Kathmandu Press

भीम रावल अर्थात् ‘मू एग्लो डाँडाको मिर्ग’ 

खासगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेयता रावलले आफूलाई जुन रूपमा उभ्याए, विचलनको जुन मार्गलाई पछ्याए, त्यो हेर्दा उनी ‘जता मीठो भतेर पाकेको छ, त्यतै दौडिने’ प्रवृत्तिको भासमा नराम्ररी जाकिन पुगेको स्पष्टै देखिन्छ ।
भीम रावल अर्थात् ‘मू एग्लो डाँडाको मिर्ग’ 

राजनीति बुझेकाले बारम्बार दोहोर्‍याइरहने एउटा चर्चित शब्द हो, ‘राजनीति सरल मार्ग हुँदै कहिल्यै अघि बढ्दैन ।’ विश्वको राजनीतिक इतिहासलाई पल्टाउने हो भने पनि यही यथार्थ उद्घाटित हुन्छ । सरल मार्गबाट चिप्लिएर राजनीतिअघि बढ्यो भने त्यो अपवाद मात्र हुने ठानिन्छ । राजनीतिले पक्रने बाटो सदैव बांगाटिंगा नै हुन्छन् । उत्तिकै उबडखाबड पनि । राजनीतिको बांगोटिंगो बाटोमा हिँड्नेको यात्रा पनि पक्कै सोझो र सरल नहोला । पछिल्लो समय नेकपा (एमाले) विभाजित भएपछि राजनीति यात्रा गर्ने केही पात्र यस्तै–यस्तै समस्या झेल्दै नैतिक÷राजनीतिक संकटको चक्रवातमा फस्न पुगेका छन् । चक्रवातमा फस्नेहरू थुप्रै भए पनि पछिल्ला घटनाक्रमलाई केलाउँदा सुदूरपश्चिम क्षेत्रबाट नेपाली राजनीतिमा उदाएका एमाले नेता भीम रावल भने यो चक्रवातमा नराम्ररी फस्न पुगेको प्रस्टै दृष्टिगोचर हुन्छ । त्यो चक्रवातबाट उम्किन उनले धेरै प्रयत्न गर्नुपर्ने देखिन्छ । 

उनी नेकपा (एमाले)मै अड्डा जमाएर बस्लान्, वा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा कुनै अनुकूल समय मिलाएर प्रवेश गर्लान् वा नयाँ समूह गठन गरेर बस्लान्, यो भविष्यले बताउने विषय हो । तर, रावलले नेपाली राजनीतिमा जुन प्रवृत्तिलाई स्थापित गर्न खोजे, त्यसलाई नेपाली राजनीतिमा भित्रिएको अवसरवादको चरम नमुना भने पक्कै मान्न सकिन्छ । अवसरवादको यस्तो चरम बाटो त ‘कुनै अडान नभएका’ भनी परिचित वामदेव गौतमजस्ता नेताले पनि लिएका थिएनन् । रावलले भने पछिल्ला दिनमा गौतमलाई समेत उछिनेर आफ्नो राजनीतिक हैसियत र चरित्रको राम्रै उजागर गरेका छन् । 

वामदेव–प्रवृत्ति

Hardik ivf

नेपाली राजनीतिमा वामदेव–प्रवृत्तिले स्थान पाएको २०५१ सालमा नेकपा (एमाले) को सरकार बनेदेखि नै हो । ०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा (एमाले) ठूलो दलको रूपमा उभिएपछि अग्रज वामपन्थी नेता मनमोहन अधिकारीको नेतृत्वमा पहिलोपटक कम्युनिस्ट सरकार बन्यो । पूर्ववर्ती दिनमा कम्युनिस्ट राजनीतिमा सक्रिय उच्च तहका प्रायः सबै नेताले त्यो सरकारमा सामेल भएर सत्ताको स्वाद चाख्ने रुचि देखाए । पार्टी नेतृत्वमा एक हिसाबले शून्यता नै छायो । जिम्मेवार नेतालाई सत्तामोहले आकर्षित तुल्याएपछि पार्टीको अवयव चलाउने जिम्मेवारी गौतमले पाए । तत्कालीन समयमा नवसिर्जित उपमहासचिव पद पाएपछि पार्टीको बागडोर उनी आफैँले सम्हाल्न थाले । जबदेखि उनले पार्टीको लगाम हातमा लिए, तबदेखि देखाउन थाले आफ्नो प्रवृत्ति । त्यसको उच्चतम रूप भने २०५४ सालमा नेकपा (एमाले) लाई टक्र्याएर नेकपा (माले) गठन गर्दा खेरी स्पष्टै रूपमा देखिन पुग्यो । 

