Kathmandu Press

धर्मले उठाएका प्रश्न

धर्म र ईश्वरलाई प्रत्यक्ष रूपमा देख्न र महसुस गर्न नसकिने भएकाले अनेकौं प्रतीकको माध्यमबाट प्रस्ट पार्ने प्रयास गरिन्छ। जस्तो : ईसाईहरू क्रसलाई आफ्नो ईसा मसिहको क्रस मृत्युको प्रतीक मान्छन्। प्रतीकले धर्मको प्रतिनिधित्व गर्दछ। प्रतीकले अनुयायीलाई एकै ठाउँमा गोलबन्द गराउने कार्य पनि गराउँछ।
धर्मले उठाएका प्रश्न

काठमाडाैं, असाेज २३: मानव समाजको विकासका क्रममा जीवन र जगत्को उत्पत्ति, विकास र रहस्य बारेमा अध्यात्मिक एवं भौतिक दुई दृष्टिकोणबाट विश्लेषण गर्ने गरिएको छ। ईश्वर र धर्मका बारेमा संसारमा असंख्य साहित्य सिर्जना गरिएका छन्। आजको समय विज्ञानको युग हो। तर्क, प्रयोग र प्रमाणका आधारमा विज्ञानअघि बढ्छ। धर्म, ईश्वर र धार्मिक साहित्य विश्वासमा मात्र चलेको छ। धार्मिक साहित्य ईश्वर, स्वर्ग, नरक, पापपुण्य, दान आदि कुरामा टिकेको छ। त्यसमा न कुनै परीक्षण गर्न सकिन्छ, न विज्ञानसम्मत प्रयोग सम्भव छ। विज्ञानको अभूतपूर्व प्रयोग स्वरूप कम्प्युटर, हवाइजहाज, विद्युत्, यन्त्र यन्त्रादिले संसारको स्वरूप नै फेरिइसकेको छ, मान्छेका सुख–सुविधा असीमित रूपमा बढिरहेछन् तर धर्मशास्त्रहरू अझै आदिम युगका स्रोत साधनमै सीमित छन्।

‘संसारमा सधैंभरि अवस्थाहरू फेरिँदैछन्, फेरिइरहन्छन्। आफ्नो विचारलाई नयाँ अवस्थासित अनुकूल हुने तुल्याउन अध्ययन गर्नैपर्छ, नयाँ कुरो बुझ्नुपर्छ र नयाँ समस्याको अध्ययन गर्नुपर्छ। पुरानो संसारलाई नासेर मात्र पुग्दैन, नयाँ संसार बनाउन पनि हामीले सक्नुपर्छ। यसको लागि धार्मिक साहित्यहरू समयलाई डोर्‍याउने भन्दा समयका अवरोधकका रूपमा हाम्रो सामु उभिएका छन्। आध्यात्मिक साहित्यले हाम्रा अवस्थाहरूसित सुहाउँदो भए वा नभए पनि जुनसुकै कुरा लागु गर्नुपर्छ भन्दै आएको छ। यसले परिवर्तन भन्दा पनि आफ्नो दर्शनको पकड रहनु सर्वोत्तम मान्दै आएको पाइन्छ।

सन्तोष अध्ययनको शत्रु हो। सन्तोषबाट नजोगिएसम्म मान्छेले कुनै पनि कुरा उचित रूपमा सिक्न सक्तैन। विज्ञानले सिक्दा ‘अषन्तोषी’ र सिकाउँदा ‘नथाक्ने’ बन भन्दछ। अध्यात्मिक साहित्य असन्तोषी नबन र कर्मको फलको आशा नै नगर भन्दछ। हिन्दु धर्मग्रन्थ गीता भन्छ- ‘तिमीलाई आफ्नो निर्धारित कर्म गर्ने मात्र अधिकार छ, तर, कर्मका फलको अधिकारी तिमी होइनौ। तिमीले आपूmलाई कर्मफलको कारण पनि कहिल्यै नठान र कर्तव्य गर्नबाट विमुख पनि तिमी कहिल्यै नहोऊ।’

Hardik ivf

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भुर्मा ते सङ्गोऽस्त्वकर्मणि।।
(श्रीमद्भगवत्गीता २ः४७, पृ. १४४)

