ओली अहंकारको अवसान
घमण्ड, उद्दण्डता, पाखण्ड तथा सत्ता र शक्तिको दम्भमा उम्लिएको एउटा अर्धज्ञानी अहंकारको अवशान भने भयो नै। लोकतन्त्र, विधिको शासन र नेपाली जनताको निम्ति यो अति अपरिहार्य थियो।राजनीतिमा कोही पनि सधैँ कसैको स्थायी शत्रु वा मित्र हुँदैन भन्ने वाक्यांशलाई पुनः एकपटक नेपाली राजनीतिककर्मीहरूले अनुसरण गरेका छन्। सत्ता र शक्तिलाई साध्य बनाउन प्रयोग गरिएको भर्याङको औचित्य समाप्त नै भएसरि थालिएको उपहासपूर्ण वाणी र कटुतापूर्ण आलोचना नै सत्ता स्थायित्वको निम्ति बाधाका पर्खाल बने। रिसको वेगमा दौडिएको एक अर्धज्ञानी अन्ततोगत्वा सोही पर्खालमा ठोक्किएर बर्ल्यांग भुइँमा ढल्यो।
यति मात्र भएन, पद, शान, मान र सुख सयल प्राप्तिका लागि सारथि बनाइएका सहयात्री साथीहरूको तेजोबध सुरु गरियो। जनताका मुख्य समस्याहरू र समय सापेक्ष विकासका मुद्दाहरूलाई ओझेलमा पारियो। एउटा हास्यास्पद दम्भको शासकको पो जन्म भयो। आफूलाई लागेको र आफ्नो हितमा देखिएको विषयलाई लोकतन्त्र र विधिको दुहाइ दिन थालियो। समृद्ध नेपाल, सुखी नेपाली भन्ने लोकप्रिय नारा नागरिकका परिवार, घर, टोलटोल र बस्तिबस्तिमा आउनुपर्नेमा सहर बजारको सडक किनारामा गाडिएका बिजुलीका खम्बाहरूमा झुण्ड्याइन थाल्यो। न त्यसलाई जनताले स्पर्श गर्न, सके न त अनुभूति नै गर्न पाए।
नेपाली जनताको सात दशक लामो विभिन्न आन्दोलन र पटक-पटकका संघर्षबाट प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्दै सदियौँदेखिको आर्थिक विकास र समृद्धिलाई चुम्ने नेपाल र नेपाली जनताको चाहनामा तुषारापात भयो। दलीय लडाइँ होइन, हिजोका राजा महाराजाहरू र श्री ३ हरूको दरबारमा हुने गरेको भाइभारदारबीचको कलह र शक्ति संघर्षलाई बिर्साउने गरी कम्युनिस्ट पार्टीभित्र किचलो सुरु गरियो। चुनावी गठबन्धनका लागि एक ठाउँमा आएका दुई कम्युनिस्ट पार्टी मात्र अलग भएनन्, त्यसमा सम्मिलित सबै नेता एकएक गरी आफैँ चिराचिरा हुँदै अलग्गिए। नेतृत्वले आफ्नो विवेक र विद्वता प्रयोग गरी सम्हाल्नेतिर खासै अग्रसरता र उत्सुकता देखाएन। उल्टै बरु भष्माशुर शैलीमा अगाडि दौडिरह्यो।
सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मुलुकले आफ्नो देशको संविधान आफैँ लेख्ने कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको प्रधानमन्त्रीत्वमा गठित सरकारले चट्टानी अडान लिँदै ३ असोज ०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो। त्यसबाट असन्तुष्ट मात्र होइन, नराम्रोसित चिढिएको छिमेकीले