रक्तदान कार्यक्रममा स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्रयाइँ नगरौँ : विज्ञ
विज्ञहरूले रक्तदान कार्यक्रम आयोजना गर्दा पर्याप्त स्वास्थ्य सावधानी अपनाउन सुझाएका छन्। स्वास्थ्य मापदण्ड नअपनाउँदा कार्यक्रम स्थलमा पनि कोरोना सर्न सक्ने उनीहरूको भनाइ छ ।काठमाडौं, जेठ ३१ : कोरोना संक्रमण फैलिएसँगै सतर्कताका लागि अन्य कार्यक्रमजस्तै रक्तदान पनि बन्द गरिएको थियो। तर, सोमबार विश्व रक्तदाता दिवसको अवसरमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएका छन्।
उक्त कार्यक्रममा सहभागी हुँदै धेरै मानिसले रक्तदान गरिरहँदा कोरोना संक्रमण फैलन सक्ने सम्भावना रहेको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। अहिलेसम्म रगतकै माध्यमबाट कोरोना संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने कुराको पुष्टि कुनै अध्ययनबाट नभए पनि केही व्यक्तिमा कोरोना सर्नसक्ने सम्भावना रहेको उनले बताए।
रक्तदाताले मास्क नलगाई कार्यक्रममा सहभागी हुने, भौतिक दूरि कायम नगर्ने र कार्यक्रमस्थलमा अत्यधिक भीडभाड रहने गरेको देखिन्छ । सोही कारण कोरोना प्रसार रोकथामका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई रक्तदान कार्यक्रमहरूमा पनि कडाइका साथ पालना गर्नुपर्ने डा. पुनको सुझाव छ।
तथापि, रक्तदानमा सहभागी हुनुअघि पीसीआर या एन्टिजेन परीक्षणबाट कोभिड-१९ पजिटिभ भए-नभएको यकिन गर्न आवश्यक छ कि छैन ? डा. पुनका अनुसार अहिलेसम्म रक्तदान गरेकै कारण कोरोना सरेको वा आउट ब्रेक भएको भन्ने कुनै केस देखिएको छैन। ‘तर, अपवादको रूपमा केही मानिसमा सर्नसक्ने सम्भावना रहन्छ,’ उनले भने।
डा. पुनका अनुसार अहिलेसम्म मुखबाट बाहिरिने छिटा (ड्रपलेट्स)बाट मात्र कोरोना सरेको पाइएको छ। सोही कारण रक्तदान गर्दाभन्दा पनि रक्तदान गर्ने ठाउँमा कस्तो व्यवस्था गरिएको छ भन्ने महत्त्वपूर्ण रहेको उनले बताए।
‘रगतको माध्यमबाट कोरोना सर्छ कि सर्दैन भन्ने अध्ययनकै चरणमा छ,’ उनले काठमाडौं प्रेससँग भने, ‘तर, रक्तदान कार्यक्रम सञ्चालन गर्दा पूर्ण सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने सम्भावना रहन्छ।’
तथा, रगत नपाएर बिरामीले ज्यान गुमाउन सक्ने जोखिमका कारण रक्तदान कार्यक्रम आयोजना गर्नु सकारात्मक पक्ष रहेको डा. पुनले बताए। ‘महामारीका बेला कतिपय बिरामीले रगत नपाएकै कारण ज्यान गुमाउनुपरेको अवस्थामा यस्ता कार्यक्रम सञ्चालन गर्नु एक हिसाबले राम्रो हो,’ उनले भने। उनका अनुसार अहिले कोरोनालाई मात्र प्राथमिकतामा राखेर रक्तदान कार्यक्रम बन्द गरिँदा शल्यक्रिया गर्नुपर्ने, गर्भवतीलगायत बिरामीहरू मर्कामा छन्। त्यसैले कोरोना प्रसार हुन नसक्ने गरी स्वास्थ्य मापदण्डहरू पालना गरेर रक्तदान कार्यक्रम आयोजना गर्न डा. पुन सुझाउँछन्।
