Kathmandu Press

कन्फेसन अर्थात् ‘अनुपस्थित तीन’

‘अनुपस्थित तीन’का तीन पात्र, जो फरक–फरक पृष्ठभूमिबाट आएका छन्, जो आफूभित्र आफैँसँगको अस्तित्वको लडाइँ लडिरहेको देखाइएको छ। मानिस मरेपछि मुक्ति पाउँछु भन्नु मिथ्या रहेको नाटकमा देखाउन खोजिएको छ।
कन्फेसन अर्थात् ‘अनुपस्थित तीन’

काठमाडाैं, साउन २० : विभिन्न रंगका लाइटहरूले सजाइएको उज्यालो कोठा, तीनवटा मिलाएर राखिएका कुर्सीहरू हरियो, पहेँलो अनि गुलाबी। तीनै रंगले छुट्याइएका कुर्सीहरू मिलाइएको थियो। सामान्यजस्तो देखिने कोठा दोस्रो साम्राज्यको स्टाइलमा थियो, जसको एउटा कुनामा सजाएर राखिएको थियो नांगो मानव मूर्ति। टाउको निहु¥यााएर दुवै हात टाउको भन्दा माथि आपसमा जोडेको मूर्तिले सबैको ध्यान खिचेको थियो। सजाइएको उक्त नग्न मूर्तिले नै मञ्च आकर्षक देखिन्थ्यो, यो दृश्य हो सोमबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरको।

कोभिड महामारीका कारण लामो समय सुनसान बनेको रंगमञ्च पुरानो लयमा फर्कन सुरुवात गरेको छ। लामो समयदेखि बन्द रहेको रंगमञ्च यतिबेला भने झकिझकाउ देख्दा लाग्थ्यो कोरोनाकाल सकिएको हो तर कोरोना संक्रमण नरोकिएकाले शिल्पी थिएटरमा तीन दिन मात्र नाटक प्रदर्शन हुनेछ।

फ्रान्सेली नाटककार झाँ पल सात्र्रको नाटक अंग्रेजीमा ‘नो एक्जिट’ भनेर अनुवाद गरिएको नाटकलाई सन् १९४४ मा पेरिसको ‘थेयात्र दु भ्यु कोलोम्बिएर’ रंगमञ्चमा प्रदर्शन गरिएको थियो। सोही नाटक ‘नो एक्जिट’लाई ‘अनुपस्थित तीन’का रूपमा अवतार पाठकले नेपालीमा अनुवाद गरेका हुन् भने घिमिरे युवराजको निर्देशन र परिकल्पनामा तयार पारिएको हो।

कलाकारहरू उषा रजक, विपिन कार्की, पवित्रा खड्का र मानहाङ लावतीले गज्जबको कलाकारिता देखाएका छन्। कोरोना भाइरसका कारण विश्व नै आक्रान्त रहेको यो समयमा शिल्पी थिएटरले भने रंगमञ्चलाई पुनर्जीवित गरेको छ। कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नका लागि सरकारले जारी गरेको निषेधाज्ञा केही खुकुलो भएपछि दैनिकीमा फेरबदल आएसँगै बन्द कोठामा बस्न बाध्य रंगमञ्च प्रेमी दर्शकका मुहारमा खुशी छाएको छ भने कलाकारहरू पनि हर्षित देखिन्छन्।

नाटक ‘अनुपस्थित तीन’ १८ देखि २० साउनसम्म बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा प्रदर्शन गरिनेछ। नाटकघरमा ४० जनाको भौतिक उपस्थितिमा मञ्चन भइरहेको ‘अनुपस्थित तीन’ नाटक भौतिक रूपमा उपस्थित हुन नसक्ने दर्शकका लागि पनि शिल्पी थिएटरको फेसबुक पेज र युट्युबमार्फत प्रत्यक्ष हेर्न सकिने छ।

