‘काइतेन’ : इतिहासमा तामाङ जातिबारेको गलत व्याख्या चित्रकलामार्फत मेट्ने प्रयास

तस्बिरहरू : सुजल बज्राचार्य/काठमाडौं प्रेस

काठमाडौं, भदौ ३० : अस्तित्व, प्रतिरोध, आदिवासीकरण र स्वाधीनता। बबरमहल रिभिजिटेडस्थित ‘सिद्धार्थ आर्ट ग्यालरी’ पस्दै गर्दा आँखामा ठोक्किए, कलाकार सुवास तामाङले देब्रे काँधमा भिरेको झोलामा अंकित यी शब्द। झोलामा कोरिएका यी चार शब्द र प्रदर्शनीमा राखिएका करिब २५ कलाकृतिले पहिचान र अस्तित्वका लागि विरोधाभास पस्किइरहेका थिए।

अस्तित्व, प्रतिरोध, आदिवासीकरण र स्वाधीनता शब्दले इतिहास खोतल्न प्रेरित गरिरहेका थिए। र, न्यायप्राप्ति र अस्तित्व रक्षाको प्रश्न खडा गरिरहेका थिए। सिद्धार्थ आर्ट ग्यालरीमा गत शुक्रबारदेखि कलाकार तामाङको कला प्रदर्शनी ‘काइतेन : इतिहास, स्मृति र पहिचान’ सुरु भएको छ, जुन १२ असोजसम्म चल्नेछ।

पहिचानको खोजी

ग्यालरीको दोस्रो तलाको एक कुनामा पाँचवटा ढुंगे स्लेट छन्। लोकसेवा आयोग ‘सामाजिक अध्ययन’ पुस्तकको बाहिरी कभरको आवरण पहिलो स्लेटमा कुँदिएको छ। लगत्तै दोस्रो ढुंगाको स्लेटमा कोरिएको छ- ‘तामाङ जाति शेर्पा जातिसँग मिल्दाजुल्दा हुन्छन्। खासगरी बुहारी, छोरी, स्वास्‍नी बेची पैसा कमाउने प्रवृत्तिका हुन्छन्। त्यति मात्रै होइन, राम्रो खान र लगाउनका लागि आफू स्वयं बन्धकीमा बस्‍न सक्ने हुन्छन्।’ तामाङ जातिको यस्तो कथित परिचय आयोगको ‘सामाजिक अध्ययन’ पुस्तकमा उल्लेख छ। र, कलाकार तामाङले त्यसमा आपत्ति जनाउँदै आफ्नो जातिको विशिष्‍ट पहिचान रहेको सन्देश कला प्रदर्शनीमा दिन खोजेका हुन्।

यस्तै, तेस्रो स्लेटमा ती वाक्यहरू केही धमिलिएका छन्, कोरिएको जस्तो मात्र देखिन्छन्। चौथो स्लेटमा अक्षर चिन्‍न सकिँदैन र नियालेर हेर्दा ती अक्षरलाई मेटाउने प्रयास भएको अनुमान लगाउन सकिन्छ।  अन्तिम स्टेलमा ‘तामाङ’ शब्दबाहेक अन्य सबै व्याख्या मेटिएको छ। ‘हामी आफैँ आफ्नो पहिचान लेख्‍नेछौँ’ उनले उक्त कलाको नामकरण गरेका छन्।

कलाकार तामाङको प्रदर्शनी उल्लेख गर्दै गत सोमबार पत्रकार-लेखक नारायण वाग्लेले ट्विट गरेका छन्, ‘हामी कस्तो इतिहास पढेर हुर्किएका छौँ ? लोकसेवा आयोगको कुनै बेलाको ‘नयाँ पाठ्यक्रम’मा आधारित ‘(अ)सामाजिक अध्ययन’, जसले चित्रकार सुवास तामाङलाई आफ्नो इतिहास आफैँ लेख्‍नुपर्छ भन्‍ने ऊर्जा दियो।’ उनले ट्विटमा ह्यास ट्याग बनाएका छन्, ‘काइतेन’, ‘आर्टी नेपाल’।