नेपाली राजनीतिमा वामदेव प्रवृत्तिको उद्भव भएयता अहिलेसम्म त्यसका न्यून वा बाक्ला प्रभाव देखिँदै आएका छन् । विभिन्न राजनीतिक घटना क्रममा वामदेव प्रवृत्तिले फल्ने, फुल्ने सुअवसर पाउँदै आएका छन् । वामदेव प्रवृत्तिको पराकाष्ठाको उद्घाटित स्वरूप सदैव पद र प्रतिष्ठामा तन्मयतापूर्वक लाग्ने, आफूलाई केन्द्रबिन्दुमा राखेर सोच्ने र आफूले आँखा ताकेको पद–प्रतिष्ठाको अप्राप्यसँगै विग्रह र विद्रोहको मार्ग अपनाउने नै हो । खासगरी, यस्तो प्रवृत्ति न्यून पुँजीवादी चिन्तनले ग्रस्त व्यक्तिमा पाइन्छन् र त्यसकै उत्कृष्ट दृष्टान्त वामदेवहरूले देखाउँदै आए । 

रावलको पनि उस्तै प्रवृत्ति 

अढाई दशकअघि वामदेव गौतमले जुन प्रवृत्तिको छहारीमुनि आफूलाई उभ्याएका थिए, अहिले त्यही प्रवृत्ति पछ्याएका छन्, भीम रावलले । निश्चय नै, राजनीतिको गोरेटोमा पाइला चाल्नेले हरेक राजनीतिक घटनाक्रम र उतारचढावका बेला धेरै नै सजगता, संयमता, धैर्यता अपनाउनुपर्ने हुन्छ । राजनीतिज्ञको परीक्षा संकटको घडीमै हुने हो । अझ, अरू सामान्य मानिसले के गर्छन्, के बोल्छन् र के सोच्छन् भन्ने विषय चर्चाको केन्द्रमा खासै आउँदैनन् । राजनीतिको उपल्लो बिन्दुमा उभिएकाले एउटा सामान्य गल्ती गर्दा त्यो आलोचनाको विषय मात्र बन्दैन, त्यसले उनीहरूलाई रसातलमै पु¥याउने भूमिका समेत खेल्छ । 

नेपालको कम्युनिस्ट आन्दोलनमा रावलको भूमिकालाई सामान्य नै मान्नुपर्छ । अरू नेताजस्ता भूमिगत भएर, संघर्षको मैदानबाट उठेर आएकाको लहरमा उनलाई राख्न मिल्दैन । २०३६ सालको विद्यार्थी आन्दोलनको उभारका क्रममा उनी अखिलको पदाधिकारी तहमा थिए । त्यो बेला उनको भूमिका नाम मात्रको थियो । पछिल्लो समय बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि निर्मित अन्तरिम सरकारको कृषि, भूमिसुधार र वनमन्त्री झलनाथ खनालको सल्लाहकारको जिम्मेवारीमा पुगे । अधिक चतुर एवं अवसर प्राप्तिका लागि आफ्नै शुभचिन्तक र सहयोगीलाई समेत लात मार्न कुनै बियाँलो नगर्ने रावलले ०५१ सालको मध्यावधि निर्वाचनपछि त अकल्पनीय ‘लङजम्प’ नै हाने । सुदूरपश्चिम क्षेत्रका नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले गृहमन्त्री हुने अवसर पाइसकेका हुँदा त्यो क्षेत्रमा एमालेलाई स्थापित तुल्याउन कुनै न कुनै पात्र चाहिएको थियो नै । सुदूरपश्चिम क्षेत्रमा एमालेको प्रभावलाई विस्तार गर्न रावलजस्ता नेतालाई नै अघि सार्न वा स्थापित गर्न एमाले तयार देखियो र रावलको राजनीतिको सूर्योदय त्यही समयदेखि नै भयो ।

हुन पनि, सुदूरपश्चिम क्षेत्रमा एमालेको संगठन २०४६ सालपूर्व अपेक्षाकृत रूपमा विस्तार हुन सकेको थिएन । कर्णालीवारि बाँके, बर्दियासम्म तत्कालीन नेकपा (माले) को प्रभाव पुगे पनि कर्णालीपारि भने लगभग शून्य नै थियो । शिक्षण पेसामा आबद्ध प्रेमसिंह धामीजस्ता एकाध व्यक्ति मात्र मालेको सम्पर्कमा रहेर काम गर्दै थिए । बहुदलीय व्यवस्था स्थापना भएपछि भने सुदूरपश्चिममा एमालेको लहर देखिन थाल्यो । प्रेमसिंह धामी, उर्वादत्त पन्तजस्ता युवा नेता उदाए । २०४९ सालपछि एमालेको संगठन निकै झाँगियो । मूलतः टनकपुर सन्धिले राष्ट्रिय मुद्दाको रूप लिएपछि सुदूरपश्चिममा एमालेलाई आफ्नो राजनीतिक क्षेत्राधिकार विस्तार गर्न धेरै नै सहज भयो । 

