Kathmandu Press

कोरोना नियन्त्रणका लागि उपत्यकाका स्थानीय सरकारको कस्तो छ तयारी ?

काठमाडौं महानगरपालिकाले दशवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको, चिकित्सकको फोन नम्बर र हटलाइन उपलब्ध गराएको र सचेतनाका कार्यक्रमसँगै निषेधाज्ञा पालना गर्न टोली परिचालन गरिरहेको छ । 
कोरोना नियन्त्रणका लागि उपत्यकाका स्थानीय सरकारको कस्तो छ तयारी ?
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख २१ : कोरोना महामारीको दोस्रो लहरमा संक्रमित बढेसँगै सरकारले वैशाख १६ गतेदेखि बढी प्रभावित जिल्लामा ‘लकडाउन’ गरेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले ‘सर्वसाधारणमा अपिल’ गर्दै ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको’ जनायो । यसरी सरकारले हात झिकेर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएपछि यसको चौतर्फी आलोचना पनि भइरहेको छ । 

राज्यको पुनर्संरचनापछि स्थानीय तहमा ठूलो जिम्मेवारीसँगै अधिकार पनि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम केन्द्रले भन्दा स्थानीय तहलाई पहिला सूचना प्राप्त हुने भएकाले उसले छिटो सेवा दिन सक्ने बताउँछन् । त्यसैले स्थानीय तह तयारी अवस्थामा रहन आवश्यक रहेको उनको भनाइ छ । 

अहिले अन्य जिल्लाको तुलनामा सबैभन्दा बढी संक्रमित काठमाडौंमा देखिएका छन् । संघीय सरकारको अभिव्यक्ति जस्तो भए पनि काठमाडौं उपत्यकाका स्थानीय सरकारहरुको तयारी कस्तो होला ? 

काठमाडौं महानगरपालिका 

महानगरपालिकाले दशवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको, चिकित्सकको फोन नम्बर र हटलाइन उपलब्ध गराइएको प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् । 
सचेतनाका कार्यक्रमसँगै निषेधाज्ञा पालना गर्न टोली परिचालन गरिरहेको पनि उनको भनाइ छ । 

अहिले अस्पतालहरुमा अक्सिजन अभाव भएको समाचार आइरहेका छन् । यो अवस्थामा महानगरले अक्सिजनको सिलिन्डरसहितको आइसोलेसन निर्माण गर्नेबारे छलफल गरिरहेको प्रवक्ता डंगोलको भनाइ छ । 
महानगरसँग पछिल्लो समय कति संक्रमित भए भन्ने तथ्यांक छैन । नयाँ र पुराना संक्रमित संख्या छुट्ट्याउने काम भइरहेको डंगोल बताउँछन् ।

ललितपुर महानगरपालिका 

ललितपुर महानगरपालिका अक्सिजनसहितको आइसोलेसन व्यवस्थापनमा जुटिरहेको छ । महानगरपालिकाको प्रवक्ता राजु महर्जनका अनुसार, वडा २ मा रहेको नेपाल युथ फाउन्डेसनको भवनमा बनाइएको अक्सिजनसहितको ५० आइसोलेसन आइतबारदेखि सञ्चालनमा आएको छ । 

त्यस्तै, वडा ४ स्थित ज्येष्ठ नागरिक आश्रममा अक्सिजनसहितको एक सय १० आइसोलेसन बेड बनाउने तयारीमा महानगर लागेको प्रवक्ता महर्जन बताउँछन् । 

उनका अनुसार, महानगरले दुईवटा एम्बुलेन्स र पाँच–सातजना स्वास्थ्यकर्मी तयारी अवस्थामा राखेको छ । 

भक्तपुर नगरपालिका 

भक्तपुर नगरपालिकाले जनचेतना जगाउने हिसाबले माइकिङ गरिरहेको छ । निषेधाज्ञा पूर्णरूपमा पालना गर्नका लागि सञ्चारमाध्यमबाट सूचना प्रदान गरिरहेको नगरप्रमुख सुनिल प्रजापती बताउँछन् । 

नगरपालिकासँग अहिले ८० बेडको आइसोलेसन केन्द्र छ, जसमा २५ बेड अक्सिजनसहित निर्माण गरिएको छ । 

त्यस्तै, नगरपालिकासँग अहिले ४० वटा मात्र अक्सिजन सिलिन्डर छन् । अक्सिजन ग्यास व्यवसायीले ग्यास दिन सक्ने तर सिलिन्डर दिन नसक्ने बताएको नगरप्रमुख प्रजापति बताउँछन् । उनका अनुसार यस नगरपालिकामा आइतबारसम्म तीन जनालाई मात्र अक्सिजन दिनुपरेको छ । 

यहाँ तीन एम्बुलेन्स तयारी अवस्थामा छन् । नगरबासीले कोभिडको बारेमा बुझ्न तीनजना डाक्टरको मोबाइल नम्बर सार्वजनिक गरिएको छ । होम आइसोलेसनमा बसेकाका लागि नर्सले घरघरमा औषधि पुर्‍याउने काम गरिरहेको नगरप्रमुख प्रजापति बताउँछन् । साथै, नगरबासीलाई केही आर्थिक सहयोग गर्नुपरेमा नगरपालिकामा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

