कांग्रेसमा देउवाको प्रतिस्पर्धी र उत्तराधिकारी को ?

देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस १४औं महाधिवेशनको संघारमा छ। अहिले कांग्रेसको अगामी बाटो र नेतृत्वको बारेमा बहस सुरु हुन थालेको छ। सभापतिको आकाक्षा गर्नेको संख्या एक दर्जन पुगेको छ। तर, मनोनयन दर्तासम्म त्यो संख्या दुई तीन जनामा सिमित हुने त पक्कै छ।

लोकतान्त्रिक समाजवाद र राष्ट्रियताप्रति प्रतिवद्ध कांग्रेसको सिद्धान्त र नीतिका विषयमा धेरै ठूलो बहसको जरुरी आवस्यक भने छैन। २०६२÷०६३ को दोस्रो जनआन्दोलनपछि गणतन्त्र, संघीयता, समावेशीकता, समानुपातिक समावेशिकरण र धर्मनिरपेक्षता जस्ता विषयहरूलाई अंगालेको कांग्रेसले वैचारिक रूपमा थप स्पष्ट हुने विषय त्यति देखिँदैन।

दुई पटक संविधानसभाको चुनाव गरेर जनताका प्रतिनिधिले बनाएको संविधानको रक्षा गर्नु कांग्रेसको जिम्मेवारी थियो र त्यसको पूर्णरूपमा कार्यन्वयन गरेको छ। आफ्नै नेतृत्वमा बनेको संविधानको स्वामित्व कांग्रेसले ग्रहण गर्न सकेन भने यसलाई समाप्त पार्ने राष्टिय अन्तराष्ट्रिय चलखेल पुरा हुने र नेपाल फेरी अर्को अस्थिरताको चक्रब्युहमा फस्ने खतरा बढ्नसक्छ। त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षका लागि काग्रेस सतिशालझै उभिनु जरुरी छ। बाँकि सिद्धान्त र नीतिको सन्दर्भमा एकसरो बहस र छलफल हुनु राम्रो हो, तथापि यो विषयमा ६५ वर्षदेखि कांग्रेसभित्र धेरै मन्थन भइसकेको छ। यसैमा धेरै अलमलिनु पर्ने जरुरी देखिँदैन। कांग्रेसले सात साल अघिदेखि नै अघि सारेको नीति, सिद्धान्त र राष्ट्रिय जीवनका यावत पक्षमा सबैले जान्दै, बुझ्दै, सिक्दै आएको विषय हो। खाँचो छ– केवल त्यसको इमान्दारीपूर्वक कार्यान्वयनको मात्र।

कांग्रेसले सात साल अघिदेखि नै समाप्त गर्ने भनेको सामाजिक कलंककारूपमा रहेको जातिय छुवाछुतदेखि समाजमा विकृति, विसंगति, उच–निच एवं आर्थिक असमानता आज पनि कुनै न कुनै रूपमा कायमै छन्। यस्ता व्यथितिलाई समाप्त गर्दै लोकतान्त्रिक समाजवादका माध्यमवाट समृद्ध राष्ट्र निर्माणको अभियानमा कांग्रेसले आफुलाई अब्बल सावित गर्न सक्नुुपर्छ। कांग्रेसको चुनौती यहीँनिर छ कि स्वतन्त्रता सहितको समानता र आर्थिक समृद्धिसहितको राष्ट्रिय स्वाभिमानको रक्षा गर्नुपर्ने।

कांग्रेसभित्र खाली नेतृत्वको मात्रै बहस भयो, सिद्धान्त र नीतिको बहसै भएन भन्ने गुनासालाई अब घोषणापत्र या दस्तावेजिकरण गर्न आवस्यक छ। यसर्थ नीतिगत बहसले कांग्रेसमा त्यतिधेरै जरुरी होइन, खाली त्यसको कार्यान्वयन गर्ने सक्षम र इमान्दार नेतृत्व नै कांग्रेसको आजको आवश्यकता हो।