तामाङ भन्छन्, ‘यो शैलीलाई ‘स्टोन कार्भिङ’ अर्थात् ‘शिलालेख’ शैली भनिन्छ। यो ढुंगामा कुँदेर गरिने कला प्रदर्शनी हो।  मेरो आप्पा (बुवा) ले ढुंगामा बुद्ध र आकृति कुँद्ने, खोप्ने गर्नुहुन्थ्यो। उहाँबाटै मैले पनि सिकेँ। सोही सिकाइलाई माध्यम बनाउँदै त्यो गलत व्याख्या मेटाउने प्रयास गरेको हुँ।’

प्रदर्शनीमा रहेका तामाङका चित्रकलाहरू सामाजिक र राजनीतिक व्यवस्थामा केन्द्रित छन्। त्यसमा पनि अझ राणाकालीन समयको सेरोफेरोमा घुमेका छन्। कारण- राणा शासनदेखि नै तामाङ समुदाय शोषित र दमित हुँदै आएको छ।

लेखक राजकुमार दिक्पालले आफ्नो पुस्तक ‘आदिवासी : विद्रोहको इतिहास’ पुस्तकमा उल्लेख गरेका छन्, ‘पुराना अर्थात् खासगरी शाहकालीन अभिलेखहरू हेर्दा तामाङ जातिलाई ‘मुर्मी भोट्या’ भनिएको पाइन्छ। तामाङहरूले विसं १९८९ देखि मात्र आफूहरूको जात, थरमा तामाङ लेख्‍न पाउने स्वीकृति प्राप्त गरे। तत्कालीन राणा प्रधानमन्त्री भीमशम्शेरले एक इस्तिहार जारी गरिदिए। तामाङ लेख्‍न पाउनुपर्ने माग गर्ने अघिसरा सरदार जंगवीर हुन्।’

जन्मथलो संखुवासभा भएका सरदार जंगवीर बाल्यकालमै आफ्ना पितासँग भारत गएका थिए। भारतको आसामबाट नेपाल आई यस विषयमा तत्कालीन राणा प्रधानमन्त्री भीमशम्शेरलाई पत्र पठाएका थिए। त्यसपछि नै भीमशम्शेरले इस्तिहार जारी गरेको पनि।

भीमशम्शेरको सोही इस्तिहार पत्रको नमूना कलाकार तामाङले आफ्नो प्रदर्शनीमा राखेको ‘मान्सिया मतवाली’ नामक सिर्जनामा राखेका छन्। उक्त सिर्जनामा नेपालमा पहिलोपटक भित्रिएको कार भीमफेदीबाट बोकेर ल्याएका व्यक्तिहरू, तामाङ समुदायको झल्को दिने आँपको रुख र भरियाले बोकेको भारी, उनीहरूको दैनिकी तथा सामाजिक रहनसहनका सुक्ष्‍म तर गहन अर्थ दिने चित्रांकन गरेका छन्।

सामाजिक-राजनीतिक व्याख्याको विरोध अनि सच्चाइ

गाईको बारेमा निबन्ध लेखेँ भने कस्तो लेख्छु होला भन्‍ने प्रश्नमा रुमल्लिएर कलाकार तामाङले बनाएको चित्र हो, ‘एसे अन काउ’ अर्थात् ‘गाईमाथि निबन्ध’। प्रदर्शनीमा रहेको उक्त कला एक मात्र ‘नट फर सोल्ड’ अर्थात ‘बिक्री गर्न नमिल्ने’ चित्र हो।

‘समुदायपिच्छे कुनै पनि वस्तु, सामान वा जीवप्रति नै फरक-फरक आस्था र मान्यता रहन्छ। गाई, गोरु राष्‍ट्रिय जनावरको संज्ञामा हुँदा हाम्रो समुदायमा गोरुको मासु खाने चलन छ। समाचारमा गोरु काटेर खाएकै कारण समातिएर थुनामा परेको सुन्दै, देख्दै आएका छौँ। यसको अर्थ हामीले गाई-गोरुको मासु खानै पाउनुपर्छ भन्‍ने होइन तर राष्‍ट्रको कुन पक्षले हाम्रो विषयमा सोच्न भ्याएको छ, मेरो प्रश्न यति नै हो,’ उनी भन्छन्।

