लागुऔषध, जाँडरक्सीदेखि इन्टरनेटसम्मको कुलत

‘एडिक्सन’ अर्थात् लत वा कुलत एउटा भेग विषय हो । मानिसमा धेरै कुराको कुलत हुन सक्छ । मानसिक रोगको पाटोबाट हेर्दा पनि ‘ड्रग एन्ड अल्कोहल एडिक्सन’ एउटा किसिम मात्र हो । पहिला कुलत भन्नेबित्तिकै जाँडरक्सी, चुरोट, लागुऔषधको नियमित प्रयोगलाई बुझिन्थ्यो । अहिले कुलतलाई फराकिलो दायरामा हेर्न थालिएको छ । जसमा इन्टरनेट एडिक्सन, गेम एडिक्सन लगायत पर्छन् । 

सामान्यतः कुलत भनेको कुनै पनि व्यक्तिले कुनै पनि कुराप्रतिको लगाब वा बानीलाई आफ्नो काबुमा राख्न नसक्नु हो । अर्थात् त्यो लगाब वा बानी आफूले सम्हाल्न सक्ने क्षमताभन्दा बाहिर जानु हो । जस्तै: कुनै मानिसले जाँडरक्सी अलिअलि खान्छ र नखाँदा पनि फरक पर्दैन भने त्यसलाई अल्कोहल एडिक्सन मानिँदैन । तर, जब मानिसलाई जाँडरक्सी जुनै हालतमा पनि खानैपर्ने बानी बस्छ, वा नखाई बस्न सक्दैन, भने यस्तो अवस्थालाई ‘अल्कोहल एडिक्सन’ भनिन्छ । 

कोरोनाका कारण भएको लकडाउनले बालबालिकाहरू विद्यालय जान पाएका छैनन् । उनीहरू मोबाइलको गेम वा इन्टरनेटमा बढी व्यस्त भएका छन् । त्यसो नगर भन्दा उनीहरु अभिभावकसँग रिसाउने, झर्किने गर्छन् । यो पनि एक प्रकारको लत नै हो ।

मोबाइल वा इन्टरनेटको बढी प्रयोग गर्नु पनि एक प्रकारको एडिक्सन हो । ड्रग एन्ड अल्कोहल एडिक्सन बाहेक अन्य एडिक्सनका बिरामी भने अस्पताल कम आउने गरेका छन् । किनभने मानसिक रोगका बारेमा अहिलेसम्म समाजमा खुलेर बोलेको पाइँदैन ।

मानिसका लागि अति महत्वपूर्ण भए पनि अज्ञानता, चेतनाको कमीका कारण यस विषयमा खुलेर बोल्दैनन् । अस्पताल आउने बिरामीले हामीलाई भन्छन्, ‘यहाँ त हामी धेरै पछि मात्र आएको । मानसिक अस्पतालमा जान हुन्न भन्छन् । यहाँको औषधि खाएपछि सधैँभरि खानुपर्छ रे ।’ मानिसमा यो खालको चेतनाको कमी छ । त्यही कारण पनि बिरामीको संख्यामा कमी देखिन्छ । तर तथ्यांकमा नभएका बिरामी योभन्दा धेरै हुनुपर्छ । 

ड्रग एन्ड अल्कोहल एडिक्सनका बारेमा धेरैलाई थाहा छ । यसबाहेक अरु एडिक्सनका बारेमा अहिलेसम्म राम्ररी उल्लेख समेत गरिएको छैन । अहिले बालबालिका मात्र नभई युवायुवती र वृद्धवृद्धामा पनि मोबाइल र इन्टरनेटको एडिक्सन देखिएको छ।  जस्तै: आवश्यकभन्दा बढी इन्टरनेटको प्रयोग गर्ने, टिकटक, गेम लगायत एपको बढी प्रयोग गर्ने, मोबाइल एकछिन छोड्न नसक्ने लगायत बानी धेरैमा छ । यो कुलतको सुरुवाती चरण हो । यसले पछि भयावह रुप पनि लिन सक्छ । व्यक्तिगत वा अन्य समाधानका उपाय रोजेर उपचारमा लाग्न जरुरी छ । जस्तै ः आफूलाई बढीभन्दा बढी सकारात्मक काममा संलग्न गराउने लगायत कार्य गर्न जरुरी छ । 