चौधौंैं महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसमा नेतृत्वका लागि भएको रस्साकस्सी कांग्रेसको सिद्धान्त र नीति कार्यान्वयनको नेतृत्व गर्ने असल मनसायबाट भएको छ त ? समग्रतामा नियालेर हेर्दा त्यस्तो देखिँदैन। कांग्रेस सभापतिको कुर्सीमा रहेको राप र तापप्रतिको आकर्षणमै नेताहरूको ध्यान बढी केन्द्रित देखिन्छ। वास्तवमै कांग्रेसको नीति कार्यान्वयनका लागि को सक्षम हो ? सबैलाई समेट्न सक्ने, अन्तर्राष्ट्रिय समुदायले समेत पत्याउन सक्ने, संघर्षबाट खारिएको र कार्यकर्ताको विश्वास जित्नसक्ने नेता को हुन सक्छन् ? हजुरवादेखि नाति पुस्तासम्मको नेता कार्यकर्ता भएको कांग्रेसमा सबैलाई न्याय र सम्मान दिलाउन सक्ने पात्र को छ ? सबैको दह्रो मियो बन्न सक्ने ‘टावरिङ पर्सनालिटी’ को हो त ? यिनै प्रश्नको मिहिन ढंगले विश्लेषण गर्ने हो भने कांग्रेस सभापति को बन्ला भन्ने स्पष्ट तस्बिर देख्न सकिन्छ।

समसामयिक कांग्रेस राजनीतिमा पूर्वाग्रहरहित भएर विश्लेषण गर्दा त्यो विरासत धान्न सक्ने मियोका रूपमा वर्तमान सभापति शेरबहादुर देउवाको विकल्प आजका दिनसम्म भेटिएको छैन।

हुन त देउवाले पटक–पटक अवसर पाएर पनि त्यसको सदुपयोग गर्न नसकेको आरोप नलागेको होइन। चार पटक प्रधानमन्त्री बनिसकेका देउवाले के गरे त ? भन्ने प्रश्नपनि उठ्ने गरेको छ। तर परिस्थितिको विश्लेषण सत्य र तथ्यका आधारमा गरिनुपर्छ। पूर्वाग्रह त्यागेर हेर्ने हो भने देउवाले पाएको अवसर प्रधानमन्त्री ओलीले पाएको जस्तो थिएन। राजाको निरंकुशता र पार्टीभित्रको तिव्र असहयोगका बाबजुत देउवाले सामाजिक न्याय, पिछडिएको क्षेत्रको विकास, राष्ट्रिय सहमति निर्माण र अन्तराष्ट्रिय विश्वास आर्जन गर्न खेलेको नेतृत्वदायी भूमिकालाई निरपेक्ष ढंगले कम आंक्न मिल्दैन। के गरे देउवाले ? भन्ने प्रश्न केवल अड्को थाप्न र परिस्थितिलाई मोड्ने आसयका साथ आएको देखिन्छ।

पछिल्लोपटक संविधान कार्यान्वयनको पहिलो गाँसमै ढुंगा भन्ने मान्यता स्थापित गर्न र ठूलो मेहनतबाट नेपाली जनताले बनाएको संविधानलाई असफल सावित गराउन खोजिएका हुन्। तर ति सबै प्रयासहरू विफल पारेर पछिल्लो पटक प्रधानमन्त्री भएका बेला तीनै तहको चुनाव सम्पन्न गर्न देउवाले खेलेको भूमिका यत्तिकै बिर्सन सकिने कुरो होइन। आज फेरि सविधानमाथि प्रधानमन्त्री र राष्ट्रपतिसमेतको मिलेमतोबाट भएका प्रहारविरुद्ध विपक्षी गठबन्धनको माउ भूमिकामा रहेर देउवाले निर्वाह गरिरहेको भूमिकाको मूल्यांकन वस्तुनिष्ठ ढंगले हुनुपर्दछ। पार्टी र संसदीय दलमा अत्याधिक बहुमत भएपनि रहेर पनि हरेक निर्णय सहमतिका आधारमा गर्ने देउवाको लचक र उदार व्यवहारलाई कांग्रसभित्रै आलोचनाको विषय बनाउने गरिएको छ। तर देउवाको यो विशेषतालाई कांग्रेसले सुन्दर गहनाको रूपमा ग्रहण गर्न सक्नुपर्छ।

