सफल व्यवशायी श्रेष्‍ठ सफल मन्त्री पनि हुन सक्छन् नि ! 

सांसद उमेश श्रेष्‍ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेपछि सामाजिक सञ्‍जाल र आमसञ्‍चार माध्यममा गतिलै मसला फेला पारेको शैलीमा टीका-टिप्पणी चलिरहेको छ। समयक्रममा एकपछि अर्को सफलताको छलाङ मार्दै उनी मुलुकको राज्यमन्त्री तहसम्म पुगेका हुन्। निजी स्कुल सञ्‍चालक, हाइड्रो लगानीकर्तादेखि अस्पताल र होटेल सञ्‍चालकसम्म बहुआयामिक अनुभव भएका श्रेष्‍ठ एक कुशल व्यवस्थापक हुन्। यसको पुष्‍टि उनले गरेका पेशा व्यवशायले गरी नै सकेका छन्।

केहीले सामाजिक सञ्‍जालमा श्रेष्‍ठलाई व्यापारिक पृष्‍ठभूमिका भनेर आलोचनामा गरेको देखियो। तर, यसको पछाडि कुनै बौद्धिक तर्क र तथ्य देखिँदैन। श्रेष्‍ठमाथि लगाइएका अरू आरोप पनि कपोलकल्पित र भ्रामक खालका देखिन्छन्। यस्तो आरोप लगाइनु गरिखाने अभियानमा लागेका एकजना कुशल, मिहिनेती अनि इमान्दार व्यक्तिप्रतिको कुदृष्‍टि नै मान्‍नुपर्छ। श्रेष्‍ठ गरिखाने वर्गमा जन्मिएर आफ्नै पौरखले सफल व्यवसायीका रूपमा उभिएका व्यक्ति हुन् भन्‍ने कुरामा दुई मत छैन। जसको जीवन खुला किताबजस्तै छ। आफ्नै बलबुतामा उभिएका व्यक्तिको खेदो गर्ने कार्यलाई गाई मारेर गधा पोस्ने चरित्र नै भन्‍नुपर्छ।

उमेश श्रेष्‍ठ, जो ०२८ सालमा भोजपुरबाट काठमाडौं खालिखुट्टा छिरेका व्यक्ति हुन्। श्रेष्‍ठको मिहिनेत, परिश्रम, दुःख र संघर्षका ती दिन सम्झनेहरू आलोचना र टीका-टिप्पणी देखेर आफैँ छक्क पर्नुपर्ने हो। विद्यालय निरीक्षक (विनी) को सरकारी जागिरबाट राजिनामा दिएर उनले शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्य बोकेर निजी स्कुल खोलेका थिए। उनीलगायतले त्यसबेला गरेको यस्तो निर्णयले अहिले हामी शिक्षामा दक्षिण एसियामै अगाडि छौँ। हाम्रा विद्यार्थीहरूले विश्‍वका नामी विश्‍वविद्यालयहरूमा उच्चशिक्षा अध्ययन गर्ने मौका पाएका छन्। एकातिर शैक्षिक गुणस्तर र उनले अर्कोतिर गरिब र विपन्‍नलाई छात्रवृत्ति दिएर नेपालको शैक्षिक क्षेत्रमा ठूलो योदना दिएका छन्। प्रत्येक वर्ष दुई-तीन सय जनाले उनका स्कुल, कलेजहरूम छात्रवृत्तिमा अध्ययन गर्दै आएका छन्। शिक्षा क्षेत्रमा उनले गरेका कामको निकै लामो सूची छ। यस्ता दृष्‍टान्त एक मात्र छैनन्। शिक्षा क्षेत्रमा एकपछि अर्को सफलताको सिँढी चडेर सफल व्यवसायीको छवि बनाउन सफल भएका हुन्।

राजनीतिमा राज्य सञ्‍चालन र सरकारमा सबै क्षेत्रका विज्ञ र सफल व्यक्तिहरूको अनुभव र ऊर्जा आवश्यक पर्छ। एक सफल व्यवसायी भएका नाताले श्रेष्‍ठले प्रधानमन्त्रीको विश्‍वास जितेका हुन सक्छन्। उनले निजी क्षेत्रमा गरेको कुशल व्यवस्थापन अहिलेको महामारीको अवस्थामा स्वास्थ्य मन्त्रालयमा देखाउन सके भने त्यो राज्यकै लागि ठूलो योगदान हुनेछ। एक सफल उद्यमीको नाताले श्रेष्‍ठको अनुभव सरकार सञ्‍चालनमा सहयोगी सिद्ध हुने निश्कर्षसहित प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी दिएका हुनसक्छन्। कठिन समयमा अफ्ठ्याराहरूको सहज अवतरण गर्नसक्ने भन्ठानेर नै जिम्मेवारी पाएका हुनसक्छन्। श्रेष्‍ठ हिजो कुनै बदनामी र विवादित छविका व्यापारी पनि होइनन्। बरु सफल निजी स्कुल सञ्‍चालकका रूपमा ख्याती कमाएका व्यक्ति हुन्। शिक्षाका अलावा अन्य व्यवसायमा पनि उनको सफलता साँच्चै लोभलाग्दो छ।

