के छ मानसिक अस्पताल लगनखेलमा रोगीको अवस्था ?
किनभने, मानसिक रोग लाग्नुलाई हाम्रो समाजमा ठूलो बेइज्जतको विषय मानिन्छ, जीवन सकिएको रुपमा लिइन्छ । रोगीप्रति ‘अब यो बौलायो, यसले जे पनि गर्न सक्छ तर राम्रो काम केही गर्न सक्दैन’ भन्ने धारणा पाइन्छ ।काठमाडाैं, भदाै २४ : मानसिक समस्या भएका व्यक्तिले असामान्य वा अस्वाभाविक व्यवहार देखाउँछन्, मानसिक रोगको उपचार हुने अस्पतालमा पनि त्यस्तै भइरहेको हुनुपर्छ– हामी अधिकांशको धारणा यस्तै हुन सक्छ । किनभने, मानसिक रोग लाग्नुलाई हाम्रो समाजमा ठूलो बेइज्जतको विषय मानिन्छ, जीवन सकिएको रुपमा लिइन्छ । रोगीप्रति ‘अब यो बौलायो, यसले जे पनि गर्न सक्छ तर राम्रो काम केही गर्न सक्दैन’ भन्ने धारणा पाइन्छ । त्यसैले अधिकांश मानिसले आफ्नो मानसिक समस्या लुकाउन पुग्छन् । वा, आफूलाई के भइरहेको छ भन्ने थाहा पाउँदैनन् । जब यो समस्या चरम बिन्दुमा पुगेर व्यक्तिले अस्वाभाविक व्यवहार देखाउन थाल्छ, तब मात्रै समाजमा रोगीको पहिचान हुन्छ।
अझ अचेल फिल्महरूले मानसिक समस्याका विषयमा भयावह अवस्था देखाइरहेको पनि पाइन्छ।
शुक्रबार बिहान ११ बजेतिर ‘मानसिक अस्पताल’ लगनखेलको दृश्य सामान्य थियो । मानसिक समस्याको उपचारमा आएका व्यक्ति पनि झट्ट हेर्दा सामान्य अवस्थामै देखिन्थे । उनीहरूमध्ये कोही नयाँ बिरामी थिए, काही फलोअपका लागि आएका । अस्पतालमा चिकित्सकले बिरामीसँग सोधपुछ गरिरहेका बेला बाहिरको व्यक्ति जान पाइँदैन । चिकित्सकसँग आग्रह गरेर म त्यस कक्षमा पसेकी थिएँ।
२५–२६ का देखिने एक व्यक्ति पितासँग आएका थिए । ल्याब असिस्टेन्टको रूपमा काम गरिरहेका उनले चिकित्सकसँग आफ्नो समस्या खुलेर बताए । उनले चिकित्सकसँग भने, ‘बेलुका निद्रा लाग्दैन । केही ठूलो काममा लगानी गरौँजस्तो हुन्छ । मनमा धेरै कुरा खेल्छ । रिस पनि कन्ट्रोल गर्न सक्दिनँ । केही कुराको इच्छा हुनेबित्तिकै एकैछिनमा पूरा हुनुपर्छ ।’
उनका कुरा ध्यानपूर्वक सुनिसकेपछि अस्पतालका आवासीय चिकित्सक डा. नवीन देवकोटाले आवश्यक औषधि लेखिदिए ।
त्यसपछि एक महिला डा. देवकोटाको कक्षमा प्रवेश गरिन् । उनी आफ्ना श्रीमान्का लागि थप औषधिका लागि आएकी रहिछन् । सोही अस्पतालमा उपचाररत श्रीमान्ले आफूलाई मार्ने र घर छाडेर जान धम्की दिने गरेको उनले बताइन् । डा. देवकोटाले उनको पुरानो कागज हेरेर थप औषधि लेखिदिए ।
समाजमा मानसिक समस्याबारे खुुलेर कुरा गर्ने अवस्था नभएकै कारण होला, बिरामी वा बिरामीका आफन्तले हामीसँग खुलेर बोल्न चाहेनन् ।
कोरोनाका बीच मानसिक रोगी घटे ?
