‘छकालै’ चर्चा

काठमाडौं, असोज ९ : एउटा समूह छ । जहाँ २० जना कथाकारको ऊर्जा छ । ती ऊर्जावाहक आत्मालाई सुन्दा लाग्छ, हरेकको धड्कन अलग–अलग छ । पुस्तकको आवरणमा ती ऊर्जाहरूलाई साझा बनाएर लेखिएको छ, ‘छकालै’ ।

छकालैले पूर्वी नेपालतिर बिहानै भन्ने अर्थ बोक्छ । त्यही बिहानै सुदूरपश्चिम पुग्दा छकालै हुन्छ । यसरी एउटै साझा बारीमा भाषा, शब्द र तिनका अर्थका बोटहरू भिन्न महत्त्व र विशेषता बोकेर उभिएका छन्, नेपाली माटोमा । जे होस् हामीकहाँ सयौँ भाषाहरू मिली बनेको एउटा ठूलो पहाड छ । जो बहुरंग ओढेर सजिएको छ ।

हाम्रो परम्परा, संस्कार, संस्कृति, दैनिकी र वर्तमान युगमा हामी तथा हाम्रो समाजजस्ता विषयलाई निकै गहन रूपमा लिनुपर्छ । यही संसारभित्र हुर्किएका र आ–आफ्ना परिवेशलाई राम्रोसँग छामेका अनुहारहरूले जुटाएको प्रमाण हो, छकालै ।

समकालीन कथाकारहरूको संयुक्त कथा संग्रह ‘छकालै’मा नेपालका अलग–अलग भूगोलभित्र आफ्नै अवस्थिति बोकेर बाँचिरहेका दृष्यहरूको क्लिष्ट चित्रलाई नियाल्न सकिन्छ । नेपालभित्रका भिन्न–भिन्न भूगोलको सांस्कृतिक, भाषिक, सामाजिक, विभिन्न आयाम र विविधताभित्रको सौन्दर्यलाई एउटै गमलामा रोपेर अनेक रङहरूको फूल फुलाउने प्रयत्न गर्नु वर्तमानको सबैभन्दा उत्कृष्ट कार्य हो ।

संसारको फेरिँदो प्रारूप सँगसँगै हाम्रो समाज पनि फेरिँदो छ । त्यसरी नै बग्नुपर्ने अवस्थाभित्र कतिपय जबर्जस्त छन् । कति अनिवार्य छन् । केही लुप्त अवस्थाबाटै हामीमाथि प्रभाव जमाइरहेका छन् । जसको असर र प्रभाव हाम्रा दैनिकीसँग ठोक्किइरहेका छन् । यिनैका घर्षणबाट उत्पन्न आवाजहरूलाई पनि संग्रहभित्रका केही कथामा पाउन सकिन्छ ।

हरेक कथा र त्यसभित्रका पात्रहरूसँगको परीचय त्यति अफ्ठेरो छैन । ती टाढादेखि आएका कुनै अन्जान यात्रीहरू होइनन् । कथा छिचोल्दै जाँदा हाम्रै समिप र वरिपरिका जस्ता लाग्छन् । समग्रमा संग्रहभित्र लहरै उभिएका कथाहरू हाम्रै साक्षी हुन् ।

समकालीन कथाकारहरूको संग्रहभित्रका २० कथा भिन्नभिन्नै विधामा टेकेर पाठकसामु उभिएका छन् । विशेषतः सामाजिक असमानता, अन्धविश्वास, यौन, प्रेम र जीवन, सामाजिक यथार्थवाद, प्रयोगवादजस्ता विषयहरू प्रमुख रूपमा उठाइएका छन् ।

हरेक कथाको एउटा आफ्नै भूगोल छ । र, तिनका आफ्नै विशेषता पनि छन् । क्रमबद्ध रूपमा कथाहरूलाई छिचोल्दै जाँदा कहिले पूर्वी, मध्य र पश्चिम गरी अलग परिवेशसँगको परिचय बन्छ । तिनै परिचयभित्रका स्थान, ठाउँ र पात्रहरूसँगको उठबस, तिनका लवज, रहनसहनको संयोजनले हाम्रो मस्तिष्कलाई एउटै धरातल तर अनेक विशेषताको आभास गराउँछ ।

