Kathmandu Press

एटिपिडी कस्तो रोग हो ?

अरुले नसुनेको आवाज बिरामीले सुन्न थाल्छ, अरुले नदेखेको दृश्य देख्न थाल्छ । हुँदै नभएको कुरा (जस्तो : अरु कसैले आफूलाई पछ्याएको, कसैले मार्न खोजेको) महसुस गर्न थाल्छ ।
एटिपिडी कस्तो रोग हो ?
Hardik ivfHardik ivf

मानसिक रोगहरूमध्येको एक हो, एटिपिडी (एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिसअर्डर) अर्थात् तीव्र र क्षणिक मानसिक विकार । यसमा बिरामी आफ्नो अवस्थाको बारेमा अज्ञात हुन्छ । 

यस रोग लागेपछि दुुई हप्तामा व्यक्तिमा स्वास्थ्य समस्या देखिन्छ । एउटा स्वस्थ व्यक्तिलाई दुुई हप्ताको अन्तरालमा उसको वास्तविकता के हो भन्ने जानकारी नहुने गरी विचारमा परिवर्तन आई भ्रमहरू पैदा हुन्छन् । यसलाई एक प्रकारको इल्युजनको रूपमा पनि लिइन्छ ।

लक्षण

एटिपिडी भएको व्यक्तिलाई हुँदै नभएको अत्यन्तै मिथ्यापूर्ण कुराप्रति निकै विश्वास हुन्छ । बिरामीलाई आफ्नैविरुद्ध एक प्रकारको विश्वास सिर्जना हुन्छ । जुन विश्वास बिरामीका लागि मात्र सत्य हुन्छ । बिरामीले गरेको त्यो विश्वासलाई परिवार र समाजले सत्य भनेर नस्विकार्ने अवस्था हुन्छ । अरुले नसुनेको आवाज बिरामीले सुन्न थाल्छ, अरुले नदेखेको दृश्य देख्न थाल्छ । हुँदै नभएको कुरा (जस्तो : अरु कसैले आफूलाई पछ्याएको, कसैले मार्न खोजेको) महसुस गर्न थाल्छ । अरु मानिस आफ्ना विरुद्ध लागेको शंका गर्छ । 

यसका साथै बिरामीको अरु व्यवहारमा पनि अस्वाभाविक परिवर्तन आउँछ । जस्तैः अति शंकालु हुने, निद्रा र खानामा अस्वाभाविक परिवर्तन आउने आदि । यी परिवर्तन दुुई हप्ताको अन्तरालमै तीव्र रूपमा आउनुलाई नै एटिपिडी भनिन्छ । 

बिरामीमा आफ्नो परिवारले पनि गलत व्यवहार गरेको भन्ने विश्वास उत्पन्न हुन्छ । समूहमा मान्छे बसेर कुरा गरिरहेका छन् भने पनि मेरै कुरा काटेको होला वा मेरैविरुद्ध योजना बनाइरहेका होलान् भन्ने सोच्ने, अनि आफूले सोचेको कुरालाई सत्य मानेर उनीहरूले नै भनेको सुनेको अनुुभव गर्ने, अरुलाई पनि अस्वाभाविक व्यवहार देखाउने, गाली गर्ने, अरुलाई लाञ्छना लगाउने लगायत परिवर्तन बिरामीमा देखिन्छ । 

यस्ता परिवर्तनलाई नियालेर एटिपिडीका बिरामीको पहिचान गर्न सकिन्छ । कसैले आफूमा यस प्रकारको परिवर्तन आएको मनन गरेमा उपचारका लागि सहज हुन्छ। 

एटिपिडी भनेर निश्चित गर्न कम्तीमा दुुई हप्ता अगाडिदेखि निरन्तर लक्षण देखिएको हुनुुपर्छ । एक–दुुई घन्टाका लागि वा छोटो समयका लागि मात्र यस्ता परिवर्तन आएमा एटिपिडी मानिँदैन । तर, त्यो परिवर्तनले आफू, आफ्ना काम–कर्तव्य, परिवार, समाज लगायत आफ्नो वरिपरिको वातावरणमा नकारात्मक प्रभाव पारेको खण्डमा मात्र यसलाई पूर्ण रूपमा एटिपिडी मान्न सकिन्छ। 