तर किन हो यस्तो भइरहेको देखिँदैन। देउवा चाहिन् हुनुहुदैन, अरू जो भएपनि हुन्छ भन्ने नेताहरूका आत्मकेन्द्रित र कुण्ठाग्रसित प्रतिक्रियाले पार्टीले सही नेतृत्व पाउन सक्दैन।

न कुनै विरासत, न कसैको आशिर्वाद, केवल संघर्षबाट नेतृत्वमा स्थापित देउवाप्रति यतिवेला कतिपय स्वार्थ समूहले देखाएको पूर्वाग्रह मिहिन रूपमा देउवाको जीवन नियाल्ने हो भने साँच्चै अपाच्य लाग्छ।

कांग्रेस विधानमा दुई कार्यकाल सभापति बन्नसक्ने प्रावधान एकातर्फ छ भने आम कार्यकर्ताले फेरि एकपटक सभापति बन्नुपर्छ भनेर देखाएको विनम्रतालाई पनि देउवाले ठाडै इन्कार गर्नसक्ने परिस्थिति छैन। देउवाका कारण पार्टी कमजोर भयो भन्नेहरूलाई व्यवहारतः पार्टी पुरानै अवस्थामा फर्काएर कांग्रेसको एजेण्डामा मुलुकलाई हिडाउँछु भन्ने देउवाको स्पष्ट प्रतिवद्धता आएको सन्दर्भमा जबर्जस्ती पछि हट भन्नु आत्माकेन्द्रित र निरंकुश अभिव्यक्ति हो। वास्तवमा अहिले कांगेसभित्रको नेतृत्वको लडाईं देउवाको कार्यकर्ता तहसम्मको पकड र अन्तर्राष्ट्रिय सम्बन्धबाट अत्तालिएका पदका आकांक्षीहरूको हस्याङ्फस्याङ जस्तो मात्र देखिन्छ।

तसर्थ, कांग्रेसमा देउवाको खास प्रतिस्पर्धी को ? र, उत्तराधिकारी को ? भन्ने दुई प्रश्नकै सेरोफेरोेमा यतिवेला कांग्रेसभित्रको राजनीतिक माहोल तातिरहेको देखिन्छ। कांग्रेसमा अग्रज नेतापुत्रहरू (बीपी पुत्र शशांक, गणेशमान पुत्र प्रकाशमान र महेन्द्रनारायण नीधि पुत्र विमलेन्द्रबीचका) लन्च मिटिङदेखि शेखर कोइराला, रामचन्द्र पौडेलसँगको भेटवार्ता, सुजाता निवासको रामचन्द्र र कृष्ण सिटौलाको खानपिनसम्मका उछाल यसैका द्योतक हुन्। बूढाहरूबाट अब पार्टी चल्दैन भन्ने युवा नेताहरूको भनाइमा पनि यस्तै परिवेश लुकेको छ। त्यसैले देउवासँग १४औं महाधिवेशनमा प्रतिस्पर्धामा उत्रने खास पात्र को हो त ? र, देउवाले १५औं महाधिवेशनमा कस्लाई नेतृत्व हस्तान्तरण गर्लान् ? यी दुई प्रश्नको उत्तर १४औं महाधिवेशनको जोड–घटाउबाट उत्पन्न हुने नाफा र नोक्सानले दिने छ। समग्रमा यति भन्न सकिन्छ, जो–जस्ले नेतृत्व लिएपनि कांग्रेस आजकै ढाँचा र प्रवृत्तिबाट चाहिँ अब चल्न सक्दैन। देउवाकै काँधमा फेरि नेतृत्व आए पनि कांग्रेसमा आमूल सुधारको खाँचो टड्कारो देखिन्छ। त्यो परिवर्तन गर्ने अठोट यस पटक देउवामा देखिन्छ।

 

 

 Published Date: Thursday, 8th July 2021 6:02:00 pm