फलको आशा नै नगर्ने हो भने कर्म गर्नुको के औचित्य, कुन प्रेरणाले मान्छे कर्म गर्नमा उत्प्रेरित हुन्छ, त्यो त केवल फलहीन आदर्श मात्र बन्न जान्छ।

मानव सभ्यताको सुरुवातदेखि २१औं शताब्दीसम्म आइपुग्दा पनि ईश्वरसम्बन्धी कल्पना मान्छेको एउटा प्रिय विचार, विश्वास, व्यवसाय र संस्कार बन्दै आएको छ। प्राचीन जंगली युगमा ईश्वर मान्यता र धर्मपालन विचार मनोरञ्जनपूर्ण थियो। मान्छेलाई ‘निम्न’ र ईश्वरलाई ‘उच्च’ मान्ने चलन धेरै पहिलादेखि चलिआएको हो। परमपिता ‘ईश्वर’ आकाशमा रहन्छन् भन्ने चलन आजको होइन। हिब्रु भाषाको प्राचीन धर्मग्रन्थमा ‘आत्मा’ लाई ‘सदा जीवित’ ‘अमर’ र ‘नित्य’ रूपमा वर्णन गरिएको छ। आदिवासीको ‘सर्वपिता’ वा ‘सर्वात्मा’ भूत–प्रेत, आत्माको कल्पनाको पराकाष्ठासम्म पुगेको पाइन्छ।

धर्मशास्त्रहरूमा ईश्वरलाई सर्वशक्तिमान, सर्वगुणले सम्पन्न र मान्छेभन्दा माथि आकाशमा रहने भनी चित्रित गरिएको पाइन्छ। संसारको सृष्टि हुनु पूर्व नै ईश्वर थियो भन्ने कल्पनाले पनि धार्मिक ग्रन्थहरू रंगिएका छन्। अजीवित वस्तुहरूलाई पनि जीवित मान्नको लागि पनि ईश्वरको परिकल्पना गरियो। स्पेन्सर तथा टेलरको मान्यता थियो कि- ‘ईश्वर तत्व एक मृत पिताको पुजा विधान हो।’ मान्छेले अन्य निर्जिव वस्तुलाई जिवित मानेर ईश्वरको कल्पना गरेको पाइन्छ। ईश्वरले नै संसारमा ‘स्वयम्भू’ निर्माताको रूपमा विभिन्न वस्तुहरूको सृष्टि गरे भनिएको छ। त्यसका लागि उसले कुनै ‘भूत’ वा ‘राक्षस’ को सहयोग लिन जरुरी छैन भन्ने मान्यता अघि सारिएको पाइन्छ। यो धर्ती र आकाश सृष्टि हुनु पूर्व नै ईश्वर थियो भन्ने सङ्केत कवि ‘गालिब’ ले निम्न श्लोकबाट दिएका छन्-

जब कुछ न था, तो खुदा था, न कुछ होता, तो खुदा होता।
मिटाया मुझको होने ने, न मै होता, न खुदा होता।।
(माचवे र दफ्तुआर, पृ. ३)

अनादिकालदेखि नेपाल लगायत भारत वर्षमा अनेकौ धर्म प्रचलनमा रहे। तत्कालीन समाजका मूल्य, मान्यता र विचार समेटेर वेदहरू रचना गरिए र वेदको निर्देशनलाई आधार बनाएर जीवन पद्धति अघि बढाउने क्रम पनि गाढा हुँदै गयो। वैदिक धर्मको मूल आधार वेदलाई बनाइयो। वेदलाई वेद-ज्ञानको रूपमा ग्रहण गरियो। वेद तत्कालीन महर्षिको चिन्तन, मनन र अध्ययनबाट जन्मेको थियो। तर वेदलाई अनादि, अपौरुषेय र नित्य छ, यसलाई प्रमाणित गरिरहनुपर्दैन स्वतःसिद्ध छ भन्ने अध्यात्मवादीको मत पाइन्छ। यो मतमा पौराणिक, सांख्य, योग, मीमांसा र वेदान्त दार्शनिकहरूको सहमति पाइन्छ। न्याय र वैशेषिक दार्शनिकहरू भने वेद अपौरुषेय होइन परमेश्वरद्वारा रचना गरिएको मत अघि सार्दछन्। चार्वाक मतवालाले भने वेद वेकारको कुरा हो र यो निष्क्रिय मान्छेहरूको जीविका गर्ने साधन मात्र हो भनेका छन्।

