कसरी फरक छन् महिला मुद्दा ?

महिलाका मुद्दा केवल महिलाकै लागि मात्र हुन् ? या, महिलाले महिला भनेर मुद्दाबारे बहस गर्नु ¥याडिकल फेमिनिजम् मात्र हो ? या, पुरुषको विरोध मात्र हो ? मानव अस्तित्वकै लागि कुरा गर्ने हो भने पक्कै पनि महिलाले पुरुष निषेधको मुद्दा लिएर आएका होइनन् होला । किनकि प्रकृतिसँगको सानिध्यतासँगै थाहै नपाई कतिपय अवस्थामा महिलाहरू पुरुषको अधिनस्थ बन्न पुगेका कुरा हामीले पढिआएकै छौं । 

सबैभन्दा पहिले प्राकृतिक रूपमै महिलाका अंग फरक छन् । बच्चा जन्माउने अनि जन्म दिएको हुनाले हुर्काउने, लालनपालन गर्ने प्रमुख दायित्व र मातृत्व भाव महिलाले नै देखाउनुपर्छ । नयाँ बच्चालाई जन्म दिने भएपछि महिला नै आफ्ना बालबच्चाप्रति बढी समीपमा रहने नै भए ।

उमेर बढ्दै जाँदा जैविक रूपमै सबै लिंगका व्यक्तिमा प्रेम र यौन चाहना आउन सक्छ । मानिस लगायत जुन जनावर समूहमा बस्छन्, उनीहरूमा पोथीले बच्चा जन्माउँदा भालेले खानेकुराको जोहो गरेको पनि देखिन्छ । तर जो एक्लै बस्ने स्वभावका पोथी जनावर छन्, तिनीहरूका बच्चा साना हुँदा भालेले ती बच्चालाई झम्टने या मार्नेसम्म गर्छन् । यसरी भाले–पोथी संसर्ग र सम्बन्धबाट यो संसारको सृष्टि भएको छ, एकले अर्कोको अस्तित्व स्विकार गरेरै संसार अघि बढ्दै आएको सत्य हो । यस्ता प्राकृतिक कुरालाई निरन्तरता दिनका लागि प्रकृतिसँगै सहकार्य गर्नुको विकल्प छैन । 

तर सर्वश्रेष्ठ मानव जातिमै समयान्तरमा महिला र पुरुषमा विभेद रहँदै आएको तथ्य नकार्न सकिँदैन । महिलाहरू घरेलु काममा व्यस्त हुन्छन् तर त्यसको मूल्य हुँदैनन् । बिहानदेखि राति अबेरसम्म शारीरिक काममै जोतिइरहनु महिलाको नियति बनिरहेको अवस्था छ, जसकारण महिलाले पुरुषसरह मानव बन्नका लागि संघर्ष गरिरहनुपरेको छ । संसारभर एउटा सत्य तय भएको छ, त्यो भनेको महिलाका समस्या पुरुषका भन्दा भिन्न छन् र ती विभेदसहितको भिन्नतालाई न्यूनीकरण गर्नुपर्छ । घरका पुरुष सदस्य बाहिर कमाउन जान्छन्, तर महिला घरमा बसेर परिवारका सम्पूर्ण सदस्यका लागि खाना पकाउँछिन्, घरमा आइपरेका हरेक काम गर्छिन्, छोराछोरीको स्याहार पनि गरिरहेकी छन् भने ती बाहिर कमाउने परिवारका सदस्यले कमाएको रकमबाट केही प्रतिशत रकम ती घरमा बसेर काम गरिरहेकी महिला सदस्यलाई छुट्ट्याउनुपर्छ भन्ने आवाज पनि उठे । यो आवाज घरमा काम गर्ने महिलाको कामको मूल्यांकन हुनुपर्यो भन्ने सवालमा उठाइएको हो । यो भनेको घरमा गरिने सेवामूलक कामलाई पनि आय या उत्पादनमा गरिएको कामसरह मान्यता दिनुपर्छ भन्ने हो । 

हुन त व्यक्तिले आफ्नो व्यक्तिगत रुचिमा कति काम गरेको हुन्छ, जुन तत्कालै वा प्रत्यक्ष रूपमा आय या उत्पादनमुखी देखिँदैन । साथै, सेवामूलक काम, जसबाट मासिक तलब आउँछ, तर केही नयाँ चिजको उत्पादन हुँदैन भने त्यो काम पनि उत्पादनमुखी भएन । तर जुन काममा व्यक्तिले आफ्नो श्रम खर्चेको छ, त्यो श्रम खर्चेबापत केही आम्दानी हुन्छ र जीविकोपार्जन हुन्छ भने त्यो उत्पादनसरह नै भयो । 

