Kathmandu Press

समयमै उपचार नपाउँदा ज्यान गुमाउँदै म्याग्दीका कोरोना संक्रमित

म्याग्दी, वैशाख ३० : शरीरमा अक्सिजनको कमी भएको समयमै थाहा नपाउँदा र समयमा नै अस्पतालमा गएर उपचार नगराउँदा म्याग्दीमा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्दै गएको...
समयमै उपचार नपाउँदा ज्यान गुमाउँदै म्याग्दीका कोरोना संक्रमित

म्याग्दी, वैशाख ३० : शरीरमा अक्सिजनको कमी भएको समयमै थाहा नपाउँदा र समयमा नै अस्पतालमा गएर उपचार नगराउँदा म्याग्दीमा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो एक सातायता म्याग्दीमा कोरोनाको लक्षण देखिएर ज्यान गुमाएकामध्ये धेरैमा श्वासप्रश्वासको समस्या देखिएको बेनी अस्पतालले जनाएको छ।

बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलका अनुसार कोरोनाको दोस्रो लहरसँगै बेनी अस्पतालमा उपचारका लागि आउने कोरोना सङ्क्रमितमध्ये अधिकांशको अवस्था चिन्ताजनक हुने गरेको र उनीहरुमा अक्सिजनको स्तर ३० देखि ५० प्रतिशतमा झरेको हुने भएकाले उपचारमा समस्या हुने गरेको छ।

अस्पतालमा समयमा नै उपचारका लागि आउने बिरामीलाई कुनै समस्या नभएको बताउँदै अक्सिजनको मात्रा ६५ प्रतिशतसम्म भएका बिरामीलाई समेत उपचारपछि बुधबार डिस्चार्ज गरिएको डा. कँडेलको भनाइ छ। शरीरमा अक्सिजनको मात्रा ९० देखि १०० प्रतिशतसम्म राम्रो मानिने डा. कँडेल बताउँछन्।

होम आइसोलेशनमा बसिरहेका बिरामीहरुको नियमित अक्सिमिटरले जाँच गर्नुपर्ने डा कँडेलको सुझाव छ। घाँटी चिलाउने, खस्खसाउने, खोकी लाग्ने, एक्कासि श्वासप्रश्वासको समस्या देखिने जस्ता समस्या देखिएमा तत्कालै स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्ने उनले बताए।

बुधबार बेनी अस्पतालमा मृत्यु भएका बेनी नगरपालिका–५ का ४१  वर्षीय  पुरूषलाई  श्वासप्रश्वासमा समस्या भएपछि मङ्गलबार राति उपचारका लागि  अस्पतालमा ल्याइएको थियो। हाइफ्लो अक्सिजन दिएर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ।

कोरोना सङ्क्रमणले सिकिस्त भएर अन्तिम अवस्थामा अस्पतालमा उपचार गर्न आएकाले बचाउन अनेक प्रयास गर्दा पनि नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। हिजो बुधबार मात्र म्याग्दीका तीन कोरोना सङ्क्रमितको निधन भएको छ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बुधबार साँझसम्म बेनी अस्पतालमा कोरोना पुष्टि भएका नौ जनाको मृत्यु भएको छ। त्यसैगरी जिल्लामा बिरामी भई थप उपचारका लागि काठमाडौं र पोखरा गएका कोरोना सङ्क्रमित पाँच र म्याग्दी स्थायी ठेगाना भई काठमाडौँ र पोखरालगायतका शहरमा बसोबास गर्ने पाँच गरी वैशाख महिनामै १९ कोरोना सङ्क्रमितको मृत्यु भएको छ।  
 

प्रकाशित मिति: ११:२३ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्