Kathmandu Press

चार दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

चार दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

काठमाडौं, साउन २० : जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध रहेको छ । गत आइतबारदेखि अवरुद्ध बनेको राजमार्ग अझै खुल्न सकेको छैन ।

लगातारको वर्षाका कारण बैतडीको पाटन नगरपालिका–८ झौलेकमा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग पुनः सञ्चालनका लागि भासिएको सडकलाई भत्काएर पर्खाल लगाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

“वर्षाका कारण पर्खाल लगाउने कार्य प्रभावित भएको छ”, उनले भने, “पर्खाल नलगाउँदासम्म सडक सञ्चालन गर्न सकिने अवस्था छैन, पर्खालको निर्माण सम्पन्न हुन अझै एक दुई दिन लाग्ने देखिएको छ ।” चार दिनदेखि राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र  बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायत स्थानका लागि छुटेका १०० भन्दा बढी सवारी साधन ठप्प रहेका छन् ।

सवारी साधन ठप्प हुँदा यात्रु पनि अलपत्र परेका छन् । यस्तै बैतडीको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका लगायत ठाउँबाट अन्यत्र जाने यात्रु पनि मार्कामा परेका छन् ।

वर्षातको समयमा पहिरो जाँदा जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेका छन् ।

प्रकाशित मिति: १८:३१ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्