Kathmandu Press

‘नमस्ते’को इतिहास

गरुड पुराणमा ५६ पटक, देवी भागवत पुराणमा ६६ पटक, ब्रह्माण्ड पुराणमा ९५ पटक, कूर्म पुराणमा ९९ पटक, शिव पुराणमा एक सय ४८ पटक अभिवादनको रूपमा नमस्तेको प्रयोग गरिएको छ ।
‘नमस्ते’को इतिहास
Hardik ivfHardik ivf

कोरोना भाइरस, स्वाइन फ्लु, बर्ड फ्लु, इबोला, वेस्ट नाइल, सार्स, निपाह, जिका वा कुनै पनि छाला रोग होस्, त्यस संक्रामक रोगलाई एक सीमासम्म फैलनदेखि रोक्नका लागि अभिवादन शैली वैज्ञानिक वा युक्तिसंगत हुनुपर्छ । एक यस्तो अभिवादन, जसमा कुनै पनि मत–सम्प्रदाय आदिको गन्ध र संकुचित भावको कुनै स्थान नहोस् । जसको प्रयोग सबै स्थानमा सदैव सबैका लागि गर्न सकियोस् । शुद्ध वातावरण, उत्तम स्वास्थ्य भएका बेला आलिंगन गर्नु, शिर र हातमा चुम्नु, खुट्टाको स्पर्श गर्नु प्रेम वा श्रद्धा प्रकटका लागि उचित हुन सक्ला । तर, सबै परिस्थितिमा हात जोडेर ‘नमस्ते’ गर्नु नै सबैभन्दा उत्तम हो ।

‘नमस्ते’ प्रमुख अभिवादन 

वैदिक कालमा ऋषि–मुनि र समस्त आर्य नर–नारीले अभिवादनका लागि हात जोडेर ‘नमस्ते’ गर्ने रीतिलाई अपनाएका थिए । वेद, ब्राह्मणग्रन्थ, उपनिषद्, रामायण, महाभारत आदि आर्ष ग्रन्थ, एवं पुराण आदिमा पनि ‘नमस्ते’को उल्लेख पाइन्छ । तर, पछिल्लो चार–पाँच सय वर्षमा अनेक सम्प्रदाय र संस्थाले आ–आफ्ना मठाधीश गुरुलाई प्रशन्न गर्न भिन्न–भिन्न प्रकारका अभिवादन शब्दलाई लिए । 
आफ्ना इष्टको स्मरण गर्नु, वा उसको हितमा बोल्नु फरक कुरा हो, तर अभिवादनका लागि सर्वजनीन शब्द आवश्यक हुन्छ । त्यसका लागि ‘नमस्ते’भन्दा उत्तम दोस्रो कुनै विकल्प छैन । प्रत्यक्ष अभिवादनका लागि ‘नमस्ते’ नै गर्नुपर्छ । अतः मित्र–शत्रु, सज्जन–दुर्जन, स्त्री–पुरुष, बाल–वृद्ध सबैलाई ‘नमस्ते’ भन्ने वैदिक परम्परा छ । वस्तुतः ‘नमस्ते’ एक शब्द मात्र होइन, यो त पूर्ण वाक्य हो । ‘नमः र ते’ अर्थात् म हजुरलाई नमन गर्छु, म हजुरको हृदयमा विद्यमान दिव्य आत्मत्वप्रति नतमस्तक छु ।

वैदिक ग्रन्थमा ‘नमस्ते’को प्रयोग

वेदहरूमा ‘नमस्ते’ शब्दको स्पष्ट उल्लेख पाइन्छ । जस्तो कि ‘शिवो नामासि स्वधितिस्ते पिता नमस्तेऽअस्तु मा मा हिंसीः’ । यजुर्वेदको १६औँ अध्याय त नमस्ते पदबाटै आरम्भ हुन्छ– ‘नमस्ते रुद्र मन्यव ।’ 

