Kathmandu Press

नेकपा एकीकृत समाजवादीको बैठक जारी

नेकपा एकीकृत समाजवादीको बैठक जारी

काठमाडौं, असोज ५ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक जारी छ। बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। 

बैठकमा पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सङ्गठन विस्तार, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, समसामयिक राजनीतिक विषयवस्तुलगायतका विषयमा आवश्यक रणनीति तयार गर्नेबारे छलफल हुने पार्टीका केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिए । ‘सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिता र राजनीतिक सङ्गठन प्रवद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने विषयमा समेत छलफल हुनेछ,’ उनले भने।  

नेकपा एमालेबाट अलग भइ गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो। पार्टीको हालसम्ममा देशका ५५ जिल्लामा कार्यसमिति गठन भइसकेको छ। बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, विस्तार र सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ। बैठकमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेबारेमा समेत छलफल हुने बताइएको छ । कार्यसमितिमा हाल ११३ केन्द्रीय सदस्य छन्। 

अध्यक्ष नेपालको संयोजकत्वमा हालै स्थायी कमिटी,  सचिवालय, प्रदेश इन्चार्ज र विभिन्न विभाग गठन गरिएको थियो।  प्रदेश, जिल्ला र स्थानीय तहमा समेत भेला, बैठक गरी राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन्। युवा र  विद्यार्थी सङ्गठन स्थापना गरिएका छन् भने प्रेस सङ्गठन घोषणाको क्रममा छ।  
 

प्रकाशित मिति: १६:४० बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्