नेपाल र नेपाली जनतालाई दुःख दिने नियतका साथ आपूर्ति व्यवस्था बन्द गरिदियो। त्यस नाकाबन्दीलाई कूटनीतिक तवरबाट परामर्श गरी हटाउँदै देश र जनताको हितमा काम गर्नुको सट्टा नक्कली राष्ट्रवादको पगरी गुथी भयंकर आवाज निकाल्दै गर्जन सुरु गरियो। पीडाबाट आहत जनता साँच्चै पो हो कि भनेर झुक्किए र हावादारी मजाकमा मत दिन विवश बने। आशाकृत मानिसहरूको अनुहार अँध्यारो बन्दै जान थाल्यो।
जे जसरी, जुनसुकै हर्कत र रणनीतिक उपायहरू अपनाइएको भएर पनि केपी ओलीकै कारण पार्टीलाई लगभग दुई तिहाइनजिक पुर्याई उनी सत्ताको खुड्किलो उक्लन थाले। अस्वाभाविक विजयमा हौसिएका उनले संविधान र संवैधानिक प्रक्रियालाई पछ्याउनै चाहेनन्। व्यवस्थाको मर्म नै नबुझी संघीय संसदको सदस्य पदको सपथ नै नलिई मुलुकको कार्यकारी प्रमुख नियुक्त भए र सपथ लिए। उनको सामु विपक्ष होइन, सँगैका साथी अरूहरू पनि नतमस्तक हुन पुगे। चुइँक्क बोल्ने हिम्मत, आँट र सम्झाउने कोशिससमेत कसैले गरेनन्। उता राष्ट्रपतिले संविधानको मर्म र भावनाविपरीत तत्कालीन देउवा सरकारको सिफारिसमा राष्ट्रियसभामा नियुक्त हुने तीनजना सदस्यको सिफारिस तामेलीमा राखी हुकुमी शैलीमा नियुक्ति हुँदा कसैले विधि र पद्धतिको बारेमा कुरा उठाएन।
हाम्री छोरीचेली निर्मला पन्त, भागिरथी भट्टजस्ता कैयौँ छोरीहरूको बलात्कारपछि हत्या हुँदा त्यस्ता आपराधिक घटनाहरूमा संलग्नहरूको खोजी र कानूनबमोजिम सजाय गर्ने सवालमा सत्तारुढ दलभित्र कहिल्यै विषय प्रवेश भएन। ७० करोडको सुरक्षित मुद्रण छापाखाना घोटाला काण्ड, ओम्नी समूह, यति होल्डिङ्स, कोरोनाविरुद्ध स्वास्थ्य सामग्री खरिद काण्ड, न्यारो र वाइड बडी विमान खरिद काण्ड, रुकुम हत्याकाण्ड, सांसद अपहरण काण्ड, ललिता निवास जग्गा खरिद काण्ड, इटहरी मेयर काण्डजस्ता अनेकौँ काण्डमा सरकार प्रमुख आफैँ साक्षी र संलग्न हुँदै अभिभावकीय भूमिका निर्वाह गर्दा बाह्य होइन, पार्टीभित्रको अर्को समूहले खबरदारी गर्ने जमर्को किन हो कुन्नि गर्न सकेन, मौन नै बस्यो। विछिप्त भएकाहरू कोदोको भुसमा सल्किएको आगोजस्तै गरी अघि बढे।
प्राप्त व्यवस्था र शासकीय स्वरूपमा आशंका उत्पन्न हुने किसिमका विभिन्न गतिविधि तथा देश र जनतालाई द्विविधामा राख्ने चेष्टाहरू साथसाथै प्रतिगामी र दक्षिणपन्थी सोच र प्रवृत्तिहरूले खेल्न सक्ने यथेष्ट मैदानहरू तयार पारियो। परिवर्तनकारी शक्तिहरूलाई त्रसित बनाउने प्रपञ्चहरू एकपछि अर्को गर्दै रचियो। जनताका पीडा र दुःखमा मुलुकको कार्यकारी प्रमुख साथमा हुनुको साटो आफ्नै दलका समकक्षी नेताहरूको उछित्तो काढ्दै त्यसैको रसमा डुब्न लागे। उनको व्यंग्य र ठट्ठाले भरिएका वाणीहरूले नेपाली जनताको मलिन अनुहारबाट निस्किएको हल्का हाँसोलाई ऊर्जा ठानी त्यसैको आडमा बर्बराउन पुगे।
