ईश्वरका तानाबानामा मनको विश्वास
मान्छेमा आत्मविश्वासको जति कमी हुँदै जान्छ, उत्ति ईश्वरको प्रबलता बढ्दै जान्छ। कुनै गते, बार वा क्षणमा काम गर्दा सफल हुने, कुनै रंग फलिफाप हुने वा नहुने, कुनै मान्छेसँग भेट्दा शुभ हुने वा नहुने, दिशा र कालको शुभ-शुभ विचार गरेर मात्र हिँड्ने कुराहरू धर्मसँग जोडेपछि मान्छेको आत्मविश्वास झन् झन् कमजोर हुँदै गयो। फलतः ईश्वर र धर्मको पक्ष अरू गाढा हुन थाल्यो।समाजको विकाससँगै सामाजिक मूल्य-मान्यता र प्रणालीहरू विकास गरियो। समाज विकासको प्रारम्भिक चरणमा मान्छेलाई धार्मिक माध्यमबाट एकत्रित गरेर अघि बढाउँदा डर, त्रास र आशंका बीचमा परेका मान्छेहरू कुनै न कुनै धर्ममा आबद्ध बने। मान्छे मान्छेकै रूपमा स्वतन्त्र र स्व-सम्भावना बोकेर जन्मिए पनि प्रत्यक्ष र परोक्ष रूपमा कुनै न कुनै धर्मको घेराभित्र परेपछि उसका मूल्य र मान्यता जानेर वा नजानेर र चाहेर वा नचाहेर धार्मिक मूल्य-मान्यताबाट प्रभावित हुन थाले।
‘धर्म’ मानिसले आफ्नो भौतिक तथा अभौतिक जीवनलाई चलायमान र परिष्कृत गर्दै अघि बढ्न निर्माण गरेको ‘सदाचार’ वा संस्कृति तथा त्यस प्रयोजनलाई सार्थक स्वरूप दिन संगठित भएर बसेको मानव झुन्ड वा एकीकृत स्वरूप हो। यसले जीवनलाई अनुप्राणित गर्ने, स्वच्छ राख्ने, आदर्श, क्रियाशील र समदर्शी जीवन व्यतीत गर्ने प्रेरणा दिने हो। यी सबै हामीले देखिआएका, प्रचलित मत–विश्वास, सम्प्रदाय आदि भन्दा माथि छ। त्यसले प्रकृतिको सर्वोच्च रचना, ती बीचको सम्बन्ध र समन्वय तथा सञ्चालन प्रक्रियाको व्याख्या गर्दछ।
धर्म अनुभूतिपरक हुन्छ, धर्म निर्माण प्रक्रिया हो, धर्म साधनामा आधारित हुन्छ, धर्मले स्वभावमा परिवर्तन ल्याउँछ, धर्म रम्ने प्रक्रिया हो, दर्शन बिनाको धर्म भेडाको हूल समान हो।
समाज संगठित भएर अघि बढ्न थालेपछि परिचालनका लागि नियम बन्दै जाँदा धर्म पैदा भएको मानिन्छ। आफूहरूलाई दुःख आइपर्ने बाढी, सुक्खा, पहिरो, भुइँचालो, चट्याङ आदि प्राकृतिक विपत्ति र हिंस्रक जन्तुबाट बँच्न नै साझा धार्मिक भावना उत्पन्न भएको मानिन्छ।
नितान्त आदिकालीन जंगली घुमन्ते अवस्थाका मानिसमा धर्म, दर्शन, ईश्वर पुनर्जन्म आदि जस्ता धारणा जन्मेका थिएनन्। मानिसले आफैँ जीवनोपयोगी वस्तु, संकलन र उत्पादन गर्न थालेपछि असामयिक रूपमा आउने आँधी, बाढी, खडेरी, अनिकाल, हैजा, खोरेत जस्ता महामारी आदिका कारणले उसका मनमा कुनै अदृश्य या अज्ञात दैवी शक्ति छ कि भन्ने कल्पना पलाउन थाल्छ। अनि, लाचार मान्छेले त्यही काल्पनिक शक्ति या देवतालाई गुहारेर ‘समस्याबाट पार लगाइदेऊ’ भनी पुकार्न थाल्छ। यसरी क्रमशः दैववादी या ईश्वरवादी दर्शनको जन्म हुन्छ। यस्तै कारणले अन्धविश्वास, रुढीवाद, भाग्यवाद, स्वर्ग नरक आदि धारणा जन्मन पुग्छन्। अर्कातिर मानिसले जीवन र जगत्का अनेक विषयको अध्ययन, अनुभव, खोज, प्रयोग आदि गर्दै जाने क्रममा विश्व प्रकृतिका रहस्यको उद्घाटन गर्दै जान्छ। उसले वस्तुगत यथार्थ संसारका नियमहरू बुझ्दै क्रमशः विज्ञानको विकास गर्दै जान्छ र त्यस अनुरूप जीवन पद्धति बनाउँछ। यस प्रकार मानव समाजमा अन्धविश्वासी र वैज्ञानिक दुई खाले विचार र दर्शनको शृंखला बन्दै जान्छ।