यो नाटकमा आजाद, इच्छा र अभिलाषा र म्यानेजरको भूमिका छ। नाटकको सुरुवात ठूलो आवाजसहित कोठाको ढोका खोल्दै म्यानेजर र आजाद मञ्चमा देखा पर्छन्। म्यानेजरले कोठा देखाउँछन् भने आजाद कोठाका बारेमा सोधपुछ गर्छन्। कपाल सर्लक्कै फालेका ख्याउटे शरीरका आजाद केही डराएको जस्तो, डगमगाएजस्तो देखिन्छन्। आजाद र म्यानेजरबीचको संवादमा आजाद भने यताउता नजर डुलाएकोे देख्न सकिन्छ। ‘खोई त तातो तेल राखेको ठूलो कराई ?’ उनको प्रश्नले म्यानेजर जोडले हाँस्न थाल्छन्। सेतै फुलेको कपाल अनौठो पोशाकमा देखिने म्यानेजर अलिक फरक शैलीमा प्रस्तुत हुन्छन्। उनका दुवै हातका हत्केलामा रातो रंगले पोतिएको थिए। उनको काम नै त्यहाँ आएका मानिसहरूलाई कोठा देखाउनु हो।

आजाद यताउता डुल्छन्, यातना दिने सामग्रीका बारे सोध्छन्, तर म्यानेजरले सामान्य उत्तर दिन्छन्। ढोकानजिकै एउटा बटन छ तर त्यो बटन उनले नसुन्ने भनी आजादलाई बताउँछन्। आजादलाई कोठा देखाएपछि अंकलको कोठामा जाने भनी म्यानेजर बाहिरिन्छन्। उनका अंकल सोही साम्राज्य तरिकाले तयार पारिएको कोठा भएको घरको तेस्रो तलामा बस्छ्न्।

एकैछिन म्यानेजर निस्किएपछि आजाद यताउता नियाल्न थाल्छन्। कोठामा एकप्रकारको सकसले गर्दा उनी त्यहाँबाट बाहिर जान चाहन्छन् तर सक्दैनन्। निकैबेर म्यानेजरलाई बोलाउँछन्, बाहिर निकालिदेऊ भनी गुहार्छन्। तर, उनको आवाज सुन्ने कोही छैन, शून्य कोठामा छन् त ठिंग ठडिएका निर्जीव कुर्सी र बेजान मूर्ति। केही समयपछि अभिलाषा र म्यानेजर उक्त कोठामा देखा पर्छन्। अभिलाषा उक्त कोठामा आएकी दोस्रो पात्र हुन्छिन्। हक्की स्वभावकी देखिने उनी सुलोचना कता छिन् भन्दै आजादलाई सोध्छिन्। आजाद अतालिन्छन्। ‘खोई यमदूत ?’ अभिलाषाको प्रश्न नसकिँदै उनी बोल्छन् ‘को यमदूत ? म यमदूतजस्तो देखिन्छु ?’

यत्तिकैमा म्यानेजर बाहिरिएपछि आजाद र अभिलाषा आपसमा कुराकानी गर्छन्। अभिलाषालाई पुरुष मन पर्दैन, तसर्थ उनले आजादलाई घृणा गर्छिन्। आफू किन र कसरी त्यहाँ आएको भनी गफ गर्ने क्रममा उक्त कोठामा तेस्रो पात्रको प्रवेश हुन्छ। उनी हुन् इच्छा। उनी यस कोठाकी अन्तिम पात्र हुन्, इच्छाको स्वभाव केही भयभित र केही उत्सुक देखिन्छ। चमकधमक शैलीमा देखिएकी उनी पहिलो पात्र आजाद र दोस्रो पात्र अभिलाषाको नजरमा पर्छिन्। अरूको ध्यान खोज्ने अनि धेरै बोल्ने स्वभावकी छन् र आजादलाई आफूतिर आकर्षित गर्न खोज्छिन्।