अस्पतालका अनुसार, पछिल्लो समय यहाँ दैनिक ४५ को हाराहारीमा मानसिक समस्या भएका व्यक्ति आउने गर्छन् । अस्पतालका सल्लाहकार मनोचिकित्सक (कन्सल्टेन्ट साइकियाट्रिक) डा. शुुभराज थापा यो संख्या कोरोनाअघिको तुलनामा आधै कम भएको बताउँछन् । ‘कोरोनाअघिसम्म दैनिक ९० जनाको हाराहारीमा बिरामी आउँथे,’ उनी भन्छन्, ‘महामारीमा गरिएको लकडाउनका कारण बिरामीको संख्या घटेको हो । यहाँ परीक्षणका लागि उपत्यका बाहिरबाट बढी मानिस आउने गर्छन् ।’
पछिल्लो चार वर्षमा यहाँ मात्रै एक लाख ७० हजार ५ सय ८४ मानसिक रोगी उपचारका लागि आएको अस्पतालको तथ्यांक छ । यस्तै, यस अवधिमा उपचारका लागि भर्ना भएकामध्ये तीन हजार ५ पाँच सय ३३ डिस्चार्ज भएका छन् । अस्पतालका अनुसार, हरेक वर्ष ४५ देखि ५० हजारको हाराहारीमा बिरामी आउने गरेका छन् । जसमध्ये ओपिडी सेवा लिनका लागि मात्र करिब ४० हजार बिरामी आउने गरेका छन् ।
पछिल्लो चार वर्षमा यस अस्पतालमा भर्ना भएका बिरामीको सूची यस्तो छ :
आर्थिक वर्ष ०७४/७५
कुल बिरामी भर्ना : ४९,५७७
ओपिडी : ३६,७४५,
एमर्जेन्सी : ६४२,
सःशुुल्क सेवा लिने : ७,०८९
मनोवैज्ञानिक सेवा लिने : १०७३
सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत सेवा लिने : ३,२४४
डिस्चार्ज हुने : ७८४ ।
आर्थिक वर्ष ०७५/७६
कुल बिरामी भर्ना : ४६,१३२
ओपिडी : ३५,७४७
एमर्जेन्सी : ६६१
सःशुुल्क सेवा लिने : ५,९३४
मनोवैज्ञानिक सेवा लिने : १,३०३
सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत सेवा लिने : ९६०
डिस्चार्ज हुने : १५२७ ।
आर्थिक वर्ष ०७६/७७
कुल बिरामी भर्ना : ४३,३८१
ओपिडी : ३५,८०१
एमर्जेन्सी : ७८२
सःशुुल्क सेवा लिने : ३,५६३
मनोवैज्ञानिक सेवा लिने : ११५२
सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत सेवा लिने : १४४०
डिस्चार्ज : ६४३
आर्थिक वर्ष ०७७/७८
कुल बिरामी भर्ना : ३१,४९३
ओपिडी : २८,२०२
एमर्जेन्सी : ६८५
सःशुुल्क सेवा लिने : १२९३
मनोवैज्ञानिक सेवा लिने : ५७८
सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत सेवा लिने : १५६
डिस्चार्ज : ५७९
१० प्रकारका मानसिक रोग
