Kathmandu Press

जंगबहादुरको आदेशले तिब्बतमा युवती बेचबिखन ! 

त्यो केटी (नैनशोभा) चाँडै बेच्नू, बेचेपछि फलाना ठाउँमा यति रुपैयाँमा बिक्री भई भन्ने खबर लेख्नू, नबिकुन्जेल आफ्नै साथमा राख्नू, कतै भागीनासी जान नपाओस् भन्ने आदेश पनि यताबाट चिफ साहेब रणोद्दीपसिंहद्वारा वकिल जितमानसिंहकहाँ पठाइयो ।
जंगबहादुरको आदेशले तिब्बतमा युवती बेचबिखन ! 
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख १५ : महिला बेचबिखन जघन्य अपराध हो । यद्यपि पछिल्लो समय महिला बेचबिखनको शैलीमा परिवर्तन भएको पाइन्छ । वैदेशिक रोजगारी, विदेशीसँग विवाह, रंगीन सपनाको प्रलोभन आदिका माध्यमबाट महिला बेचबिखनको जोखिम बढेको छ ।

नेपाली समाजमा महिला बेचबिखन नौलो प्रसंग भने होइन, महिलाको बेचबिखन भइरहेको राणाकालीन स्पष्ट इतिहास पाइन्छ ।

ज्ञानमणि नेपालको पुस्तक ‘नेपाल निरुक्त’का अनुसार, जंगबहादुर राणाले नैनशोभा नाम गरेकी युवतीलाई तिब्बतमा बिक्री गर्न पठाएको प्रसंग उल्लेख छ ।

पुस्तकमा त्यतिबेलाका पत्रहरुलाई उद्धृत गरेर लेखिएको छ, ‘वि.सं. १९२४ को हिउँदमा श्री ३ महाराज जंगबहादुरले थापाथली दरबारकी नैनशोभा केटीलाई भोटमा लगेर बेच्नू भन्ने आदेश दिई दुई सिपाही साथ लाएर भोट पठाएका थिए । केटीलाई कुतीमा पुर्‍याएपछि त्यहाँका ढेवा झुम्पनुहरुले विना भोट सरकारको अनुमति हामी आइमाईलाई ल्हासा जान दिँदैनौँ भनी केटी र सिपाहीलाई रोके र यो खबर ल्हासाका चार काजीकहाँ लेखे । चार काजीले पनि यो कस्ती केटी हो ? किन ल्हासा पठाइएकी हो ? भनी नेपालमा सोधी पत्र पठाए । यताबाट थापाथली दरबारकी केटी हो भन्ने साँचो कुरा नभनी ‘वकिलकी कमारी हो, उनलाई काम गर्न हर्जा भयो भनी सिपाही लाएर पठाइदिएको हो’ भनी ढाँटेर लेखियो । र, सो कुराको सूचना वकिल जितमानसिंहलाई पनि दिइयो । वकिलले पनि भोटे काजीलाई ‘मेरा दाजुले मेरो लागि मेरै कमारी चिफसाहेबलाई सोधेर पठाइदिनुभएको रहेछ, सानो कुरा भनेर यहाँ सरकारलाई नलेखेको हो, कुतीका ढावाले रोकेछन्, त्यो कमारी र दुई सिपाहीलाई त्यहाँ नरोक्नू, सरासर ल्हासा पठाइदिनू भन्ने आदेश पठाइदिनुहोस्’ भने । सोही बेहोराको पत्र काजीले पठाएपछि नैनशोभा ल्हासा पुगेकी थिई ।

त्यो केटी चाँडै बेच्नू, बेचेपछि फलाना ठाउँमा यति रुपैयाँमा बिक्री भई भन्ने खबर लेख्नू, नबिकुन्जेल आफ्नै साथमा राख्नू, कतै भागीनासी जान नपाओस् भन्ने आदेश पनि यताबाट चिफ साहेब रणोद्दीपसिंहद्वारा वकिल जितमानसिंहकहाँ पठाइयो । तर पछि १९२५ कार्तिकसम्म पनि केटी बिकेकी थिइन । पछिका पत्रमा पनि यसको चर्चा गरिएको पाइन्छ । 

दरबारकी केटी श्री ३ को आदेशले किन बिक्री गरिन भोट ल्हासा पठाइएको हो अझै स्पष्ट हुन सकेको छैन । यसरी भोटमा नेपाली केटी कति बिके, कति नेपाली नारी भोटनारी बने ? तिनका शाखा सन्तान त्यहाँ कति कहाँ फैलिए ? समाजशास्त्रको यो अनुसन्धेय विषय बनेको छ ।’

पुस्तक अनुसार, ‘जंगबहादुरका ब्याइता र ल्याइता गरी पचासौँ स्वास्नी थिए भने अरु केटीको थुप्रो कति हुँदो हो सोझै अनुमान गर्न सकिन्छ । जंगबहादुरको स्त्रीप्रसंग विश्वप्रसिद्ध छ । वि.सं. १९०७ मा बेलायत गएका बेला उनले अत्यन्त खर्चिलो वेश्यागमन गरेकाले उनको नाम संसारका ज्यादै नामी धनी कामुकहरुको पंक्तिमा चढेको पाइन्छ । बेलायतकी त्यस बेलाकी सबभन्दा नामी वेश्या लीरासँग गएर जंगबहादुरले एक रातको दुई लाख ५० हजार पाउन्ड तिरेका थिए । 

काशी, पटना गएका बेला पनि जंगबहादुर त्यहाँका नामी–नामी रन्डीसँग क्रीडा गर्न चुक्दैनथे । पटनामा नामुद्दार वारङ्गनासँग सहवास गरेपछि धर्मभीरु जंगबहादुर विजयराज गुरुमार्फत अगम्यागमन वेश्यागमका पापको प्रायश्चित गराउँथे ।’

प्रकाशित मिति: १४:३२ बजे, बिहीबार, वैशाख १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्