नाटक ‘अनुपस्थित तीन’मा यी पात्रहरू एकै ठाउँमा एउटै कोठामा पृथ्वीदेखि आएका हुन्। पृथ्वीमा रहँदा आफूले गरेको कुकर्महरूको दण्डस्वरूप त्यहाँ पुगेको देखाउन खोजिएको हो। पश्चिमी साहित्यमा अनन्तकालसम्म दण्डित हुने मिथकलाई उक्त पात्रको माध्यमबाट प्रस्तुत गरिएको छ। पृथ्वीमा रहँदा देखिएको मानव व्यवहार मरणोपरान्त पनि गरिरहेको देखाउनुले मानवको स्वभाव, उसको व्यवहार र आचरण जहाँ गए पनि उस्तै र दुःखी  हुने नाटकमा देखाउन खोजिएको छ। मरेपछि पृथ्वी छाडिसक्दा पनि आफूले प्रयोग गरेका सामानको विषयमा चिन्ता लिएको, आफ्ना सामान, साथीभाइ, आफन्तले गरेको व्यवहारप्रति असन्तुष्ट, शारीरिक यौवनमा नतमस्तक हुन गरिने कोशिस, अरूलाई देखाउन गरिने देखावटीपन, लोभ, लालच, इश्र्याजस्ता मानवीय गुण पृथ्वीमा क्षणभंगुर शरीर छाडेर गए पनि आत्मामा त्यो गुण बोकेको उक्त नाटकमार्फत कलाकारले प्रस्तुत गरेका छन्।

तीन पात्र, जो दण्ड भोग्नका लागि एउटै कोठामा राखिए पनि आफ्नो यथार्थ र आफूले गरेको खराब कर्मलाई उनीहरूले स्वीकारेका छैनन्। पृथ्वीबाट उक्त लोकमा आउनुको कारण कत्ति पनि जानकार नभएको ढोङ देखाउँछन्, जसले मानव प्रवृत्ति देखाउन खोजिएको छ। आफू असल र अरू खराब, आफू सधैँ माथि भन्ने मानवीय चेतना जहाँ गए पनि नछोड्ने प्रवृत्ति प्रष्ट देख्न सकिन्छ, जुन यस नाटकको उत्कृष्ट पक्ष हो। पृथ्वी होस् या यमलोक जहाँ भए पनि मानिस दुःखी र असन्तुष्ट हुनुको मुख्य कारण मानिस आफैँ भएको नाटकमा देखाउन खोजिएको छ।

समय बित्दै जान्छ, जहाँ दिन र रातको पत्तो हुँदैन। पृथ्वीमा हेरेरै रात र दिन, गर्मी र चिसोको हेक्का राख्छन्। समय बित्छ तर अझै आफू मानव मरिसकेको र आफ्ना गल्ती कमजोरी स्वीकार्न नसकेका यी ‘अनुपस्थित तीन’हरू विस्तारै आफ्ना गल्ती के हुन् भनी भन्न थाल्छन्। एकअर्काबाट कुनै अपेक्षा नराखी अपराध बताउने निर्णय गर्छन्।

सोही क्रममा आजाद एक वेश्यावृत्तिमा लागेको र  श्रीमतीलाई प्रसव पीडा दिएको बताउँछ। त्यसैको पापले आफू अन्य दुई पात्रसँग नर्कमा आउनुपरेको स्वीकार्छ। एक कवि जो, निरंकुश र सामन्तको विरुद्ध कलम चलाउँदा गोली हाली हत्या भएका कारण नर्क आएको छ। यस्तै, दोस्रो पात्र अभिलाषा, जो एक समलिंगी महिला हुन्। उनी पुरुष भनेपछि घृणा गर्छिन्। उनले आफ्ना साथीको प्रेमिकालाई प्रेममा पारेर बहकाएका कारण नर्कमा रहेको स्वीकार्छिन्। उनी र सुलोचना सुतिरहेको बेला ग्यास पड्किएर मृत्यु भएको सुनाउँछिन्।

दुवै पात्रले आफू दण्डित हुनका लागि नर्कमा आउनुको कारण बताए पनि इच्छाले भने आनाकानी गरिरहेकी देखाइन्छ। इच्छाले आफू नर्कमा गल्तीले आएको भन्दै आलटाल गर्छे तर आजाद र अभिलाषाले उसका मनभित्र रहेका कुण्ठा र आवेग बाहिर निकालिदिन्छन्। आवेगमा आएर इच्छाले आफ्नो गल्ती स्वीकार्छे। उसले आफ्नो पे्रमीको बच्चालाई मारिदिएको कारण त्यहाँ आउनुपरेको बताउँछे। यसरी तीन पात्रहरू अन्तिममा आफ्ना कर्तुत स्वीकार्छन्।