समाजमा धर्मको प्रभाव बढ्नुको अर्थ प्रकृति, उत्पत्ति र विकासको अवधारणालाई गम्भिरतापूर्वक तथ्यहरू केलाउने, कारणहरू खोतल्ने र यथार्थ परिणाममा मान्छेहरू पुग्ने परिपाटीमा कमी आउन थाल्दछ। ‘चैतन्यवाद अन्तर्मुखी हुने, भौतिकवाद वहिर्मुखी हुने, चैतन्यवाद चिन्तनमा विश्वास गर्ने, भौतिकवाद प्रयोगमा विश्वास गर्ने, चैतन्यवाद ईश्वर र धर्मको माध्यमबाट प्रमाणमाथि होइन विश्वासमाथि जोड दिने, भौतिकवाद वैज्ञानिक प्रयोगको आधारमा निरीश्वरताको यथार्थता प्रकट गर्ने पक्षमा’ अघि बढिरहेको छ।

धर्मलाई दैनिक जीवनको एक अभिन्न प्रणालीसँग आवद्ध गरिएपछि साहित्यमा पनि धर्मको प्रभाव अत्यधिक पर्न थाल्यो। धर्म परम्परा अनुसार जनजीवनका जन्म, मृत्यु, विवाह, पास्नी, भोज भत्तेर, दुःख–सुख सबै कुराहरू चल्ने भएपछि साहित्य पनि त्यही अनुरूप सिर्जना गर्न थालियो। परिणामतः जनजीवन र साहित्य बुझ्न पनि धार्मिक, मूल्य, मान्यता, सिद्धान्त र परिपाटीहरू बुझ्न पर्ने भयो। उदाहरणको रूपमा वर्तमानमा पनि पश्चिमा लेखकहरूले रचेका साहित्यहरू बुझ्न इशाई धर्म, खाडी र त्यस वरिपरिका साहित्य कृति बुझ्न इस्लाम धर्म र पूर्वीय जनजीवन बुझ्न हिन्दु धर्मका सिद्धान्त र व्यवहार बुझ्न जरुरी हुन्छ। लेखक वा स्रष्टाहरूले धार्मिक मिथक, बिम्ब, प्रतिकहरू समेत समेटेर सिर्जना रच्ने हुँदा धर्म पनि साहित्यको एक अंशको रूपमा प्रकट हुने गर्दछ।

साहित्य समाजको ऐना मात्र होइन समाजको पथप्रदर्शक हो। त्यसैले साहित्यले धर्मका मान्यता र प्रभावहरूलाई ग्रहण त गर्दछ तर धर्मभित्र व्याप्त विकृति, विसंगति र अध्यारा पक्षहरूको विरोध पनि समावेश गर्दै जान्छ। फलतः धर्मका आडमा शासन गर्दै धार्मिक गुरूहरू र शासकहरू स्रष्टाहरूका विरुद्धमा बेस्सरी खनिन्छन्। सल्मान रुस्दीले ‘द सटानिक भर्सेज’ लेखेर इस्लाम धर्मभित्र रहेका अँध्यारा पक्षहरूको उछित्तो काडे। धर्मको नाममा हिन्दू र मुसलमान भन्ने विभाजन गरेर मानवतामाथि गरेको अत्याचारको विरोध स्वरूप तसलिमा नसरिनले ‘लज्जा’ लेखिन्। ओर्हान पामुकले ‘माइ नेम इज रेड’ उपन्यासमार्फत सत्ताले धार्मिक र सामाजिक ढाल बोकेर सर्वसाधारणको अस्तित्व स्वाहा पार्न शक्तिशालीहरू कसरी लागिपरेका छन् भन्ने अथ्र्याए। संसारमा असंख्य लेखक, कवि र अन्य स्रष्टाहरू छन् जसले धर्मको अन्धविश्वासी पगरी गुथेर मान्छेको अस्मिता लुट्न पल्केकाहरूको विरोध लेखे। सत्ताधारी र धर्मगुरूहरूले तिनीहरूको विरुद्ध झम्टन त छोडेका छैनन्। यद्यपि आम संसार सधैँ सचेत र सिर्जनशील स्रष्टाहरूको पक्षमा आफ्नो मत जाहेर गरिरहेछ।

