Kathmandu Press

संक्रमित पत्रकारको घरमा औषधि पुर्‍याउँदै महासंघ

झापा, वैशाख ३० : झापामा कोभिड–१९ बाट संक्रमित पत्रकारहरुको घरघर पुगेर नेपाल पत्रकार महासंघ जिल्ला शाखाको टोलीले औषधि वितरण र योग विधि सिकाउने अभियान...
संक्रमित पत्रकारको घरमा औषधि पुर्‍याउँदै महासंघ

झापा, वैशाख ३० : झापामा कोभिड–१९ बाट संक्रमित पत्रकारहरुको घरघर पुगेर नेपाल पत्रकार महासंघ जिल्ला शाखाको टोलीले औषधि वितरण र योग विधि सिकाउने अभियान शुरु गरेको छ। शाखाका उपाध्यक्ष केशव भट्टराईका अनुसार झापामा कोरोनाबाट हालसम्म २६ पत्रकार संक्रमित भइसकेका छन् भने १३ जना अहिले होम आइसोलेशनमा रहेका छन्।

पौष्टिक आहारका रूपमा ओखर, काजुलगायतका फलफुल र औषधिका रूपमा अश्वगन्धा, गुडुची, जेठी मधु, त्रिकटलगायतका १० प्रकारका आयुर्वेदिक जडीबुटी पत्रकारहरुको होम आइसोलेशनमै पुर्याइएको हो।

शाखाका अध्यक्ष एकराज गिरीले महासंघको टोली पोषिलो आहार र औषधिसहित घरघरै पुग्दा सङ्क्रमित पत्रकारहरुको स्वास्थ्य अवस्था बुझ्न र आवश्यकताबमोजिम चिकित्सकीय सुविधाका लागि पहल गर्न सजिलो भएको बताए।

कोभिडसँग जुधिरहेका बेला पत्रकार महासंघको टोलीले होम आइसोलेशनमै आएर पौष्टिक आहार, जडीबुटी र विज्ञ परामर्श उपलब्ध गराउँदा आत्मबल उच्च भएको कान्तिपुर दैनिकका झापा समाचारदाता पर्वत पोर्तेलले बताए। 

पत्रकार महासंघको झापा शाखाले कोभिडका हजारौँ बिरामीको उपचार गरिसक्नुभएका चितवन अस्पतालका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा गोविन्द कँडेलसँग कोरोना सङ्क्रमणबाट बच्ने उपाय र सङ्क्रमितले स्वास्थ्य हेरचाहमा ध्यान दिनुपर्ने विषयमा भर्चुअल परामर्श सेवा प्रदान गरिसकेको छ। 

सङ्क्रमितलाई घरमै अक्सिजन सिलिण्डर

झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगरभित्र होम आइसोलेशनमा रहेका सङ्क्रमितमध्ये जटिल अवस्था भएकाहरुलाई घरमै अक्सिजन सिलिण्डर पुर्याउने अभियान शुरु गरेका छन्। 

कनकाईमा हाल १६० कोभिड सङंक्रमित होम आइसोलेशनमा रहेका छन्। उहाँहरुलाई आवश्यक पर्ने चिकित्सक, औषधि र अक्सिजन सिलिण्डर घरमै पुर्याउन शुरु गरिएको नगरप्रमुख पोखरेलले बताए।

नगरमा २० शय्याको आइसोलेशन कक्ष सञ्चालनमा ल्याइएको छ। होम आइसोलेशनमा रहेका नगरवासीलाई थप स्वास्थ्य सुविधा आवश्यक परेमा जुनसुकै बेला नगरको आइसोलेशन कक्षमा लैजाने व्यवस्था मिलाइएको र अझ बढी स्वास्थ्य सेवा जरुरत भएमा प्रदेश नं १ को जुनसुकै सुविधासम्पन्न अस्पतालमा पुर्याउने व्यवस्था नगरपालिकाले नै गरेको नगरका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए।

नगरप्रमुख आफैँ अक्सिजनको सिलिण्डर बोकेर सङ्क्रमितको घरमा पुग्दा स्वास्थ्य सेवामा परिचालित स्वास्थ्यकर्मीको टोलीमा हौसला बढेको र नगरवासीमा आत्मबल उच्च भएको नगरका कोरोना फोकल पर्सन अधिकारीले बताए। रासस
 

प्रकाशित मिति: ११:११ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्