‘संचारमाध्यमहरूले समाजलाई जोड्ने होइन तोड्न थालेको छ’
भ्यूजको सन्दर्भमा सृजना दिने हेर्ने दुबैको दोष बराबर हुने भन्दै उनले एकले अर्कोलाई आरोप लगाउनेभन्दा पनि हरेक नागरिक उत्तरदायी बन्न जरुरी रहेको उल्लेख गरिन्।
काठमाडौं, साउन १५ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पछिल्लो समय सञ्चार माध्यमहरुको बढ्दो प्रयोग र विस्तारको कारण समाजलाई बिखन्डित गर्ने काम गरेको बताएकी छिन्।
बिहीबार काठमाडौंमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आयोजना गरेको मौलिक गीतहरुको सामूहिक विमोचन कार्यक्रममा बोल्दै उनले पहिला दोहोरी खेल्न समाज जसरी जुट्थ्यो आज त्यो कम हुँदै गइरहेको उदाहरण दिँदै उनले सञ्चारमाध्यमको अधिकतम प्रयोगले समाजलाई जोड्न छोड्यो कि भन्ने चिन्ता लागेको बताइन्।
‘पछिल्लो समय विस्तारित भएका सञ्चार माध्यमहरुको बढ्दो प्रयोग र सञ्चार क्षेत्रको विस्तारको कारण समाजलाई बिखन्डित गरेको हो कि जस्तो लाग्छ,’ उनले भनिन्, ‘सञ्चारमाध्यकको अधिकतम प्रयोग हुँदा र नहुँदाको अवस्थालाई तुलना गर्ने हो भने पनि समाजलाई जोड्न छोड्यो कि भन्ने चिन्ता पनि लाग्छ । पहिला दोहोरी खेल्न समाज जसरी जुट्थ्यो आज त्यो कम हुँदै गइरहेको छ।’
सांसद गौतमले गीत संगीतमा विकृति विसङ्गतीहरु बढ्नु चिन्ताजनक विषय रहेको बताइन्। भ्यूजको सन्दर्भमा सृजना दिने हेर्ने दुबैको दोष बराबर हुने भन्दै उनले एकले अर्कोलाई आरोप लगाउनेभन्दा पनि हरेक नागरिक उत्तरदायी बन्न जरुरी रहेको उल्लेख गरिन्।
यस्तै, उनले पछिल्लो केही दिनहरुमा विद्युतमा समस्या देखिँदा देश लोडसेडिङ मुक्त भयो भन्ने कुरा पत्याउन नसक्ने परिस्थिति निर्माण भएको प्रतिक्रिया दिइन्।
धेरै बिजुली गइराख्दा चौतर्फी रुपमा गुनासोहरुको भारी बढ्दो चाङको रुपमा देखिएको भन्दै उनले चाँडै समाधान गर्न राज्यलाई आग्रह गरिन्।



-1765194974.jpg)





-1765194974.jpg)