तर, इच्छाले आजादलाई आफूतिर आकर्षित गर्ने प्रयास गर्छे, एक सुन्दर युवतीको समिपमा जाँदा पनि आजादको मनमा रहेको डरले नजिकिन सक्दैन। कायरताको उपमा पाएको आजाद आफू कायर होइन भनी विश्वास दिलाउन बारबार प्रश्न गर्छ। अभिलाषा भने इच्छाको सुन्दरतामा पग्लिन्छिन््। इच्छा भने आजादको स्पर्श र उसको शरीरमा समाहित हुन चाहेको नाटकमा देखाइएको छ।

यसरी ‘अनुपस्थित तीन’का तीन पात्र, जो फरक–फरक पृष्ठभूमिबाट आएका छन्, जो आफूभित्र आफैँसँगको अस्तित्वको लडाइँ लडिरहेको देखाइएको छ। मानिस मरेपछि मुक्ति पाउँछु भन्नु मिथ्या रहेको नाटकमा देखाउन खोजिएको छ। मरेपछि आनन्द हुन्छ भन्ने कथन यहाँ विल्कुल फरक छ भन्ने आजादले एक पलको लागि पृथ्वीमा जान पाए आफू कायर होइन भनी सबैलाई भन्ने धारणा राख्दा थाहा हुन्छ। साँच्चै मान्छे मरेपछि पनि खुशी अनि सन्तुष्ट छैन भन्ने नाटकमा देखाउन खोजिएको छ।

निसासिएको आजाद खुल्ला ठाउँमा भाग्न चाहन्छ। खासमा आजाद आफूबाट भागेर अन्त जानका लागि ढोका खोल्न अनुरोध गर्छ। आजाद ढोकाको कुनानिर गएर रुन्छ कराउँछ र अन्त्यमा उक्त कोठाको ढोका खुल्छ। ढोका खुलेदेखि फुत्किहाल्थेँ भन्ने आजाद शान्त मुद्रामा बसिरहन्छ। कोठाबाट कोही पनि बाहिर जाँदैनन, अभिलाषाले ढोका लगाइदिन्छिन्। चुपचाप तीनै पात्र मिलाएर राखिएका कुर्सीमा कुनामा रहेको मूर्तिको आसनमा बस्छन्। यसरी स्वअस्तित्वको खोजी गर्दै गरेका पात्र सोही आसनमा ‘अनुपस्थित तीन’ सकिन्छ।

नाटकको सुरुवात र अन्त्य भने गज्जबको छ। नाटकको पहिलो दृश्य, जसमा नांगो तामाको मूर्ति देखाइएको थियो, अन्त्य पनि सोही मूर्तिबाट गरिएको छ। यस अर्थ पनि नाटकका निर्देशकको सिर्जनात्मक कला देखिन्छ। कलाकारहरू उषा रजकको चुल्बुलेपन, रिस र आवेगको भूमिका, विपिन कार्कीको आफूभित्रको लडाइँ, पवित्रा खड्काको दृढता र स्वीकार्यता अनि मानहाङ लावतीको प्रस्तुती निकै उत्कृष्ट देखिन्छ।

रंगमञ्च प्रेमीलाई ‘अनुपस्थित तीन’ले खुशी दिएको छ। मञ्चको निर्माण, प्रकाश, परिकल्पना, कला, स्वर, भेषभुषा र संगीतले साँच्चै नै दर्शकलाई अर्कै लोक पुगेको भान गराउँछ। निर्देशक घिमिरे युवराज र शिल्पी थिएटर परिवारले फ्रान्सेली नाटककार झाँ पल सात्र्रको नाटक ‘नो एक्जिट’ लाई ‘अनुपस्थित तीन’को रूपमा प्रस्तुत गरी न्याय दिन सफल देखिन्छन्।

 

प्रकाशित मिति: १०:५४ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्