Kathmandu Press

तीन महिनादेखि किन अलपत्र छ नयाँ बानेश्वरको यो आकाशे पुल?

धमाधम काम हुने हो भने नयाँ बानेश्वरको आकाशे पुल १५ दिनमै सञ्चालनमा आउँछ। तर, तीन महिना बितिसक्यो, पुल सञ्चालनमा ल्याउन सम्बन्धित निकायको चासो देखिँदैन।
तीन महिनादेखि किन अलपत्र छ नयाँ बानेश्वरको यो आकाशे पुल?

काठमाडौं, भदौ २८ : कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि १५ वैशाखदेखि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्‍यो । पसल, व्यवसाय र कार्यालय मात्र होइन, सार्वजनिक यातायात पनि ठप्प बने । सडक सुनसान बन्यो, फाट्टफुट्ट त्यो पनि समस्या परेपछि मात्र निस्किने सवारी साधन मात्र गुडे । यस्तो लाग्थ्यो, सडकमा सुरक्षाकर्मीको मात्र उपस्थिति छ ।

सडक विभागले त्यही मौका छोपेर नयाँ बानेश्वर चोकमा आकाशे पुल हाल्यो । क्रेनको सहायतामा ‘ट्रस्ट ब्रिज’ उठाएर जडान गर्दै गरेको तस्बिर र भिडियो काठमाडौंवासीले सञ्चार माध्यमहरूमा देखे । सामान्य अवस्थामा नयाँ बानेश्वर आउजाउ गरिरहनुपर्ने यात्रीले ठाने, निषेधाज्ञा खुल्नासाथ सडकबाट बाटो काट्नुपर्दैन, पुलबाटै वारपार गर्न पाइन्छ । तर, २६ जेठमा ट्रस्ट हालियो, असार गयो, साउन गयो, भदौ पनि २८ गते भइसक्यो, आकाशे पुल सञ्चालनमा आउने लक्षणसम्म छैन ।

जब कि, धमाधम काम हुने हो भने १५ दिनमै आकाशे पुल सञ्चालनमा आउँछ । तीन महिना बितिसक्यो, पुल सञ्चालनमा ल्याउन सरकारी निकायको चासो छैन ।

तस्बिरहरू : सुजल बज्राचार्य/काठमाडौं प्रेस

त्यसैले विकास निर्माणमा ढिलासुस्तीको एक उदाहरण बनेको छ, यो आकाशे पुल । अब दशैँसम्ममा पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको डिभिजन सडक कार्यालय, काठमाडौंको भनाइ छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर चितरन्जनकुमार रानका अनुसार यो आकाशे पुल निर्माण गर्न पवन–प्रकृति जेभी कन्स्ट्रक्सनले तीन करोड १० लाख रुपैयाँमा ठेक्का लिएको छ ।

‘पुलको ट्रस्ट राखिसकिएको छ, बीचमा फलामका पत्ता राखिने भएका कारण ढिलाइ भएको हो,’ इन्जिनियर रानले भने, ‘कोभिड–१९ महामारीका कारण सबै कलकारखाना नखुुलेकाले पुल तयार पार्न ढिलाइ भएको हो ।’

३८ मिटर लम्बाइको यो पुल मान्छे मात्र वारपार गर्न मिल्नेगरी बनाइएको छ । यस पुलमा मान्छे हिँड्ने चौडाइ तीन मिटरको छ । जमिनबाट पाँच मिटर उचाइमा ट्रस्ट राखिएको उनले जानकारी दिए । ‘पुलको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ,’ उनले भने । उनको भनाइलाई आधार मान्ने हो भने मात्र २० प्रतिशत कामका लागि तीन महिनादेखि निर्माण रोकिएको छ ।

काठमाडौंकै व्यस्त चोक

नयाँ बानेश्वर चोक काठमाडौंकै अति व्यस्त चोक हो । जहाँ आकाशे पुल निर्माण गरिएको छ, त्यसभन्दा केही मिटर पूर्वतर्फ सडकमा जेब्रा क्रस बनाइएको छ । त्यस जेब्रा क्रसबाट दैनिक १० हजारभन्दा बढी पैदल यात्रीले बाटो काट्ने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतका अनुसार नयाँ बानेश्वर चोकमा सामान्यतया हरेक पाँच मिनटमा पैदल यात्री वारपार गर्न मिल्ने गरी ट्राफिक लाइटमा व्यवस्थापन गरिएको छ । ‘पाँच-पाँच मिनटको साइकलमा पिक आवरका बेला डेढ सयदेखि १८० जनासम्म पैदल यात्रीले बाटो क्रस गर्छन्,’ ती अधिकृत भन्छन् ।

उनका अनुसार बिहान नौदेखि ११ र साँझ चारदेखि सात बजेसम्मलाई पिक आवर मान्ने गरिएको छ । यही बेला कार्यालय, स्कुल, कलेज जाने मात्र नभई किनमेल गर्न बजारमा निस्किने यात्रीको संख्या सडकमा अत्यधिक हुने गर्छ ।

बिहानको पिक आवरको दुई घण्टामा चार हजारदेखि ४५ सयजना पैदल यात्रीले बाटो काट्छन् । साँझ त्यसभन्दा बढी यात्रीको ‘फ्लो’ रहन्छ, नयाँ बानेश्वर चोकमा । साँझपख पैदल यात्रीलाई बाटो क्रस गराउन व्यवस्थापन गर्नै ट्राफिक प्रहरीलाई हम्मे पर्छ ।

काठमाडौं महानगरपालिकाको भनाइमा नयाँ बानेश्वर चोकबाट दिनभरमा हजारौँले सडक वारपार गर्छन् । यसको यकिन तथ्यांक भने उपलब्ध छैन । त्यो संख्या १५ देखि २० हजार हुन सक्ने महानगरका एक अधिकृतको आकलन छ । स्कुल–कलेज लागेको समयमा नयाँ बानेश्वर चोकबाट सडक वारपार गर्ने पैदल यात्रीको संख्या अत्यधिक हुन्छ । आकाशे पुल भइदिँदा पैदल यात्रीको व्यवस्थापनबाट ट्राफिक प्रहरीले छुटकारा पाउँछ । र, यस चोकमा हुने सवारी साधनको जाम पनि कम हुन्छ ।

अति व्यस्त समयमा यस चोकबाट सडक पार गर्न १५-२० मिनटसम्म पर्खिनुपर्छ, कहिलेकाहीँ । त्यही पर्खाइ हटाउन यस चोकमा आकाशे पुल निर्माण गर्ने सरकारी योजना आएको हो । तर, ढिलासुस्तीका कारण चोकमा पुल देखिन्छ, पैदल यात्री त्यही पुल हेर्दै जेब्रा क्रसबाट सडक वारपार गर्छन् ।

प्रकाशित मिति: १३:५६ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्