Kathmandu Press

उत्पादनका आधारमा दूध किसानलाई अनुदान

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा दूध उत्पादनका आधारमा किसानलाई अनुदान दिएको छ ।
उत्पादनका आधारमा दूध किसानलाई अनुदान

लुम्बिनी, असोज २५ : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा दूध उत्पादनका आधारमा किसानलाई अनुदान दिएको छ ।

नगरपालिकाले दुग्ध सहकारीमार्फत किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप यस वर्ष ४६ लाख ६ हजार ५६९ रुपैयाँ किसानलाई उपलब्ध गराइएको छ ।

किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत बिक्री गरिएको दूधको परिमाणअनुसार हरेक वर्ष अनुदान रकम प्रदान गर्दै आएको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष ०७७–७८ को लेखापरीक्षण प्रतिवेदनका आधारमा २१ दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले अनुदान रकम प्राप्त गरेका हुन् ।

नगरपालिकाले उपलब्ध गराएको अनुदान रकम किसानको हातसम्म पु¥याउन सहकारीका अध्यक्ष तथा व्यवस्थापकलाई नगरप्रमुख घिमिरेले आग्रह गरे । अघिल्ला दुई आर्थिक वर्षमा पनि अनुदान रकम उपलब्ध गराइएको थियो । उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले यो नीति लिइएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।

यस वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं १४ स्थित गौतमबुद्ध दूध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । उक्त केन्द्रले नौ लाख ९४ हजार ६४५, वडा नं १४ कै टिकुलिगढ दुग्ध उत्पादक सहकारीले पाँच लाख ६६ हजार १०१, वडा नं १२ को गोकुल दुग्ध उत्पादक सहकारीले चार लाख पाँच हजार ९४४ र वडा नं ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले तीन लाख नौ हजार ५७५ रुपैयाँ प्राप्त गरेका छन् ।

गत वर्ष नगरपालिकाले ४५ लाख ९८ हजार ८२१ रुपैयाँ अनुदान वितरण गरेको थियो । दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर उत्पादन हुने गरेकामा त्यसको झण्डै आधा दूध सहकारीमार्फत बिक्री वितरण हुँदै आएको छ । दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले सीधै किसानको हातमा रकम जाने यो अनुदान कार्यक्रम सबैका लागि अनुकरणीय रहेको बताए ।

शंकरनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर भण्डारीले पनि किसानको हातमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए । रासस

प्रकाशित मिति: १५:२४ बजे, मंगलबार, असोज २६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्