अहिलेको पुँजीवादी विश्व परिप्रेक्ष्यमा कामकाजी परिवारले बालबालिकालाई ‘डे केयर सेन्टर’मा राख्ने, अलि ठूलो भएपछि होस्टलमा राख्ने पनि गर्छन् । तर यस्तो सेवाको पहुँच नभएका क्षेत्रमा परिवारमा एकजनाले घरमा बसेर साना बालबालिकाको स्याहार र घरधन्दा गर्नैपर्ने हुन्छ । यस्तो अवस्थामा पुरुषले घर बसेर बालबालिका हेर्ने लगायत काम गर्ने गरेको त्यति देखिँदैन, यस्ता काम बढी महिलाकै ठानिन्छ । ती कार्यको सम्पूर्ण जिम्मेवारी महिलाकै हुन्छ । यसबेला महिलाको कामको मूल्यांकन कसरी गर्ने, या हाम्रा सामाजिक चलन के छ भन्ने प्रश्न उठ्छ । महिलाको समग्र विकासका लागि परिवारदेखि नै सोच्नु जरुरी छ । 

हाम्रो समाजमा कैयौं उत्पीडन छन् । ती कुनै जातीय, वर्गीय बनेर बाँडिएका छन् । यी सबै उत्पीडनमध्ये महिलामाथिका उत्पीडन किन फरक छन् त ? समग्र विश्वमै महिलाका समान समस्यालाई मध्यनजर गर्दै महिलामाथि हुने सबै प्रकारका विभेद विरुद्धको महासन्धि सन् १९८१ को ३ सेप्टेम्बरमा १८९ राष्ट्र सम्मिलित सम्मेलनबाट पारित भएको छ । यो महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ । 

महिलाले मजदुर हुँदा असमान ज्यालाका आधारमा भोगेको पीडा, दलित महिला भएर भोग्नुपरेको पीडा लगायत दुर्गममा जन्मिएका महिला भएकै कारण भोग्नुपरेको पीडा मात्र हे¥यौँ भने पनि किन महिलाका मुद्दा फरक छन् भन्ने भेउ पाउन टाढा गइरहनपर्दैन । 

विश्वव्यापी रूपमै महिलाका साझा मुद्दा के के छन् त ? यसबारे पनि केही मन्थन गरौं । 

शिक्षामा पहुँच 

युनेस्कोले उल्लेख गरे अनुसार, विश्वका लगभग १३ करोड २० लाख छोरीहरू विद्यालय गएका छैनन् । जसमा तीन करोड ४३ लाख प्राथमिक विद्यालय उमेरका, तीन करोड निम्न माध्यमिक शिक्षा प्राप्त गर्ने उमेरका र ६ करोड ७४ लाख उच्च माध्यमिक तहमा पढ्ने उमेरका छन् ।

प्रत्येक दिन छोरीले शिक्षाका लागि व्यवधानको सामना गरिरहेका छन् । गरिबीका कारण, सांस्कृतिक मूल्य–मान्यताको अभ्यास, संरचनागत हिंसा, बालविवाह आदि कारणले विशेष गरेर अल्पविकसित तथा दुर्गम ग्रामीण भेगमा बसोबास गर्ने बालिका तथा किशोरीले आफ्नो अध्ययनलाई निरन्तरता दिन सकेका छैनन् । 

विगत डेढ वर्षयता कोभिड महामारीले पनि बालिकाको स्वास्थ्य तथा सहज जीवनयापनमा नकारात्मक असर गरेको देखिन्छ । लामो समयसम्म विद्यालय बन्द हुँदा दुर्गम स्थानमा अन्य सिकाइ अवसरमा सीमितता भयो । धेरै बालिका विद्यालय खुल्दा पनि फर्केर पुनः विद्यालय नआएका घटना छन् । 