त्यसयता एमालेले सुदूरपश्चिमलाई प्राथमिकताको सूचीमा चढायो । जसको दृष्टान्त २०५१ सालमा एमालेको सरकार गठन हुँदा भीम रावल र प्रेमसिंह धामीजस्ता सो क्षेत्रबाट उदाउँदै गरेका नेतालाई मन्त्रिमण्डलमा समावेश गरेबाटै स्पष्ट हुन्छ । सुदूरपश्चिममा एमालेको भरोसा ठानिएका र राष्ट्रवादी नेताको छवि बनाएका धामीको जिप दुर्घटनामा परी निधन भएपछि रावल नै सो क्षेत्रको सर्वेसर्वा नेताजस्ता देखिन पुगे । रावल धरातलीय नेता भने थिएनन् । उनी अझै पनि धरालतमा उभिएर राजनीति गर्न चाहँदैनन् भन्ने दृष्टान्त पछिल्लो समय सुदूरपश्चिममा उनका अनुयायीले उनलाई बहिष्कार गरेबाटै स्वतः स्पष्ट हुन्छ । सुदूरपश्चिमका एमाले कार्यकर्ताले उनलाई बाध्यतावश ‘नेता’ मान्नुपर्ने कारण किन पनि रह्यो भने, एक त उनी राजनीतिका चतुर खेलाडी थिए र त्यो भेगका नेपाली कांग्रेसका नेतासँग टक्कर लिन सक्ने हैसियत राख्थे । अर्को उनले राष्ट्रिय स्तरको नेताको ट्याग पनि भिर्न पाए । उनको खटालु स्वभावले पनि उनलाई राजनीतिका एकपछि अर्को खुट्किला उक्लिन सघाउ पु¥यायो । विडम्बना के भइदियो भने, उनमा व्याप्त न्यून पुँजीवादी चिन्तनले उनलाई ठालु प्रवृत्तिका नेताका रूपमा मात्र स्तरोन्नति गरायो । जनतासँग सौहार्द सम्बन्ध राख्न नचाहने, कार्यकर्तालाई सदैव उपेक्षा गर्ने र रैतीजस्ता ठान्ने मनोवृत्तिले ग्रस्त भएकै कारण उनले आफ्नो राजनीतिक धरातल क्रमशः खस्काउँदै गए । 

जनपंक्तिसँग टाढिएपछि कतिपय नेताले राष्ट्रिय राजनीतिमा भए पनि आफूलाई टिकाइराख्न बार्गेनिङको राजनीतिलाई बढावा दिन्छन् । अहिले भीम रावलले पनि त्यही कार्यशैली अपनाएको प्रस्टै देखिन्छ । विगतमा पनि वामदेव गौतमले यस्तै कार्यशैलीको सहारा लिएका थिए । पटक–पटक मन्त्री, उपप्रधानमन्त्रीको जिम्मेवारी पाइसकेका गौतम जीवनमा एकपटक त्योभन्दा उपल्लो तह पाउने लालसामा आफ्नो राजनीतिक अडान र पाइलाबाट यति धर्मराए कि, त्यसको बयान गर्दा नेपाली राजनीतिको विकृतीकरणको पर्दाफास मात्रै हुन्छ । 

पछिल्लो समय, खासगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेयता रावलले आफूलाई जुन रूपमा उभ्याए, विचलनको जुन मार्गलाई पछ्याए, त्यो हेर्दा उनी ‘जता मीठो भतेर पाकेको छ, त्यतै दौडिने’ प्रवृत्तिको भासमा नराम्ररी जाकिन पुगेको स्पष्टै देखिन्छ । अर्कोतिर, सुदूरपश्चिमका अधिकांश जनप्रतिनिधि उनले रोजेको एमालेभन्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएबाटै आफ्नै भूगोलसँग उनी कतिसम्म विच्छेद भइसकेका रहेछन् भन्ने सहजै बुझिन्छ । आफ्नै कार्यकर्ता पंक्तिबाट कतिसम्म अलोकप्रिय भइसकेका रहेछन् भन्ने यथार्थ बोध हुन्छ । यतिबेला एउटा प्रश्न उठ्न पुगेको छ, हिजो एमाले अध्यक्ष ओलीविरुद्ध तथानाथ बक्दै हिँडेका र कार्यकर्तालाई उचाल्ने जिम्मा लिएका रावललाई आगामी दिन एमालेभित्र कत्तिको सहज होला ? उत्तर स्पष्टै छ– पक्कै सहज हुनेछैन । किनभने, अध्यक्ष ओली निकट सुदूरपश्चिमका नेता–कार्यकर्ताले हिजोका दिनमा पनि रावललाई सहज रूपमा लिएका थिएनन् र अब झन् सहज रूपमा लिने स्थितिको अन्त्य हुँदै गएको पछिल्ला घटनाक्रमले प्रस्टै देखाउन थालिसकेको छ । अतः पछिल्लो समय ‘जता मल्खु, उतै ढल्कु’को सैद्धान्तिक मार्ग पक्रेका रावलको राजनीतिक भविष्य हेर्दा कर्णाली भेगतिर गाइने यो लोकगीतको झझल्को आउनु स्वाभाविक देखिन्छ–

‘कर्णाली कर्णालीतिर, भेरी भेरीतिर
मू एग्लो डाँडाको मिर्ग, क्वै नाइँ मेरातिर ।’

(रत्नाकर देवकोटा, ‘कर्णाली अञ्चलका केही मौलिक लोकगीत’ बाट)

  

  

प्रकाशित मिति: १६:२४ बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?