आजभन्दा तीन सय वर्ष अघिसम्म युरोपेली समाज पुरै अन्धकारमा विद्यमान थियो। त्यताका चर्चका धर्मगुरुहरू पादरी र पोपहरूले ईश्वर र धर्मसम्बन्धी अन्धविश्वासहरूलाई वैज्ञानिक नियम सरह लादेर समस्त मान्छेमा शोषण गरिरहेका थिए। कसैले पनि तर्क र प्रमाणको आधारमा नयाँ विचार प्रस्तुत गर्‍यो भने त्यसलाई ‘ईश्वरको शत्रु’ घोषणा गरिन्थ्यो र यथाशिघ्र त्यसको अस्तित्व नामेट पारिन्थ्यो। जब लेखकहरूले धर्मका नाममा ठगी भएका कुराहरू आफ्ना सिर्जना मार्फत् लेखे तब त्यो सन्देश भुसको आगोझैँ समाजमा फैलियो र मान्छेहरू सचेत हुन थाले। परिणामतः युरोपभर विद्रोह फैलियो। धर्मयुद्ध भयो। धार्मिक शासनको समाप्तिले त्यहाँका जनताहरू पोप र पादरीहरूको चङ्गुलबाट मुक्त भए।

साहित्य सिर्जनाको मूल मर्म त्यसमा अन्तरनिहित दृष्टिकोणमा भर पर्दछ। साहित्यले जीवन र जगत्को सृष्टिका सत्यको खोजी गर्दछ र त्यसलाई आफ्नो दृष्टिकोण सहित कृतिहरू निर्माण गर्दछ। मानव जगतले रचनाहरू रच्ने, सुनाउने र छाप्ने कार्य सुरु भएदेखि नै स्रष्टाहरू संसारको ‘प्राथमिक तत्त्व पदार्थ हो या चेतना ?’ भन्ने प्रश्नमा दुई भागमा विभक्त भएर सिर्जना गर्न थाले। एक थरि चेतनालाई प्राथमिक तत्त्व मानेर आफ्नो दृष्टिकोण बनाउन थाले भने अर्काथरि पदार्थलाई प्राथमिक तŒव मानेर उनीहरूको दृष्टिकोण बनाउन थाले र सिर्जना गर्न थाले। साहित्यमा पनि यसको प्रभाव गहिरो रूपमा परेको छ र यसै अनुरूप कृतिहरू जन्मिने गरेका छन्।

फलस्वरूप साहित्य पनि एकथरी ईश्वरको सत्ता स्वीकार्नमा व्याप्त छ भने अर्काथरि खोज, प्रयोग र प्रमाणका आधारहरूमा सिर्जना हुन थालेका छन्। वाइवल, कुरआन, वेद, रामायण, महाभारत, गीता जस्ता कृतिहरू पनि ईश्वरीय सत्ता स्वीकार्न उद्यत भएका कृतिहरू हुन्। यिनकै प्रभावले समाज धर्मभीरु बन्दै आएको देखिन्छ। ‘भारतीय चैतन्यवादी मत अनुसार, चैतन्य वा चेतना विश्वको प्रथम, मूल र आदि तत्त्व हो। त्यसको महत्त्व, वृहत् रूप परम चैतन्य हो। सुरुमा सम्पूर्ण विश्व ब्रह्माण्ड परम चैतन्यमय थियो। त्यही ‘ब्रह्म’ हो र त्यसैबाट जीव र जगत् सृष्टि भएको हो’ भन्ने दृष्टिकोणमा हिन्दु धर्म-साहित्यहरू सिर्जना गरिएका देखिन्छन्।

हिन्दुधर्म साहित्य ब्रह्मलाई अलौकिक र अदृश्य शक्तिको रूपमा र ईश्वरको रूपमा स्वीकार गरेर रचिएका पाइन्छन्। संसार अलौकिक शक्तिबाट नै सृष्टि भएको हुँदा मान्छेले बाँचुञ्जेल अलौकिक ईश्वरलाई खुसी पार्न र जीवनको अन्त्य हुँदा पनि उसैमा मिल्न प्रयास गर्नुपर्छ भन्ने सन्देश फैलाइएको छ। यसको लागि धर्म र कर्मकाण्डका अनेकौ विधि विधानहरू तयार गरिएको छ। ती धार्मिक विधि विधानहरूमा ‘ईश्वरीय नियम’ भन्ने उल्लेख गरिएको छ। त्यसको विपरित दैनिक जीवन चलाउनु ईश्वरीय नियम विपरीत हुने हुँदा पापको भागी हुनुपर्ने कुराहरूलाई सांस्कृतिक र धार्मिक बाध्यात्मक परिस्थितिको रूपमा स्थापित गरिएको पाइन्छ।

