मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

जलेश्वर, असोज २८ : मिथिलाञ्चलका गाउँगाउँमा अहिले झिझिया नृत्यको रौनक छाएको छ।

दसैँ सुरु हुनुलगत्तै मिथिलाञ्चलका गाउँगाउँमा झिझिया नाचिन्छ। पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व छ। दसैँमा देवी स्तुतिका रूपमा झिझिया नृत्य गरिन्छ।

बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास छ। दसैँ सुरु भएपछि हरेक साँझ देवी दुर्गाको मन्दिरमा झिझिया नाच गरिन्छ।

यसको बनावट र स्वरूपभित्र जादु, टुनामुना, बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ। बलिरहेको दियो तथा असङ्ख्य प्वाल पारिएको घैँटो त्यसकै नमूना हो। टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसमा निहित विशेष अर्थलाई सङ्केत गर्दछ।

महिलाको टाउकामा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्न सफल भयो भने नाच्ने महिला ठहरै हुने जनविश्वास छ। त्यसकारण सो घैँटो टाउकामा राखी जादु, टुनामुनाबाट मुक्ति पाउन परम्परागत रूपमै नृत्य गरिने गरिन्छ। 

झिझिया नृत्यको अर्को उद्देश्य समाजमा रहेका बोक्सीबाट आफना सन्तानको सुरक्षा गर्नु पनि रहेको जलेश्वर नगरपालिका–८ की ६० वर्र्षीया राजवती देवीले बताइन्।

विशेष सुरताल र झिझियाको गीतमा झुमी टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अद्भुत वातावरणको निर्माण हुन्छ।

नृत्यसँगै गाइने सो गीतमा बोक्सीलाई गाली गरिनाका साथै धम्कीसमेत दिइन्छ। बोक्सीको अनैतिक शक्तिको प्रभाव सो गालीले कम हुने गरेको तथा सन्ततिहरूको सुरक्षा हुने जनविश्वास रहेको छ।

घैँटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैँमा साहस र कलाको अलौकिक प्रदर्शन नै झिझिया नृत्य हो। समाज रूपान्तरणसँगै लोकनृत्यहरू गायब हुन थालेका छन्। 

झिझिया लोकनृत्य महोत्तरीलगायत धनुषा, सिरहा, सर्लाही, बारा, पर्सासहितका जिल्लामा नाचिन्छ। त्यस्तै भारतीय मिथिला क्षेत्रमा पनि यो नृत्य प्रस्तुत गरिन्छ।

झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य पनि हो। दसैं सुरु भएसँगै साँझ पर्नासाथ युवती तथा महिलाको टोली जम्मा भएर झिझियाको तयारी गर्ने गर्दछन् भने राति अबेरसम्म दुर्गा प्रतिमा अगाडि र विभिन्न चोकचोकमा झिझिया नृत्य गर्ने गरेको देख्दा जो कोही पनि मन्त्रमुग्ध हुने गरेका छन्।

 Published Date: Thursday, 14th October 2021 3:11:00 pm