Kathmandu Press

आगामी निर्वाचन जित्न १४ औं महाधिवेशनको भूमिका महत्वपूर्ण : डा.महत

काठमाडौं, असोज ५ : नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले पार्टीलाई सशक्त बनाएर आगामी निर्वाचनमा तीनै तहमा नेपाली कांग्रेसलाई विजयी बनाउन १४ औं...
आगामी निर्वाचन जित्न १४ औं महाधिवेशनको भूमिका महत्वपूर्ण : डा.महत

काठमाडौं, असोज ५ : नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले पार्टीलाई सशक्त बनाएर आगामी निर्वाचनमा तीनै तहमा नेपाली कांग्रेसलाई विजयी बनाउन १४ औं महाधिवेशनको ठूलो भूमिका रहने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं  ४ र ५ को १४ औं वडा अधिवेशनको उद्घाटन मन्तव्य दिंदै सह–महामन्त्री डा. महतले सो कुरा बताएका हुन् ।

अलग–अलग आयोजित दुवै वडा अधिवेशनमा प्रमुख अतिथि रहेका सह–महामन्त्री डा. महतले नेपाली कांग्रेसको हालको लक्ष्य आगामी आम निर्वाचन जित्ने रहेकोले त्यस अनुरुपको संगठन निर्माणमा क्रियाशील सदस्यको ठूलो भूमिका रहने उल्लेख गरे ।

सह–महामन्त्री डा. महतले साधारण सदस्य र क्रियाशील सदस्यबीचको अन्तर बताउदै भने, ‘जो जो नेपाली कांग्रेसको आदर्श, सिद्धान्त, नीति र अनुशासनमा विश्वास गर्नुहुन्छ , उहाँहरु साधारण सदस्य बन्न पाउनुहुन्छ तर क्रियाशील सदस्य हुन पार्टीमा निरन्तर क्रियाशील हुनुपर्दछ ।’

उनले पार्टीको संगठनमा केही समय दिन सक्ने, संगठन विस्तार गर्न र आम जनतालाई आकर्षित गर्न सक्ने विश्वासले सक्रिय सदस्य बन्नु भएका पार्टी कार्यकर्ताहरुलाई वडादेखि राष्ट्रिय तहसम्म पार्टीले सुम्पिएका जिम्मेवारी पूरा गर्दै पार्टीलाई जनतासंग जोड्ने प्रयास गर्नु पनि आग्रह गरे।

पार्टीका क्रियाशील सदस्यलाई पार्टीको वडा अधिवेशनमा मतदाता बन्ने, कार्यसमिति, क्षेत्रीय समितिमा उम्मेद्वार बनेर निर्वाचित हुने अधिकार भएको बताउदै सह–महामन्त्री डा.महतले क्रियाशील सदस्यहरुले पार्टीको संगठन निर्माण गर्न र जनताको बीचमा लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

सह–महामन्त्री डा. महतले चुनाव जितेमा तीनै तहमा सरकारमा गएर जनताको सेवा गर्ने,राष्ट्रिय र स्थानीय तहसम्मको नीति निर्माण गर्ने अवसर प्राप्त हुने भएको त्यसको लागि संगठन बलियो बनाउन र संगठनका माध्यमबाट नागरिकसंगको सुसम्बन्ध कायम गर्न पनि आग्रह गरे।

यस पटकको महाधिवेशन ब्यापक सहभागितामूलक  र पारदर्शी ढंगलमा भैरहेको बताउदै सहमहामन्त्री डा. महतले पहिले ४ लाख सदस्य भएकोमा अहिले ८ लाख सदस्य पुगेको, सदस्य र क्रियाशील सदस्यता विधिसम्मत र विवेकपूर्ण ढंगले वितरण गरिएको, गुनासो र उजुरी सुन्ने छानवीन गर्ने प्रावधान राखिएकोले समय लागेको तर सौहाद्र्र र सहभागितामूलक रुपमा भइरहेको बताए। 

सह–महामन्त्री डा. महतले नेपाली कांग्रेसको नेतृत्वमा आएको वर्तमान संविधानको अक्षर र भावना अनुरुप एक तिहाई स्थानमा महिलाहरु निर्वाचित गर्ने कार्यको थालनी भएको बताउदै भने, ‘नेपाली कांग्रेस सविधानको मर्म र भावनाको कार्यान्वयन गर्ने पहिलो पहिलो पार्टी हुँदैछ ।’ 

उनले महाधिवेशनको क्रममा कार्यकर्ता तहमा देखिएको ठूलो उत्साहले आउने निर्वाचनमा नेपाली कांग्रेस पूर्ण बहुमतका साथ सरकार बनाउन सफल हुने विश्वास जगाएको बताए।

सह–महामन्त्री डा.महतले अघिल्लो निर्वाचन जितेर आएका दलहरु राज्य सञ्चालनमा असफल भएकोले अप्ठ्यारो अवस्थामा नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको उल्लेख गर्दै भने, ‘प्रतिकूलतासंग जुध्दै सरकार सम्पूर्ण नागरिकलाई खोप दिएर जनतालाइ सुरक्षा दिएको छ ।’

उनले नेपाली कांग्रेसका संस्थापक नेताहरु बी.पी. कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईले सोचेजस्तो नेपाली जनताको सेवा गर्दै  समृद्ध र स्वाभिमानी बनाउने जिम्मेवारी पूरा गर्न यो महाधिवेशनले महत्वपूर्ण योगदान पुर्याउने बताए।

उनले नेपाली कांग्रेसका कार्यकर्ताका सामु चुनौति र अवसर दुवै  रहेको बताउदै पाएको जिम्मेवारीलाई पार्टी निर्माणमा लगाउन आग्रह गरे।
 

प्रकाशित मिति: १२:५१ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्