यही परिधिभित्र लुकेका, देखेका, भोगेका विषयहरूलाई कथाकारहरूले कथामा समट्ने प्रयास गरेका छन् । प्रयोगवादी र स्वैरकल्पनाका कथाहरू । हाम्रो समाजमा प्रयोगवाद र स्वैरकल्पनाका विषयहरू भन्दा अन्य विषयलाई अलि बढी रुचाइन्छ भन्दा फरक नपर्ला, जसका कारणहरू पनि छन् । र, त्यो भनेको हाम्रो समाजिक अवस्थितिको संरचना नै प्रमुख हो ।

यस्ता विषयहरू पनि क्रमिक रूपमा नेपाली कथाको संसारभित्र आइरहेका छन् । मुलुकको समसामयिक र राजनीतिक अभ्यास र तिनले मानिसको जीवनमा पारेको असरलाई पनि संग्रहभित्रका केही कथामा समेटिएको छ । विभिन्न कालखण्डमा भएका राजनीतिक घटनाहरूले हाम्रो परिवार र समाजमा पारेको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव सम्बन्धमा पनि यी कथाहरू साक्षी बन्न सक्छन् ।

पारिवारिक प्रेम, भावना, संवेदना र संस्कारका विषयहरूलाई पनि केही कथाले आफ्नो मुद्दा बनाएका छन् । केही कथा स्वैरकल्पनाजस्तो लाग्ने देखिए पनि तिनले चेतनाको गहिरो आदर्शलाई छोएका छन् । संसारको सबैभन्दा बुद्धिमान प्राणी मानिस नै हो वा होइन भन्नेजस्ता गम्भीर प्रश्न तेस्र्याउन सक्ने किसिमका कथालाई पनि संग्रहभित्र अटाइएका छन् ।

संग्रहभित्रका कथाकारहरू युवा हुन् । त्यसैले ‘छकालै’ले हाम्रो युवा पुस्तामा कथा लेखनीको अवस्था र स्तर कस्तो छ भन्ने कुरालाई पनि छर्लंग बनाएको छ । संग्रहभित्र जति कथा छन्, ती सबैले आफूले उभिएको माटोमाथि टेकेर त्यहाँको यथार्थ परिवेशलाई पेश गरेका छन् । केही प्रयोगवादी र स्वैरकल्पनामा उभिएका कथाहरूले पनि बदलिँदो विश्व र मानवीय चेतनाको अवस्थालाई चित्रित गरेका छन् । सँगै आफ्नो भूगोलभित्रको भाषा, संस्कृति, चालचलन, रहनसहनको स्थितिलाई पनि महत्त्वमा राखेका छन् ।

कथाकार खेम बतासको ‘छोइडुम’ नेपाली समाजमा विद्यमान सामाजिक विभेदको एउटा प्रतिनिधि कथा हो । सुदूरपश्चिमको आँगनमा उभिएर विगतदेखि वर्तमानसम्मको सांस्कृतिक, भाषिक र समाजिक अन्यायको प्रष्ट चित्र उनले आफ्नो कथामार्फत पस्किएका छन् । उक्त कथाले हाम्रो समाजको शैली र संरचना कस्तो प्रकारको छ भन्ने प्रष्ट पारेको छ ।

