Kathmandu Press

जसपाका ६ सांसदले छाडे महन्थ-राजेन्द्रको साथ, ३२ मध्ये १८ सांसद उपेन्द्र-बाबुराम पक्षमा

संघीय संसदमा चौथो ठूलो दल जसपाका ६ जना सांसदले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको साथ छाडेर अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पक्षमा लागेका छन्।
जसपाका ६ सांसदले छाडे महन्थ-राजेन्द्रको साथ, ३२ मध्ये १८ सांसद उपेन्द्र-बाबुराम पक्षमा
Hardik ivfHardik ivf

काठमाडौं, साउन २ : संघीय संसदमा चौथो ठूलो दल जसपाका ६ जना सांसदले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको साथ छाडेर अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पक्षमा लागेका छन्।

गत २१ जेठमा केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन जसपाका २० सांसदले महन्थ-राजेन्द्र समूहलाई साथ दिएका थिए। ३२ मध्ये १२ सांसद मात्र उपेन्द्र-बाबुराम समूहमा रहेका थिए। महन्थ-राजेन्द्रलाई साथ दिएका ६ सांसद उपेन्द्र समूहमा आउने भएपछि १८ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन्।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १८, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र गरी एक सय ३० सांसद देउवाका पक्षमा उभिने निश्चित भएको छ। त्यो भनेको विश्वासको मत लिन आवश्यक एक सय ३६ सांसदमा ६ जना कम हो। एमालेको माधवकुमार नेपाल समूहले विश्वासको मत दिने बताइसकेको छ। तथापि, जसपाबाटै थप ६ सांसदलाई उपेन्द्र-बाबुराम समूहले आफ्नो पक्षमा तान्न सक्यो भने विश्वासको मतका पक्षमा भारी बहुमत जुट्ने छ।

सांसदहरू नरमाया ढकाल, अमृता अग्रहरी, प्रमोद साह, रानी मण्डल, रुही नाज र दुलारीदेवी खत्वेनीले महन्थ-राजेन्द्रको साथ छाडेका हुन्।

स्रोतका अनुसार ओली सरकारमा सहभागी हुन गएका उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रेणुका गुरुङ र कलुदेवी विश्वकर्मालाई पनि महन्थ-राजेन्द्र समूहबाट आफ्नो पक्षमा तान्न सकिने बुझाइमा उपेन्द्र समूह छ।

यस्तै, सांसद्हरू शरतसिंह भण्डारी र निर्जला राउतसँग पनि वार्ता अगाडि बढाउने तयारी रहेको स्रोत बताउँछ। ६ जनालाई नै उपेन्द्र समूहले आफ्नो पक्षमा तान्न सक्यो भने जसपाका २४ जना प्रधानमन्त्री देउवाका पक्षमा उभिने सम्भावना छ। र, एमालेको माधवकुमार नेपाल समूहबाहेक नै देउवाका पक्षमा बहुमत जुट्ने छ।

उपेन्द्र-बाबुराम समूहको अर्को रणनीति भनेको संसदीय दलमा महन्थ-राजेन्द्र समूहमा ४० प्रतिशत जुटाउन नदिने हो। प्रतिनिधिसभामा जसपाका ३२ मध्ये ४० प्रतिशत पु¥याउन महन्थ-राजेन्द्र समूहलाई १३ सांसद आवश्यक हुन्छन्। राष्ट्रियसभामा तीनमध्ये दुई सांसद उपेन्द्र-बाबुराम समूहमा छन्। त्यो भनेको राष्ट्रियसभामा महन्थ-राजेन्द्र समूह ३३.३३ प्रतिशतको मात्र हिस्सेदार छ, जसपाभित्र।

संवैधानिक व्यवस्थाअनुसार पार्टी विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०-४० प्रतिशत सदस्य अनिवार्य हुन्छ। त्यही ४० प्रतिशत पु¥याउन नदिने रणनीतिमा उपेन्द्र-बाबुराम समूह जुटेको देखिन्छ।

शनिबार बिहान एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमै पुगेर महन्थ र राजेन्द्रले आफूहरू उनकै पक्षमा रहेको बताएका छन्। तर, ओली सरकारमा सामेल हुँदा उनीहरूको पक्षमा उभिएका जसपा सांसदहरू घट्ने क्रम जारी छ।
 

प्रकाशित मिति: १३:५७ बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्