ब्रह्माण्डको सृष्टि, सञ्चालन र प्रलयका सम्बन्धमा हरेक समाज, जाति र मानिसमा आ–आफ्नै ढंगका विश्वास पाइन्छन्। त्यसमा दुई दृष्टिकोण प्रबल रूपमा व्याप्त छन्– (१) आध्यात्मिक दृष्टिकोण। (२) भौतिक दृष्टिकोण। अध्यात्मवादीहरू संसार ईश्वरबाट रचना गरिएको हो, ईश्वर अदृश्य हुन्छ भन्ने प्रचारमा व्यस्त छन्। भौतिकवादीहरू त्यसको ठाडै विरोध गर्दछन्। उनीहरू तथ्य, प्रमाण र तर्कका आधारमा हरेक कुराको विश्लेषण गर्नुपर्ने निष्कर्षमा पुग्छन् र त्यसै गर्छन्। हरेक घटना र वस्तुलाई कारण र परिणामको द्वन्द्वात्मक सम्बन्धका आधारमा निष्कर्षमा पुग्नु भौतिकवादीको दर्शन पनि हो। यस अनुसार तिनीहरू जीवनको सुरुआत हुनु पूर्व नै जीवन निर्माणको आधार प्रकृति खडा भइसकेको, जीवहरूको उत्पत्ति अजैविक तत्वबाट भएको, कुनै पनि चिज स्थायी र स्थिर नभएको, हरेक वस्तु गतिको तीव्र प्रवाहबाट चलिरहेको, संसार ईश्वरबाट रचना गरेको नभई मान्छेले ईश्वरको सिर्जना गरेकोजस्ता विश्वासमा अघि बढिरहेका छन्। यसका लागि भौतिकवादीले यथेष्ट तर्क, प्रमाण, प्रयोग र परिणाम प्रस्तुत गरिरहेका छन्।
प्रकृतिमा मान्छेको उत्पत्ति भएको केही समय पछिदेखि नै ईश्वर र धर्मको मान्यता अघि सारिन थालिएको पाइन्छ। त्यस अतिरिक्त ईश्वर मानव निर्मित कल्पना मात्र हो र ईश्वर कल्पना गरेर स्थापित गरेका अनेकौं धार्मिक मान्यताले अन्धविश्वास र अधोमुखमा मान्छेलाई भासेको प्रसंग पनि त्यत्तिकै चर्चामा छन्। सुरुमा मानव समाजलाई अनुशासित, मर्यादित र उन्नतिशील बनाउन धर्मको प्रादुर्भाव गरियो, तर कालान्तरमा त्यसका प्रयोगकर्ताले आफू अनुकूल धार्मिक मान्यता प्रयोग गरिदिनाले धर्म समाज विकासका लागि बाधक साबित हुन थाल्यो।
आदिम कालमा मान्छे जंगली जनावरसरह थियो। त्यतिबेला मान्छेले जे गथ्र्यो, त्यही ठीक मानिन्थ्यो। मान्छेले गरेको काममा कुनै तत्वले भाँजो हाल्दैनथ्यो। त्यतिखेरसम्म मान्छेले ईश्वरको कल्पना गर्न जरुरी मानेको थिएन। मान्छेले भौतिक विकास गर्न थालेपछि उसका कार्यमा केही सीमारेखा पनि उभ्याउनुपर्ने भयो। त्यही बेला ईश्वर जन्माइयो र कामलाई पाप र पुण्यमा विभाजन गरियो।
मान्छेमा आत्मविश्वासको जति कमी हुँदै जान्छ, उत्ति ईश्वरको प्रबलता बढ्दै जान्छ। कुनै गते, बार वा क्षणमा काम गर्दा सफल हुने, कुनै रंग फलिफाप हुने वा नहुने, कुनै मान्छेसँग भेट्दा शुभ हुने वा नहुने, दिशा र कालको शुभशुभ विचार गरेर मात्र हिँड्ने कुराहरू धर्मसँग जोडेपछि मान्छेको आत्मविश्वास झन् झन् कमजोर हुँदै गयो। फलतः ईश्वर र धर्मको पक्ष अरू गाढा हुन थाल्यो।
भौतिक एवं वैज्ञानिक ढंगबाट मान्छेले औधि विकास त गर्याे। मान्छे स्वभावतः आफ्ना सुख दुःख अरू मान्छेलाई बाँड्न चाहन्छ। भौतिक रूपमा उल्लेखनीय रूपमा प्रगति गरे पनि मान्छे मान्छेसँग राम्रोसँग नजिकिन सकेन। ऊ स्वार्थी, एकलकाँटे र आत्मकेन्द्रित बन्न थाल्यो। यस परिस्थितिमा ऊ एक्लो जीवनमा पनि अरू कोहीसँगै छ भन्ने कल्पना गर्न थाल्यो र ईश्वरको कल्पना, ईश्वरको उपस्थिति र ईश्वरको क्रियाशीलताको कल्पनामा मग्न हुन थाल्यो। त्यसैबाट धर्म विकास भयो। मान्छे धार्मिक जञ्जालमा बिस्तारै बेरियो।
मान्छे रोगको सिकार बन्छ, मौसमको फेरबदल, प्राकृतिक उथलपुथलसँग डराउँछ, त्यसबाट बच्ने नाममा भूत–प्रेत, धामी, झाँक्री, बोक्सी, डंकिनीको कल्पना गर्न थाल्छ। तिनीहरूलाई पुज्ने, मन्छने क्रियाले भय र रोगबाट मुक्ति पाउने अन्धविश्वास पाल्न थाल्छ र त्यो धर्मको सत्रञ्जामा बलियोसँग बुन्छ। त्यसैमा ईश्वरका तानाबानाको समेत कल्पना गरेपछि मान्छे अत्यन्त काँतर बन्छ। ऊ सधैँ तिनीहरूकै भक्ति, थिति र भयावहता खोस्रेर जिन्दगी बर्बाद गर्न थाल्छ।