कथाको प्रमुख पात्र किस्ने आफ्नी इजालाई सोधेको प्रश्नको उत्तर खोज्न निस्किएको छ । र, तेस्र्याइरहेको छ सामाजिक विभेदको प्रश्न सिंहदरबारतिर निरन्तर । सामाजिक र सांस्कृतिक व्यवस्थाहरूको गलत अभ्यासले विभेदको खाडललाई निकै गहिरो बनाएको छ । अन्शु खनालको ‘कठपाइताला’ले सांस्कृतिक जडताभित्र महिलाहरूलाई कसेर कसरी विभेद गरिएको छ भन्ने कुरा कथाकी पात्र गोपाल भाउजूबाट प्रष्ट हुन आउँछ । यस्तै, सामाजिक र सांस्कृतिक समस्याका विषयका कथाहरूमा कुन्साङको ‘छेकिको पाक्लेन’ पनि हो । कथाकी प्रमुख पात्र छेकी, जो मात्रै १३ वर्षकी छन् । कलिलो मष्तिष्कले नमान्दा नमान्दै उनको जबर्जस्ती विवाह हुन्छ । एउटी बालिकाको अधिकार र स्वतन्त्रतालाई खोसेर उनको भविष्यमा अंकुश लगाइदिन्छ, बाल विवाहमार्फत समाजले ।

संग्रहभित्रका केही कथाले प्रेम र जीवनको रहस्यलाई उजागर गरेका छन् । प्रेम जीवनको अनिवार्य शर्त हो । जीवन प्रेमविना अधुरो छ । सम्बन्धका हरेक प्रकारहरू प्रेमले नै जन्माउँछन् । प्रेम सधैँ अन्जान नै रहन्छ । एउटा अदृष्य शक्ति जो प्रेम हो । यसो हुँदा मानिसका लागि अपरिहार्य यी चिजहरूको कथा पनि अनिवार्य बन्छन् ।  प्रेम र जीवनका खुड्किलाहरूमा झर्ने र ओर्लनेहरूका क्रियाकलापलाई पनि मिहिन ढंगबाट नियालेर संग्रहभित्रका केही कथामा समेटिएको छ ।

यौनका विषयमा हाम्रो समाज झटपट खुल्न नचाहने भए पनि केही कथामा यौनका विषयहरूलाई पनि सुन्दर ढंगबाट उठाइएको छ, जसले यौनसम्बन्धी मामिलाको अलमललाई केही हदसम्म खुला र उदार बन्न प्रेरित गरेको छ । प्रेम, जीवन र यौनका रहस्यलाई कथाकार अन्वेश थुलुङको कथा ‘शैलजा’भित्रका पात्रहरू जीवन र शैलजाबीचको अन्जान सम्बन्धले प्रष्ट पार्न सक्छन् । हाम्रो समिपमा कहिलेकाहीँ यस्ता दृष्यहरू छचल्किरहन्छन् ।

यस्तै, विकास रोकामगरको कथा ‘निरा’की प्रमुख पात्र निराको संवेदना अलग्गै प्रकारको छ । प्रेम र यौनमा सहारा पनि अनिवार्य बन्छ । विभिन्न परिस्थितिले एक्लिएपछि निराको जवानी मरुभूमिसरह बन्छ । आफ्नो प्यास मेटाउन उनी जनवारसँग समेत प्रेम गर्न विवश हुन्छिन् । प्रेम विषयमै कथाकार देवव्रतको कथा ‘त्यसपछि वैजयन्ती’मा मिलन र विछोडको  दूरिबीचको परिभाषालाई देखाएको छ । भेटिनु र छुटिनु त जीवनको रीत हो ।

तर, प्रेम जीवनमा छुटिनु र भेटिनुले सायद अर्कै अर्थ बोक्न सक्छ । अर्को कथा ‘गणितीय परिवर्तन’भित्र कथाकार सागर चन्दले काठमाडौंमा प्रेम कसरी हुर्किन्छ, झाँगिन्छ र यौनको व्यापार कसरी हुन्छ भन्ने कुरालाई देखाएका छन् । निमेषराज सापकोटाले उनको कथा ‘चिसो बलेंसी’मा जीवन र प्रेमबीचको परिभाषालाई अलिक अलग ढंगबाट पस्केका छन् । कथामा पात्रहरू निराकार र यात्राबीचको प्रेमिल बाटो पूर्णतया अफ्ठेरो छ । जीवनको अदर्शलाई फरक तरिकाबाट लिने निराकारले यत्रालाई भेटिएर पनि त्यतै कतै छोडिदिन्छन् ।

