Kathmandu Press

चाडपर्व लक्षित ट्राफिक योजना : दिउँसो पनि मापसे जाँच, स्वास्थ्य मापदण्डमा कडाइ

काठमाडौं, असोज ४ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको बडादशैं, तिहार तथा छठलगायत पर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको...
चाडपर्व लक्षित ट्राफिक योजना : दिउँसो पनि मापसे जाँच, स्वास्थ्य मापदण्डमा कडाइ
Hardik ivfHardik ivf

काठमाडौं, असोज ४ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको बडादशैं, तिहार तथा छठलगायत पर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आज (सोमबार) सार्वजनिक गरेको छ।

ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना आजैदेखि लागु भएकाे जनाएको छ।

‘चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागु गरेका हौं,’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले भने, ‘योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ति परिचालन, चेकजाँचमा कडाइ र नागरिक सहायता कक्षा स्थापना गरी सेवा प्रवाह गर्ने योजना छ।’

बसपार्क, टिकट काउन्टर, अन्य भिडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणका लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भएनभएको चेकजाँच एव अनुगमन गर्ने, पूर्ण पालना गर्न लगाउने र सचेतनासमेत जगाउने उनले बताए।

योजनासहितको विशेष चेकिङ 

महाशाखाले दैनिक रुपमा ४३ ट्राफिक प्रहरी कार्यालयले दिनमा चार पटकसम्म तालिकाबमोजिमको चेकिङ्ग गर्दै आएको र नाकाहरुमा २४सै घण्टा चेकजाँच हुने गरेको जनाएको छ। तर चाडपर्वको समयमा हुने सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि चेकजाँचलाई समेत कडा पार्ने विशेष सुरक्षा योजनामा उल्लेख छ। 
चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुन सक्ने कुरालाई मध्यनजर गर्दै रात्रिकालीन मात्र नभई दिनको समयमा समेत व्यापक रुपमा मापसे चेकजाँच गरि कडाई गरिने एसएसपी भट्टराईले बताए।

‘विशेषगरी चाडपर्व समयमा तिब्रगती र मादक पदार्थ सेवन गरि सवारी चलाउँदा हुने दुर्घटनालाई सून्यमा झार्न विशेष चेकिङ योजना सफल हुने अपेक्षा लिएको छु,’ उनले भने, ‘तीव्रगति नियन्त्रणका लागी नाइट भिजन लेजर स्पिड गनसमेत प्रयोग गरिनेछ।’ 

थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखालगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारीसाधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना छ। मुक्षमता भन्दा बढि यात्रु राखेनराखेको अनुगमन गर्नुका साथै बढी भाडा, मापसे, चालकको स्थिति, स्वास्थ्य मापदण्डबारे चेकजाँच हुने महाशाखाको भनाइ छ। 

विशेष सुरक्षा योजनामा लामो दूरीका सवारी साधनमा दुई चालक अनिवार्य रुपमा भएनभएको ट्राफिक प्रहरीको एप्सबाट समेत चेकजाँच गर्ने उल्लेख छ। 

बढी भीडभाड हुने क्षेत्रमा थप ट्राफिक प्रहरी परिचालन

चाडपर्वको बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने क्षेत्रमा थप जनशक्ति परिचालन गर्ने महाशाखाको योजना रहेको छ। 

खासगरी बसपार्क, उपत्यका प्रवेश गर्ने नाका, सपिङ कम्प्लेक्स तथा व्यापारिक केन्द्रहरुमा किनमेलका लागि आउने मानिस तथा सवारीसाधनको बढी भिडभाड हुने गर्छ, त्यस्ता स्थानमा अतिरिक्त ट्राफिक प्रहरी जनशक्ती परिचालन गरि सहज आवागमनको व्यवस्था मिलाइने महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले बताए। 

न्युरोड, ठमेल, कालीमाटी, कलंकी, बल्खु, कोटेश्वर, गौशाला, चाबहिल, बौद्ध, बालाजु, बसपार्क लगायत स्थानमा बढी भीडभाड हुने कारण हुने विगतको अनुभवलाई मनन गर्दै त्यस्ता क्षेत्रमा थप जनशक्ती परिचालन गरि ट्राफिक व्यवस्थापन एव पार्किङ व्यवस्थापन मिलाइने र आवश्यक परेको खण्डमा न्युरोड, खिचापोखरी, इन्द्रचोक लगायतका भित्री इलाकामा सवारी साधन डाइभर्सन समेत गरिने प्रबक्ता दासले जानकारी दिए।

१४ स्थानमा यात्रु सहायता कक्ष

उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन हुने भएको छ। नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन्।

आम सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिबिधी र सुरक्षासम्बन्धी सू–सुचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगी लगायतका यात्रुहरुको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्था समेत यात्रु सहायता कक्षले गर्ने महाशाखाले जनाएको छ । 

यात्रुले स्पष्ट देखिने गरि टिकट काउन्टरमा अनिबार्य भाडा दररेट टाँस गर्न लगाउने, टिकट काट्ने व्यक्तिहरु तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था मिलाउन समन्वय सहकार्य गरिने माहशाखाले उल्लेख गरेको छ।

सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन

नियमित ट्राफिक व्यवस्थापनमा मात्र नभई चाडपर्वको समयमा हुन सक्ने सवारी चाप, यात्रुसँग बढी भाडा लिई हुने ठगी, यात्रुसँग हुने अमर्यादित व्यवहार, गन्तब्य नपुगी गाडीबाट ओरालदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी सजक र सक्रिय रहने एसएपी भट्टराईले बताए।

अन्य समयको तुलनामा चाडपर्वको समयमा विशेषगरि गंगबु नयाँ बसपार्क क्षेत्र, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर, पुरानो बसपार्क, गौशाला, जडिबुटी लगायतका भीडभाड हुने स्थान र टिकट काउन्टरहरुमा हुन सक्ने भाडा ठगी नियन्त्रण गर्न, फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी गर्न, त्यस्तै टिकट मूल्यअनुसार लिएको छरछैन चेकजाँच गर्न र पकेटमार तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा समेत ट्राफिक प्रहरी परिचालन गर्ने महाशाखाले जनाएको छ।

तोकिएको भन्दा बढी भाडा असुली गर्ने, लामो दूरीका सवारीमा दुईजना चालक नराख्ने तथा मापसे गरेर सवारी चलाएको शंका लागे तत्काल नजिकैको प्रहरी वा १०३ नम्बरमा जानकारी गराउन महाशाखाले सर्वसाधारणसँग अनुरोध गरेको छ। 


 

प्रकाशित मिति: १५:४५ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्