रगत व्यवस्थापन गर्नेहरूका लागि कोरोनाका कारण अभाव सिर्जना भएको बहाना मात्र हुने गरेको नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले बताए। उनका अनुसार कोरोनाका कारण रगत संकलन तथा वितरणमा केही समस्या आए पनि सम्बन्धित निकायले त्यसलाई भयानक ढंगबाट देखाउने गरेका छन्।
‘सम्बन्धित निकायले शतप्रतिशत सेवा दिनुपर्ने ठाउँमा दिन सकेका छैनन्। हाम्रोतर्फबाट रगत अभाव हुन नदिन सक्दो प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘रक्तदानका लागि कुनै रोकटोक छैन।’
उनका अनुसार महामारी सुरु हुनुअघिको तुलनामा वर्षदिनयता रगत संकलन कम छ र माग पनि कम। ‘अहिले रगत संकलन नभएको मात्र देखिएको छ। तर, लकडाउनका कारण आकस्मिकबाहेक सबै शल्यक्रिया स्थगित गरिएको हुँदा माग पनि कम छ। सीमित माग भएकै कारण व्यवस्थापन गर्न असहज भएको छैन,’ उनले भने, ‘रक्तदानका लागि कार्यक्रम नै सञ्चालन गर्नुपर्छ भन्ने छैन। व्यक्तिगत रूपमा दान गर्न आउनेहरू पनि धेरै छन् अहिले।’
उनका अनुसार संकलित रगतलाई विभिन्न प्रक्रिया पुर्याएर २४ देखि ७२ घण्टासम्म भण्डारण गर्न सकिन्छ। यसतै, माइनस २० देखि ४० डिग्री सेल्सियस तापक्रममा राख्दा ६ महिनादेखि १ वर्षसम्म भण्डारण गर्न सकिन्छ।
‘त्यसैले रगतलाई सही तरिकाबाट व्यवस्थापन गर्ने हो भने खेर जाँदैन। अहिले सम्बन्धित निकायको व्यवस्थापनको लाचारीपनका कारण रगत अभाव र खेर जानेलगायत समस्या आइरहेका छन्,’ उनले भने, ‘अहिले माग नै धेरै नभएको अवस्थामा रगत संकलन मात्र गरेर पनि फ्याक्नुपर्ने हुँदा आवश्यकताअनुसार संकलन गरेर आवश्यकताअनुसार नै वितरण गर्नुपर्छ।’
निकट भविष्यमा निषेधाज्ञा खुल्यो वा खुकुलो भयो भने रगतको माग पनि बढ्न सक्ने उनले बताए। त्यसैले अहिलेदेखि नै व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको सुझाव छ। र, पर्याप्त स्वास्थ्य सतर्कता अपनाएर रक्तदान कार्यक्रम सञ्चालन गरिने उनले बताए।
‘संक्रमणमुक्त भएको तीन सातापछि मात्र रक्तदान’
डा. पुनका अनुसार कोरोना संक्रमणबाट मुक्त भएको तीन सातापछि मात्र रक्तदान गर्नु उपयुक्त हुन्छ। ‘अहिले कतिपय मानिस कोरोना संक्रमणको परीक्षण नै नगरी निको भएका छन्। त्यस्ता व्यक्तिलगायत कोरोना संक्रमण पुष्टि भएकाहरूमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले शरीमा एन्टिबडी विकास नहुन्जेल रक्तदान गर्न उपयुक्त हुँदैन,’ उनले भने।
यस्तै, प्लाज्मा दिँदा पनि संक्रमण निको भएको दुईदेखि तीन सातामा मात्र उपयुक्त हुने उनको भनाइ छ। ‘कुनै पनि व्यक्ति आफैँ बिरामी वा कमजोर हुँदा रक्तदान गर्ने कुरै भएन। संक्रमित भएपछि लगभग एक महिनासम्ममा शरीरमा प्रशस्त एन्टिबडी बनिसकेको हुन्छ। त्यसैले संक्रमण निको भएको दुई-तीन सातापछि मात्र रक्तदान गर्नु उपयुक्त हुन्छ,’ डा. पुनले भने।