Kathmandu Press

अघि बढे केपी ओली, अलमलमै नेपाल समूह

विधान महाधिवेशन, पालिकास्तरका कमिटीको अधिवेशन हुँदै १० औँ राष्‍ट्रिय महाधिवेशनको तयारीमा एमाले ओली समूह अगाडि बढिसक्दा पनि नेपाल समूह भविष्‍यको बाटो तय गर्न अलमलमा देखिन्छ।
अघि बढे केपी ओली, अलमलमै नेपाल समूह

काठमाडौं, साउन १८ : एमाले केपी ओली समूहको १७ साउनको स्थायी कमिटी बैठकले मुख्यतः दुईवटा महत्त्वपूर्ण निर्णय लियो। पहिलो- २७-२८ भदौमा पार्टीको विधान महाधिवेशन गर्ने र दोस्रो- असोज पहिलो र दोस्रो साता वडा र पालिकास्तरका अधिवेशन सम्पन्‍न गर्ने।

त्यसको अर्थ हो- वरिष्‍ठ नेता माधवकुमार नेपाल नेतृत्वको विद्रोही समूहलाई छाडेर अध्यक्ष केपी ओलीले पार्टीको १० औँ महाधिवेशनको दिशा तय गरेका छन्। यही मेसोमा नेपाल समूह भने अलमलमा देखिन्छ। उक्त समूहले न त पार्टीको एकताको दिशा तय गर्न सकेको छ, न अलग पार्टी बनाएर अगाडि बढ्ने हिम्मत नै जुटाएको छ।

हरेक बैठकपछि नेपाल समूहका दुईथरि धारणा सार्वजनिक हुन्छन्- सरकारमा सहभागी हुने र नहुने। उक्त समूहका एकथरि नेता आफैंले गठन गराएको सरकारमा सहभागी हुनुपर्ने अडानमा देखिन्छन् भने अर्काथरि नेता एमाले अध्यक्ष ओलीलाई मनाएर पार्टी एकताको पहल जारी राख्नुपर्ने पक्षमा देखिन्छन्।

नेपाल समूह अनिर्णयको बन्दी बनिरहँदा न त एमालेको भाग्य र भविष्‍य निश्‍चित भएको छ, न सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई पूर्णता दिन पाएको छ। उता नेपाल समूहलाई छाडेर ओली पक्षले आफ्नो बाटो तय गरिसकेको छ।

१७ साउनमा बसेको ओली समूहको बैठकले महाधिवेशनको मार्ग तय गरेको छ। त्यो किन पनि भने एमालेको विधानको दफा १३ (क)ले दुई महाधिवेशनबीचमा एउटा विधान महाधिवेशन गर्ने उल्लेख छ। केन्द्रीय कमिटीले सञ्‍चालन गर्ने विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधानका प्रावधानहरू संशोधन गर्छ। र, केन्द्रीय निर्वाचन आयोग निर्वाचित गर्छ।

२७-२८ भदौमा विधान महाधिवेशनलगत्तै असोज पहिलो र दोस्रो साता वडा र पालिकास्तरका अधिवेशन सम्पन्‍न गर्ने तालिका ओली समूहले तय गरेको छ। स्थानीय तहका अधिवेशनलगत्तै जिल्ला र प्रदेश कमिटीका अधिवेशन गर्न बाटो खुल्नेछ। र, त्यसपछि पालो आउँछ, १०औँ राष्‍ट्रिय महाधिवेशनको।

१७ साउनका निर्णय नेपाल समूहको उपस्थितिबिना नै भएका छन्। ओली समूहका अधिकांश नेता नेपाल समूहलाई अब पर्खेर बस्न नसकिने निष्‍कर्षमा पुगेको देखिन्छ। सोही कारण पार्टी एकताका लागि बीचमा कुनै अपेक्षित विकास देखिएन भने ओली समूह एक्लै एमालेमा एकछत्र नेतृत्वमा रहनेमा शंका छैन।

किन अलमलमा नेपाल समूह ? यसका दुई कारण देखिन्छन्। पहिलो- अध्यक्ष ओलीले सम्मानजनक एकताको माहोल तयार पार्नु साटो गाली गलौज गर्दै एकता प्रयासमा बारम्बार चिसो पानी खन्याइदिँदै आएका छन्। जब दोस्रो वरियताका नेताहरू एकताको माहोल बनाउन लागिपरेका हुन्छन्, अध्यक्ष ओलीले वरिष्‍ठ नेता नेपाल र उनको समूहका नेताहरूलाई तल्लोस्तरमा उत्रिएर सार्वजनिक गाली गलौज गर्छन्। अनि एमालेमा एकाएक एकताको माहोल बिग्रिन्छ। दोस्रो- पार्टी फोडेर बाहिर निस्किन ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३’ अनुसार केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत पु¥याउनुपर्छ। केन्द्रीय कमिटीमा ४० प्रतिशतभन्दा बढीको सुविधामा नेपाल समूह छ। संसदीय दलमा भने ३० देखि ३३ प्रतिशतको सुविधामा मात्र छ।