अस्पतालका अनुसार यहाँ आउने बिरामीमध्ये महिला र पुरुष दुुवैको संख्या लगभग बराबरजस्तो हुन्छ । सामान्यतः १० देखि ६० वर्ष उमेर समूहका मानिस उपचारका लागि आउँछन् । अस्पतालमा अहिले कुल ८ जना मनोचिकित्सक कार्यरत छन् । कुल ५० वटा बेड छन्, जुन अहिले भरिएको अवस्थामा छ । अस्पतालमा आउने बिरामी करिब १० देखि २३ दिनसम्ममा डिस्चार्ज हुने गर्छन् ।
अस्पतालले १० वटा मानसिक रोगलाई मुुख्य सूचीमा राखेको छ । ती हुन्– एटिपिडी, साइकोसिस एनओएस, बाइपोलार अफेक्टिभ डिसअर्डर, सिजोफ्रेनिया, ड्रग एन्ड अल्कोहल एडिक्सन, कन्भर्सन डिसअर्डर, डिप्रेसन, न्युरोसिस, फोबिक एन्जाइटी र अब्सेसिभ कम्प्लुुसिभ डिअर्डर ।
आर्थिक वर्ष ०७६/७७ मा प्रमुख मानसिक रोगको उपचारका लागि ११ हजार १ सय २० बिरामी आएका थिए । जसमा एटिपिडीका दुई हजार १ सय १४ (१३१० पुरुष, ८०४ महिला),साइकोसिस एनओएसका दुई हजार ७५ (११७५ पुरुष, ९०० महिला), बाइपोलार अफेक्टिभ डिसअर्डरका एक हजार ६ सय १६ (९२० पुरुष, ६९५ महिला), सिजोफ्रेनियाका एक हजार चार सय एक (९९८ पुरुष, ४०३ महिला), ड्रग एन्ड अल्कोहल एडिक्सनका एक हजार २ सय ५ (७०३ पुरुष, ५४२ महिला), कन्भर्सन डिसअर्डरका सात सय ५७ (२५२ पुरुष, ६०५ महिला), डिप्रेसनका ६ सय ९५ (३२५ पुरुष, ३७० महिला), न्युरोसिसका पाँच सय ४९ (२०८ पुरुष, २४१ महिला), फोबिक एन्जाइटी तीन सय ९४ (३०४ पुरुष, ९० महिला) र अब्सेसिभ कम्प्लुुसिभ डिअर्डरका तीन सय १५ (१०५ पुरुष, २१० महिला) बिरामी आएका थिए ।
यस्तै, आर्थिक वर्ष ०७७/७८ मा प्रमुख मानसिक रोगको उपचारका लागि २४ हजार आठ सय ७८ बिरामी आएका थिए ।
जसमध्ये एटिपिडीमा तीन हजार तीन सय १३ (१७३९ पुरुष, १५७४ महिला), साइकोसिस एनओएसमा तीन हजार २० (१६५८ पुरुष, १३६२ महिला), बाइपोलार अफेक्टिभ डिसअर्डरका २ हजार ८ सय ३१ (१५०३ पुरुष, १३२८ महिला), सिजोफ्रेनियाका दुई हजार सात सय ४७ (१४४५ पुरुष, १३०२ महिला), ड्रग एन्ड अल्कोहल एडिक्सनका दुई हजार ६ सय २९ (१३३२ पुरुष, १२९७ महिला) कन्भर्सन डिसअर्डरका दुई हजार दुई सय ६१ (११५४ पुरुष, ११०७ महिला), डिप्रेसनका दुई हजार दुई सय ३८ (११३६ पुरुष, ११०२ महिला), न्युरोसिसका दुई हजार २४ (९९१ पुरुष, १०३३ महिला), फोबिक एन्जाइटीका दुई हजार ४६ (१०४२ पुरुष, १००४ महिला) र अब्सेसिभ कम्प्लुुसिभ डिअर्डरका एक हजार सात सय ६९ (९५१ पुरुष, ८१८ महिला) बिरामी छन् ।
पोस्ट–कोभिडले मानसिक रोगी बढ्लान् ?
