Kathmandu Press

‘रूपा सुनार र सरस्वती प्रधानको विषय समझदारीमै सुल्झाउनुपर्छ’

अहिले जातीय हिसाबले म ठूलो जात, तिमी सानो जात भनी कसैले कसैलाई भन्दैनन् जस्तो मलाई लाग्छ । यस्तो भेदभाव मानिसले व्यवहारमा देखाउँछन् भने त्यो गलत हो ।
‘रूपा सुनार र सरस्वती प्रधानको विषय समझदारीमै सुल्झाउनुपर्छ’
Hardik ivfHardik ivf

अहिले सञ्चारकर्मी रूपा सुनारलाई बबरमहलकी घरबेटी सरस्वती प्रधानले जातका कारण कोठा नदिएको विषय चर्किएकाे छ । यसलाई लिएर मिडिया र सामाजिक सञ्जालमा विभिन्न कोणबाट बहस भइरहेका छन् । जातीय विभेदको घटनामा बहस गरी जातीय विभेदलाई प्राथमिकता दिन आवश्यक छैन । यस्ता घटनाले अझ जातीय विभेदलाई बढाउँछ । त्यसैले दुई पक्षले सम्झौता गरी मेलमिलाप गर्न आवश्यक छ । यसलाई समझदारीमै सुल्झाउनुपर्छ ।

उपत्यकाजस्तो शिक्षित वर्ग बस्ने ठाउँमा जातभातका कुरा कहाँबाट आयो ? हामी सबै एकै जातिका हौँ । जात मानिसले बनाएको हो । महानगरपालिकाका प्रत्येक टोल तथा समुदायमा नेवार, बाहुन, क्षत्री, दलित मिलेरै बसेको पाइन्छ । 

अहिले जातीय हिसाबले म ठूलो जात, तिमी सानो जात भनी कसैले कसैलाई भन्दैनन् जस्तो मलाई लाग्छ । यस्तो भेदभाव मानिसले व्यवहारमा देखाउँछन् भने त्यो गलत हो । अहिले हामीले जातका कुरा नगरी हामी सबै नेपाली हौँ भनेर बुझ्न आवश्यक छ । 

जातीय विभेदजस्ता स–साना कुरालाई अहिले प्राथमिकता दिइराख्नु आवश्यक छैन । सामान्य कुरालाई प्राथामिकता दिएमा त्यस्ता घटना अझ बढ्छ । अब आउने नयाँ पुस्तालाई शिक्षा दिई जातीय विभेदलाई हटाउन पहल गर्नुपर्छ । जातीय विभेदका घटनालाई प्राथमिकता दिएर फैलाउनुभन्दा कम गर्दै लैजान सक्नुपर्छ । 

संविधान र कानुनले सबैलाई आ–आफ्नो अधिकार दिएको छ । जातीय घटना उपत्यकामा त्यति धेरै भएको पाइँदैन । उपत्यका बाहिरका जिल्लामा अझै पनि जातीय विभेदका घटना भएको देखिन्छ । रूपा बहिनीको अन्तर्वार्ता हेर्दा पहिलादेखि नै जातीय विभेद भोगिरहेको बुझिन्छ । 

शिक्षा र रोजगार पाएपछि जातीय विभेद हट्दै जान्छ भन्ने मेरो बुझाइ छ । अबको पाइला जातीय विभेदलाई हटाउनतर्फ लाग्नुपर्ने देखिन्छ । जातीय विभेद हटाउन राज्यले सबैलाई शिक्षा र रोजगारी दिनुपर्छ । 

काठमाडौं महानगरपालिकामा जातीय विभेदका घटना आएका छैनन् । जातीय विभेदका घटना भए पनि वडा कार्यालय अर्थात् सिधै जिल्ला अदालत, राष्ट्रिय मानव अधिकार आयोग पुग्छन् । 

काठमाडौं महानगरपालिकामा जातीय विभेद न्यूनीकरणका लागि केही योजना छैन । महानगरले यस्ता स–साना कुरालाई प्राथमिकता दिँदैैन । महानगरले महिलाको हकहित तथा अधिकारका लागि काम गरिरहेको छ । पीडित महिला तथा पिछडिएका महिलालाई अगाडि ल्याउन पहल गर्छ । 

हटाउँदै लग्नुपर्ने कुरालाई चर्चामा ल्याएर हुँदैन । शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर अगाडि बढेमा जातीय विभेद हट्छ । शिक्षाले चेतना ल्याउँछ र रोजगारीले गरिबी हटाउँछ । यी दुई पक्ष बलियो भएमा जातीय विभेद हुँदैन । त्यसैले शिक्षा र रोजगारीलाई प्राथमिकता दिई जातीय विभेद हटाउनुपर्छ भन्ने मेरो धारणा छ । 

(उपप्रमुख खड्गीसँग सरिशा अछामीले गरेको वार्तामा आधारित ।)

प्रकाशित मिति: ११:०२ बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जब चिनी तीतो हुन्छ’
‘जब चिनी तीतो हुन्छ’