यस्तै, प्रदर्शनीमा कलाकार तामाङले आफ्नो सिर्जनाबाहेक नेपालको पहिलो मुलुकी ऐन, महेन्द्र मालाजस्ता नेपालको सामाजिक, न्यायिक व्यवस्थाका प्रावधान समेटिएका कागजातलाई पनि स्थान दिएका छन्।

कला प्रदर्शनीमा ती कागजात राख्‍नुको कारण खोतल्दै उनी यसो भन्छन्, ‘नेपालको पहिलो ऐन मुलुकी ऐनमा देखिएको विभेदकारी व्यवस्था प्रदर्शनीको अर्को सशक्त पक्ष हो। ऐनमा पशुकरणीबारे विभेदकारी सजायको व्यवस्था छ। जहाँ कथित माथिल्लो जातले पशुकरणी गरेमा ३५ रुपयाँ जरिवाना तोकिएको छ भने ‘मासिन्या जाति’का लागि एक वर्ष कैददेखि सर्वस्वहरणसमेतको प्रावधान छ।’

राणा प्रधानमन्त्री जंग बहादुरले विस १९१० मा ल्याएका पहिलो मूलुकी ऐनमा आदिवासी जनजातिलाई ‘मासिन्या मतवाली’ संज्ञा दिइएको छ। ‘मासिन्या मतवाली’ दर्जामा परेकै कारण सेनामा भर्ती हुन पाउँदैनथे उनीहरू। ‘मासिन्या मतवाली’ दर्जा पाएका थिए, तामाङ ,शेर्पा, चेपाङ, घर्ती, हायु, थारू, कुमाल आदि जाति। उनीहरू लामो समय सेनामा भर्ना हुन पाएनन्। कतिपयले थर परिवर्तन गरेर सेनामा भर्ती भएको इतिहासका पुस्तकहरूमा उल्लेख छ। उनीहरूमाथि राज्यले लामो समय दमन र शोषण गर्‍यो।

‘एक भाषा एक भेष, एक राजा, एक देश’ राष्‍ट्रियताका नाममा लघुताभासमा पारिएका समुदायको पहिचान हराएको तामाङको धारणा छ।

गुमनाम गोले काइँला

‘को को मेन्दो’ (टोटेलाको फूल)मा कलाकार तामाङले गोले काइँलाको चित्र ‘वुड कट प्रिन्ट’ उतारेका छन्। करिब एक महिना उक्त फूलका पत्तालाई जोडेर सोही पत्तामा उनले ‘गोले काइँला’को चित्र उतारेका छन्।

अधिकांशका लागि गोले काइँला को हुन् भन्‍ने जानकारी छैन। गोले काइँला ००७ सालमा विराटनगरमा राणा प्रशासनबाट हत्या गरिएका व्यक्ति हुन्। राणा शासनको विरोधमा  काठमाडौंमा आन्दोलनरत गंगालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई राणा शासन ढलेपछि शहीद घोषणा गरियो। तर, राणा शासनविरुद्धको आन्दोलनमा हत्या गरिएका गोले काइँलालाई शहीद मानिएन। राणाशासनविरुद्धको आन्दोलनमा जनमुक्ति मोर्चा गठन गरी आन्दोलनमा उत्रिएका एक सशक्त पात्र हुन् उनी। तर, उनी अनि उनको योगदान सम्झिन आवश्यक ठानेनन्, त्यसपछिका शासकले पनि।

गोले काइलासँगै अर्को चित्रकला छ, पिपा। उक्त चित्रकलाले सैनिक तहमा सबैभन्दा तल्लोस्तर र भारी बोक्न मात्र तामाङहरूलाई प्रयोग गरिने इतिहासबारे बोलेको छ। उनीहरू नि:शस्त्र सेनाका रूपमा भर्ती हुन्थे भने उनीहरूको पदोन्‍नति पनि हुने व्यवस्था थिएन। यसरी इतिहासमा दमित र शोषित भएको तामाङ समुदायको बारेमा कलाकार तामाङले आफ्ना कलामार्फत सचित्र उभ्याएका छन्।