विज्ञले कोरोना महामारीपछि मानसिक रोगी बढ्ने आशंका गरिरहेका छन् । विकसित देशमा भएका अध्ययन अनुसन्धानका आधारमा कोभिडपछि धेरैमा मानसिक रोग देखिएको पाइन्छ । नेपालमा भने यसको पूर्ण अध्ययन भएको छैन । विज्ञहरूका अनुसार, कोभिड निको भएका बिरामीमा लामो समय थकान लाग्ने, डर–चिन्ता हुने, मस्तिष्कमा धेरै कुरा खेल्ने लगायत समस्या देखिरहेका छन् ।
डा. देवकोटाका अनुसार, कोरोना लागिसकेपछि अस्पताल भर्ना भएकाहरूमा केही डर–चिन्ता हुने वा साइकोसिस लगायत समस्या देखिएका छन् । ‘सबै उमेर समूहका मानिसमा यस्ता समस्या देखिएका छन् । तर प्रामाणिक अध्ययन भएको छैन,’ उनले भने, ‘समुदायमा रोग बढेपछि अन्य अस्पतालमा ह्वात्तै बिरामीको चाप बढेजस्तो मानसिक अस्पतालमा हुँदैन । सबै ठाउँमा जँचाएपछि अन्तिममा मात्र यहाँ आउने हुन् । तर कालान्तरमा बिरामी बढ्ने सम्भावना छ ।’
कोरोना महामारीमा सरकार तथा जनताले शारीरिक स्वास्थ्यलाई मात्र बढी प्राथमिकतामा राखेर योजना बनाइरहँदा मानसिक स्वास्थ्यको विषय छायामा परेको उनी बताउँछन् । ‘विगतको तुलनामा कोरोना महामारीको समयमा मानसिक रोगका बारे धेरै कुरा उठेको छ । तर, रोगबारे ज्ञान नहुँदा थप समस्या आउन सक्छ,’ उनी भन्छन्, ‘कतिपय मानिसलाई आफू मानसिक रोगी भएको पत्तो हुँदैन भने कतिपयले मानसिक रोगी भएको स्विकार्न खोज्दैनन् ।’
लकडाउन लगायत कारण औषधि उपचारलाई निरन्तरता दिन नसक्दा केही बिरामीको मानसिक स्वास्थ्यमा थप समस्या आएको पाइएको छ । यस्तै औषधि निरन्तर खाइरहेका बिरामीलाई समेत तनाव बढेका कारण खाइरहेको औषधिले काम नगरेको, औषधिको डोज बढाउनुपर्ने, नयाँ औषधि थप्नुपर्ने लगायत समस्या देखिएको डा. देवकोटा बताउँछन् ।
तनावले पेटको समस्या
मनोविद् करुणा कुँवर तनावका कारण पोस्टकोभिडको समस्या देखिएको बताउँछिन् । अहिले मानिसले कोरोनाका कारण आफन्त गुमाइरहेका छन् र आफैँ पनि संक्रमित भइरहेका छन् । ‘यसले मस्तिष्कमा एक प्रकारको तनाव पैदा गरेकाले धेरै मानिसमा पोस्ट कोभिडको समस्या देखिएको छ,’ मनोविद् कुँवर भन्छिन्, ‘मानिसले सुरुवातदेखि नै बाँच्नका लागि दुई खालको प्रतिक्रिया दिँदै आयो– फ्लाई (भाग्नु) र फाइट (जुध्नु) । भाग्न पनि नसकिने, जुध्न पनि नसकिने अवस्थामा मानिस तनावमा पर्छ ।’
मस्तिष्कमा एकैचोटि धेरै तनाव आउँदा मानिसको पाचन प्रणालीमा सीधै असर परेको कुँवर बताउँछिन् । मस्तिष्कमा तनाव उत्पन्न हुनेबित्तिकै पाचन प्रणालीमा असर हुने र यसै कारण धेरै दिसापिसाब लाग्ने, मुटुको धड्कन बढ्ने, शरीरका अंग झमझमाउने, जिउ तातो वा चिसो हुने, टाउको दुख्ने, छाती भारी हुने, आँखा धमिलो हुने, बेहोस हुने लगायत समस्या देखिने उनले बताइन् । ‘अहिले तनावका कारण धेरै मानिसको पाचन प्रणालीमा असर पर्न गई शरीरका अन्य अंगमा समस्या देखिन थालेको छ,’ उनी भन्छिन्, ‘शरीरमा जुन समस्या आयो, त्यसैको मात्र उपचार गराइरहँदा तनावका कारण यस्तो भएको भन्ने कुराको धेरैमा ज्ञान छैन । अन्जानमा वा जानेर लामो समयसम्म यसको उपचार हुन नपाउँदा पछि ठूलो रूप लिन सक्ने सम्भावना रहन्छ ।’