अमेरिकी पूर्वराष्‍ट्रपति डोनाल्ड ट्रम्प पनि व्यापारिक पृष्‍ठभूमिबाट राजनीतिमा प्रवेश गरेरै महाशक्ति राष्‍ट्रको नेतृत्वमा पुगेका हुन्। यस्ता धेरै उदाहरण विश्‍वमा देख्न सकिन्छ। यी सबै तथ्यलाई नजरअन्दाज गरेर श्रेष्‍ठमाथि निराधार आलोचनाहरू भएका छन्। सकारात्मक मार्गमा लैजान असल नियतले गरिने आलोचनाहरू पनि स्वीकार्य नै हुन्छन्। तर, मन्त्री बन्‍न नपाउँदै धारे हात लगाउने प्रवृत्ति कतिसम्म जायज वा न्यायोचित हो ? कागले कान लग्यो भनेर पछिपछि दगुर्नेको पनि यहाँ कमी छैन। संविधानसभामा विज्ञका हैसियतले सभासद् बनेका श्रेष्‍ठ कांग्रेसमा दोस्रोपटक समानुपातिक सांसद बनेका व्यक्ति हुन्। उनी संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रहेर सामुदायिक शिक्षा र सरकारी अस्पतालको गुणस्तर र सेवा सुधारमा नीतिगत परिवर्तनमा निरन्तर क्रियाशील रहे।

धन र मन दुवैका धनी श्रेष्‍ठलाई कतिपयले दुःख पाएका कांग्रेस कार्यकर्ताका सहयोगीका रूपमा पनि बुझ्ने गर्छन्।  सफल उद्यमीका रूपमा उनले हासिल गरेको लामो अनुभवले संकटको यस घडीमा स्वास्थ्य मन्त्रालयको नेतृत्व हाँक्न सक्ने समार्थ्य उनमा छ। प्रधानमन्त्री देउवाको यही विश्‍वासकै कारण उनले यो जिम्मेवारी पाएका हुनसक्छन्। यो तथ्यलाई चटक्कै बिर्सेर श्रेष्‍ठसँगै प्रधानमन्त्री देउवालाई समेत अनावश्यक विवादमा तान्‍ने खेल भित्र र बाहिर किन चल्दैछ ? यो कुरा बुझिनसक्नुको पहेली बनेको छ। यो रिस, इष्‍र्या, डाह र म मात्र असल भन्‍ने मनोग्रन्थीकै उपज हो।

सबै राजनीतिको झोला बोकेर आएका नेता मात्रै मन्त्री हुनुपर्छ भन्‍ने मान्यता विल्कुल गलत हो। संघीय लोकतान्त्रिक गणतन्त्र भन्‍नुको मतलव नै राज्य सञ्‍चालनमा सबै वर्ग र क्षेत्रका अनुभवि र ख्याती आर्जन गरेका व्यक्तिहरूको समूल चरित्र हो। यसलाई अर्को अर्थमा विविधता पनि भन्‍न सकिएला। सबै तह र तप्काबाट आएका व्यक्तिहरूले हिजो पनि राज्यका विभिन्‍न निकायमा योगदान गरेका हुन्। सबै क्षेत्र, जातजाति, लिंग, पेशा, व्यवसायमा खारिएका व्यक्तिले शासन सत्तामा पुग्दा नै अनेकतामा एकता झल्किन्छ। अन्यथा प्रमाणित नभएसम्म व्यक्तिको अनुहार हेरेर गरिने आलोचना दिगो हुँदैन। बरु बेकारको रोइलो गर्नुभन्दा अहिलेको यस्तो अफ्ठ्यारो परिस्थितिमा रचनात्मक सुझाव र सहयोग गर्नु नै देश र दुनियाँको  हितमा हुनेछ। एकपल्ट शंकाको सुविधा त दिऊँ न।

विकट पहाडी जिल्लामा सामान्य परिवारमा जन्मिएका श्रेष्‍ठ मिहिनेत, इमानदारिता र कुशल व्यवस्थापकीय क्षमताकै कारण सफल भएका हुन्। उनी स्वास्थ्य राज्यमन्त्रीको रूपमा सफल हुन्छन् कि हुँदैनन् भन्‍ने टिप्पणी केही समय उनको कामलाई हेरेर गर्यौँ भने मात्र त्यो न्यायिक हुन्छ। अन्यथा सबै मान्छे नराम्रा म मात्रै राम्रो भन्‍ने अतिवादी एकांगिता हो भन्‍ने पुष्‍टि हुन्छ।
 

 Published Date: Wednesday, 28th July 2021 5:11:00 pm