दोस्रो लहरमा आइतबारसम्म यहाँ एक हजार आठ सय ३१ संक्रमित भएका छन् । ९८ बिरामीको अस्पतालमा उपचार भइरहेको नगरपालिकाको तथ्यांक छ । आइतबारसम्म यस नगरपालिका भित्र नौ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । पहिलो लहरसमेत गरेर यस नगरपालिकामा ११ हजार सात सय ४५ जना कोरोना संक्रमित भएका छन् ।  

गोकर्णेश्वर नगरपालिका 

गोकर्णेश्वर नगरपालिकाको प्रमुख सन्तोष चालिसेका अनुसार, नगरपालिकाले अक्सिजन सहितको एक सय बेड बनाउने तयारी गरिरहेको छ । त्यसका लागि ठाउँ नेपाल मेडिकल कलेजले उपलब्ध गराउने भएको छ । ‘अहिले आइसोलेसन बनाएर काम छैन, त्यसैले अक्सिजन ग्यास सहितको आइसोलेसन बनाउने तयारी गर्न लागेको हो,’ प्रमुखले भने, ‘हालसम्म सचेत हुनका लागि कार्यक्रम मात्र गरिएको थियो ।’ 

गोकर्णेश्वर नगरपालिकाभित्र दोस्रो लहरमा एक सय ४६ संक्रमित भए भने हाल पाँचजनाको अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, दोस्रो लहरमा आठ जनाको मृत्यु भइसकेको छ । 

टोखा नगरपालिका 

टोखा नगरपालिकाले अक्सिजनसहितको ५० वटा बेड निर्माण गरिसकेको छ । यस नगरपालिकामा आइतबारसम्म ६९ सक्रिय केस छन् । जसमध्ये आइतबारसम्म अक्सिजन बेडमा एकजनालाई पनि राख्नुपरेको छैन । ‘सबै होम आइसोलेसनमा छन्,’ नगरपालिका प्रमुख प्रकाश अधिकारी भन्छन्, ‘हप्तामा दुई दिन कोरोना संक्रमितको सम्पर्कमा आएको व्यक्तिलाई निःशुल्क परीक्षण गरिएको छ ।’ 

नगरपालिकाले सचेतनाका कार्यक्रमसँगै माइकिङ गर्ने, निषेधाज्ञा पालना गर्न अनुरोध गर्ने गरेको उनले जानकारी दिए । ‘संक्रमित संख्या थपिएमा उपचार गर्न असहज नहोस् भनेर अक्सिजन सहितको बेड थप्ने तयारी भइरहेको छ,’ उनले भने । 

बूढानीलकण्ठ नगरपालिका 

बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धवप्रसाद खरेलका अनुसार, नगरपालिकाले अक्सिजन सहितको बेड बनाउन नगरपालिकाभित्रका अस्पतालसँग समन्वयन गरिएएको छ । ‘हाल नगरपालिकाभित्र ६–७ वटा मात्र अक्सिजन सहितको बेड छ,’ उनले भने, ‘२० वटा अक्सिजन सहितको बेड बनाउन योजना हो, तर अक्सिजन सिलिन्डर अभावका कारण मुस्किल भइरहेको छ ।’ 

दोस्रो लहरमा यहाँ आइतबारसम्म दुई सयभन्दा बढी सक्रिय केस छन् भने १२ जना अस्पतालमा छन् । चार संक्रमितको मृत्यु भएको छ । त्यसैले नगरबासीलाई सुरक्षित राख्न संक्रमितको सम्पर्कमा आएकालाई व्यक्तिलाई परीक्षण गर्ने काम भइरहेको नगरप्रमुखको भनाइ छ ।

नगरबासीलाई आफ्नो स्वास्थ्यमा समस्या भएमा तत्काल नगरपालिकामा सम्पर्क गर्न र सरकारले तोकेको सुरक्षामापदण्ड पालना गर्न आग्रह गरिएको नगरपालिकाको भनाइ छ । 

गोदावरी नगरपालिका 

यस नगरपालिकामा आइतबारदेखि २५ बेडको मिनी आइसियु बेड व्यवस्थापन गरिएको छ । 

कोरोनाको दोस्रो लहरमा संक्रमितलाई अक्सिजन कमी हुने भएका कारण तत्काल अक्सिजन ग्यास व्यवस्थापन गर्न नगरपालिका जुटिरहेको उपप्रमुख मुना अधिकारी बताउँछिन् । ‘विभिन्न पार्टी प्यालेससँग समन्वय गरेर नगरपालिकाले अक्सिजन सहितको एक सय बेड निर्माण गर्ने तयारीमा छ,’ उनी भन्छिन्, ‘अक्सिजन सिलिन्डर अभाव भएकाले अस्पतालसँग समन्वय गरिरहेका छौँ ।’ 

यहाँ दोस्रो लहरमा आइतबारसम्म दुई सयभन्दा बढी सक्रिय केस छन् । अहिलेसम्म कसैलाई अक्सिजन बेड आवश्यक परेको छैन । 

नगरबासीलाई सुरक्षित राख्नका लागि नगरपालिकाले सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिरहेको उनी बताउँछिन् । 
 

प्रकाशित मिति: १२:२२ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्