रोजगारीका अवसर

विश्वमै विकसित र धनी मानिएको अमेरिकामा पनि महिलालाई कार्यबोझमा असमानता रहेको कुरा विभिन्न स्रोतले उल्लेख गरेका छन् । विश्वभरि रोजगारीका क्षेत्रमा लैंगिक तवरले फराकिलो खाडल देखिन्छ । महिलालाई उनीहरूको ज्यालामा मात्रै बराबरीका लागि सशक्त गरियो भने महिलाका कमाइले सम्पूर्ण समुदायमै फाइदा पुग्छ । महिलाले आफ्नो आम्दानीको खर्च पुरुषको तुलनामा परिवार र समुदायकै हितमा गर्छन् भन्ने मान्यता छ, तर महिला–पुरुषबीच बराबरी रोजगारी र ज्यालाको अभ्यास हुन सकेको छैन । 

महिला प्रजनन स्वास्थ्य र अधिकार विश्व स्वास्थ्य संगठनका अनुसार, दैनिक विश्वका आठ सय महिलाको गर्भावस्थासम्बन्धी समस्याले मृत्यु हुने गर्छ । छिटो विवाह, छिटो गर्भाधानजस्ता चलनले पनि महिलाको प्रजनन स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । 

लैंगिकहिंसा

महिलालाई दुःख दिने प्रमुख समस्याका रूपमा लैंगिक हिंसालाई लिन सकिन्छ । विश्व स्वास्थ्य संगठनकै अनुसार, विश्वमा प्रत्येक तीन महिलामा एकले आफ्नो जीवनकालमा शारीरिक तथा यौनहिंसा व्यहोरेका हुन्छन् । घरेलुहिंसा, बलात्कार, यौन कार्यका लागि बेचबिखन आदि अनेक रूपमा महिलामाथि हिंसाहरू बज्रिरहेका छन् । 

लैंगिक हिंसाका कारण कैयौँ महिला खुसी भएर बाँच्ने तथा पूर्णतया जीवन बाँच्ने अवसरबाट वञ्चित हुन्छन् । यी लगायत समाजका संस्कृति भनेर मानिआएका हानिकारक अभ्यासले पनि बालिका तथा महिला नै मारमा पर्ने गरेका छन् । उदाहरणका रूपमा अफ्रिका तथा मध्यपूर्वी एसियामा जन्मेदेखि १५ वर्ष उमेरका किशोरी महिलाको योनि छेदन गर्ने प्रचलन पनि मानव अधिकारविरुद्धको सांस्कृतिक अभ्यासका रूपमा लिन सकिन्छ । विश्व स्वास्थ्य संगठनले उल्लेख गरे अनुसार आंशिक र पूर्ण रूपमा योनि छेदन प्रथाले बालिका तथा महिला स्वास्थ्यका लागि कुनै सकारात्मक फाइदा गर्दैन । बरु रगत बग्ने, पिसाब फेर्न कठिनाइ हुने, गर्भाधान गर्न कठिन हुने जस्ता दीर्घकालीन स्वास्थ्य समस्या देखापर्छन् । हाल विश्वमा योनि छेदन गरिएका २० करोडभन्दा बढी बालिका तथा महिला छन् । 

नेपाली समाजमा अझै पनि विभिन्न प्रथा, महिनावारीसम्बन्धी अन्धविश्वासले महिलालाई खुलस्त रूपले स्वस्थ तथा स्वतन्त्र भएर बाँच्ने अधिकारबाट कुण्ठित गरिरहेकै छ । यस्ता थुप्रै समस्या विश्वव्यापीरूपमै महिलामाथि आइलागेका छन् । त्यसैले समाजैपिच्छे विभिन्न रूपमा महिलाका मुद्दा फरक छन् । यिनै समस्यालाई मध्यनजर गर्दै कतिपय राज्यले धर्म गुरु, नेता, समुदायका मुखियालाई पनि चेतनामूलक कार्यक्रम गर्न थालेका छन् । यो कार्य नेपालमा पनि हुँदै छन्, तर प्रभावकारी हुन सकेका छैनन् । महिलाका मुद्दालाई मुखरित गर्न हाम्रा अगुवा तथा नेतृत्व तहका व्यक्तिको मनमा गढेको महिलाप्रतिका पूर्वाग्रह त्याग्नुपर्ने देखिन्छ । महिला–पुरुष सहितको प्रतिबद्धता र हातेमालोबाट महिलाका मुद्दालाई सकारात्मक ढंगले समाधान गर्न ढिला भइसकेको छ । 
 

 Published Date: Tuesday, 8th June 2021 1:45:00 pm