धार्मिक अन्धविश्वासहरूलाई राजनीतिक व्यवस्थासँग समेत जोडेर धर्माधिकारी र शासकहरूको मिलेमतोमा सर्वसाधारणमाथि शोषण र दमन गर्ने परिपाटी बसालिएको पाइन्छ। उदाहरणको रूपमा मरेको मान्छेको जुठो बार्ने क्रममा मृत व्यक्तिका आफन्तले लगाउने ‘गरुड पुराण’लाई लिन सकिन्छ। आफन्तको मृत्युको शोकमा डुबेका आफन्तजनलाई गरुड पुराण श्रवणले सान्त्वना मिल्नुको सट्टा झन् आपूmसँग भएका सारा सम्पत्ति पनि पण्डितलाई दान गर्न उत्प्रेरित गर्ने, दान गरेपछि जस्तोसुकै पापबाट पनि मुक्ति मिल्ने र नारी भनेका पापका पोका मात्र हुन्, पुरुष भनेका जन्मजातनै बुद्धि विवेकयुक्त प्राणी हो भन्ने अर्थ प्रसार गरेर समाजलाई ठूला वडाको शोषणको जालमा फसाउने कार्य भइआएको देखिन्छ।

भौतिकवाद चेतनालाई मूल र आदि तत्त्व मान्दैन। पदार्थ नै प्राथमिक तŒव हो र आदि तŒव पनि हो। पदार्थ भएपछि मात्र चेतनाको जन्म हुने हो, पदार्थ नभए चेतना हुँदैन। पदार्थको विशिष्ट उत्पत्ति चेतना हो। पदार्थमा परिवर्तन छ, गति छ, पदार्थको रूपमा परिवर्तन आउँछ तर पदार्थ कदापि नाश हुँदैन। अनाशवान पदार्थ र द्वन्द्वात्मक गतिको समन्वयात्मक रूप नै ‘प्रकृति’ हो भन्ने कुरा भौतिकवादले मान्यता स्थापित गरेको छ। भौतिकवादी दृष्टिकोणमा लेखिएका साहित्यहरू अलौकिक होइन लोकमा र प्रकृतिमा सबैकुरा विद्यमान रहेको पक्षमा वकालत गर्दछन्। यस्ता साहित्यहरू विज्ञानसम्मत दृष्टिकोणको पक्षमा उभिएका हुन्छन्।

भौतिकवादी साहित्यमा समाजमा विभिन्न किसिमका विचारहरू बीच विरोध र सङ्घर्ष निरन्तर चलिरहन्छ। वर्ग, अन्तरविरोध र नयाँ तथा पुरानाका बीचको अन्तरविरोधको समाजमा प्रतिविम्ब पर्दछ। समाजमा अन्तरविरोधहरू रहेनन् भने र तिनलाई समाधान गर्न विचारधारात्मक सङ्घर्ष भएनन् भने सामाजिक जीवनको अन्त्य हुन्छ भन्ने मान्यतालाई प्रबल बनाइएको पाइन्छ। यस्तो साहित्यमा ‘भविष्यमा जोगिन बितेका गल्तीहरूबाट सिक’ र ‘रोगीलाई बचाउन रोगलाई निको पार’ भन्ने सिद्धान्त टड्कारो रूपमा हावी भएको पाइन्छ। यस किसिमको साहित्यले आलोचनालाई सुधारको बाटोको रूपमा लिन्छ र मनोगतपूर्ण, निरङ्कुश र उच्छृङ्खल आलोचनाको विरोधमा उत्रनुपर्छ भन्ने मान्यता राख्दछ।