शतपथ ब्राह्मणमा ब्रह्मवादिनी गार्गी महर्षि याज्ञवल्क्यलाई ‘नमस्ते याज्ञवल्क्याय’ भनी सम्बोधन गरेका छन् । कठोपनिषदमा पनि यमाचार्यले आफ्ना अतिथि नचिकेतालाई ‘नमस्ते ब्रह्मन् ! स्वस्ति...’ भनेका छन् । वाल्मीकि रामायणमा महर्षि वशिष्ठले विश्वामित्र ऋषिलाई ’नमस्तेऽस्तु गमिष्यामि मैत्रेणेक्षस्व चक्षुषा’ भनेर मित्रभाव व्यक्त गर्छन् । महाभारतमा गान्धार देशमा बस्ने दुर्योधनका मामा शकुनीले युधिष्ठिरलाई ‘नमस्ते भरतर्षभ’ भन्छन् । राजा युधिष्ठिर पनि श्रीकृष्णलाई ‘नमस्ते पुंडरीकाक्ष’ भनी मनोभाव व्यक्त गर्छन् । यस प्रकार परवर्ती पौराणिक ग्रन्थहरूमा पनि अनेक सन्दभमा ‘नमस्ते’को प्रयोग भएको पाइन्छ । गरुड पुराणमा ५६ पटक, देवी भागवत पुराणमा ६६ पटक, ब्रह्माण्ड पुराणमा ९५ पटक, कूर्म पुराणमा ९९ पटक, शिव पुराणमा एक सय ४८ पटक अभिवादनको रूपमा नमस्तेको प्रयोग गरिएको छ । 

आर्य समाजबाट ‘नमस्ते’ प्रचार

‘वेदों की ओर लौटो’ अर्थात् ‘वेदहरूतिर फर्क’ नारा दिने महर्षि दयानन्द सरस्वतीले प्राचीन परम्परालाई पुनर्जीवित गर्न ‘सत्यार्थ प्रकाश’ लेखेका थिए । जसको अन्तिम भागमा उनले ‘नमस्ते’ नै सबैको अभिवादन भएको चर्चा गरे र प्रसिद्ध बनाए । महर्षि दयानन्द सरस्वतीले सन् १८७५ देखि प्रत्येक आर्य समाजमा ‘नमस्ते’ अभिवादनलाई अनिवार्य बनाए, यसलाई वैदिक अभिवादनको संज्ञा दिए । यस प्रेरणाबाट उनका प्रचारकहरूले अनेक देशमा ‘नमस्ते’ अभिवादनलाई फैलाए । इंग्ल्यान्डमा श्यामजी कृष्णवर्मा, अमेरिकामा लाला हरदयाल, लाला जिन्दाराम र सिद्धुराम, अफ्रिकामा भाइ परमानन्द, भवानी दयाल संन्यासी र स्वामी शंकरानन्द आदिले १९औँ शताब्दीको उत्तराद्र्ध र २०औँ शताब्दीको पूर्वाद्र्धमा वेदसँगै ‘नमस्ते’को परम्परालाई पनि प्रचार गरे । आर्य समाजका अनेक विद्वान प्रचारकले मारिसस, त्रिनिदाद, फिजी, गयाना, बर्मा, नेपाल आदि अनेक स्थानमा यस शब्दलाई प्रचलित गराए । जस कारण सम्पूर्ण विश्वमा आज भारतीय अभिवादनका रूपमा ‘नमस्ते’लाई जानिन्छ । 

अमेरिका र इजराइलमा ‘नमस्ते’

हालै अहमदाबादमा भएको विशाल आयोजनामा प्रधानमन्त्री मोदीले कैयौँपटक ‘नमस्ते ट्रम्प’ भनेर यस मूल अभिवादन पदको पुनः विश्वमा प्रचारित गरिदिए । इजराइलका प्रधानमन्त्री नेतन्याहु र डोनाल्ड ट्रम्पले हात जोडेर ‘नमस्ते’ गर्नु मनमोहक थियो । आज कोरोना भाइरसलाई नियन्त्रित गर्नका लागि विश्वका अनेक देशले अभिवादनको ‘नमस्ते’ शैलीलाई अपनाइरहेका छन् । यो महर्षि दयानन्दको संकल्प गाथाको पनि सफल मञ्चन हो । भारतको संस्कृति एवं ज्ञान परम्पराको प्रमाणित गर्नका लागि यो उत्साहजनक उदाहरण हो ।(हिन्दीबाट भावानुवाद) 

'नमस्ते' का इतिहास

प्रकाशित मिति: १३:५१ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जब चिनी तीतो हुन्छ’
‘जब चिनी तीतो हुन्छ’