नेपाल पक्षका पोलिटब्युरो सदस्य जगन्‍नाथ खतिवडा विघटित कार्यदलका सदस्यहरूका कारण अलमलजस्तो देखिइरहेको बताउँछन्। ‘ओली समूहले एक्लै अगाडि बढ्ने र एकताको वार्ताको केही अर्थ नभएको संकेत गरेको छ। अध्यक्ष ओलीले माधवकुमार नेपालबिना नै अगाडि बढ्ने बताइसक्नुभएको छ,’ खतिवडा भन्छन्, ‘उहाँका गतिविधिबाट एकतालाई नभई विभाजनलाई प्रश्रय दिएको देखिन्छ।’

अध्यक्ष ओलीका ती गतिविधि यसअघि नै देखिएको र नेपाल पक्षबाट वार्ताकार बनेका नेताहरूले भ्रम पालेको प्रष्‍ट भएको खतिवडा बताउँछन्। भन्छन्, ‘उहाँहरू झुक्किनुभएको रहेछ भन्‍ने देखिन्छ।’

पोलिटब्युरो सदस्य खतिवडाको भनाइलाई आधार मान्‍ने हो भने हालसम्म वार्ताकार नेताहरूलाई बढी विश्‍वास गरेर नेपाल पक्षमा अलमलमा परेको आकलन गर्न सकिन्छ। ‘उहाँहरूलाई नै पर्खेर हामी बसेका थियौँ तर अब पर्खेर बसिँदैन,’ उनी भन्छन्, ‘कार्यदलवालाले एक दिन, दुई दिन, २४ घण्टा, ४८ घण्टा कति हो, टुंगो गरेनन् भने हामी आफ्नो दिशामा हिँड्न बाध्य हुन्छौँ।’

कतै प्रतिशत पुग्नु-नपुग्नुसँग अब सरोकार राख्न नहुने खतिवडाको मत छ। ‘कतै ४० प्रतिशत पुगेन भने अर्को पार्टी बन्छ,’ उनी भन्छन्, ‘राजनीतिमा विकल्प अनेक छन्। अब प्रतिशत गणना गरेर नबसौँ। गरौँ के भने वार्ता कार्यदलले २४ घण्टामा काम सकोस्।’

वार्ता कार्यदलमा आफ्नोतर्फबाट पठाएका नेताहरूले इमानदारितापूर्वक काम गर्न खोजेका हुन् भने २४ घण्टाभित्र काम सक्नुपर्ने आवाज नेपाल समूहमा मुखरित हुन थालेको छ। २४ घण्टामा नसकिने भए ४८ घण्टा माग्नुपर्ने र त्यति अवधिभित्र निष्‍कर्ष निस्किन सक्दैन भने एकताका नाममा अनन्तकालसम्म अलमलिन नसकिने बुझाइ नेपाल समूहमा बाक्लिएको छ। ‘वैचारिक हिसाबबाट पार्टीमा विविधता हुन्छ, त्यही विविधताबाट एउटा निष्‍कर्ष निस्कियोस् भने पर्खिँदा पर्खिँदा अर्को समूह अगाडि बढेको बढ्यै भयो,’ खतिवडा भन्छन्, ‘त्यसकारण अब त्यसो गर्न सकिँदैन भन्‍ने दिशातिर सोच अगाडि बढेको छ।’

नेपाल समूहबाट विघटित कार्यदलमा सदस्य रहेको एमाले सचिव गोकर्ण बिष्‍ट भने एकताको प्रयास नछाडिने बताउँछन्। ‘साथीहरूको जेसुकै कुरा भए पनि हामी पार्टी एकताकै पक्षमा छौँ, एकताको प्रयास जारी राख्छौँ।’

ओली समूहका नेता तथा एमाले वागमती प्रदेश अध्यक्ष आनन्द पोखरेल पार्टीमा आउन, जिम्मेवारी लिन, पार्टी र आन्दोलनलाई अगाडि बढाउन सबैजना आउने र सँगै काम गर्ने अवसर कायम रहेको बताउँछन्। ‘कसैलाई पाखा लगाउने कुरा होइन, सँगै लिएर जाने हो तर काम रोकेर बस्नु हुँदैन भन्‍ने स्थायी समिति बैठकको सन्देश हो,’ पोखरेल भन्छन्, ‘किनकि, संविधान र कानून पनि हेर्नुपर्छ। महाधिवेशन गर्नुछ, त्यसअघि विधान महाधिवेशन गर्नुपर्छ। संगठनलाई क्रियाशील बनाएर अगाडि बढाउन ढिला भएको छ। उहाँहरूको आफ्नो जिम्मेवारी सम्हालेर आउन कहीँ कतै रोकटोक छैन। सहज ढंगबाट आउनुहुन्छ भन्‍ने विश्‍वास छ। आएका दिनदेखि जिम्मेवारी सम्हालेर अगाडि बढ्नु हुनेछ।’

प्रकाशित मिति: १४:४७ बजे, सोमबार, साउन १८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्