यसैगरी, केही कथामा पारिवारिक संस्कार, भावना, संवेदना र बेमेलहरूलाई पनि समेटिएको छ । परिवार आफैँमा समाज बन्ने प्रक्रियाको प्रारम्भिक विन्दु हो । त्यसैले परिवारभित्र पनि कथाका थुप्रै स्वरूप जीवित हुन्छन् । कथाकार अनिल वान्तवाको ‘देउताको छेउ’भित्र आफ्नी आमाको जीवनको अन्तिम घडीमा कसरी एउटा सन्तानले संसारबाट आफूले सबैथोक गुमाएको महसुस गर्छ भन्ने पाटो चित्रित गरेको छ । आमासँग सधैँभरिका लागि छुट्टिनु भनेको सायद मानिसको जीवनको सबैभन्दा ठूलो दुखान्त हुनुपर्छ ।

अर्को कथा अन्जना इछमफूल राईको ‘नातिनी’मा आफ्नी हजुरआमाकी प्रिय नातिनीले हुर्कँदै गएपछि आएको परिवर्तनबाट टाढिनुले पनि जीवनको सत्यलाई उजागर गरेको छ । हाम्रो समाजभित्र केही परिवारमा पारिवारिक बेमेलका प्रमाण थुप्रै भेटिन्छन् । कथाकार दीपा मेवाहाङ राईको कथा ‘सजना’ एउटा प्रतिनिधि कथा हो । यसभित्रका पात्रहरू सजना र दलबहादुरबीचको द्वन्द्वबाट सिर्जना भएको बेमेलले एउटा परिवार कसरी नर्क बन्न पुग्छ भन्ने प्रमाणलाई दर्साएको छ ।

नवीन आफ्नो कथा ‘बर्बरे बुढो’मा पछिल्ला युवा पुस्ता र ज्येष्ठ नागरिकहरूबीचका परिघटनालाई जोडेर हिजो र आजभित्रको फरक धरातललाई चिनाएका छन् । समयसँग जति पौंठेजोरी खेल्न खोजे पनि अन्ततः मान्छे निश्चित रूपमा हार्छ । त्यही पौंठेजोरीको पूर्ण परिधिभित्रका क्रियाकलापहरू नै सायद कथा हुनुपर्छ । त्यसैले होला हाम्रा पाका हजुरबुवा–हजुरआमाहरूले नापेको परिधिभित्रका अनेकौँ भोगाइ र अनुभवहरूको सम्झना सुन्दा हामीलाई मिठो लाग्ने, जिज्ञासा बढ्ने । एउटा पाकेको मान्छेसँग कथाका होचा–अग्ला सयौँ चुली हुन्छन् । तिनै चुलीहरू चढ्दा र झर्दाका अनुभव वास्तममा कथा हुन् । ‘बर्बरे बुढो’ त्यस्तै एउटा हाम्रा विगतका साक्षी हुन्, जो समयको धारमा ठोक्किएर टुक्रा–टुक्रा अनुभवका चोइटाहरूलाई सम्हालेर ठूलो भारी बनाएर हिँडिरहेका छन्– निरन्तर जीवनको उकालो र ओरालो ।

विभिन्न विधाको संयोजनभित्र केही प्रयोगवादी धाराका कथालाई पनि संग्रहमा समेटिएको छ । हाम्रो समाज विस्तारै विज्ञान र प्रविधिसँग पनि भिज्दै गएको छ । यिनीहरू हाम्रो दैनिकीसँग पनि प्रत्यक्ष रूपमा जोडिन आइपुग्छन् । यसैको बीचमा लेखिएका कथाहरूको स्वरूपले हाम्रो कथा लेखनीको परम्परागत अभ्यास र पद्धतिलाई छोडेर विल्कुल नयाँ संरचनाको आधारमा पु¥याउन सक्छन् ।