लक्षण

आफू कुन कुराको लतमा परेको छु भन्ने बिरामी स्वयंले सुरुमा थाहा पाउँदैन । उसलाई त्यो लत स्वाभाविक लागेको हुन्छ । आफ्ना कामहरु र दैनिकी बिग्रन थालेपछि मात्र उसले थाहा पाउँछ । सो व्यक्तिको परिवार र नजिकको साथीले पहिले नै थाहा पाएका हुन्छन् । 

अल्कोहल एडिक्सनकै कुरा गर्ने हो भने, कुनै व्यक्तिलाई रक्सी खान थालेको केही समय वा केही दिनमै फेरि तलतल लाग्छ भने यो एडिक्सनको सुरुको चरण हो । रक्सी नखाँदा छटपटी हुने, हात काँप्ने, अत्यधिक पसिना आउने, अस्वाभाविक व्यवहार देखाउने, निद्रा राम्ररी नलाग्ने, बढी समय रक्सीकै मातमा बस्ने, आवश्यकभन्दा बढी खर्च गर्ने, नपुगेको खर्च जुटाउन नराम्रो काम गर्न पनि पछि नहट्ने, घर–परिवारलाई कम महŒव दिने लगायत लक्षण देखिएको छ भने सो व्यक्ति रक्सीको कुलतमा लागेको भन्ने प्रस्ट हुन्छ । यो एक उदाहरण मात्र हो । अन्य कुनै वस्तु वा बानीको लत लाग्दा पनि यस्तै प्रकारका लक्षण देखिन्छन् । 

यो पनि...

के छ मानसिक अस्पताल लगनखेलमा रोगीको अवस्था ?

लत कुनै निश्चित उमेरलाई मात्र हुँदैन । बच्चादेखि वृद्ध जोसुकैलाई कुनै न कुनै लत हुन सक्छ । ड्रग एन्ड अल्कोहल एडिक्सन भने प्रायः युवा र वृद्धवृद्धामा बढी देखिएको छ । कुनै पनि व्यक्ति कस्तो परिवारमा हुर्केको छ भन्ने कुरामा पनि यो निर्भर रहन्छ । जस्तो ः कसैको संस्कृतिमै जाँडरक्सी सगुनका रूपमा प्रयोग हुन सक्छ । यसरी खाँदाखाँदै पछि गएर त्यसैको कुलतमा फसेको उदाहरण पनि धेरै छन् । 

कारण

मानसिक अस्पताल, लगनखेलमा गत वर्ष मात्रै दुई हजार ६ सय २९ ड्रग एन्ड अल्कोहल एडिक्सनका बिरामी आएको अस्पतालको तथ्यांक छ । हाम्रोमा दैनिक ओपिडी सेवा लिन आउने करिब ४५ बिरामीमध्ये पनि ६ देखि ७ बिरामी एडिक्सनकै हुने गरेका छन् । यसमा रक्सी मात्र नभई गाँजा, ड्रग, कोकेन लगायत कुलतमा परेका बिरामी आउँछन् । उनीहरू प्रायःले भोजभतेरमा खान थालेको वा चिन्ता बढी हुँदा बढी खाने गरेको सुनाउँछन् । 

मानसिक स्वास्थ्य मुख्यतः तीन चिजमा आधारित रहन्छ– जैविक, मानसिक र सामाजिक । जैविक तŒव वंशाणुगत हुन्छ । जस्तै ः आफ्नो परिवार वा वंशमा कोही जाँडरक्सीको कुलतमा परेका छन् भने सो व्यक्तिमा पनि केही प्रतिशत यो गुण वा भनौँ अवगुण सर्न सक्ने सम्भावना रहन्छ । आमाबुवाको गुण बच्चामा सर्छ भनेजस्तै कुनै पनि कुराको कुलत पनि बच्चामा सर्न सक्ने सम्भावना रहन्छ । 

यस्तै मानसिक तत्वमा तनावका कुरा आउँछन् । प्रायः बिरामीको भनाइ अनुसार, पहिला तनाव भयो र थोरैथोरै रक्सी खान थालेँ । त्यो खाँदा मलाई सजिलो हुन्थ्यो भन्ने गर्छन् । उनीहरूले तनावलाई खाने बहानाको रूपमा पनि लिएका हुन्छन् । सामाजिक तत्वमा साथी वा संगतमा भर पर्छ । कतिपय अवस्थामा घरपरिवारबाट वा साथीबाट खान सिकेर पछि नियन्त्रणभन्दा बाहिर जाने पनि छन् । त्यसकारण मानिसको जैविक, मानसिक र सामाजिक तत्वले कुलतमा पर्न उत्प्रेरित गर्छ भन्ने कुरामा दुईमत छैन । 