राष्ट्र, राष्ट्रियता र देशको सम्प्रभुता साथै सार्वभौमिकताको सन्दर्भमा देखिएको राष्ट्रिय एकता सँगसँगै नेपालको केही दशक अघिदेखि मिचिएका भूभागहरू लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समावेश गरी छापिएको नक्साअनुसारको भूगोलमा नेपालले भोगचलन गर्न पाउने अधिकार सुनिश्चितता निम्ति सम्बन्धित छिमेकीसँग कूटनीतिक चातुर्य देखाई सक्कली राष्ट्रवादी राजनेताको स्थायी पगरी युगौँयुगसम्म गुथ्नु त कहाँ हो कहाँ, घरबाट भाइहरूलाई निकाला गरी राजेन्द्र महतो र महन्थ ठाकुरो फेरो समात्न पुगे। सत्ताको लोभ लालचका लागि हारगुहार गर्दै आफ्नो शिरमा पहिरिएको नक्कली राष्ट्रवादको पगरी देखाउँदै कुर्लन थाले। उनको बोली र व्यवहारमा देखिएको अन्तरलाई नजिकबाट नियालिरहेका सबैले उनलाई बल्ल चिने र अब यसले त बर्बाद नै गर्छ कि क्या हो भन्दै साथ छाडिदिए।
सत्ता र शक्तिको दम्भमा उम्लिएको निरस, झर्रो, खरो र कटुतायुक्त बोलीबाट सँगैकाले मात्र होइन, पल्लो घरका दाजुभाइले पनि आराम पाए। तर, एउटा अमिट सत्यचाहीँ छोड्न सफल नै रहे- हास्य कलाकारको सुपरस्टार प्रतियोगिता भाग लिन सक्ने योग्यता भने प्रदर्शन नै गरे। हो, हामी भविष्यमा यसैको पर्खाइमा छौँ। ठूल-ठूला देशको राजनीतिज्ञहरू देशको सेवापछि आफ्नै पेशामा फर्कन्छन् भन्ने सुनेको र पढेको हो। झन्डै दुई तिहाइको चुलीबाट एकैपटक कसरी एकाएक बहिर्गमन हुन पुग्यो? कुन कुन पात्रहरूले कस्तो कस्तो भूमिका निर्वाह गरे। आफ्नो त्यो अनुभव र सो घटनामा संलग्नहरूको बारेमा भोलि कथा वा इतिहासमा पढ्ने होइन। ‘केपी बा’कै मुखारवृन्दबाट हास्य कलाकारिताको छन्दमा सुन्ने इच्छा जागेको छ।
उनी त फाइदामा चले, बुढेसकालको पेन्सने जीवन चारैतिर चार पहरिया राखेर करोडौँको दरबारमा लाखौँको डसनामा सुकला हुनुभयो। एउटा गरिब किसानको छोरो, अरूको घरमा काम गर्दै उनीहरूकै हेरचाहमा हुर्केको मानिस भन्ने सुनेको। पहाडबाट तराई पक्कै मुख फेर्नकै लागि बसाइँ आएका थिए होलान्। हाम्रो समाजको परिवेश त्यस्तै छ। उनको बितेको तीन वर्षे शासनकालमा व्यक्त धारणाहरूमा पुराना गोठालो र खेतीबारीमा काम गर्दाको अनुभवहरू पटक-पटक पोख्छन्।
