निषेधाज्ञा मात्र खुकुलो बनाइएको हो, कोरोना नियन्त्रणमा आएको होइन

उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै सार्वजनिक स्थलमा भीडभाड बढेको छ। मानिसको आर्थिक अवस्थाका कारण पनि रोगको भयमा काम नै छाडेर घरमा खुम्चिने अवस्था छैन। सार्वजनिक यातायात चल्न थालेपछि निजी सवारी साधन नभएकाहरूलाई पनि कार्यालयमै बोलाउन थालिएको छ।

सरकारले नै निषेधाज्ञा खुकुलो बनाएपछि सर्वसाधारणमा एक प्रकारको अन्योल सिर्जना भएको पाइन्छ। कोरोना नियन्त्रणमा आएकै कारण सरकारले निषेधाज्ञा खुकुलो बनाएको भान नागरिकमा परेको छ। पोहोर कोरोना महामारीको पहिलो लहरमा गरिएको लकडाउन खुलेपछि पनि यस्तै भ्रम सिर्जना भएको थियो। सोही कारण पुनः कोरोना प्रसार तीव्र भयो।

कोरोनाको पहिलो लहरपछि सरकारले निषेधाज्ञा खुकुलो बनाउनेबित्तिकै मानिसले जनस्वास्थ्यका मापदण्ड पालना गर्न छाडे। अहिले पनि त्यस्तै हुने हो भने कोरोनाको तेस्रो लहर आउन धेरै समय लाग्दैन। यस्तो हुनुमा सरकारको पनि ठूलो हात छ। सरकारले निषेधाज्ञा खोल्नुअघि नै नागरिकलाई कोरोनासँग जितेर नभई आर्थिक संकट आउन नदिनका लागि निषेधाज्ञा खोलिएको भन्‍ने बुझाउन जरुरी थियो। त्यसतर्फ सरकारको ध्यान गएन।

अहिले पनि देशभर दैनिक दुई हजारभन्दा बढी कोरोना संक्रमित भेटिइरहेका छन्। काठमाडौं उपत्यकामै पाँच सयको हाराहारीमा संक्रमित भेटिइरहेका छन्। र, सक्रिय संक्रमितको संख्या पनि बढी नै छ। विगतको तुलनामा अस्पतालमा उपचाररत संक्रमितको संख्या केही हदसम्म कम छ तर शून्यमा झरेको छैन। पाटन अस्पतालमै एक सयभन्दा बढी कोरोना संक्रमित उपचाररत छन्। यस्ता कुराको जानकारी सबै नागरिकलाई दिएर मात्र निषेधाज्ञा खुकुलो बनाउनुपर्ने थियो। तर, त्यस्तो भएन।

निषेधाज्ञा खुकुलो भएपछि स्वतः मानिसको आवतजावत बढ्छ। त्यससँगै आपसी भेटघाट र सम्पर्क पनि बढ्छ। यस्तो हुँदा फेरि कोरोना संक्रमितको संख्या बढ्ने सम्भावना अत्यधिक रहन्छ। सोही कारण सर्वप्रथम आफैँले सावधानी अपनाउन जरुरी छ।

अहिले युरोपेली मुलुक र अमेरिकामा संक्रमितको संख्या फेरि उकालो लागेको छ। ती मुलुकमा तेस्रो लहरको आशंका पनि बढेको छ। नेपाल पनि त्यस्तो सम्भावनाबाट टाढा छैन। कम्तीमा मानिसमा ‘पहिलजस्तै हामीले हेलचेक्र्याइँ गर्ने हो भने बढ्छ’ भन्‍ने चेतना जगाउन सके केही हदसम्म कोरोना फैलिनबाट रोक्न सकिन्छ।