उपचार

मानसिक स्वास्थ्य सधैँ महत्वपूर्ण हुन्छ । तर, कुलतमा लागिसकेपछि मानसिक स्वास्थ्य व्यक्तिको नियन्त्रणभन्दा बाहिर जान्छ । नियन्त्रणभन्दा बाहिर गएको व्यक्तिलाई दुई प्रकारले उपचार गर्न सकिन्छ– १) औषधि । २) मनोवैज्ञानिक परामर्श, थेरापी आदि । 

कुनै पनि व्यक्ति कुलतमा परिसकेपछि त्यसबाट निस्कन खोज्दा स्वाभाविक रूपमा केही समय गाह्रो हुन्छ । त्यो समयमा छटपट हुने, तलतल लाग्ने, निद्रा नलाग्ने, हात काँप्ने लगायत समस्या आउँछन् । 

उपचारको सुरुको १५ दिनदेखि एक महिनासम्म अत्यधिक रूपमा यस्ता शारीरिक र मानसिक समस्या आउँछन् । बिरामीलाई गाह्रो भएको समयमा उनीहरूलाई दुखाइ कम गर्ने वा निद्रा लाग्ने औषधि दिन्छौँ । त्यो अवधि पार गरिसकेपछि उनीहरूमा सहन सक्ने क्षमताको विकास हुन्छ । जसलाई ‘विदड्रल स्टेज’ अर्थात् छाडिएको चरण भनिन्छ ।

यही चरणमा उनीहरूलाई हामी काउन्सिलिङ पनि गर्छौं । जसमा उनीहरूले लिएको बाटो गलत रहेछ, यो फाइदा रहेनछ, सुरुमा एकछिनको रमाइलोका लागि लिएको कुरा पछि गएर बोझ हुँदोरहेछ, त्यसले पैसाको बर्बादी भयो, घर–परिवार बिग्रियो लगायत सबै कुरा हामीले यही चरणमा सिकाइ सकेका हुन्छौँ । त्यसै कारण पनि बिस्तारै बुझेपछि उक्त कुलत छाड्न पनि सफल हुन्छन् । 

कतिपय मानिस उपचार गराउन्जेल ठीक हुने र छाड्छु भन्ने तर फेरि खान थाल्ने बिरामी पनि छन् । यसमा पनि जैविक, मानसिक र सामाजिक तत्त्वले नै प्रभाव पार्छ । उदाहरणका लागि कुनै व्यक्तिले आर्थिक वा सामाजिक कारणले रक्सीको कुलतमा फसेको हो भने उपचारपछि पुनः त्यस्तै समस्या आउँदा फेरि खान थाल्ने बिरामी पनि छन् । कुलतमा फेरि नफस्नका लागि बिरामीले कि समस्यालाई बुझेर समाधान गर्न सक्नुपर्छ कि त स्विकार्न सक्नुपर्छ । 

कुनै व्यक्तिले समस्या र तनावको समाधान वा स्वीकार गर्न सक्यो भने राम्रो हो । तर दुवै गर्न नसकेर तनावकै वरिपरि घुम्दा फेरि कुलतमा फस्न सक्ने सम्भावना बढी हुन्छ । किनभने सो व्यक्तिलाई रक्सी खाँदा तनाव कम हुन्छ भन्ने अनुभव भएको हुन्छ, त्यही सोचेर तनाव कम गर्नका लागि फेरि थोरै मात्रामा मात्र रक्सी खाँदा पनि पहिलाको भन्दा पनि कडा प्रकृतिको कुलतमा फस्छ ।

त्यसै कारण बिरामीको उपचारकै क्रममा उनीहरूको परिवार र नजिकका साथीभाइलाई सँगै राखेर उनको समस्याको स्रोतलाई पनि पहिचान गर्ने प्रयास गरेका हुन्छौँ । सकिन्छ भने समाधान नभए स्वीकार गर्न बिरामीलाई प्रेरित गर्ने गरेका छौँ । यसका साथै उपचार गरुन्जेल छाड्छु भन्ने तर आफ्नो ढिपी र जिद्दीपनालाई नछाड्ने व्यक्तित्व भएकामा पनि कुलतबाट छुटाउन समय लाग्छ ।

(मनोचिकित्सक डा. अधिकारीसँग सोनी शाहीले गरेको कुराकानीमा आधारित)
 

 Published Date: Thursday, 23rd September 2021 12:53:00 pm