धर्म अलौकिक आदर्शपूर्णै विषयको आस्थामा आधारित हुन्छ, जसमा उपासना वा समाधिको माध्यमबाट आत्मवन्धन तथा बचनबद्धता प्रस्तुत गरिन्छ। धर्मदार्शनिकहरू ईश्वरीय अनुप्रेरणाद्वारा मात्र धर्मशास्त्रको रचना सम्भव छ भन्ने मत राख्दछन्। हिन्दू धर्मका पूर्वमीमांसहरू वेद अपौरुषेय, नित्य र शाश्वत मान्दछन्। यस विपरीत न्यायवादीहरू वेरलाई पौरुषेय र ईश्वरद्वारा प्रदत्त भएको मान्दछन्। कुनै धर्म दार्शनिकहरू उनीहरूको धर्मको मूल पुस्तक स्वर्गमा छ, मत्र्यमा रहेको पुस्तक प्रतिलिपि मात्र हो भन्ने मान्दछन्। यो विचार ईशाई धर्मदार्शनिकहरूमा पाइन्छ। त्यसको विपरीत केही ईशाई धर्मदार्शनिकहरू बाइबलको केही अंश ईश्वरको अनुप्रेरणाबाट प्राप्त भएको मान्दछन्। कतिपय धर्मदार्शनिकहरू धार्मिक पुस्तक श्रुतिलेख भएको कुरा अघि बढाउँछन्।

धर्म र ईश्वरलाई प्रत्यक्ष रूपमा देख्न र महसुस गर्न नसकिने भएकाले अनेकौं प्रतीकको माध्यमबाट प्रस्ट पार्ने प्रयास गरिन्छ। जस्तो ः ईसाईहरू क्रसलाई आफ्नो ईसा मसिहको क्रस मृत्युको प्रतीक मान्छन्। प्रतीकले धर्मको प्रतिनिधित्व गर्दछ। प्रतीकले अनुयायीलाई एकै ठाउँमा गोलबन्द गराउने कार्य पनि गराउँछ।

धर्म विश्वास हो र जीवनशैली पनि हो। मान्छेले आफ्नो ईशापूर्व छैठौँ शताब्दीमा उपनिषद् आएपछि अन्तरबोध तथा आत्मानुभूतिबाट मात्र संसार बुझ्न सकिन्छ भन्ने धारणाले बढावा पायो। ईश्वी सन् प्रथम वा दोस्रोका बौद्ध धर्मावलम्वी दार्शनिक नागार्जुनले त त्यस दर्शनलाई विशेष जोड दिए। उनले भने- ‘असीमित रूप र गतिवाला यो जगत् जे हामीले देखिरहेछौँ त्यो शून्य बाहेक केही होइन अथवा संसारमा जे देखिएको छ त्यो वास्तविक होइन।’ यसैलाई ‘शून्यवादी दर्शन’को रूपमा विस्तार पनि गरियो।

धार्मिक दर्शनले पदार्थ तथा गति पनि काल्पनिक चिज मात्र मान्छ र सत्य होइन भन्छ तर त्यसको पुृष्टि गर्न सक्तैन। जे देखिएको छ त्यसलाई सपना समान मान्नुको अर्थ स्पष्ट गर्न सक्तैन धार्मिक दर्शनले। आठौँ शताब्दीतीर शंकरले आदर्शवादलाई अझ व्याख्या गरे। उनले पनि यो भौतिक जगत्को कुनै अस्तित्व नभएको र यो संसार खाली सपना देखेजस्तो मात्र हो भने। तर, भोक लागेपछि खाना खानु, प्यास लागेपछि पानी पिउनु, नाङ्गो शरीर ढाक्न बस्त्र पहिरनु पनि काल्पनिक कुरा हो त यसमा आदर्शवादीहरू सही जवाफ दिन सक्तैनन्।

आदर्शवादीहरू आम मान्छेहरूले देखिरहेका भौतिक जगत्लाई मित्थ्या वा झुठ त भन्छन्। दार्शनिक कुमारिल भन्छन्— ‘त्यो शब्द आडम्वर मात्र हो, यथार्थमा त्यसो हुनै सक्तैन, संसार देख्न र भोग्न सकिन्छ।’ देख्न र भोगन सकिने जगत्लाई मित्थ्या र शून्य भन्नुमा कतिसम्म सत्यता रहन्छ ?

 

प्रकाशित मिति: १०:११ बजे, शनिबार, असोज २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्