बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं
‘गरिब जनताको उपचार गर्ने अस्पताल र विद्यालयमा भ्याट लगाउनु अपराध हो । सरकारले निजी क्षेत्रलाई सिध्याउन खोजेको छ,’ प्रसाईंले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाएको भ्याटको चर्को विरोध गर्दै भने।
काठमाडौं, जेठ १६ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गरेका छन्।
उनले बजेट गरिबको लागि नभई निजी क्षेत्रलाई धराशायी बनाउने र धनी वर्गलाई मात्र लक्षित रहेको दाबी गरेका छन्।
‘गरिब जनताको उपचार गर्ने अस्पताल र विद्यालयमा भ्याट लगाउनु अपराध हो । सरकारले निजी क्षेत्रलाई सिध्याउन खोजेको छ,’ प्रसाईंले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाएको भ्याटको चर्को विरोध गर्दै भने।
उनले आफू र आफू सञ्चालित संस्थाहरुले १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा दिँदै आएको बताउँदै राज्यले यस्तो सुविधा खोस्न नहुने तर्क गरे।
यसैगरी उनले सरकारले आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगित गरेकोप्रति असन्तुष्टि जनाए। उनले सुरक्षाकर्मी र निजामती कर्मचारीको तलब वृद्धि अत्यन्तै न्यून भएको उल्लेख गरे।
उनले भने, ‘मेरो हस्पिटलमा लासबाट पैसा उठाएर, बिरामीबाट पैसा उठाएर पनि म भ्याट बुझाउँछु ? बरु हस्पिटल बन्द गर्दिन्छु। सुरक्षाकर्मी र निजामती कर्मचारीको तलब वृद्धि अत्यन्तै न्यून भयो। महिनाको जम्मा २८ हजार आउँछ। एउटा केही गतिलो किनेर लैजान सकिँदैन।’
देशको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले देशले २१ खर्बको बजेट ल्याएको बताए। यसैगरी प्रधानमन्त्री बालेन्द्र शाहप्रति लक्षित टिप्पणी गर्दै प्रसाईंले सुकुम्बासी बस्ती हटाउने अभियानको आलोचना गरे।
उनले खोला किनार र सार्वजनिक जग्गामा बसोबास गर्दै आएका भूमिहीन तथा विपन्न नागरिकहरूको आवास भत्काइएको भन्दै असन्तुष्टि व्यक्त गरे।
यस्तै, उनले वर्तमान सरकारको आर्थिक नीति, राजस्व संकलन क्षमता तथा सार्वजनिक खर्च व्यवस्थापनमाथि पनि प्रश्न उठाए।
बजेटको आकार र राज्यको आम्दानीबीच ठूलो अन्तर रहेको दाबी गर्दै उनले सरकारले व्यावहारिक आर्थिक योजना ल्याउन नसकेको आरोप लगाए।












