गण्डकी प्रदेशमा थपिए ५०८ जना कोरोना संक्रमित 

काठमाडौं, साउन १९ : गण्डकी प्रदेशमा थप ५०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १३५ जनाको नमुना परिक्षण गरिएकामा ५०८ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये २४४ महिला र २६४ जना पुरुष रहेका छन् ।

प्रदेशका १० जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कास्की १५५, बागलुङ ५८ स्याङ्जा ७७, म्याग्दी १७, पर्वत १,गोरखा ८४, लमजुङ ११,तनहुँमा ६१ र नवलपुरमा ४४ जनामा संक्रमण देखिएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९ हजार १५१ पुगेको छ । यस्तै, प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१४ की ८४ बर्षिय महिला र नवलपरासी पूर्व,कावासोती–८ की ७२ बर्षिय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो । 

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १०५ जना पुगेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ६१० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ७०० पुगेको छ ।  त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ५ हजार ३४६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

 Published Date: Tuesday, 3rd August 2021 7:52:00 pm