जसमा पात्र, समय, काल परिवेश र कहानीहरूलाई नै फरक ढंगबाट पस्किएको हुन्छ । कथाकार बाबु साहेबको कथा ‘समयसँगको यात्रा’भित्र समय र परिवेशको कुनै निश्चतता छैन । कथाभित्रका म पात्रको यात्रा अनुभव जो हाम्रोमा घटित् हुँदै आएका छन्, तीभन्दा विपरीतजस्तो लाग्छन् । ब्रह्माण्डभन्दा बाहेक अर्को उल्टो दिशामा विपरीत ब्रह्माण्ड रहेको उनी ठम्याउँछन् र आफूले त्यहाँको यात्रा अनुभव पनि सुनाउँछन् । अन्ततः उनी फेरि पृथ्वीमै आइपुग्छन् । यसरी उनले समयसँग यात्रा गर्छन् ।

समय यात्राकै प्रयोगमा आधारित मार्टिन एमिजको ‘टाइम्स एरो’ र स्टेफेन किङको चर्चित उपन्यास ‘११–२२–६३’ मा समय यात्राकै सन्दर्भलाई रोचक ढंगबाट उठाइएको छ । दुवै उपन्यासमा समय यात्राको प्रयोग अलग–अलग तरिकाबाट प्रस्तुत गरिएको छ । यस्तै प्रकारले नेपाली कथा साहित्यिक आकाशमा यसै किसमका रोचक कथा आउनु पनि राम्रो पक्ष हो । अर्को कथा मनोज विश्वकर्माको ‘दुई सूर्यको उदय’भित्र प्रेम विषयको कुरालाई प्रस्तुत गरिएको छ । यसको लेखनशैली पनि हाम्रो कथा लेखनको परम्परागत अभ्यासभन्दा अलिक अलग्गै छ ।

दुई पात्रहरूको वार्तालापमै कथा टुंगिएको छ । पात्रहरूको वास्तविक नाम कतै जोडिएको छैन । शब्दहरूको बीच–बीचमा रोकावट र रोमन शब्दहरूलाई जस्ताको तेस्तै हरफहरूमा सजाइएको छ । यो प्रकारको प्रयोगले पनि नेपाली कथाकारिताको परम्परागत लेखनशैलीलाई छोडेर लेखनमा आफ्नो अलग्गै परिचय बनाएको छ ।

संग्रहभित्रका केही कथाहरूमा जीवनका आयामहरूलाई पनि भिन्न ढंगबाट सजाइएको छ । हरेक मानिसको बाँच्ने आधार र सिद्धान्तहरू पक्कै फरक हुन्छन् । र त, मान्छेहरूको प्रकृति जटिल र अलग हुने गर्छ दुनियाँमा । कथाकार कृष्णप्रसाद अर्यालको कथा ‘यात्राः अन्त्य एक आदर्शको’भित्र जीवनको चक्करमा आफूले टेकेको संसारबाटै उनमा एकाएक बिलाउने लक्षण देखापर्छ । एक्लो जीवन बाँच्दा भयानक हुन्छ कि जोडी भएर बाँच्नुमा जीवनको अर्थ पूरा हुन्छ भन्ने प्रश्नोत्तरका बीच एउटा आदर्श अल्झिएको छ । त्यही अलमलभित्रको प्रश्नलाई उनले त्यतै कता यात्रामा समाप्त गरिदिन्छन् । सँगसगै एउटा जीवनको आदर्शको पनि अन्त्य हुन्छ ।

अर्को कथा नदीशको ‘प्लुटो’ झट्ट पढ्दा स्वैरकल्पनाजस्तो लाग्ने देखिए पनि उनले जनावर र मानिसबीचको सम्बन्ध र रहस्यलाई सोच्न बाध्य पारेका छन् । कथाको पात्र प्लुटो कुकुर मानिससँग कसरी बस्न थाल्यो होला, कतै मानिसले प्लुटोको स्वतन्त्रतालाई कुण्ठित पारेको त छैन भन्ने जस्ता जनावारको अधिकारको गम्भीरतामाथि यस कथाले प्रश्न उठाएको छ । देशको समसामयिक र राजनीतिक वृत्तमा भइरहेका घटनाहरूलाई पनि केही कथाले समेटेका छन् ।

