कुलश भुर्तेलकाे सानदार शतक, अमेरिकामाथि नेपालको ९ विकेटकाे प्रभावशाली जित
कुशलले करिअरकै उत्कृष्ट इनिङ खेलेपछि नेपालले अमेरिकामाथि ९ विकेटको प्रभावशाली जित निकाल्यो।
काठमाडाैं, जेठ २ : ओपनर कुशल भुर्तेलले सानदार शतक प्रहार गरेपछि आईसिसी विश्वकप लिग–२ मा नेपालले अमेरिकामाथि प्रभावशाली जित निकालेको छ। कुशलले करिअरकै उत्कृष्ट इनिङ खेलेपछि नेपालले अमेरिकामाथि ९ विकेटको जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कुशलले ११८ बलमा १३ चौका र ४ छक्का प्रहार गर्दै नटआउट १२० रन बनाए। यो उनको दोस्रो शतक हो भने एकदिवसीयको उच्च स्कोर हो।
यस्तै, आसिफ सेखले ७२ बलमा ८ चौका प्रहार गर्दै ५८ रन बनाए। कुशल र आसिफले पहिलो विकेटका लागि १४५ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए। एकदिवसीयम डेब्यू गरिरहेका इशान पाण्डेले ३० बलमा २० रन बनाए। उनले खेलमा विजयी चौका प्रहार गरेका थिए।
बलिङमा अमेरिकाका लागि १ मात्र विकेट सौरभ नेत्रवाल्करले लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रनमा अलआउट भएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले उत्कृष्ट सुरुआत गरेको थियो। उसले १२२ रन बनाउँदा १ विकेट मात्र गुमाएको थियो। तर, त्यसपछि नेपाली बलरहरुले उत्कृष्ट पुनरागमन गरेका थिए।
अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। स्मितले शेहान जयसुरियासँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए। शेहान ५२ बलमा ५० रन बनाए।
१२२ रन जोड्दा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि भने लगातार विकेट गुमाउन पुग्यो। त्यसपछि मिलिन्द कुमार २८ र हर्मित सिंह १४ रन बनाए।
बलिङमा उपकप्तान दीपेन्द्रले ४ विकेट लिए। उनले ७।३ ओभरमा २४ रन मात्र खर्चिए। सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए।