लोकतन्त्र भनेको नै सबैको बराबरी र समानता हो। उनी आफ्नै मिहिनेत र क्षमताले त्यहाँ पुगेकोमा विवाद नै रहेन। तर, रह्यो कुरा कतिको बिछ्यौनामा सुकला हुनुभयो। कस्तो दरबारमा राज भयो। कति महँगो मोटरमा सवारी हुनुभयो। छानामा वा चौरमै हेलिप्याड बनाउनुभयो। स्वास्थ्य उपचारमा देशको कति सम्पत्ति अपचलन गर्नुभयो भन्ने होइन।
नेपाली जनता योभन्दा ठूलो दरबार र अरू थप सुख सयल दिन अझै तत्पर छन्। तर, सवाल देश र जनताको जनजीविकाको पक्षमा कति नतिजा आयो भन्ने नै हो। तपाईं मैले साढे तीन वर्ष बितायौँ। ठीकै छ, हाम्रा लागि केही भएन। मुलुकले एउटा पुस्ता बितायो। गरिब, असाहय, दीन दुःखीहरूको एउटा गोठालो प्रधानमन्त्री हुँदासमेत पीडामा के पायो भन्ने हो। श्रमजीवीको नाममा राज गर्नेहरूबाट श्रमजीवीहरूले यो कष्टकर समयमा के पाए त ? पिछडिएको क्षेत्र, सीमान्तकृत जातिहरू र ज्यष्ेठ नागरिकले पाउने केही सुविधाबाहेक अरू के पाए ?
मुख्य विषय कम्युनिस्टहरू फुटे र टुक्राटुक्रा भए भन्ने होइन। स्थिरताको नाममा झुठा कुरा र मुद्दा उठाएर निमुखा सीधासादा गरिब नेपाली नागरिकको मत बटुलेर पाएको शान, मान उम्लिएर पोखिँदा ऊ मात्र पोखिएन, जनताको मतको अपमान भयो। जनतालाई धोखा दिइयो। जनताको दुःखमा खिल्ली उडाइयो। यो क्षमायोग्य छैन, किमार्थ होइन। अब यसको हिसाबकिताब नेपाली जनताले खोज्नैपर्छ। नत्र फेरि राज्यले दिएको सुविधामा उफ्रँदै सत्ताच्यूत भएको पीडामा छटपटिएको मानिसले तिखा स्वरहरूमा अजंगको झुटको खेती गर्नेछ। हिजो कालो सिसाजडित कारमा सवार हुँदा नदेखिएको समृद्ध नेपाल र सुखी नेपाली लेखिएका पोस्टरहरू झुण्ड्याइएका बिजुलीका खम्बामुनि रात काट्दै गरेको मानिसलाई देख्दा गहभरि आँसु बनाउँदै बाबु कहाँबाट आयौ ? यहाँ त गरिब, दीन दुःखी सबैलाई मैले सुखी बनाएको थिएँ, तिमी कसरी छुट्यौ त भन्ने सुशील वाणीहरू पक्कै पनि निस्केलान्।
अहिले नै सबै कुरा नलेखौँ, नबोलौँ। लेख्दै जाउँला, फेरि पनि बोल्दै जाउँला। उनको बोलीमा बाँडिएका योजनाहरू, अनियमिततालाई ढाकछोप गर्न राज्यका सबै संयन्त्रलाई प्रधानमन्त्रीमातहातमा पुर्याउन गरिएका कोशिस, विस्तारै निर्दलीय चरित्रलाई अँगाल्न खोजेका भित्री दृष्यहरू, लम्पसारवादमा समर्पित राष्ट्रवाद सम्बन्धमा विद्धान, लेखक र इतिहासकारले भोलि लेख्लान्। राजनीतिक विश्लेषकहरूले पक्कै विश्लेषण गर्ने नै छन्। यी सबै विषयका बावजुद एउटा कुरा लेखिहालौँ। घमण्ड, उद्दण्डता, पाखण्ड तथा सत्ता र शक्तिको दम्भमा उम्लिएको एउटा अर्धज्ञानी अहंकारको अवशान भने भयो नै। लोकतन्त्र, विधिको शासन र नेपाली जनताको निम्ति यो अति अपरिहार्य थियो।