कथाकार निर्भीकजंग रायमाझीको कथा ‘निःशब्द’ मा एउटा विद्यार्थी जो देशको अफ्ठेरो समयमा कलेजबाट राजनीति हुँदै गृहस्थी जीवनको अवस्थासम्म आइपुग्दाका उतरचढावहरूलाई यस कथामा समेटिएको छ । अर्का कथाकार प्रज्वल अधिकारीको ‘त्यो रात’ शीर्षकको कथाभित्र दशवर्षे सशस्त्र संघर्षका समयमा भएको यथार्थ चित्रलाई देखाइएको छ । यसैगरी समर्पणश्रीको कथा ‘राजीनामा’ले पनि नेपालको राजनीतिभित्रका खुनी हर्कतहरूको पर्दालाई उदांगो पर्ने काम गरेको छ । कथा ‘पाठशाला भत्केको साँझ’भित्र कथाकार संगीत मगरले रोल्पाको परिवेश र दशवर्षे सशस्त्र संघर्षको समयमा त्यहाँ भएको यथार्थलाई प्रस्तुत गरेकी छन् । यसरी ‘छकालै’भित्र हाम्रो समयका पर्दाभित्र र बाहिरका समय र पात्रहरूलाई समेटिएको छ ।

कथासंग्रह ‘छकालै’ र यसभित्र संग्रहित कथाहरूको विषयमा चर्चा परिचर्चा गर्दै जाउँला । समकालीन कथाकारहरूको स्पिरिटलाई एउटै ठाउँमा समेटेर पाठकको अदालतमा हाजिर गराउने यो प्रयत्नको नतिजा पक्कै राम्रो हुनेछ । हाम्रो समय र समाजलाई खोजेर तथा छामेर उपस्थित भएका अनुहारहरूले जुटाएको प्रमाण निकै सरल र प्रष्ट छ । संग्रहभित्रका हरेक कथा र त्यहाँभित्रका पात्र, स्थान र समयसँगको चिनारीले नेपालभित्रको अलग–अलग भौगोलिक अवस्थितिलाई बुझ्न सहज बनाएको छ ।

यसैगरी, यौन, प्रेम र जीवन साथै सामाजिक, मनोवैज्ञानिक र राजनीतिक चेतसम्मको धरातलमा उभिएका कथाहरूले पनि हाम्रो समय र समाजलाई राम्रोसँग चिनाएका छन् । संग्रहका विषयमाथि लेखेर सेतो कागजमा स्वतन्त्र तैरिएका शब्दहरूलाई थिचेर वा कसेर दबाउने यो लेखको प्रयत्न भने पक्कै होइन । आफ्नो हृदय बिच्छ्याएर बगेका शब्दहरूमाथि अरू कसैको कुरा कतै धेर वा थोर भएको हुनसक्छ । यस सम्बन्धमा क्षमाको सीमा पनि पक्कै राखिएको हुनुपर्छ । विभिन्न धारमा कथाहरूलाई कसेर कतै अन्याय भएको भए त्यसउपर पनि याचनाका आधारहरू निश्चितै रहेको हुनुपर्छ ।

अन्त्यमा, कथासंग्रह छकालैले विशेषतः समकालीन नेपाली कथा र यसको लेखन साथै प्रस्तुति तथा अभ्यासलाई चिनाउने प्रयत्न गरेको छ । समकालीन नेपाली कथा लेखनभित्र कस्ता किसिमका कथाहरूको प्रस्तुति छ भन्ने कुरालाई पनि संग्रहले समेटेको छ । समकालीन समयमा जन्मिएका सम्पूर्ण सिर्जनाहरूको आधारभूमि भनेको हामीले बाँचिरहेको परिवेश नै हो । त्यहीँभित्रका सम्पूर्ण प्रमाणहरूलाई जुटएर नै ‘छकालै’ हाजिर भएको छ ।
 

 Published Date: Saturday, 25th September 2021 9:25:00 am