हुने गर्थे।

कलाकारहरूका लागि चाडपर्व मनाउनभन्दा टुर, कन्सर्ट नै भ्यानभ्याइ हुने गर्थे। टुर सकेर धेरैजसो टीकाको दिन घरमा पुग्थे।

तर, सन् २०१९ डिसेम्बर अन्तिम सातादेखि विश्वभर फैलिएको कोभिड-१९ सँगै यसको नियन्त्रणका लागि हरेक देशले आफ्नै विभिन्न स्वास्थ्य प्रोटोकल बनाएका छन्। भीडभाडजन्य कार्यक्रमलाई निरुत्साहन गरिएकै कारण विदेश मात्र नभई नेपालमा पनि खासै कन्सर्ट र टुर भएका छैनन्। त्यससँगै नेपाली कलाकारहरू दुई वर्षयता स्वदेशमै खुम्चिएका छन्। एक  हिसाबले परिवारिक समय पाएको तर्क पनि धेरैको छ। यद्यपि, कन्सर्ट टुरबाट हुने आम्दानीबाट उनीहरू बिमुख भएका छन्।

Hardik ivf

योगेश्वर अमात्य

योगेश्वर अमात्य कन्सर्टमा सबैभन्दा बढी बोलाइने कलाकार हुन्। तर, उनी दशैं र चाडपर्वमा कन्सर्टमा जाँदैनन्। उनी चाडपर्वअघि नै कन्सर्ट भ्याएर घर फर्किन्थे। ‘मलाई चाडपर्व आफ्नै देशमा परिवारसँग मनाउनुपर्ने भएकाले कन्सर्टहरू अघि नै गर्न भन्छु। नत्र जान्नँ,’ उनी भन्छन्, ‘बोल्नेको पीठो पनि बिक्छ भने नबोल्नेको चामल पनि बिक्दैन। बाठा कलाकारहरू मिलाएर गइरहेका छन्, भ्याइरहेका हुन्छन्। सोझासीधाहरूलाई यसबारे पत्तै हुन्न।’

उनलाई पनि विदेशबाट निमन्त्रणा कम आउँदैनन्। भन्छन्, ‘मलाई भने बोलाइरहेका हुन्छन्। तर, मेरो आफ्नै डिमान्ड पनि छ। म साथीभाइहरूसँग मात्र जाने गर्छु।’

कोभिडले अर्थतन्त्रमा ल्याएको गिरावटले कलाकारहरूलाई असर गरेको उनी स्वीकार्छन्। विश्वभर नै अर्थतन्त्रमा गिरावट र स्वास्थ्य प्रोटोकलका कारण अहिले भीडभाड नभएकै उचित मान्छन्, उनी।

दीपक बज्राचार्य

सदाबहार गायक हुन्, दीपक बज्राचार्य। उनका कतिपय समकालीन गायक-गायिका कोही विदेश पलायन भए त कोही संगीत क्षेत्रमा खासै सक्रिय देखिँदैनन्। यद्यपि, गायक बज्राचार्यको सक्रियता र चर्चा उस्तै छ।

चाडपर्व र अन्य समयमा पनि रुचाइने कलाकारमा पर्छन् उनी। कोभिडयता भने उनी पनि खासै टुर र कन्सर्ट जान पाएका छैनन्। नेपालभित्रै भने उनले यस वर्ष एक-दुई ठाउँमा कन्सर्ट गर्न समय निकाले। केही समयअघि मात्रै उनी बुटवल लाइभ कसन्र्टका लागि पुगे।

कोभिडअघि कन्सर्ट टुर धेरै हुने गरेको उनी बताउँछन्। उनले कन्सर्टमै बेलायत, अमेरिकादेखि विश्वका धेरै देश डुलिसके। यद्यपि, कोरोनाका कारण केही समययता ब्रेक लागेको उनी बताउँछन्, जसका कारण कलाकारहरूको आम्दानीको स्रोत पनि घटेको उनको धारणा छ।

‘अहिले त कलाकारहरूलाई फुर्सदै नहुनुपर्ने समय हो,’ उनी भन्छन्, ‘थोरबहुत देशमै भइरहेका कार्यक्रममा भाग लिइरहेको छु। जे जस्तो छ यसैमा रमाउनुपर्छ।’ विस्तारै वातावरण तयार हुँदै जानुपर्ने उनको बुझाइ छ।

सन्तोष लामा

कोभिडले साँच्चै नै फरक पारेको अनुभव गायक सन्तोष लामाको छ। देशभित्रै केही टुर हुन लागेका थिए, जसका लागि उनी तयार पनि भइसकेका थिए। तर, चाडबाडमा सरकारको सतर्कता र सुरक्षा मापदण्डका कारण हुन नपाएको उनी बताउँछन्। यसरी हेर्दा पहिलेको तुलनामा कन्सर्ट र टुर पनि निकै कम भएका छन्। कलाकारका लागि एक प्रकारले घाटा नै भएको उनको भनाइ छ।

पहिले कन्सर्टमा निकै क्रेज हुने र स्रोता-दर्शकको माया पाउने गर्थे उनले। दुई वर्षयता त्यो कम भएको छ। देशभित्रै भइरहेका थोरबहुत कार्यक्रममा भने भाग लिइ नै रहेको उनी बताउँछन्।

‘कोरानाअघि एकताका धेरै नै महोत्सव हुन्थे। कतिपयमा जान पनि मन लाग्न छोडिसकेको थियो,’ गायक लामा भन्छन्, ‘महोत्सवको ट्रेन्ड पनि ठ्याक्कै रोकियो। तर, अब चलायमान हुनुपर्ने आवश्यकता छ।’

पहिलेजस्तो क्यासेटबाट रोयल्टी प्राप्त हुने अवस्था अब बाँकी रहेन। अहिले भने युट्युबको भ्युज नै आम्दानीको स्रोत बनेको छ, कलाकारहरूका लागि। तथापि, युट्युब निकै ठूलो प्लेटफर्म भएका कारण कहिलेकाहीँ राम्रा कलाकारका गीत पनि छायामा पर्छन्। यसरी हेर्दा कलाकारहरूका लागि महोत्सव, टुर र कन्सर्ट नै आम्दानीका स्रोत थिए।

गायक योगेश्वर अमात्य भन्छन्, ‘बाहिर देखिएजस्तो कलाकारले टुर, कन्सर्टमा खासै राम्रो रकम पाउँदैनन्। विदेशमा झन् बस्ने, खानेको व्यवस्था अर्गनाइजरले गर्नुपर्ने हुँदा सोचेजस्तो आम्दानी हुँदैन।’

यस्तै, नाम चलेका राजेश हमालजस्ता सेलिब्रेटीले डिमान्ड गर्न पाउँछन्। अन्यका लागि भने टुर गयो, थोरबहुत रमाइलो र थोरै आम्दानी हुने अमात्य बताउँछन्। भन्छन्, ‘यद्यपि, नहुनु मामाभन्दा कानो मामा जाति भनेजस्तै हाम्रो लागि अहिलेको परिस्थिति छ।’

प्रकाशित मिति: ०९:२७ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्