Kathmandu Press

पाल्पा भैरवमा दर्शनार्थी बढे

पाल्पास्थित भैरव बाबाको दर्शन गर्न नेपालका मात्र नभई भारतका दर्शनार्थी पनि आउने गर्छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले एसियाकै ठूलो त्रिशूल रहेको यस मन्दिरमा धेरै दर्शनार्थी आउने गर्छन् ।
पाल्पा भैरवमा दर्शनार्थी बढे

रामपुर, असोज २८ : पाल्पास्थित भैरव बाबाको दर्शन गर्न नेपालका मात्र नभई भारतका दर्शनार्थी पनि आउने गर्छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले एसियाकै ठूलो त्रिशूल रहेको यस मन्दिरमा धेरै दर्शनार्थी आउने गर्छन् ।

कोरोना महामारीका कारण सुनसानजस्तै बनेको पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरमा नवरात्र सुरु भएपछि दर्शन गर्नेको चहलपहल देखिन्छ । यहाँ विशेष गरी नवरात्रको सप्तमीदेखि मन्दिरमा दर्शनार्थीको उपस्थिति बाक्लिँदैछ । महाअष्टमीको दिन मात्रै झण्डै एक हजार पाँच सय दर्शनार्थीको उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका सचिव नवराज ज्ञवालीले बताए । उनका अनुसार अघिल्ला वर्षको तथ्यांकअनुसार यो उपस्थिति कम हो । तर, पछिल्लो समयमा यहाँ कोरोना महामारीका कारण नआएका दर्शनार्थी आउन थालेका छन् ।

‘नवरात्रको समयमा मन्दिर परिसरमा दर्शनार्थीको ठूलै घुइँचो लाग्थ्यो, कोरोनाको असरले गत वर्ष र यो वर्ष भने विगतको तुलनामा दर्शनार्थीको उपस्थिति न्यून छ । तर, पुनः मन्दिरमा विस्तारै चहलपहल बढ्दै जानु सुखद पक्ष हो,’ उनले भने ।

महामारी सुरु हुनुअघि नवरात्रको समयमा पूजाआजा गर्ने, अवलोकन गर्नेको संख्या एक लाखको हाराहारीमा हुन्थ्यो । दसैंमा हुने भीडभाडलाई दृष्टिगत गर्दै मन्दिर व्यवस्थापन समिति, कर्मचारी र ठूलो संख्यामा स्वयंसेवक परिचालन गरिन्थ्यो । यहाँ दसैंमा हाँस, कुखुरा, बोका र पाडाको बलि दिइन्छ भने रोट बनाएर भगवानलाई चढाउने चलन छ ।

यस मन्दिरमा वार्षिक ३० देखि ३२ लाख दर्शनार्थी भित्रिने गरेको तथ्यांक छ । भारतको उत्तर र दक्षिण क्षेत्रबाट ठूलो संख्यामा पूजाआजाका निम्ति आउने गरेका छन् । यस्तै, तेस्रो मुलुकका नागरिक पनि यहाँको पर्यटकीय वातावरणसँग रमाउँदै घुमफिरका निम्ति भित्रिने गर्छन् ।

पाल्पा सदरमुकाम तानसेनदेखि करिब साढे नौ किलोमिटर पश्चिममा अवस्थित यस भैरवस्थान मन्दिर समुद्री सतहबाट एक हजार ४७० मिटरको उचाइमा पर्छ । यहाँबाट गौरीशंकर, माछापुच्छ्रे, धौलागिरि, नीलगिरिलगायत हिमशृंखलाको दृश्यावलोकन गर्न पाइन्छ।

प्रकाशित मिति: ०८:४९ बजे, बिहीबार, असोज २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्