एटिपिडी मुख्य प्रकारको मानसिक रोग भएकाले यसमा ठूलै खालको विश्वासको भ्रम हुन्छ, महसुसमा भ्रम हुन्छ, व्यवहारमा एक खालको अस्वभाविकता हुन्छ, बोलीमा परिवर्तन आउँछ । तसर्थ बोली, निद्रा, काम गर्ने तरिका लगायत सबै क्रियाकलापमा परिवर्तन आई अस्वाभाविकता पैदा हुने र आफैँलाई नकारात्मक प्रभाव पार्ने हुँदा यसको शीघ्र एटिपिडी डायलायसिस गराउन जरुरी हुन्छ । 

मुख्य कारण 

मानसिक स्वास्थ्यलाई एकै तरिकाले व्याख्या गर्न सकिँदैन । यसका विभिन्न कारण हुन्छन् । एटिपिडीको एक प्रमुख कारण भनेको बायोलजिकल अर्थात् जैविक तत्व हो। 

अरु रोग वा घटनाका कारण पनि एटिपिडी रोग लाग्न सक्छ । त्यस्तै, लागू औषधिको व्यापक प्रयोग गर्नु, मस्तिष्कमा चोट लाग्नु लगायत कारण मस्तिष्कमा रसायन उत्पादन हुन सक्छ, जसको प्रभावका कारण यो रोग लाग्न सक्छ ।

मनोवैज्ञानिक प्रभावका कारण पनि एटिपिडी हुन सक्छ । जस्तो : कुनै व्यक्ति कस्तो घर–परिवार र समाजमा हुर्केको छ भन्ने कुराले यसलाई प्रत्यक्ष असर पु¥याएको हुन्छ । सो व्यक्तिले समस्यालाई कसरी हेर्छ, कसरी समाधान गर्छ र त्यो समयमा कस्तो विचार धारणाको विकास भएको छ भन्ने यस रोगमा महत्वपूर्ण हुन सक्छ। 

त्यस्तै, सामाजिक तत्वले पनि यसलाई प्रत्यक्ष असर पुर्‍याएको हुन्छ । कस्तो समाजमा बस्छ, समाजबाट के सिक्छ, व्यक्तिको आर्थिक र सामाजिक अवस्था कस्तो छ, कतिसम्म सहयोगी वातावरणमा हुर्केको छ आदि कुराले पनि एटिपिडी हुनुमा भूमिका खेल्न सक्छ । 

मानसिक समस्या यकिनका साथ यही कारणले हुन्छ भन्न सकिँदैन । मानसिक रोगको कुरा गर्दा जैविक, मानसिक र सामाजिक तत्वलाई पनि नियालेर हेर्न जरुरी हुन्छ । यी सबैको समग्रतामा मानसिक रोग खुट्ट्याउनुपर्ने हुन्छ । 

उपचार

कम्तीमा दुुई हप्तासम्म एटिपिडीको लक्षण देखिन सक्छ । यो कहिलेसम्म निको हुन्छ भन्ने मानिसको शरीर, मानसिक अवस्था र उपचारमा निर्भर रहन्छ । उपचार सुरु गरेपछि वा उपचार नगरी तीन महिनासम्म निको नभएमा यो अझ कडा र दीर्घ रोगका रूपमा परिवर्तन हुन सक्ने सम्भावना रहन्छ । 

उदाहरणका लागि एन्टिसाइकोटिक औषधिको प्रयोगले तीन–चार हप्तामा एटिपिडी निको भएमा औषधिको मात्रा कम गर्न सकिन्छ । तर, निको नभएमा थप उपचार आवश्यक पर्छ । एटिपिडी विशेषतः किशोरकिशोरी र युवामा बढी देखिन्छ, कहिलेकाहीँ वृद्धवृद्धामा पनि यो रोग देखिएको छ । 

वृद्धवृद्धामा उमेर ढल्किँदै जाँदा यस्ता लक्षण देखिनु स्वाभाविक मानिन्छ । वृद्धवृद्धामा अन्य स्वास्थ्य समस्याका कारण यस्ता परिवर्तन आएको हुन सक्ने सम्भावनालाई बढी जोड दिएर परिवारले अन्य स्वास्थ्य समस्याको उपचारमा लाग्नुपर्छ । कतिपय डिप्रेसन भएका मानिसमा पनि एटिपिडी देखिन सक्छ । 

सकभर बिरामी स्वयंले रोग लागेको ख्याल गरी व्यवहारमा परिवर्तन ल्याउने वा परिस्थितिलाई शान्तिपूर्वक विचार गरेमा छिटो निको हुन सहयोग पुर्‍याउँछ ।

(मनोचिकित्सक डा. कार्कीसँग सोनी शाहीले गरेको कुराकानीमा आधारित) 
 

प्रकाशित मिति: १३:५७ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जब चिनी तीतो हुन्छ’
‘जब चिनी तीतो हुन्छ’