हामीले कोरोनाबाट जोगिन एसएमएस (सोसल डिस्ट्यान्स, मास्क, स्यानिटाइजर) बाहेक धेरै त गर्न सकेका छैनौँ। त्यसैले पनि सबैभन्दा राम्रो उपाय भनेकै कमभन्दा कम मानिससँग सम्पर्कमा आउने र भीडभाड कम गर्ने नै हो। अहिले मानिस बाध्य भएर बस, टेम्पोलगायत सार्वजनिक सवारी साधन चढिरहेका छन्। बढी भीड भएको सवारी साधन नचढ्ने, चढ्दा वा उत्रिँदा आफैँले बोकेको स्यानिटाइजर प्रयोग गर्ने, मास्क अनिवार्य लगाउने, भाडा तिर्दा फिर्ता नलिने हिसाबले जति हो त्यति नै दिनेलगायत सावधानी अपनाउनुपर्छ।

यस्तै, सरकारले कोरोनाविरुद्धको थप खोप ल्याउने भनेको छ, नेपाल आएपछि सरकारले तोकेअनुसार खोप लगाउनुपर्छ। जति धेरैले खोप लगाए, त्यति नै धेरै मानिस बाँच्‍ने हो। किनकि, खोप लगाइसकेपछि मानिसमा यसै पनि कोरोनाले केही हदसम्म कम प्रभाव पार्छ भने अरूलाई सार्ने सम्भावना पनि कम हुँदै जान्छ।

अहिले सरकारले कोरोना नियन्त्रणका लागि गर्नुपर्ने कामहरू गरिरहेकै होला। सञ्‍चार माध्यमहरूले पनि कोरोनाबारे जानकारी दिइरहेकै छन्। तर पनि, मानिसले ती समाचार र सरकारले अपनाउनु भनेका सावधानीलाई मनन गरेका छैनन्। त्यसैले अब सरकारले भन्दा पनि टोल-टोलको वा गाउँघरको प्रतिनिधि वा ‘लोकल लिडर’लाई नै आफ्नो क्षेत्रमा कोरोना नियन्त्रणको जिम्मा दिन जरुरी भएको छ।

सर्वसाधारणको पहुँच सीधै सरकारसँग हुँदैन। विभिन्‍न माध्यमबाट सर्वसाधारणले सरकारका कुरा सुन्‍ने हो। सोही कारण नागरिकले खासै गम्भीरतापूर्वक लिएको पाइँदैन। टोलको लिडरलाई कोरोना नियन्त्रणको जिम्मा दिँदा आफ्नो क्षेत्रलाई सुरक्षित बनाउन विभिन्‍न रणनीति बनाउन सक्छन्। साथै, स्थानीय नेताको आग्रह टोलका बासिन्दाले टार्न नसक्दा बढी प्रभावकारी हुन्छ। सरकारले पनि पम्प्लेटहरू राख्‍ने, जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गराउनेलगायत काम गर्नु जरुरी छ।

अहिलेजस्तो निषेधाज्ञालाई खुकुलो बनाइहाल्नु हुँदैनथ्यो। कोरोना संक्रमितको संख्या घटेर निकै कम मात्र सक्रिय संक्रमित रहेको अवस्था बेग्लै हुन्छ। तर, तुरुन्तै यो संख्या घट्ने सम्भावना कम छ। उल्टै केही दिनअघिको तुलनामा निषेधाज्ञा खुकुलो भएपछि संक्रमित बढेका छन्।

कोरोना रोकथामको अन्तिम उपाय भनेकै खोप हो। तर, सबै नेपालीले खोप पाउन लगभग एक वर्ष नै लाग्नसक्छ। त्यसैले तत्कालका लागि विशेषतः भीडभाड बढी हुने ठाउँमा टोल लिडर वा आवश्यक परेको खण्डमा प्रहरी नै राखेर भए पनि भीड कम गर्नु जरुरी छ।

(संक्रामक रोग विशेषज्ञ डा. कोइरालासँग सोनी शाहीले गरेको कुराकानीमा आधारित)

 Published Date: Tuesday, 6th July 2021 3:49:00 pm