प्रदर्शनीमा मौलिकता

प्रदर्शनी हलको एक कुनामा दुईवटा फ्रेम छन्। दुवैमा नेपाली कागजमा ‘ब्ल्याक एन्ड ह्वाइट’मा तामाङ युवकको ‘पोट्रेट’ छ। तर, एक चित्रमा अनुहार लोक्ताको फूल र अर्कोमा आँपको चित्रले ढाकिएको छ। यी दुई कलालाई उनले क्रमश: ‘कागजी रकम’ र ‘बैगनी रकम’ नाम दिएका छन्।

काठमाडौं प्रेसको उत्सुकतामा उनले भने, ‘राणा शासनमा नुवाकोटस्थित बुङदाङका तामाङलाई नेपाली कागज बनाउने जिम्मा दिइएको थियो। त्यसवापत उनीहरूले घडेरी र जग्गाको कर तिर्नुपर्दैनथ्यो। तर, उनीहरूको कामवापत पारिश्रमिक दिइँदैनथ्यो।’ उनीहरूले लोक्ताको बाेक्राबाट नेपाली कागज बनाउँथे।

यस्तै, नुवाकोटकै त्रिशुलीस्थित बेगानीमा आँप बगैंचा हेरचाह गर्ने जिम्मा पनि उनीहरूलाई दिइएको थियो। ‘लोक्ता र आँपले अनुहार ढाकिनुको दुई भिन्‍न अर्थ लगाउन सकिन्छ,’ कलाकार तामाङले भने, ‘पहिलो- लोक्ता र आँपसँगको तामाङ समुदायको जोडिएको इतिहास। दोस्रो- तर, त्यही इतिहासलाई पहिचान दिन नसकिएको परिस्थिति।’

मूलधारको कलामा मुख्यत: क्यान्भासमा व्यक्तिगत चित्र, कुनै सुन्दर ठाउँ, परिवेश र ‘ल्यान्डस्केप’ कोरिएका चित्र कोरिएको पाउनु कला पारखीका लागि नौलो विषय होइन। क्यान्भासमा उतारिने शैलीबाट पृथक भई कलाकार तामाङले आफ्नो पहिचान झल्काउने मौलिकत वस्तुमा चित्रहरू उतार्ने प्रयास गरेका छन्। ‘को को मेन्दो’, नेपाली कागज, वुडकट प्रिन्ट, लोक्ताको फूल आदिमा पोखिएका उनका कला साँच्चै सुन्दर छन्।

फाइन आर्टस्मा स्‍नातकोत्तर गरिरहेका तामाङले चित्रकला लामो यात्रा तय गरिसकेका छन्। प्रदर्शनीमा रहेका करिब २५ वटा कलाकृति उनको आफ्नै अध्ययन र पुर्खाबाट हस्तान्तरण हुँदै कलाका उपज हुन्।

मोरङ अमरदहका सुवास तामाङ त्यहीँ हुर्के बढे। तर, ल्होसार भनेको के हो, कसरी मनाइन्छ भन्‍ने पनि उनले काठमाडौं आएपछि मात्र थाहा पाए। बाल्यवस्थादेखि नै उनले आफ्नो पहिचानबारे थोरै मात्र लेखपढ गर्न पाए। त्यसैले उनमा त्यसबारे जान्‍ने हुटहुटी जाग्यो। बाल्यकालदेखि बसेको पहिचानको छाप, युवावस्थामा जागेको हुटहुटी, त्यसले जगाएको भोक, भोकले डो¥याएर गरिएका विभिन्‍न अध्ययन, खोज अनि दुई वर्ष लागेर पूर्ण गरेका २५ कलाकृति आँखाअघि सचित्र हुँदा उनी निकै हर्षित छन्। कलामार्फत इतिहासको व्याख्या परिवर्तनका लागि प्रमाण पनि बनेको उनी बताउँछन्।

पहिचानको खोजी अभियानमा आफ्नो क्षेत्रबाट गर्न सकेको ऐक्यबद्धता सन्तुष्‍टी दिने अर्को पक्ष भएको तामाङ बताउँछन्।  ‘काइतेनको अर्थ ?’ अन्तिम उत्सुकता मेटाउँदै उनले भने, ‘तामाङ भाषामा यसको अर्थ आफ्नो कथा आफैँले कुरा राख्ने वा प्रस्तुत गर्ने हो।’

 

 Published Date: Wednesday, 15th September 2021 5:40:00 pm